‘हिमालसँग फलामको हृदय पनि पगाल्न सक्ने ताकत हुँदो रहेछ’
‘प्रमाणपत्र मात्र पाउनु शिक्षा हुँदै होइन। प्रमाणपत्र त शिक्षा लिने क्रममा यसै पाइहाल्ने कुरा हो।’
लेखक एवं पत्रकार मोहन मैनाली वृत्तचित्र निर्देशक, सम्पादक र अनुवादकका रूपमा पनि उत्तिकै चिनिन्छन्। उनको उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश लगायतका कृति प्रकाशित छन्।
लिभिङ अफ् जोगीमारा, पुनेको प्यान्ट लगायतका वृत्तचित्रले पनि उनलाई चिनाउने गरेका छन्। पछिल्लो समय भने लेखक मैनालीले अंग्रेजीबाट अनुवाद गरेका निबन्धहरूको सङ्ग्रह आकाशमुखीले चर्चामा ल्याएको छ।
सरल र सरस लेखकीय शिल्प भएका मैनालीसँग आकाशमुखीमा केन्द्रित भएर हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
पहिला त निबन्ध सङ्ग्रहको नाम नै फरक स्वादको छ। कसरी आकाशमुखी नामकरण गरियो?
मलाई किताबको नाम राख्न जहिल्यै समस्या पर्छ। सबै कुरा समेट्ने नाम पनि हुनुपर्यो। मैले अनुवाद गरेका निबन्धहरूको भाव बुझ्दा जुनसुकै निबन्धको पनि साझा विशेषता ‘हामी अहिले जुन ठाउँमा छौं, त्योभन्दा माथि उठ्नुपर्छ’ भन्ने हो। मानसिक, आध्यात्मिक र भौतिक रूपले वा जुनसुकै हिसाबले। त्यसले आकाशमुखी भन्नाले माथि र प्रगतिको लागि हेर्ने भएकाले निबन्धहरूको साझा भावलाई समेटेर नाम राखियो, आकाशमुखी।
शुरूमै यो नाम जुरेको थिएन। धेरै पटक कहिले के, कहिले के हुँदै जाँदा कुनै प्रकाशकलाई मन नपर्ने, कुनै आफैंलाई पनि ठीक नलाग्ने भयो। आकाशमुखी आएपछि प्रकाशक र आफूलाई अब अर्को नाम खोज्न पर्दैन भनेर लागेर तय भयो।
आकाशमुखीमा १४ वटा निबन्ध छन्, नेपालभन्दा बाहिरको परिवेशका। यी निबन्ध लेख्नुको प्रयोजन नेपालीलाई विदेशी लेखनको स्वाद चखाउनु नै हो कि अन्य केही छ?
यसमा दुई वटा कुरा छन्। एउटा लेखक शिल्पको कारणले। निबन्ध संसारको जुन ठाउँमा हुर्कियो, त्यतातिरका निबन्धकारहरूले निबन्ध एकदमै फस्टाएको वेलामा लेखेका निबन्धको स्वाद पनि लिऊँ भनेर हो। निबन्धका विविधताका दृष्टिकोणले बान्की फरक हुन्छन् भनेर देखाउन पनि यी छनोट गरें।
अर्को, तिनमा भएको विषयवस्तुको दृष्टिकोणले पनि हाम्रा लागि उत्तिकै काम लाग्ने छन्। जस्तै- स्वतन्त्रता। हामीले स्वतन्त्रलाई यसै लिइरहेका हुन्छौं। तर, यसलाई पनि अनेक कोणबाट हेर्दा हामीले बाँचिरहको स्वतन्त्रता हो कि होइन भन्ने देखाउँछ।
त्यस्तै, शिक्षा। हामी एकदमै पछि परेको र बुझ्नैपर्ने हो, शिक्षा। शिक्षाका लागि मानिसले कति संघर्ष गर्दा रहेछन्। आफ्नो समाजका सबै किसिमका मान्छेलाई शिक्षित बनाउन अरू मानिसले कति मिहिनेत गर्छन् भन्ने दृष्टिकोण पनि छ।
यससँगै लैङ्गिकताको विषय पनि छ। भर्जिनिया उल्फको समयको कुरा, जति वेला महिलालाई विश्वविद्यालयमा पढ्न दिइँदैनथ्यो। केही गरी पढ्न दिइहाले पनि उनीहरूलाई प्रमाणपत्र दिइँदो रहेनछ। त्यस्तो वेलाको असमानताको कुरा हाम्रो समाजका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।
अर्को, हामी हिमाल हेरेर दङ्ग पछौं। एक अंग्रेजले हाम्रो कञ्चनजंघा हिमाल हेरेर लेखेको निबन्ध पनि पढ्नलायक छ। यसरी यी र यस्ता कुरा नेपाली पाठकले थाहा पाउनुपर्छ भन्ने लाग्यो। किनभने, मलाई पनि यी निबन्ध पढ्दा आनन्द लाग्यो र अनुवादमा ल्याउने हुटहुटी चल्यो।
संसारभर चलिरहेका शिक्षा, समानता र स्वतन्त्रताको बहससँग नेपाली पाठकलाई जोड्न पनि यो पुस्तकले सहयोग गर्छ जस्तो लाग्छ?
हामीलाई असर पारिरहेका र थाहा पाउनुपर्ने केही विषयलाई बुझ्न मद्दत गर्छ। स्वतन्त्रता, हाम्रो अर्कै खालको थियो। हामी आध्यामिक स्वतन्त्रताको कुरा गर्थ्यौं। अहिले उपभोग गरिरहेको स्वतन्त्रता, राजनीति प्रणालीसँग सम्बन्धित जस्ता विषयहरू यूरोपतिरै विकसित भए। उनीहरूले कसरी स्वतन्त्रतालाई सोचिरहेका छन, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने हैन। अरूको सोचाइ त्यहाँसम्म पुगेन, यसरी पो सोच्नुपर्ने रहेछ भन्नका लागि पनि जान्नुपर्छ।
विश्वलाई गाउँ मानिरहँदा मेरो छिमेकीले के सोचिरहेको छ भन्ने पनि जान्नुपर्छ। सबै कुरा १४ वटा निबन्धमा त अटाउँदैनन्। जस्तो- भर्जिनिया उल्फको ३६ हजार शब्दको निबन्ध रहेछ। त्यसलाई पनि एक तिहाइ मात्र यसमा समेटेको छु। यसले नारी समानताको समग्र विषय बुझाउँछ भन्ने त हैन, तर सहायकको काम भने गर्छ।
भर्जिनिया उल्फको समयदेखि आजसम्म महिलाले किन आफ्नो स्थान बनाउन सकेका छैनन्?
त्यति वेलादेखि नै महिला समानताको कुरा गरिएको छ। त्यो स्थानमा महिला नै पुग्नका लागि हामीले अझै धेरै लडाइँ लड्नुपर्ने रहेछ। किन भन्दा, त्यो पुरुषको सत्ता वा आधिपत्यले जरा गाडेको छ। त्यसलाई भत्काएर नयाँ सम्बन्ध बनाउने काम ढिलो भएछ। यो शक्तिशाली जड छ। यसको उपाय भनेको राम्रो शिक्षा हासिल गर्नु नै हो। अर्थात्, अर्कोलाई नदबाई, उसमा भएका सम्भावनाको ढोका खोल्ने अवसर दिएपछि मात्र मान्छे हुन सक्छ। अरू आन्दोलन त छँदै छ, आधारभूत भने शिक्षा नै रहेछ।
यो समस्या हल नभएमा हाम्रो समाज मानव समाज रहँदैन। त्यसैले हामी आफूलाई मान्छे भन्छौं भने यो समस्याको हल हुनैपर्छ। जुन दिन यी कुरा समान रूपले स्थापना हुन्छन्, त्यसपछि मात्र हामी पूर्ण मानव बन्नेछौं।
यस पुस्तकमा १४ निबन्ध छानिएका छन्। छनोट गर्दा कुन समय, क्षेत्र, लिङ्ग, विचार लगायतले कति फरक पार्छ?
यी कुराले पक्कै पनि फरक पार्छ। मलाई लागेको एउटा पहिला ‘कपिराइट फ्री’ हुनुपर्यो। कसैको सर्वाधिकार उसैमा निहित छ भने त्यो गर्न सकिन्छ। पढ्दै जाँदा यी निबन्ध लेखिएको त्यो कालखण्ड पश्चिममा पनि विभिन्न उथलपुथल भइरहेकोे समय रहेछ। त्यो किसिमले हामीलाई पनि काम लाग्ला भन्ने लाग्यो।
अर्को, तपाईंले भने जस्तो विचारले पनि प्रभाव त पार्छ नै। आफ्नो शिक्षाले पनि उत्तिकै प्रभाव पार्दो रहेछ। किनभने, मैले यसमध्ये केही निबन्ध स्नातक तहको अंग्रेजी पुस्तकमा पढेको थिएँ। जसमा स्वतन्त्रता सम्बन्धी निबन्ध पर्छन्। म युवावस्थामा हुँदा पञ्चायत कालमा यही कुरा पढ्दा त्यति वेला हाम्रो सोचाइको दायरा फराकिलो रहेछ भन्ने लाग्यो। शिक्षाको सार पनि उतिवेलै पढाइएको थियो। त्यस कारण शायद त्यस वेलाको शैक्षिक प्रणालीले यस्ता सार्थक निबन्ध पनि छान भनेको हो कि भन्ने पनि लाग्यो। र, मैले अहिले पनि उत्तिकै महत्त्व बोक्ने निबन्ध ल्याएँ।
यस पुस्तकमा हिमाल, स्वतन्त्रता, समानता, शिक्षा लगायतबारे बडो गजबले छलफल भएको छ। तर, अहिलेको नेपाली समाजले बुझेको कुरा र पुस्तकले बहसमा ल्याएका विषयमा कस्तो फरक छ? हाम्रो बुझाइको अवस्था कस्तो छ?
अहिले आएर हेर्दा स्वतन्त्रताको जसरी परिभाषा गरेर, जसलाई स्वतन्त्रता भनेका छौं, त्यो त स्वतन्त्रता होइन भन्ने कुरा जर्ज बर्नाड शले बेलायतको प्रसङ्ग ल्याएर लेखेका रहेछन्। अहिले कसैले त्यही निबन्ध नेपाली सन्दर्भमा लेख्यो भने अहिलेको उदाहरण हाल्यो भने त्यो यहींको ओरिजिनल बन्छ।
जस्तो- स्वतन्त्रता भनेको हामीले भोट हाल्ने स्वतन्त्रता भन्छौँ। सामान्यतया मान्छेले सरकार बनाउने स्वतन्त्रता पाएको छ भन्छन्। सरकार बनाउने स्वतन्त्रता त पाएको छ, तर हामी कसरी छनोट गर्छौं? पहिला हामी भोट हाल्छौं अनि गाली गर्न थाल्छौं। हामीलाई लायक सरकार छान्न हामी के स्वतन्त्र रहेछौं त? त्यो म देख्दिनँ। किनभने, एक पटक भोट हालेर र पाँच वर्ष गाली गर्छौं। फेरि पाँच वर्ष तिनै गाली गरिएकाहरू नराम्रामध्ये एकलाई चुन्छौं। त्यसैले कुनै पनि व्यवस्थाले अधिकार दियो भने पनि हामीले त्यो स्वतन्त्रतालाई राम्रोसँग उपयोग गर्न सक्दा रहेनछौं।
२०४६ सालदेखि अहिलेसम्म भएका पार्टीले नै राम्रो काम गरेनन् भन्ने थाहा छ। फेरि भोट भने उनैलाई जान्छ। त्यसरी स्वतन्त्र भएको के अर्थ भयो। यही कुरा लेखकले उतिवेलै भनेका रहेछन्।
अर्को, लैङ्गिक समानताको कुरा। भर्जिनिया उल्फले सन् १९२१ तिर पहिलो पटक व्याख्या गरेको समानताको कुरा अहिले पनि उठाउन आवश्यक नै छ। उनले त्यस वेलाको समाजमा देखेको जस्तै अहिले पनि जताततै पुरुष नै पुरुष छन्। सबैभन्दा बढी लैङ्गिकताको कुरा उठाई बन्दूक उठाउन लगाएर जागेको पार्टी माओवादीको अहिलेको केन्द्रीय समितिमा हेर्दा कति जना महिला छन् त?
त्यो हेर्दा उल्फले जसरी सुन्दर तरीकाले आक्रोश पोखेकी थिइन्, हामीले हाम्रो सन्दर्भ हालेर लेख्यौं भने नेपाली ओरिजनल नै लाग्छ। किनभने, विश्वविद्यालय जाऔं वा अन्य पदाधिकारीमा हेरौं, महिलाको अवस्था उही नै छ। त्यसैले समाजको अवस्था उही छ, हिजोका समस्या आज पनि उस्तै नै छन्। त्यसैले यी कुरा आजको समयका लागि लेखेको भन्न सकिन्छ।
त्यसो भए नेपालमा परिवर्तन चाहिं के भएछ त?
हामीले परिवर्तन अलिक ढिलो नै थाल्यौं कि जस्तो लाग्छ। जस्तो- उता विश्वविद्यालयहरू पहिल्यै खोलिए र यस्ता छलफल हुन पाए। हामीकहाँ विश्वविद्यालय नै ढिलो खुले। भर्जेनिया उल्फले लेखेको समयमा महिलाको सम्पत्ति राख्ने अधिकार हुँदैनथ्यो। नेपालमा पनि पैतृक सम्पत्तिको अधिकार आएको धेरै भएको छैन। आमाको नामबाट अहिले पनि पूर्ण रूपमा नागरिकता पाइएको छैन। नारी र पुरुषबीचको खाडल अझै उस्तै छ। हामीले यस्ता परिवर्तनशील कार्य पनि ढिलो शुरू गर्यौं र अहिले पनि यसको गति ढिलो नै छ।
अर्को किसिमले हेर्दा, हामीसँग हिमाल थुप्रै छन्। त्यहाँ जान्छौं पनि, र भन्छौं- कति राम्रो हिमाल। तर, फ्रान्सिस योङहस्बेन्ड भन्ने क्रूर सिपाही भनेर पढिएको मान्छेले कञ्चनजंघा हिमाल देख्दा महसूस गरेको कुरा मननयोग्य छ। हिमालले विचार र चिन्तनलाई हिमाल जसरी नै माथि उठाएको कुरा उनले लेखेका छन्। त्यसैले हिमाललाई बुझ्ने मामिलामा पनि हामी पछाडि नै छौं भन्ने लाग्छ। हामी हिमाल हेर्छौं र बिहानको घाम यस्तो थियो भन्छौं, बस। तर, त्यसले मेरो अन्तरहृदयमा प्रभावित पारेर आफूलाई कति माथि उठाउन सक्यो भन्ने कुरा बुझ्दैनौं भने निबन्धले त्यो गर्न प्रेरित गर्नेछ।
सबैले त्यसरी नै सोच्नुपर्छ भन्ने पनि छैन। तैपनि, यस्तो चिन्तनका लागि पहिलाको समाज अलि बढी चिन्तन गर्थ्यो कि जस्तो लाग्छ। किनभने, हिमालय क्षेत्रमा जानु मानसिक र आध्यमिक रूपले उचाइ बढाउनु हो।
तपाईंको भनाइको अर्थ साहित्य, अध्यात्म, दर्शन, समानता, स्वतन्त्रता र वैचारिकता बहसहरू उठान गर्न पश्चिमा समाज नै अगाडि थिए भन्ने हो?
अहिले उतातिरको समाज हेर्दा अलिक गम्भीर समयको कुरा गर्ने समाज रहेछ भन्ने लाग्छ। एउटा त विभिन्न परिस्थितिले पनि त्यस्तो पार्यो कि। मैले चाहिं सन् १९०० देखि २००० सम्म र केही त सन् १५०० तिरको समयको पनि कुरा गरेको छु। किनकि, त्यहाँ लेखनको कुरा छ। कसरी पढ्नुपर्छ र लेख्नुपर्छ भन्ने कुरा आज पनि उपयोगी छन्।
मध्ययुगीन समाजबाट आधुनिक युगमा यूरोप प्रवेश गरेपछि अगाडि बढ्न फड्को चाहिं मार्नुपर्छ भनेर त्यो समाजले बल गरेको देखिन्छ। त्यो समाजको तुलना गरेर अहिले हेर्दा अहिलेको समाज अलिक छटपटी गरिरहेको देखिन्छ। छोटा, मीठा, हँसाउने कुरा मात्र भए कि भन्ने देखिन्छ। गम्भीरतातिरको कुरामा त्यो समय नै राम्रो थियो कि भन्ने देखिन्छ।
बहुमूल्य पर्वतराज कञ्चनजंघामा हिमालको जसरी व्याख्या गरिएको छ, यसमा आफूलाई पाउन पनि हिमाल चढ्नुपर्छ भन्ने कुरा गरेको छ। यो निबन्ध हिमालबारे नेपाली पाठकलाई बुझाउन छनोट गर्नुभएको हो कि अर्कै कुनै कारण छ?
शुरूमा फ्रान्सिस योङहस्बेन्ड नाम देखेपछि यो मान्छे पनि निबन्ध लेख्ने मुटु भएको मान्छे हो त भन्ने लाग्यो। किनभने, मैले इतिहासमा योङहस्बेन्डको नेतृत्वको मिशन तिब्बत गएको पढेको थिएँ। ब्रिटिश साम्राज्य कायम गर्न उनले क्रूर भएर मान्छे मारेको सुनेको थिएँ। त्यसैले उनी मानवीय भाव नभएर फलामको मुटु भएको र हृदय नै नभएको मान्छे जस्तो लाग्थ्यो। निबन्ध पढिसक्दा त्यो ब्रिटिश साम्राज्यको सिपाही र यो निबन्धकार अलग अलग मान्छे जस्तो लाग्यो। हिमालकै छेउमा बस्ने साधुसन्त जस्तो पो लाग्यो।
लेखनमा योङहस्बेन्डलाई मैले झुक्किएर भेटेको हुँ। मैले चिनेको सिपाही योङहस्बेन्डले निबन्ध लेख्नै सक्दैन भन्ने पूर्वाग्रह राख्दै पढेकाले त्यस्तो लागेको रहेछ। तर, उनी त हिमाल अन्वेषक पनि रहेछन्। उनले काश्मीरको हिमालको, कञ्चनजंघा हिमालको अर्को रङ भनेर पनि तुलना गरेका छन्। यसरी सूक्ष्म तरीकाले हेर्ने र हिमालबाट प्रेरणा लिएर आफ्नो जीवनलाई उच्च बनाउने व्यक्ति मैले मानेको क्रूर सिपाही रहेछ भन्ने बुझें।
अर्को, जर्मनीका नागरिक पछि बुद्धिस्ट भएका उनले लेखेको किताबमा जब हामी हिमाललाई देख्छौं, सानो भएको महसूस गर्छौं भनेका थिए। तर, यस निबन्धमा ‘मैले हिमाललाई देखेपछि मलाई पनि हिमालले ऊ जत्तिकै अग्लो बनाउँछ र सदाका लागि म त्यही ठाउँमा बस्छु’ भनेका छन्। विचारले कति फरक पार्दो रहेछ भन्ने थप बुझियो। यो फरकपनले पनि आह्लादित बनायो। त्यसैले मैले यसलाई समेटनु नै थियो।
हामीले कति बुझेका छौं जस्तो लाग्छ हिमाल?
लेखक योङहस्बेन्डले केही क्षण मात्र हेरेर कञ्चनजंघा हिमालको वर्णन गरेका हुन्। मैले पनि १६ वर्षको उमेरसम्म कञ्चनजंघा हेरें। त्यसैको सामुन्ने हुर्कें, तर लेखकले जसरी हिमाललाई कहिल्यै हेरिनँ। कुनै वेला साँझ घामको प्रकाश पर्दा राम्रो लाग्थ्यो। तर, जब यो पढें त्यसपछि मलाई लाग्यो- आज म जुन ठाउँमा छु, यो स्थानमा पुर्याउन पनि अप्रत्यक्ष त्यही कञ्चनजंघा हिमालले थाहै नपाई असर पारेको पो हो कि भन्ने लाग्यो।
अर्को, हर्क गुरुङले हिमाल टाढैबाट हेर्ने चिज हो भन्नुभएको छ। यहाँ हिमालको वर्णन गरेर कहाँ पुग्छौं भन्ने साहित्यकार पनि छन्। हर्क गुरुङका अनुसार, हिमाल चढ्नु मान्छेको माथि उठने चाहनाको सांस्कृतिक अभिव्यक्ति हो। त्यो क्रममा चाहिं हामी पछाडि छौं। हिमाललाई प्रशंसा गर्ने क्रम पनि टुटेको छ। हिमाललाई एउटा प्रेरणाको अभिव्यक्ति मान्दा पनि खिसीटिउरी गर्ने चलन बढेको छ।
‘यत्ति भए पुग्छ त!’ भन्ने निबन्धमा मानिसको आवश्यकता बडो दार्शनिक तरीकाले गाँस, बास, कपास, शान्ति र सुरक्षा भए पुग्छ भनिएको छ। तर, यत्ति कुरा पनि पुर्याउन नसक्नु कसको कमजोरी हो? व्यक्ति, व्यवस्था वा अन्य केही?
मैले टिमुर टु टिबेट भन्ने वृत्तचित्र बनाएको थिएँ। गोर्खाको माथिल्लो भेगबाट हिमालको जङ्गल काटेर कौडीको भाउमा तिब्बतमा लगेर रूखहरू बेचिरहेको विषय समेटेको थिएँ। त्यो वृत्तचित्र जापानमा देखाउँदा उनीहरूले भने- यत्ति सुन्दर ठाउँमा गरीबी चाहिं कसरी हुन्छ?
अध्ययनकै क्रममा मानिस धनी हुनुमा प्राकृतिक स्रोत हुनु मात्र नभएर त्यसको कसरी उपयोग र वितरण गरिएको छ भन्ने कुराले फरक पार्ने थाहा पाएँ। फेरि उपयोग त गरियो, तर त्यसको अधिकांश भाग थोरै मान्छेले मात्र लिए भनेपछि हुँदैन। त्यसैले यो सबै राजनीतिसँग जोडिएको छ।
राजनीति भनेको उपलब्ध स्रोतको कसरी उपयोग गर्ने र त्यसको लाभलाई कसरी बाँड्ने नै हो। तर, हाम्रोमा जुनसुकै राजनीतिक परिवर्तन आए पनि कसरी प्राकृतिक स्रोतलाई गलत तरीकाले उपयोग गर्ने भन्ने छ। र, त्यसबाट आएको लाभ राजनीति र आसेपासेलाई बाँड्ने र जनतालाई झन् झन् गरीब बनाउने ध्येयले बिगारेको छ।
यस निबन्धले नेपालमा समाजवादी हौं भन्नेहरूलाई खुइल्याइदिए जस्तो लाग्दैन?
केदारभक्त माथेमा सरले भन्नुभएको छ- हामी एउटा अभावको संस्कृतिबाट आएपछि उपभोक्तावादले हामीलाई धेरै गाँज्छ।
हामीलाई एउटा टेलिभिजन पुरानो भयो भने अर्को ठूलो टेलिभिजन चाहिने हुन्छ। हामीलाई एक एक वर्षमा फोन परिवर्तन गर्नैपर्ने? हामीले त कुनै पनि कुरालाई अधिकतम प्रयोग गरेर त्यसलाई विस्थापित गर्नुपर्ने हो। तर, नच्यातिउन्जेल लगाउन सकिने लुगा एक ठाउँमा लगाएपछि अर्को ठाउँमा नलगाउने भएका छौं। अर्को एउटा निबन्ध पढ्दा थाहा पाएको, मान्छे धनी हुन जे पनि गर्न तयार छ। यसले हामीलाई भ्रष्ट बनाएको छ।
कार्ल मार्क्सले जो व्यक्तिबारे पीएचडी गरेका थिए, ती व्यक्तिले ‘हाम्रा केही आवश्यकता हुन्छन् जुन हामी सहजै पूरा गर्न सक्छौं, तर केही आवश्यकताको पछि लाग्यौं भने असीमित हुन्छ’ भनेका छन्। राम्रो गाडी चढ्ने आकांक्षा भएपछि त्यो सीमाविहीन हुन्छ भनिएको छ। अहिले भ्रष्टाचार गरेका व्यक्तिले पनि राम्रो जीवन बिताऊँ भन्दा अरूभन्दा फरक बन्न लागिपरेका छन्। त्यो राक्षसीपन हो।
अर्को, जो मानिस समाजवादी भन्छ, ऊ वास्तविक समाजवादीले गर्ने कर्म गर्न चाहँदैन। त्यसैले यहाँका निबन्धले वास्तविक समाजवादी छुट्याउँछन्। यस पुस्तकमा समाजवादीलाई यत्ति भए पुग्छ भने जस्तै हाम्रो नेताहरूलाई भने पुग्न सकेकै छैन। तर, नेपालमा पूँजीवादमा पनि भ्रष्टले गर्ने काम गरेर समाजवादी भनिरहेका छन्। त्यसले गर्दा पनि यसका निबन्धभित्रको, यत्ति भए पुग्छ त भन्ने निबन्ध सान्दर्भिक छ।
नेपालमा शिक्षामा जति राजनीति कहीं छैन भनिन्छ। त्यस्तै गन्जागोल पनि देखिन्छ। 'शिक्षाको सार' निबन्धले चलाएको वैचारिक बहस चाहिं कस्तो हो?
शिक्षाको सार निबन्धमा त्यति वेला प्राविधिक शिक्षा, चिकित्सक र इन्जिनीयरिङको राम्रो उन्नति भएको देखिन्छ। त्यसमा उनले गुनासो गरेका छैनन्, तर नेपालमा गुनासाहरू छन्। किनभने, चिकित्साशास्त्र पढेर आएको मान्छे नेपाल मेडिकल कलेजले लिएको परीक्षामा उत्तीर्ण हुँदैन। शिक्षाको सारमा कमजोरी देखिएको मानविकीमा हो। जस्तो- डाक्टर हुन डाक्टरको शिक्षा राम्रो चाहिन्छ। त्यसरी नै मान्छे भएर बाँच्न पनि मानविकी शिक्षा चाहिन्छ। त्यसपछि मात्र ऊ मानिस हुन्छ। मान्छे नभएको डाक्टर पनि डाक्टर हुँदैन।
हाम्रोमा एकातिर सीपमूलक शिक्षामा बिजोग छ भने अर्कातिर मानविकीमा पनि पछि नै छौं। मानविकी अन्तर्गतका जुन विधाको बहस निबन्धले गरेको छ, यहाँ भने ती विषयमा पढ्ने विद्यार्थीको कोटा नै पुग्दैन। त्यसैले एउटा राम्रो जीवन जिउने कलाप्रति चासो नै छैन। यो पढेर नेपाली शिक्षाको स्तर र अवस्था परिवर्तन गर्नैपर्छ। त्यो नगरी डिग्री त लिउँला, तर शिक्षा प्राप्त हुँदैन भन्ने छ। प्रमाणपत्र मात्र पाउनु शिक्षा हुँदै होइन। प्रमाणपत्र त शिक्षा लिने क्रममा यसै पाइहाल्ने कुरा हो।
त्यसका लागि असल मान्छे कसरी हुने भन्ने पनि ज्ञान हुनुपर्यो। नेपोलियन, लेनिन जस्ता पनि मान्छे थिए। कसैलाई हानि नपुर्याई मान्छेलाई अघि बढाउनु नै पो असल हो।
हाम्रोमा पनि नियात्रा त धेरै लेखिएका छन्, तर यस्ता वैचारिक बहस सिर्जना गर्न सक्ने कुरा किन आउन सकेनन्?
यसमा पनि हाम्रो शिक्षा र सोचाइको स्तर नै अघि आउँछ। हाम्रा दुई वटा आँखाले जे देखे, त्यति मात्र गरिरहेका छौं। त्यो आँखाले देखेको र अर्काे आँखा मन र हृदयसँग मिलाएर काम गर्ने शिक्षा नै पाएनौं। कविहरूको हकमा त्यो केही देखिन्छ, तर नियात्रा लेखनसँग त्यो कमै मात्र छ।
लेखकले पालना गर्नैपर्ने मुख्य अनुशासन हो भनिन्छ। लेखनका क्रममा कसरी अनुशासनमा बाँधिनुहुन्छ?
त्यो लेखकको अनुशासन हो वा होइन, थाहा छैन। मैले पत्रकारिताको अनुशासन पालन गरेको हो। हामीलाई पढाउँदा ‘सबै कुरा दिमागको भरमा छाड्ने होइन, पाँच वर्षपछि त दिमागले पनि धेरै कुरा मिसाउँछ। महत्त्वपूर्ण विषयवस्तु हो भन्ने लाग्यो भने तत्काल टिप्नुपर्छ’ भन्ने गरिन्थ्यो।
उपल्लो थलोमा ‘छुवाछूतको महामारी’ भन्ने छ। त्यसलाई मैले काठमाडौं आइपुग्ने बित्तिकै आफ्नो भाव लेखेको रहेछु। त्यसैले त्यो जीवित बन्यो। मान्छेको दिमागमा धेरै भार परेको हुन्छ, त्यसको मात्र भरमा पर्नु हुँदैन। इन्द्रबहादुर राईको आज रमिता छमा एउटा लेखकले आफूले जति लेख्छ, त्योभन्दा बढी कुरा जानेको हुनुपर्छ भनिएको छ। त्यसैले, आफूले जे कुराबारे लेख्ने हो, त्यसको अध्ययन र खोज गहन रूपले गर्नुपर्ने रहेछ। जुन पत्रकारिता गर्दा केही अभ्यास भएको कुराले लेखनमा पनि सहयोग पुग्यो।
यसमा तपाईंलाई खूब मन पर्ने निबन्ध कुन हो? अनि पाठकले कुन निबन्ध मन पराएका छन्?
मलाई मन पर्ने त बहुमूल्य पर्वतराज कञ्चनजंघा नै हो। एक जना साथीले चाहिं कति त्यही लेखिरहेको भन्नुभयो। तर, यो अनुवाद गर्दा एक अनुच्छेदले पनि चार दिनसम्म टोलाउने बनाएको थियो। त्यसैमा भुल्ने बनायो। मान्छेले नराम्रो समयलाई कालरात्रि भन्छन्, तर यस निबन्धमा लेखकले दिउँसोको हल्लाबाट शान्त भएपछि मान्छे पूर्ण रूपमा अवतरित हुने वेला यही हो भनेका छन्। म अब कञ्चनजंघा पुगें भने उसले कसरी हेर्यो, अब म कसरी देख्छु भन्ने लागेको छ। हाम्रो मानसिक स्वास्थ्यका लागि पनि यस निबन्धले ठूलो सहायता दिन्छ।
पाठकले भने 'शिक्षाको सार' बारे राम्रो प्रतिक्रिया दिएका छन्। त्यो पढेपछि पत्रकार गोपाल गुरागाईंले ‘अडियो बनाए मलाई पनि पढ्न दिनु’ भन्नुभयो। एक जना राम्रो पत्रकारलाई मैले पढ्न पाए हुन्थ्यो भन्ने स्वतन्त्रताको निबन्धबारे कुरा गर्नुभयो। उहाँहरूले फोन गरेरै बताउनुभएको थियो। 'कञ्चनजंघा', 'शिक्षाका लागि संघर्ष' र 'शिक्षाको सार' भन्ने पनि हुन्। केही गम्भीर मान्छेले भर्जेनिया उल्फको आक्रोशलाई पनि यति स्वादले पस्कन सकिने रहेछ भन्नुभयो।
वास्तविक समाजवाद के हो भन्ने निबन्धबाट कुनै नेताले केही प्रतिक्रिया दिए कि?
अहिलेका नेताहरूलाई पढाइ पनि चाहिन्छ र! उहाँहरू आफैं पूर्ण हुनुहुन्छ। आफ्नो ब्रह्मले देखेको, विकृति मात्र फैलाउने हो उहाँहरूले। पढ्नुहुन्छ, बुझ्नुहुन्छ र कसैले पढेको कुरा भन्यो भने त्यो पालना गर्नुहुन्छ भन्ने आशा गर्नु हुँदैन भन्नेमा ढुक्क छु।
यी निबन्धले तपाईंको व्यक्तिगत जीवनमा चाहिं कस्तो असर पारेका छन् त?
एउटा छाप ‘यस्तो लेख्नेले पो यात्रा संस्मरण लेख्नु, म जस्ताले के लेख्नु’ भन्ने बनायो। किनभने, जे देखिन्छ त्यही मात्र होइन। त्यसलाई त घोलेर आफ्नो विचारसँग पनि मिलाउनुपर्छ। र, हिमालमा त्यो फलामको हृदय भएको व्यक्तिलाई पनि पगाल्न सक्ने तागत हुँदो रहेछ भन्ने पनि बुझें। त्यसपछि हिमालसँग थप नतमस्तक भएँ।
अन्त्यमा, आकाशमुखीकै धङधङीमा हुनुहुन्छ कि नयाँ केही आउनेवाला छ?
नयाँ दुई वटा काम गरिरहेको छुु। एउटा, मेरो तमोर नदीको माथिल्लो अन्तिम गाउँदेखि भारत नपुगेसम्मको परिवर्तन देखेको छु। २०३० सालदेखि अहिलेसम्मको परिवर्तन देखेर त्यो यात्रा संस्मरण लेख्दै छु।
त्यो बाहेक हाम्रो नेपाली आधुनिक इतिहासको सबैभन्दा महत्त्वपूर्ण, रोचक, नरमाइलो नेपालले अंग्रेजसँग लडेको युद्ध रहेछ। त्यो कसरी लडियो, कुन आँट, कुन अवस्थामा लगायतको इतिहासबारे पनि लेख्दै छु। यो भने जसले लडे र जसले लडाए, तिनीहरूकै कुराको आधारमा लेखिरहेको छु। जसमा अहिलेसम्म बाहिर नआएका धेरै कुरा आउनेवाला छन्।
किताबका कुराका अन्य श्रृंखला