‘जोखिम मोलेरै आनीको कथा लेखेकी हुँ’
‘मेरो विद्यालयका केही विद्यार्थी पारिवारिक कारणले गुम्बामा आनी बन्न गए। पछि उनीहरू फर्किएको देखेँ। त्यसैले आनी पेमाको कथामा एक किसिमले विद्रोह पनि देखाएको हुँ।’
हेटौंडामा जन्मिएर काठमाडौंको तामाङ बस्तीमा हुर्किएकी लेखक विना थिङ त्यही बस्तीबाट कविता लेख्न थालिन्। पहिचानसँगै सामाजिक विषयवस्तुलाई उठान गर्दै आएकी थिङको लेखनीले पाठकलाई गम्न बाध्य बनाउँछ। यसको पछिल्लो दृष्टान्त हो, कथासङ्ग्रह ‘याम्बुनेर’।
‘रातो घर’ कविताकृति र ‘छुकी’ कथाकृति मार्फत पाठकमाझ परिचित थिङलाई ‘याम्बुनेर’ले फेरि चर्चामा ल्याएको छ। ‘याम्बुनेर’ लेखनका केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक थिङसँग अनिता भेटवालले गरेको कुराकानीः
कथाकृतिको नाम ‘याम्बुनेर’ तामाङ र नेपाली शब्द जोडेर राखिएको छ। दुई वटा भाषा किन रोज्नुभयो?
खासमा यो एउटा प्रयोग हो। अर्को, २०६० सालबाट पहिचानको मुद्दा आयो। तर, पहिचानको मुद्दा आक्रोश वा नारामा सीमित हुनुहुँदैन भन्ने लाग्यो। यसलाई भाषा र शब्दमा किन नखेलाउने भन्ने सोचेँ। त्यसपछि ‘याम्बु’ अर्थात् ‘काठमाडौं’ र ‘नेर’ अर्थात् ‘नजिक’ भन्ने शब्द एक गर्दा नयाँ प्रयोग, नयाँ संयोजन र दुई भाषाको मीठो मिलन भयो। नयाँ नाम राख्दा परम्परागत नाम जस्ताे नीरस पनि भएन।
यसमा धेरैजसो काठमाडौं नजिकको परिवेशलाई लिएर लेखिएका कथा छन्। यो भूगोल र परिवेश किन छनोट गर्नुभयो?
लेखकले आफूले बाँचेको सेरोफेरोको कथा जति विश्वसनीयताका साथ भन्न सक्छ, त्यो अरुमा सक्दैन। अन्यत्रको भूगोल र परिवेश लिन अलि असुरक्षित नै महसूस गरेँ। आफ्नो कथा भए, अझै राम्रोसँग भन्न सक्छु जस्तो लाग्यो। फेरि मेरो परिवेश काठमाडौंं नै थियो। यहाँ प्रशस्तै कथा भेटेँ, भोगेँ र उजागर गरौं भन्ने लागेर लेखेँ।
यसभित्रको ‘सिफनको फेरो’ कथामा विदेशमा बेचिएकी सेर्मोसँगको प्रेममा परेको अब्बास नेपाल आएर बस्छ। यो कल्पना गरेर लेख्नुभएको हो कि वास्तविक जीवनमा पनि त्यस्तो भेट्नुभएको छ?
प्रेमलाई कुन स्वरूपमा लिने भन्ने कुरामा पनि भर पर्छ। हामीले प्रेमलाई लिने र दिने अर्थात् लेनदेनको रूपमा मात्र लियौं। तर, प्रेम नै यस्तो सार्वाभौम कुरा होला, जो जीवनको उच्चतम रूपमा प्रस्फुटित हुन्छ। जबसम्म प्रेमलाई कसैले लेनदेन मात्र सम्झन्छ, उसले अब्बास पात्रले सेर्मोलाई गरेको प्रेम र समर्पण अतिरञ्जित बुझ्छ। प्रेमले त नयाँ गोरेटो कोरेर नयाँ क्षितिज उघार्छ।
फेरि, केही कुरा आख्यानमा कल्पना पनि गरिन्छ। तर, यथार्थको धरातलमा नटेकी स्वैरकाल्पनिक उडान भर्न सकिँदैन। त्यसैले यसमा यथार्थ र काल्पनिकता दुवै छ। यथार्थको कुरा गर्दा, २०४० सालतिर नुवाकोटमा मुम्बई, कोलकातामा बेचिएका र पछि फर्किएर आएका दिदीहरूलाई भेटेकी छु। उनीहरूमध्ये नै एक जनाको घटनाबाट धेरै प्रभावित भएँ, र अनुमति लिएरै यो कथा लेखेकी हुँ।
अर्को कथा ‘आनी पेमा’ मा आनी बनिसकेकी पेमा प्रेममा परेर गुम्बा छोड्छे। यो कथाको निष्कर्षलाई लिएर आलोचना पनि भएको थियो। आनीलाई किन गुम्बा छोडाउनुभयो?
हाम्रो समुदायमा पहिचानको स्वर उरालिरहँदा, पहिचान पनि गतिशील हुन्छ भन्ने बिर्सिदिन्छौं। अरूलाई बेठीक भएको देख्छौं, तर आफ्नै संस्कृति हेर्दैनौं। हिन्दू र अन्य धर्मका मानिसलाई आलोचना गर्दै खराब वा सहीको परिभाषा दिँदा आफूतिर हेर्दैनौं। जो आनी बन्न गइरहेका छन्, उनीहरूलाई सानैमा गुम्बा लगिन्छ। त्यति वेला उनीहरूमा ठीक-बेठीक छुट्याउन सक्ने चेतना हुँदैन। उनीहरू जब किशोरावस्थामा पुग्छन्, विचलन आएको देखेकी छु।
कतिलाई त घर-व्यवहार र पारिवारिक अवस्थाका कारण पनि गुम्बामा राखिन्छ। कति आनीलाई घर फर्केर सांसारिक जीवन बिताउने मन हुन्छ। मेरो विद्यालयका केही विद्यार्थी पारिवारिक कारणले गुम्बामा आनी बन्न गए। पछि उनीहरू त्यहाँ बस्न नसकेर फर्किएको देखेँ। आनी पेमाको कथामा एक किसिमले विद्रोह पनि देखाउनु थियो।
फेरि पहिचानको मुद्दा पनि गतिशील हुनुपर्छ। अर्को, हाम्रो संस्कार पनि विभेदकारी देख्छु। लामा संस्कारमा पनि दुईथरी व्यवस्था छ। एकथरीले शर्त सहितको विवाह गर्न पाउँछन् भने अर्कोथरीले आजीवन विवाह नगरी लामा बन्नुपर्छ। आनीलाई विवाह गर्न छूट हुँदैन।
त्यसमाथि प्रेम झनै बर्जित छ। तर, प्रेमको स्वरूप अलग भएकाले प्रेम गर्नबाट कसैले कसैलाई रोक्न सक्दैन। त्यसैले मैले लेखेको यस कथा ‘ओपन इन्डेड’ छ। त्यहाँ आनीलाई प्रेम महसूस भएको छ। ऊ गुम्बाबाट काठमाडौं फर्कँदा विवाह पनि गर्न सक्छे, नगर्न पनि सक्छे र पुनः गुम्बा फर्किन पनि सक्छे। यस्तो विषयमा आलोचना त हुँदै गर्छ। म गतिशीलतामा विश्वास राख्छु।
यो कथा लेख्दा प्रेममा धार्मिक आस्थाको कुराले आलोचना हुन्छ भन्नेमा कतिको सजग हुनुहुन्थ्यो?
आनीको प्रेमको कथा लेख्दै गर्दा आलोचना हुन्छ भन्ने पहिल्यै लागेको थियो। तैपनि मैले खतरा मोलेकी हुँ। मैले धेरै आनीले पहिलो जीवन गुम्बा र त्यसपछि विवाह गरेर जीवन बाँचेको देखेकी छु। त्यसकारण मलाई यो आलोचनादेखि डर छैन। प्रेमको पनि त स्वरूप हुन्छ। कोही गुम्बामा नै समर्पित हुन चाहन्छ भने त्यो छूट छ, कोही फेरि सांसारिक जीवनमै फर्केर विवाह गरी बस्छु भन्छ भने त्यो छूट पनि हुनुपर्छ।
अनि ‘सिकोफाइभ’ कथामा पञ्चायती व्यवस्थाको समयकी एक विद्रोही आमा देखाइएको छ। अहिले पनि आपराधिक घटना उस्तै छन्, यसको आजको समाधान के देख्नुहुन्छ?
त्यो कथा जन्मिनुको पृष्ठभूमि एउटा होला। यही कथा अरूले लेखेको भए कसरी समाधान दिएर लेख्थे भन्ने पनि लाग्छ। जसरी छम्पेनीले श्रीमान् बुढाको हत्या गरेकी छ, त्यो अरुको कथा भए हत्या हुन्थ्यो वा हुँदैन थियो, थाहा छैन। मेरो दृष्टिकोणमा जुन व्यक्तिलाई कानूनी घेराले छुन सकेको हुँदैन, जो बलात्कारी हो, तर शक्ति र सत्ताको कारण आज पनि कानूनी कठघरामा ल्याइएको छैन, खुलेआम हिँडिरहेको छ, त्यस्तो अवस्थामा एउटी महिलाले के गर्न सक्छे त? आफैं भएर सोच्दा त्यस्तालाई छोड्दिनँ भन्ने लाग्यो। त्यसै अनुसार कथा लेखेँ।
साँच्चै मलाई बलात्कारीप्रति त्यही किसिमको क्रोध छ। कथा लेखिरहँदा कथाको समय मात्र देखाउन भूतकालको व्यवस्था कोरेको हुँ। खासमा बलात्कारीलाई कानूनको घेरामा ल्याउन नसकेपछि के गर्ने त? कानूनी कार्यान्वयन नभएपछि पीडितले गर्न सक्ने विद्रोहको झिल्को बलात्कारीको हत्याबाट देखाइएको हो।
अब थोरै लेखनको कुरा गरौं। कथा विधा नै किन रोज्नुभयो?
सबै विधाको आफ्नो सामर्थ्य र सीमा हुन्छ। कहिलेकाहीँ जे कविताबाट भन्न सकिन्छ, त्यो आख्यानबाट भन्न सकिँदैन। त्यस कारण विषयले कुन विधालाई रोजिरहेको छ भन्ने कुराले फरक पार्ने रहेछ। जस्तो, मलाई धेरै उकुसमुकुस भएको कुरा भन्नु छ भने उपन्यास पनि रोज्न सक्छु। त्यसैले विधाको सीमा विषयवस्तुले तय गर्छ।
म कविताबाट कथामा एकाएक आएको होइन। कविताबाट कथामा सुरक्षित स्थान खोजेको पनि होइन। मात्र, मैले कविताबाट भन्न नसकेको र मेरो लेखनका विषयको मागले आख्यान रोजायो।
कथा लेख्दा सबैभन्दा बढी ध्यान केमा दिनुहुन्छ?
पहिलो, म लेख्न बस्नुअघि चित्त बुझ्ने विषयवस्तु हुनैपर्छ। त्यसपछि आफ्नो लेखनशिल्पमा ध्यान दिन्छु। अनि, कल्पनाशीलताको कुरा आउँछ। अब त्यो विषयमा लेख्दा वैचारिक हिसाबले कसरी प्रस्तुत गर्ने, त्यसको शुरूआत र अन्त्य कसरी गर्ने भन्ने मस्तिष्कमा खेलाउँछु। त्यसपछि लेखन अघि बढ्छ।
कथामा पात्रको निर्माण कसरी गर्नुहुन्छ? यो पात्र यस्तै हुन्छ, हुनुपर्छ भन्ने केले निर्धारण गर्छ?
एउटा विषय प्रष्ट भएपछि कस्तो पात्रले आफ्नो विषयलाई न्याय दिन्छ त भन्ने सोच्छु। त्यसै अनुसार पात्रहरूको चरित्र पनि निर्माण हुन्छ। खासमा पात्र निर्माणको कुरामा गर्दा मैले देखेका १५ पात्रबाट आफ्नो कथाको एउटा पात्र बनाउने गर्छु। जस्तो, आनी पेमा पात्र बनाउँदा त्यहाँ सिङ्गै यथार्थको आनी पेमा छैन। एउटा बाल्यकालको र वयस्कको, धर्ममा समर्पित आनी पनि छ। यसको अर्थ, मैले देखेका विविध आनीको स्वरूप, लवाइ, खुवाइ, कसैको बोल्ने शैली, कसैको वैचारिकता संयोजन गरेर एउटी आनी पेमा बनेकी छन्। त्यसैले कथामा भएकी आनी कसैले खोज्दा नपाउन सक्छ।
पात्र संयोजनमा नै मलाई बढी समय लाग्छ। किनभने कसैले शिरीषको फूल भन्दा हामी एकैचोटि सकमबरी सम्झन्छौं। तर, सकमबरी एक्लो पात्र खोज्न हिँड्दा नभेट्न सक्छौं। त्यो कुनै केटीको कसैको मुडुलो टाउको, कसैको विद्रोही चेत, कोही चुरोट तानिरहेको केटी हुनसक्छ। त्यसैले कथाको सबै विषयको सम्झना नभए पनि चरित्र र पात्र बलियो भयो भने सम्झन बाध्य बनाउँछ।
'याम्बुनेर'मा तामाङ समुदायकै कथा बढी छन्। तर माध्यमको रूपमा नेपाली भाषा रोज्नुभयो, किन?
मैले तामाङ भाषामा पनि कथा र कविता लेखेकी छु। हामी पहिचानको कुरा गर्दा भाषामा प्राथमिकता दिनुपर्छ भन्ने पनि लाग्छ, तर हाम्रो कुरा हामीमै सीमित भयो। तामाङ भाषामा अध्ययन गर्नेले मात्रै त्यो समुदायको दुःख थाहा पाउने भए। त्यही समुदायले थाहा पाएर नहुँदो रहेछ। यो समुदायको भोगाइ अरुलाई पनि बुझाउन नेपाली भाषा रोजेँ।
एउटा कथाकारले राख्ने विचार, विश्व दृष्टिकोणले उसले लेख्ने कथामा कत्तिको प्रभाव पार्दो रहेछ?
यो एकदमै गहिरो कुरा हो। जस्तो, उदाहरणका लागि तपाईँले फोहोरको विषयलाई कथा बनाएर लेख्दा फोहोर उठेन, मेयर र राज्यको संयन्त्रले काम गरेन भनेर आक्रोशको कथा लेख्न सक्नुहुन्छ। त्यसैमा मैले यो विषयमा फोहोर मात्र नभएर राज्यले गर्न नसकेको कामको सारा वृत्तान्त लेख्न सक्छु। अझ यो संयन्त्रलाई काम गर्न नदिने पाटोको कथा पनि लेख्न सक्छु।
त्यसैले सबैकोे हुर्काइ, बढाइ, सिकाइको पृष्ठभूमि फरक हुन्छ। मेरा अलग साथी, अध्ययन, सेरोफेरोले मलाई अलग बनाइरहेको हुन्छ। मेरा विचारलाई फरक बनाएको हुनसक्छ। त्यसैले त एउटै कुरालाई व्यक्ति अनुसार फरकफरक लेखिन्छ र बुझाइन्छ। वैचारिक दृष्टि कसले कसरी राख्छ भन्ने कुरा उसको पृष्ठभूमिले बनेको हुन्छ। त्यसै अनुसार रचनाले पनि गर्भधारण गर्छन्।
तपाईँ पनि पहिचानको कुरा गर्नुहुन्छ। तर, पहिचानका कुरा गर्नेहरूले भन्दा तपाईँका कथा फरक छन्। यी कथाले आफ्नो समुदायका समस्या बढी उजिल्याएका छन्। यसलाई कसरी हेर्नुहुन्छ?
कसैलाई मैले भनेका सबै कुरा तैंले मान्नुपर्छ भनेर प्रत्यक्ष भन्छन्। कसैले शब्दको राजनीतिबाट पनि लडाइँ गर्छन्। म दोस्रो पक्षबाट कुरा उठाउने व्यक्ति हुँ। त्यसमा पनि मेरो कथामा २५ प्रतिशत तामाङ शब्द पाउनुहुन्छ। त्यो पनि मेरो ठाउँबाट उभिएर पहिचानको राजनीति गर्नसक्ने अर्को माध्यम हो। सडकमा गएर कालो झण्डा बोकेर चिच्याउन सक्दिनँ होला। मैले त्यो बाटो रोजिनँ। पहिचानको लडाइँ गर्ने माध्यम त्यो मात्र होइन पनि। चर्को बोलेर मात्र पहिचानको लडाइँ लडेको भन्ने बुझ्नेहरूलाई मेरो भन्नु केही छैन।
पहिचानको मुद्दा उठाइरहेका साथीहरू आफ्नो बुझाइ र देखेको बाटो रोजेर लडेको देख्छु। त्यसमा अब उहाँहरूको एकमात्र विकल्पको बाटो पनि अहिलेको अभ्यास हुनसक्छ। त्यसैले अरुको माध्यमलाई गलत वा सही पनि भन्दिनँ। तर, सडकमा आउनु मात्र पहिचानको लडाइँ लडिरहेको हो भनेर चाहिँ मान्दिनँ। मैले त शब्दको खेतीलाई नै आफूले लड्न सक्ने लडाइँ मानेकी छु।
तपाईँलाई पहिचानवादी लेखक पनि भनिन्छ। अन्य विषयमा पनि लेखिरहनुभएको छ। पहिचानवादी भन्दा कस्तो लाग्छ?
मैले तामाङ संस्कारको कुरा लेख्नासाथ पहिचानवादी लेखक भनिएको छ। मैले नेपाली समाजको कुरा लेखेकी हुँ। आफू बाँचेको समाजको कुरा लेखेकी हुँ, तर मलाई यो ट्याग भिराइएको छ। नेपाली समाजको मुद्दा लेख्दा त्यहाँभित्र तामाङ पनि परेका हुन्। जहाँ आर्य र अन्य समुदायको मुद्दा पनि छ। तर, जातिगत कुरा उठायो भनेर पहिचानवादी लेखक मात्र भन्दा मन खिन्न हुन्छ।
म बाँचुञ्जेल मेरो कुरा लेख्छु। त्यसमा मेरो तामाङ भाषा, हाउभाउ, संस्कारको कुरा आउँछ। मैले चाहेर मात्र होइन, मेरा कथाले मागेर आएका हुन्। यसलाई हेरिने कुरामा पनि विभेद देखिन्छ। मैले तामाङको कथा लेख्यो भन्छन्, तामाङ पनि त नेपाली हो। समाजमा धेरै मुद्दाबारे कलम चलाउँदै जानेछु। गतिशील समाजमा फेरिएका कथा पनि बुन्नेछु। यो क्रम निरन्तर चल्नेछ।
याम्बु अर्थात् केन्द्रबाट पिपाहरू शोषित भएको वर्ग भनेर लेख्नुभएको छ। आज पनि शोषित हुनेमा पिपाहरूको जस्तो भोगाइ छँदैछैन वा यदाकदा अझै छ?
पिपा सेनामा सबैभन्दा तल्लो काम मानिन्छ। जसले सेनाको घरमा सबै काम गर्नुपर्थ्यो। यो काम गर्न तामाङ समुदायलाई मात्र लिइन्थ्यो। मैले देखेकी, सुनेकी छु, उनीहरूलाई सबैभन्दा तुच्छ शब्द प्रयोग गरिन्थ्यो। बिस्तारै शैक्षिक जागरणले पिपाबाट अहिले हामी दोस्रो पुस्तामा आएका छौं। हाम्रो बाजे, बुवा पुस्ताले भोग्न नसक्ने कुरा भोगे। अहिलेको पुस्ता अब धेरै गतिशील भइसकेको छ। क्षेत्री-बाहुन हुने बेसीतिर र तामाङ समुदाय हुने लेकाली भेगमा विभेद अझै पनि छ। याम्बुनेरको समुदायमा भने अब यो समस्या रहेन। यो कुरामा खुशी छु।
अन्त्यमा, कथाका धेरै पात्रले पाठकलाई पछ्यारहन्छन्। तपाईँ चाहिँ आफ्नै पात्रहरूसँग कति नजिक भएको महसूस गर्नुहुन्छ?
म पनि मेरा कथाका पात्रहरूसँग नजिक छु। शीर्ष कथा 'याम्बुनेर' मा सोममाया भन्ने पात्र छ। सोममाया विद्रोही हुनुपर्छ भनेर कथामा त्यही अनुरूप ढालेँ। समाजमा पनि कैयौं सोममाया देखेकी छु, जो सक्षम र बलियो छन्। उनीहरूसँग वर्षौंदेखिको सम्बन्ध र हिमचिम छ। सोममाया मात्रै होइन, आनी पेमा, सिफनको फेरो लगायतसँग मेरो निकटता छ।
किताबका कुराका अन्य अंक: