‘दश लाखसम्म ऋण दिंदा आम्दानीको स्रोत नखोजौं, वर्ष दिनमा ब्याज तिर्ने व्यवस्था गरौं’
‘कसैलाई उपचार गर्न १० लाख चाहियो भने उसको ऋण तिर्ने क्षमता हेर्ने कि धितो राखेर आपत्मा ऋण दिने?’
सानिमा ब्यांकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल ब्यांकर संघका पूर्व अध्यक्ष भुवन दाहालले ब्यांकिङ क्षेत्रबाट अवकाश लिएपछि रिटायरमेन्ट एट फिप्टी पुस्तक सार्वजनिक गरेका छन्। अंग्रेजी भाषामा लेखिएको यो पुस्तकमा उनले आफ्नो करिअर तथा नेपालको ब्यांकिङ क्षेत्रको उतारचढावको व्याख्या गरेका छन्।
करीब तीन दशक ब्यांकिङ क्षेत्रमा बिताएका दाहालको मन्त्र छ, ‘अर्ली टु वर्क एन्ड अर्ली टु रिटायर’ अर्थात्, चाँडै करिअर थाल्ने र छिटै अवकाश लिने। ५० वर्षको उमेरमै सीईओबाट अवकाश लिएका दाहालको भर्खरै प्रकाशित पुस्तकमा आधारित भएर रमेश कुमारले गरेको वार्ताको सम्पादित अंशः
यहाँको पुस्तक रिटायरमेन्ट एट फिप्टी पुस्तकको पृष्ठभूमि र रचनागर्भ के हो?
मैले ब्यांकिङ क्षेत्रबाट ५० वर्षमा अवकाश लिएँ। वाणिज्य ब्यांकमध्ये सबैभन्दा पछिल्लो भए पनि सानिमा ब्यांकले प्रतिफल सहित विभिन्न सूचकमा आफूलाई अब्बल सावित गर्यो। नेपालमा नीति-नियम मिचेर कमाउँछन् भनेर आरोप लाग्ने गरेका वेला सानिमा ब्यांकले कानूनको पालनामा कुनै कसर बाँकी नराखी लगानीकर्ता, कर्मचारी, ग्राहक सबैलाई सन्तुष्ट बनाएर सुधार गरेको हो। धेरैले यसको पछाडिको कारणबारे मलाई सोधिरहन्थे। म पनि यो कुरा सुनाउन चाहन्थें। केही साथीले पुस्तक लेख्न सुझाव दिएपछि रिटायरमेन्ट एट फिप्टी लेखें।
तपाईंले पुस्तक लेख्ने लामो योजना बनाउनुभएको देखिंदैन। यो पुस्तक लेख्न कति समय लाग्यो?
अवकाश लिएपछि पुस्तक लेख्न थालेको हुँ। हुन त आजभन्दा २३ वर्षअघि नै स्नातक तहका विद्यार्थी लक्षित अ ह्यान्डबूक टु ब्यांकिङ पुस्तक लेखेको थिएँ। लेख्ने रहर त थियो। ब्यांकिङ र अरू क्षेत्रका पाठकलाई केही सिकाउँछ, बुझाउँछ भन्ने लागेर यो पुस्तक लेखेको हुँ। अवकाशपछिको ६ महीनामै तयार भएको हो।
तपाईंको लेखनको कुनै नियम थियो?
अवकाशपछि आनन्दको खाली समयमा थिएँ। त्यसैले पुस्तक लेख्दा पनि कुनै दबाब वा हतारोको महसूस गरिनँ। ब्यांकका प्रमुख कार्यकारी अधिकृतको जीवन आफैंमा सधैं तनावयुक्त हुन्छ। अवकाशपछि त्यो तनावबाट मुक्त थिएँ। त्यसैले, लेख्नका लागि मैले समय छुट्याइनँ। मन लागेको दिन लेखें, अल्छी लाग्दा लेखिनँ।
तपाईं मानविकी संकाय, अंग्रेजी साहित्य पढेको मान्छे, ब्यांकिङ करिअरमा कसरी आइपुग्नुभयो?
म अंग्रेजी र अर्थशास्त्रको विद्यार्थी हुँ। संसद् सचिवालयको जागीरे थिएँ। त्यहाँ व्यवस्थापनको एक जना मेधावी विद्यार्थी भुवन ढकाल सहकर्मी हुनुहुन्थ्यो। उहाँले नै नबिल ब्यांकमा आवेदन दिन उक्साउनुभयो र दुवैले परीक्षा दियौं। परीक्षामा व्यवस्थापनको होइन, गणित, अंग्रेजी, सामान्य ज्ञानको प्रश्न सोधिएको थियो, जसमा संयोगले म छानिएँ, दुर्भाग्यवश उहाँ छानिनुभएन। मेरो लक्ष्य स्कूल पढ्दा शिक्षक बन्ने थियो, ब्यांकर बन्ने कल्पनामा पनि थिएन। यसरी संयोगले ब्यांकिङमा आइपुगें।
नेपालको निजी क्षेत्रको पुरानो ब्यांकमध्ये एक नबिलदेखि नयाँ ब्यांक सानिमामा काम गरेको अनुभव पुस्तकमा लेख्नुभएको छ। तीन दशकको दौरान नेपालको ब्यांकिङ क्षेत्रको परिवर्तनको एक साक्षी हुनुहुन्छ। त्यो परिवर्तनको अवलोकन बताइदिनुहुन्छ कि?
सानो हुँदा नेपाल ब्यांक र कृषि विकास ब्यांकका शाखाहरू देखें। नेपाल ब्यांकको ब्यांकिङ कारोबार कस्तो थियो भने चेक दिएपछि रकम लिन दुई घण्टा लाग्थ्यो। टोकन प्रणाली थियो।
सन् १९९१ मा नबिल ब्यांकमा करिअर शुरू गर्दा नै त्यहाँ कम्प्युटर प्रणाली राख्न शुरू गरिसकिएको थियो। तथापि, एलसी (प्रतीतपत्र) खोल्दा टेलेक्स गर्नुपर्थ्यो, जसले वेला वेला काम गर्दैनथ्यो। अर्को ब्यांकमा रकम ट्रान्सफर गर्न पनि एकदमै अप्ठ्यारो थियो। धितो राखिएको सामान ब्यांकले नै ताल्चा साँचो गरेर राख्थ्यो।
त्यति वेला ब्यांकहरू मिलेर एकै कम्पनी/परियोजनामा लगानी गर्ने ‘कन्सोर्टियम फाइनान्स’को चलन थिएन। अहिले यी सबै कुरामा ठूलो बदलाव आइसकेका छन्। अब घरै बसेर ब्यांकिङ गर्न सक्छौं। त्यति वेला ग्राहकलाई सुविधा थिएन, सरकारी ब्यांकमा कर्मचारी स्वीटर बुनेर बस्थे। अहिले ब्यांकको ध्यान ग्राहकको सुविधामा केन्द्रित छ।
पुस्तकमा कार्यालय सञ्चालनदेखि विभिन्न बानीव्यहोरा जस्तो घरमा कार्यालय सम्बन्धी बैठक नगर्ने, सामन्ती संस्कार हटाउने, कार्यालयको स्रोतसाधन दुरुपयोग नगर्ने लगायत फरक व्यवस्थापन अभ्यासको चर्चा गर्नुभएको छ। तपाईंको नेतृत्वमा यी काम गर्दा मातहतका कर्मचारीले कसरी स्वीकार गरे? केही अनुभव भनिदिनुहुन्छ कि?
जे भन्यो त्यो गर्यो भने नेतृत्वप्रति बाँकी कर्मचारीको अविश्वास रहँदैन। त्यसको केही उदाहरण दिन्छु, हाम्रो कार्यालयमा टाई-सुट लगाउने चलन थियो। टाई-सुट उत्पादनशील होइन भनेर अनिवार्य पहिरनबाट स्वैच्छिक बनाएँ। मैले नै टाई लगाउन छाडेपछि धेरै जनाले छोड्नुभयो।
पेपर प्रिन्टको सट्टा इमेलबाट धेरै काम चलायौं। काठमाडौंमा एसी चाहिंदैन भनेर मैले एसी चलाउन छोडें, लिफ्टमा तलमाथि गरिनँ। धेरै साथीले यसलाई अनुसरण गर्नुभयो। मेरा कामका तौरतरीका र व्यवहारबारे फाट्टफुट्ट कुरा त काट्नुहुन्थ्यो होला, तर अगाडि कसैले आलोचना गर्नुभएन।
सीईओ हुँदा व्यक्तिगत फाइदाका लागि भेट्नेहरू ८० प्रतिशत थिए भनेर लेख्नुभएको छ। ब्यांकको सीईओसँग कस्तो अपेक्षा राखेर मानिस भेट्छन्? तपाईंले त्यस्तो लोभ राखेर भेट्नेको काम कति गरिदिनुभयो? केही अनुभव भनिदिनुहुन्छ कि?
मैले धेरै मानिसको काम गर्न सकिनँ। त्यसैले, धेरै जना मसँग रिसाउनुभएको छ। हाम्रो देशमा कतै पनि प्रणालीले काम गर्दैन। शुरूमा केही काम पर्यो कि हामी त्यहाँ चिनेको मान्छे कोही छ कि छैन भनेर सोधखोज गर्छौं। त्यो चिजबाट मुक्त हुने प्रयास गरें।
म गाउँबाट आएको मान्छे, गाउँ-शहरका विभिन्न मान्छे विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर भेट्न आउँथे। कसैलाई विज्ञापन चाहिएको हुन्थ्यो, कोही सामान किनिदिनुपर्यो भनेर आउँथे। केही प्रक्रिया नपुगीकनै ऋण माग्न र कतिपय नातागोतालाई जागीर लगाइदिन सिफारिश गर्दै आउँथे। म त्यस्ता काम गरिदिन सक्दिनथें। बरू ब्यांक प्रवेशको परीक्षा तयारी गर्न के गर्नुपर्छ सहयोग गर्छु, तर एकरत्ति ‘फेभर’ गर्न सक्दिनँ भनेपछि धेरै जना मसँग रिसाउनुभएको छ।
मन्त्री, प्रधानमन्त्री, सांसदकै सिफारिश लिएर भेट्न आउनेहरू थिए। म सबैलाई चियाकफी सहित मीठो तरीकाले कुरा गर्थें, तर नियम बाहिरको काम गरिनँ। मेरो घरमै भान्जा, भतिजाको जागीर नभएपछि नातागोता नै मसँग रिसाए। कतिपय सञ्चालकको पनि जागीर लगाइदिएन भन्ने गुनासो रह्यो होला।
हामी प्रणाली भएन, नेताले देश बिगारे भन्छौं। तर, आफू भएको संस्थामा पारदर्शिता, नियम परिपालनामा भने चुक्छौं। आफूले नीति-नियम नमान्ने हो भने अरूलाई आलोचना गर्ने अधिकार रहँदैन भनेर आफ्नै कर्मद्वारा उदाहरण बन्न खोजेको थिए। शतप्रतिशत काम गर्न सकियो/सकिएन थाहा छैन, तर पहल जरुर गरें।
ब्यांकिङ क्षेत्रका विभिन्न अनुभवको सार खिचेर त राख्नुभएको छ। तर, ब्यांकिङ कर्जाको दुरुपयोग, सञ्चालकहरूको बदनियत, भ्रष्टाचार, घूस लेनदेन लगायतका भित्री सूचना पक्कै पनि तपाईंसँग थिए। अवकाश पाइसकेको मान्छे ती कुुरा लेख्न किन डराउनुभयो वा किन कसैको चित्त दुखाउने भन्ने लाग्यो?
मैले नाम लेखेको छैन, तर त्यस्ता उदाहरण पुस्तकमा छन्। शेयरधनीहरूको अपेक्षा के हुन्थ्यो र हामी व्यवस्थापनलाई कसरी दबाब दिन्थ्यौं भन्ने कुरा लेखेको छु। बोर्डसँगको विवादले जागीर छाडेका सीईओहरूबारे पनि लेखेको छु, नाम उल्लेख नगरे पनि। ग्राहकको गोप्यता राख्नुपर्ने कानूनी व्यवस्थाले पनि नाम लेख्न मिलेन।
मैले प्रवृत्तिको कुरा उल्लेख गरेको छु। ब्याजदर बढाएर र अरू तरीकाले ग्राहक ठगिएको कुरा पनि अप्रत्यक्ष तरीकाले उल्लेख गरेको छु। मीठो बोल्ने, तर सिद्धान्तमा सम्झौता नगर्ने शैली पछ्याउने भएकाले लेखनमा पनि त्यसकै झल्को दिन खोजेको छु।
एउटा ब्यांकको सञ्चालकले अर्को ब्यांकबाट ऋण लिने वित्तीय सुशासनका दृष्टिले गम्भीर कुरा हो। त्यसबारे पुस्तकमा चर्चा गर्दै समाधानको उपाय पनि सुझाएको छु। ब्यांक भनेको शेयरहोल्डरको होइन, निक्षेपकर्ताको रकमबाट सञ्चालन हुने हो। त्यहाँ सुशासन कायम गर्न शेयरहोल्डर लगानीकर्तालाई एक तिहाइमा सीमित राखेर बाँकी दुई तिहाइ व्यावसायिक सञ्चालक राखिनुपर्छ भन्ने मेरो तर्क छ। राष्ट्र ब्यांकले फट्याइँ गर्ने ब्यांकको सूची नै राख्नुपर्छ भन्ने विचार राख्छु।
तपाईंलाई फर्किएर हेर्दा नेपालको ब्यांकिङ क्षेत्र अपर्याप्त छ भन्ने महसूस हुँदैन? जस्तै, यो क्षेत्रले खास समूहलाई एकदमै धनी बनाएको र आम मानिस यस्तो लाभ लिन छुटेका छन् भन्ने लाग्दैन?
संसारभरि रकमको उपलब्धता जहाँ र जसले पाउँछ, त्यो मान्छे धनी हुन्छ। आज ठूलो व्यावसायिक समूह बनेकाहरूको स्थान तीन दशकअघि कहीं पनि थिएन। मेरो विचारमा धनीसँग ईर्ष्या गर्नु हुँदैन, तर ब्यांकिङ क्षेत्रबाट निश्चित सीमाभन्दा बढी ऋण लिने कम्पनीले अनिवार्य ४९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था चाहिन्छ। त्यसो भयो भने, उहाँहरूको ज्ञान र क्षमताको लाभ देशले पाउँछ र सँगसँगै सर्वसाधारण पनि धनी हुन्छन्। तर, यसमा नियामक बलियो चाहिन्छ, नभए सर्वसाधारण ठगिन्छन्।
यथार्थ हो, केही सीमित समूहमा ठूलो ऋण प्रवाह भएको छ। तर, ब्यांकहरूले नीति-नियम बाहिर रहेर गरेका होइनन्। हेर्दाहेर्दै केही व्यक्ति असाध्यै धनी हुनुभएको छ। त्यसबाट कति कर तिरियो, सरकारलाई थाहा होला। मैले पुस्तकमा के लेखेको छु भने सरकार राम्रो नभएकाले कम कर तिरिएको छ, ग्राहकलाई पनि मर्का परेको छ। प्रस्ताव गरेको छु- गाउँगाउँमा उद्यमशील सम्बन्धी समिति बनाऔं, जसमा ब्यांकरहरूको पनि प्रतिनिधित्व होओस्। गाउँ गाउँका सम्भावना खोजौं।
जति ब्यांकिङ विस्तार भयो भनिए पनि सूदखोरको प्रताडनाले सर्वसाधारणको घरखेत जानु, विभिन्न जिल्लाबाट काठमाडौंमा धर्ना दिन आउनु लाजमर्दो अवस्था होइन?
यो हामी ब्यांकरहरूको पनि कमजोरी हो। ब्यांकहरूले १२-१४ प्रतिशतमा ऋण दिन्छन्, तर गाउँमा सूदखोरले कैयौं गुणा चर्को ब्याजमा ऋण लगाइरहेका छन्। म सानो नीतिगत प्रस्ताव गर्छु। ऋण दिंदा सधैं तिर्ने क्षमता वा आम्दानीको स्रोत पनि हेर्छौं। कसैलाई उपचार गर्न १० लाख चाहियो भने उसको ऋण तिर्ने क्षमता हेर्ने कि धितो राखेर आपत्मा ऋण दिने?
मैले ब्यांकिङमा रहँदा १० लाखसम्म ऋण धितो राखेर दिंदा आम्दानीको स्रोत नहेरौं र तीन-तीन महीनामा सावाँ-ब्याजको किस्ता तिर्नुको सट्टा वर्ष दिनमा तिर्ने व्यवस्था गर्न छलफल चलाएको थिएँ। तर, अरू साथीहरूले यस्तो प्रस्ताव रुचाउनुभएन।
राष्ट्र ब्यांकले यो विषयमा सोच्नुपर्छ। सानो ऋणमा आम्दानीको स्रोत नखोजिने र तीन-तीन महीनामा सावाँ-ब्याज भुक्तानी गर्नुको सट्टा एक वर्षमा मात्रै सावाँको किस्ता र ब्याज तिर्न मिल्ने व्यवस्था गरियो भने सूदखोरको चङ्गुलबाट नागरिकलाई मुक्ति दिन सकिन्छ।
डा. युवराज खतिवडा गभर्नर हुँदा ल्याइएको खाता खोलेको रकम तिर्न पर्दैन भन्ने नीतिगत प्रावधानले ठूलो परिवर्तन ल्याएको छ। जनताको पहुँचमा ब्यांकलाई लैजान पनि केन्द्रीय ब्यांकले यस्तै बोल्ड नीति अघि सार्नुपर्छ। यस्तो भयो भने ब्यांकरले शिर निहुर्याउनुपर्ने अवस्था पनि रहँदैन।
ब्यांकले धितो नराखी ऋण दिँदैनन्। जसले गर्दा धितो राख्ने क्षमता नभएकाले ऋण नपाउने हुँदा उद्यमशीलता प्रवर्द्धन हुन नसके भनी आलोचना हुन्छ। ब्यांकले उद्यमशीलता विकास गरे कि घरजग्गाको मूल्य बढाउन वा आयात वृद्धि गर्न भूमिका खेले? यसबारे यहाँको विचार के छ?
धितो नराखी ऋण दिँदा जोखिम पनि हुन्छ। ‘आए बाउको, गए साहुको’ जस्तो स्थिति आउँछ। धितोले व्यवसायमा राम्रो गर्न दबाबको काम पनि गर्छ। धितो नभएको, तर परियोजना राम्रो भएकालाई पक्कै पनि निरुत्साहित गरिनु हुन्न। तर, धितोको सामर्थ्य भएकासँग धितो लिनुपर्छ।
ब्यांकको एउटा प्रवृत्ति हुन्छ, जहाँ जोखिम कम, त्यहाँ लगानी। उद्योगमा बढी जोखिम हुन्छ, व्यापारमा कम जोखिम हुन्छ। त्यसैले, ब्यांकले व्यापारमा लगानी गरेका छन्। जलविद्युत्, पर्यटनमा ब्यांकहरूको ठूलो लगानी छ। व्यापार, घरजग्गा, अटो आदिमा पनि धेरै लगानी भएको हुन सक्छ।
हिन्दू धर्म अनुसार, ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास जीवन मानिन्छन्। तपाईं ब्रह्मचर्य उमेर नपुग्दै गृहस्थ (काम प्रवेश) हिसाबले जानुभयो र ठीक वानप्रस्थ उमेरमा अवकाश लिनुभयो। अन्यत्र कामको अवसर हुँदाहुँदै किन यस्तो निर्णय गर्नुभयो?
मैले १६ वर्षको उमेरमा काम गर्न शुरू गरेको हुँ। ५० वर्षमा अवकाश लिएँ। अवकाश भने पनि म सुतेर बसेको छैन। आठ वर्ष ब्यांकको सीईओ भइसकें। नेपाल ब्यांकर संघको अध्यक्ष हुँदा साथीहरूलाई भन्थें- हाम्रो भूमिका नेपाल सरकारको मन्त्रीको भन्दा कम छैन। हामीले देशको कुल गार्हस्थ्य उत्पादनभन्दा ठूलो आकारको सम्पत्ति व्यवस्थापन गर्छौं। हाम्रो जिम्मेवारी धेरै छ। हाम्रो निर्णयले देशलाई धनी वा गरीब बनाउन भूमिका खेल्छ।
त्यस्तो भूमिकामा आठ वर्ष बसिकेपछि फेरि जागीर खोज्दै हिंड्नु हुँदैन कि भन्ने मेरो सोच हो। राष्ट्र ब्यांकले दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाउने गरी गरेको व्यवस्था मलाई राम्रो लागेको छ। सीईओ हुँदा दैनिक १२-१४ घण्टा काम गर्नुपर्थ्यो, तनावपूर्ण जीवन हुन्थ्यो। सर्वथा ब्यांक बाहिरको जीवन सोच्नै सकिंदैनथ्यो।
सीईओ भएको दुई-तीन वर्षमै मेरो कपाल फुल्यो। यत्रो समय सीईओ भइसकेपछि अब म सल्लाहकारको भूमिकामा जानुपर्छ र खट्न सक्ने पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने लाग्यो। देशका नेताहरूबारे त के भनौं, तर उहाँहरू पार्टीको अध्यक्ष भइसकेपछि, प्रधानमन्त्री बनिसकेपछि फेरि विभागीय प्रमुख भएर बसिरहेको देख्छु। उहाँहरूले त सल्लाहकारको भूमिका निर्वाह गरेर बस्नुपर्ने हो नि।
जाँडरक्सी, चुरोट नखाने र हिंड्न रुचाउने भएकाले मेरो स्वास्थ्य राम्रो छ। तर, फेरि सीईओको रूपमा भन्दा सल्लाहकारका रूपमा काम गर्ने इच्छा छ। सानिमाबाट अवकाश भएपछि अन्य ठाउँमा सीईओको प्रस्ताव गर्नेहरू पनि हुनुहुन्थ्यो, तर मैले त्यसलाई हार्दिकतापूर्वक अस्वीकार गरें। हुन त भविष्यका सबै कुरा अहिले नै निर्धारण गर्न सकिंदैन, मेरो नियन्त्रण हुँदासम्म म सीईओको भूमिकामा फर्किन्नँ। बरू, पढ्ने-लेख्ने, पढाउने, सल्लाह दिने भूमिकामा सक्रिय हुनेछु। सीईओभन्दा यो भूमिकामा बढी प्रभावकारी हुन्छु कि जस्तो लाग्छ।
अवकाश जीवनमा के गर्ने योजना छ? थप पुस्तक लेख्नुहुन्छ कि?
अहिले नै अर्को पुस्तक लेख्ने योजना छैन। मेरो व्यवस्थापन अनुभवलाई यो पुस्तकमा पस्किएको हुँ। ब्यांकिङ क्षेत्रमा सिकेको कुरा के हो भने समृद्धि र उत्थानका लागि इमानदार प्रयत्न गर्ने हो भने सम्भव छ। देशका सन्दर्भमा पनि यो लागू हुन्छ। प्राकृतिक र मानवीय स्रोतका हिसाबले हामी गरीब होइनौं। तर, देश पछाडि रहिरहेको किन हो?
कडा परिश्रम, इमानदारी र समूहमा मिलेर काम गर्न सके देश विकास हुन्छ भन्ने मेरो अनुभव पुस्तकमा पस्किएको छु। यो पुस्तकबाट आउने रोयल्टी रकम सामाजिक संस्थालाई सहयोग गर्नेछु।