‘अस्पतालको शय्यामा रहनुभएका सत्यमोहन किताब देख्ने बित्तिकै तङ्ग्रिनुभयो’
‘सत्यमोहन खस भाषा नजानेर एक पटक विद्यालयबाट निकालिनु पनि भएको थियो। जुन भाषा आफ्नो होइन र जुन भाषा नजान्दा दुर्व्यवहारपूर्वक निकालिनुपर्यो, त्यो भाषाको उत्पति थलो खोज्न कर्णालीको सिँजा उपत्यका जस्तो दुर्गम क्षेत्रमा २०२७ सालमै पुग्नुभयो, अध्ययन गर्नुभयो।’
आफ्नो शहरको कथा वीरगञ्ज लेखेर चर्चामा आएका लेखक एवं पत्रकार गिरीश गिरीले कुलचन्द्र गौतमको जीवनीमा काम गरेका छन्। पछिल्लो पटक संस्कृतिविद् सत्यमोहन जोशीको जीवन सत्यमोहन पुस्तकले प्रशंसा पाइरहेको छ। यही पुस्तक र उनको लेखनका विषयमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुराका लागि अनिता श्रेष्ठले गरेको कुराकानी:
तपाईंलाई राजनीतिकर्मी भन्ने कि लेखक वा पत्रकार? कसरी सम्बोधन गर्दा सहज महसूस हुन्छ?
म राजनीतिकर्मी त हुँदै होइन। वीरगञ्ज महानगरको मेयर बन्ने आकांक्षा राख्नुको कारण पनि पारिवारिक पृष्ठभूमिले हो। मेयरमा हारेपछि राजनीतिबाट पछाडि हटेको छु।
राजनीति गर्ने आकांक्षा पहिले पनि थिएन र अब पनि छैन। हाल राजनीतिसँग मेरो कुनै सरोकार छैन। मेरो अहिलेको परिचय भनेको लेखक हो। लेखककै रूपमा कार्यरत भएकाले यसैलाई आफ्नो पहिचान ठानेको छु।
पत्रकारिता गर्दादेखि नै संस्कृतिविद् सत्यमोहन जोशीसँग नजिक हुनुहुन्थ्यो। किताबै लेख्ने सोचाइ कसरी आयो?
मैले लामो समय पत्रकारिता गरें। कला, संस्कृति र सामाजिक विषयवस्तुमै मेरो रिपोर्टिङ केन्द्रित थियो। त्यो क्रममा धेरै रिपोर्टिङमा चाहिने सामग्रीका लागि सत्यमोहन जोशीसँग भेटिरहनुपर्ने हुन्थ्यो। त्यसैले पनि म पत्रकारका रूपमा नियमित भेटिरहन्थें। तर, त्यो भेटघाट त्यति आत्मीय वा नजिकको थिएन। उहाँ पनि मलाई पत्रकारका रूपमा मात्र चिन्नुहुन्थ्यो।
यही क्रममा उहाँसँग नजिकिंदै गएँ। त्यसपछि थाहा पाएँ, हामीले उहाँलाई संस्कृतिविद्का रूपमा मात्र चिन्यौं, उहाँको परिचय यतिमा मात्र सीमित नभई देशलाई माया गर्ने व्यक्ति रहेको पनि महसूस गरें। एक किसिमको श्रद्धा जाग्यो। पछि, पत्रकारका रूपमा मात्र नभई शुभचिन्तक तथा अनुयायीका रूपमा उहाँको घरमा जान थालें।
हामीबीच फराकिलो विषयमा कुरा हुन थाल्यो। हाम्रा संवादमा कुनै घेरा थिएनन्। कति समय निकै लामो बोल्नुहुँदा त्यस विषयमा मैले कहीं पनि पढ्न नपाएको, जानकारी नपाएका विषयवस्तु पनि थिए। कतिपय कुरा दस्तावेज भएर बसेको पनि लागेन। त्यसैले मैले उहाँले बोलेका कुरालाई रेकर्ड गरेर प्रकाशित गर्ने सोच बनाएर अनुमति माग्दा सजिलैसँग तयार हुनुभयो।
त्यसपछिका कुराकानी रेकर्ड गर्न थालें। उहाँ जे बोल्नुहुन्थ्यो, त्यही रेकर्ड गर्थें। त्यति वेला म सेतोपाटी अनलाइनमा काम गर्थें, जहाँ मैले उहाँले भन्नुभएका विभिन्न विषय शृङ्खलाबद्ध रूपमा लेख्न थालें।
अनलाइनमा उहाँका कुरा राख्ने बित्तिकै धेरै पाठकले पढ्ने र व्यापक चर्चा भएको पाउँथें। यसले मलाई अझ बढी रिपोर्टिङ गर्न हौस्याउँथ्यो। ती लेखहरू सत्यमोहन सरलाई पनि देखाउँथें। पछि पत्रकारितामा मेरो सक्रियता नै कम हुन थालेपछि यो क्रम कम भयो।
एक दिन मेरा लेखक साथी कुमार नगरकोटीले आफ्नो किताब कल्पग्रन्थ सत्यमोहन सरलाई गिफ्ट दिने इच्छा भएकाले भेट गराइदिन भन्नुभयो। कुमारजीको छोराले विद्यालयमा सत्यमोहन जोशीबारे पाठ्यक्रममा पढिरहेको हुनाले छोराको हातबाट त्यो किताब दिने इच्छा राख्नुभएको थियो। त्यसैले कुमारजी, उहाँका छोरा, प्रकाशक भूपेन्द्रजी र म सत्यमोहन जोशीको घर गयौं।
त्यहाँ भूपेन्द्रजीले ‘सर, तपाईंका धेरै पुस्तकहरू प्रकाशित छन्, तर ती बजारमा उपलब्ध छैनन्। म तिनलाई पुनःप्रकाशन गरी बजारमा ल्याउँछु’ भन्नुभयो। सत्यमोहन सरले ‘जुन पुस्तक चाहिन्छ, त्यही प्रकाशन गर्न सक्नुहुन्छ’ भन्नुभयो र आफ्नो इच्छा भने अर्कै भएको सुनाउनुभयो। उहाँले मलाई देखाएर ‘मेरो इच्छा उहाँले लेखिदिएको जीवनी हेरेर मर्न मन छ’ भन्नुभयो। यो सुनेर हामी एकैछिन स्तब्ध भयौं। पछि कार्यक्रम सकेर एउटा क्याफेमा बस्दा भूपेन्द्र र कुमारजीले सत्यमोहनको जीवनी लेख्न सल्लाह दिनुभयो। प्रकाशन गर्ने पनि वाचा गर्नुभयो।
त्यति वेला म ‘पब्लिकेशन नेपाल’ र देश सञ्चार अनलाइनका लागि काम गर्दै थिएँ। उहाँहरूसँग बिदा मागें। मलाई देश सञ्चारका सम्पादक युवराज घिमिरेले ‘किताब लेख्ने काम र पत्रकारिता सँगसँगै गर’ भन्नुभएको थियो। तर, सबैतिर भ्याउन नसकिने हुनाले मैले पत्रकारिता छाडें र किताबका लागि ‘कन्ट्र्याक्ट’ गरेर सत्यमोहन लेख्न शुरू गरें।
कति समय लाग्यो किताब तयार हुन?
किताब लेख्न मात्र सात-आठ महीना लाग्यो। तर, यो किताब सात-आठ महीनामा तयार भयो भन्दा न्याय हुँदैन। सबैभन्दा बलियो आधार भनेको मैले सेतोपाटी र देश सञ्चारमा हुँदा तयार गरेको स्मृतिहरू प्रकाशित थिए, त्यो ‘ब्याकअप’ थियो।
योसँगै सबैभन्दा बलियो पाटो भनेको सत्यमोहन जोशीसँग लामो समयसम्मको सम्पर्क विकास भएको थियो, उहाँको व्यक्तित्वका विभिन्न पाटोलाई नियाल्ने मौका पाएको थिएँ। त्यसैले आत्मविश्वास विकास गर्यो। मैले उहाँसँग बसेर धेरै चरणमा पाण्डुलिपिमाथि छलफल गरें। यो किताब तयार गर्न मेरो र सत्यमोहन सरको निकै लामो समय लागेको छ।
किताब तयार गर्न धेरै पटक उहाँलाई भेट्नुभयो होला। उहाँको के कुराले प्रभावित पार्यो?
उहाँ मेरो उपस्थिति निकै मन पराउनुहुन्थ्यो। उहाँका परिवार, छोराछोरीले पनि राम्ररी चिन्नुहुन्थ्यो। एक महीनाअघि उहाँको घरमा पूजा हुँदा पुगेको थिएँ। त्यस दिन मलाई टीका लगाएर एक सय रुपैयाँ दिनुभयो। उहाँकी छोरी देउकी दिदीले जिस्क्याउँदै भन्नुभयो, “ए, बा यो के गर्नुभएको? हामी छोरीहरूलाई टीका लगाएर २० रुपैयाँ दिनुभयो, गिरीश भाइलाई सय रुपैयाँ?”
एकछिन रमाइलो वातावरण भयो। दिदीले मलाई बुबाले मेरो उपस्थिति मन पराउनुहुन्छ भन्दै नियमित आउनुस् भन्नुभएको थियो। यो किताबका लागि मात्र होइन, पहिलेदेखि नै सम्बन्ध राम्रो रह्यो।
त्यस्तै, एक दिन नाटक देखाउन उहाँकै कोठामा बन्दोबस्त गरिएको थियो। म त्यहाँ पुगेर ढोका बाहिरै बसे|। तर, उहाँ बाहिर निस्केर म भएकै ठाउँमा बस्नुभयो। मैले किन बाहिर आउनुभयो भनेर सोध्दा उहाँले ‘तपाईं भित्र आउनुभएन, त्यसैले म बाहिर आएँ’ भन्नुभयो।
कहिलेकाहीं कुरा गर्दागर्दै उहाँ मेरो हात समात्नुहुन्थ्यो। उहाँको हातको स्पर्श अझै महसूस हुन्छ। त्यो स्पर्श एकदमै आत्मीय थियो। यसले मलाई कैयौं पटक मनमा छोएको छ। जुन कुरामा पनि उहाँ सकारात्मक ढङ्गमा प्रस्तुत हुनुहुन्थ्यो।
उहाँको देशप्रतिको मायाले म प्रभावित छु। सबैले ‘नेपाललाई माया गर्छु’ त भन्छन्, सबैले माया गरेको भए यो देशको बेहाल किन हुन्थ्यो? उहाँले ‘म यो देशलाई माया गर्छु’ कहिल्यै पनि भन्नुभएन, तर मैले वास्तवमै देशलाई माया गर्ने व्यक्ति देखेको भनेको सत्यमोहन जोशी नै हो।
तपाईंका विचारमा सत्यमोहन जोशी कस्ता व्यक्ति हुन्?
पत्रकारले सत्यमोहन सरलाई चिनाएको भनेको संस्कृतिविद् भनेरै हो। तर, संस्कृतिविद् उहाँको परिचयको एउटा पाटो मात्र हो। उहाँ के मात्र होइन जस्तो लाग्छ। हामी जुन भाषामा संवाद गर्छौं, त्यसलाई खस भाषा भन्छौं। यो खस भाषाको खोजी उहाँले गर्नुभयो, जसको मातृभाषा नेवारी थियो।
सत्यमोहन उही व्यक्ति हो, जो सानैमा खस भाषा नजानेर पिटाइ खाई विद्यालयबाट निकालिएको थियो। जुन भाषा आफ्नो होइन, आमाबुबाबाट ग्रहण गरेको होइन र जुन भाषा नजान्दा दुर्व्यवहारपूर्वक निकालिनुपर्यो, त्यो भाषाको उत्पति थलो खोज्न कर्णालीको सिँजा उपत्यका जस्तो दुर्गम क्षेत्रमा २०२७ सालमै पुग्नुभयो, अध्ययन गर्नुभयो।
सत्यमोहन जोशीलाई कुन परिचय दिने, उहाँ जतिको राम्रो प्रशासक कोही पनि छैन। एक वर्ष पुरातत्त्व विभागको प्रशासक हुँदा उहाँले विभागका लागि थुप्रै सम्पत्ति जोगाउनुभयो, थुप्रै काम गर्नुभयो। एक कार्यकाल प्रज्ञा-प्रतिष्ठानमा सदस्य-सचिव हुनुभयो। उहाँले त्यति वेला शुरू गरेको गाईजात्रा महोत्सव अहिलेसम्म चलिरहेको छ। २०२६ सालमा बनेको प्रज्ञा-प्रतिष्ठानको हल प्रयोगविहीन थियो, उहाँले आएपछि नै प्रयोगमा आयो।
सत्यमोहन जोशीलाई जुनसुकै भूमिका दिए पनि उहाँले पूरा गरेर छाड्नुभयो। सबैभन्दा मुख्य भनेको देशप्रेम हो। जस्तो काम भए पनि देशकै लागि गर्नुभयो। मैले देखेको सत्यमोहन जोशी कर्मयोगी हुनुहुन्थ्यो। उहाँले बाँचुन्जेल कर्म गर्नुभयो र यसको लाभ देशलाई नै भएको छ।
किताबमा धेरै पुराना सम्झना समेटिएका छन्। यी सबै जानकारी उहाँले लेखेर राख्नुभएको थियो?
मैले पत्रकारिता गरेदेखि नै दुई जना व्यक्ति भेटेको छु, एक जना मदनमणि दीक्षित र अर्को सत्यमोहन जोशी। उहाँहरू दुवै जनामा विचित्रकै क्षमता थियो। यति लामो दीर्घायु जीवन बाँच्दा पनि उहाँहरूको जीवनकालका कुनै पनि घटनाका विषयमा वा इतिहासका कुनै पनि कालखण्डबारे प्रश्न गर्दा सम्पूर्ण परिवेश छर्लङ्ग हुने गरी बताउनेदेखि पात्र, समय, कहाँ के भएको सबै सम्झेर भन्न सक्नुहुन्थ्यो।
सत्यमोहन सरको मैले किताब नै लेखिरहेको हुँदा दोहोर्याई तेहेर्याई सोध्नुपर्थ्यो। कोरोनाभाइरसको समयमा मदन पुरस्कार पुस्तकालयमा बसेर विभिन्न किताब हेरें भने सम्बन्धित व्यक्तिलाई भेटेर पनि प्रमाणित गर्ने काम गरें। तर, उहाँले भनेका कुरामा केही फरक भएन।
धेरैजसो भन्नुहुन्थ्यो, त्यो नै पर्याप्त हुन्थ्यो। कहिलेकाहीं दस्तावेज पल्टाएर पनि बताउनुहुन्थ्यो।
किताबमा निश्चत विषयवस्तु मात्र समेटिएका छन्। अझै छुटेका कुरा त थुप्रै होलान्?
सत्यमोहन जोशी जस्तो व्यक्तिको सबै कुरा एउटै किताबमा पक्कै पनि आउँदैन। यो किताब समीक्षा गर्ने साथीहरूले नै सत्यमोहनले आफ्नो नेवार समुदायका लागि गरेका कामहरू पर्याप्त नआएको बताएका छन्। यो विषय सत्यमोहन सरसँग उठाएको पनि हुँ, तर उहाँले मलाई जति कुरा समेटिएको छ, त्यही कुरालाई राख्नुस्, नेवार समुदायका लागि मैले गरेका कामबारे अन्य कसैले लेख्छन्, तर यसमा राष्ट्रिय कुरा समेट्नु भन्नुभयो।
तपाईंले किताबको शुरूआत नै जुरेली चरीसँग जोडेर उहाँ मृत्युको मुखमा पुग्नुभएको देखाएर शुरूआत गर्नुभएको छ। अन्त्य पनि महामारीको समयमा समेत जुरेली दर्शन भनेर जोड्नुभयो। जुरेलीसँगको उहाँको सम्बन्ध कस्तो थियो?
महामारीलाई भन्दा पनि जुरेली चरीबाट कसरी प्रेरणा पाएँ भन्ने सत्यमोहन जोशीको दार्शनिक बुझाइ थियो। जुरेली दर्शन किताबमा राख्ने इच्छा उहाँकै थियो। त्यसैले पनि किताबको बनोट जुरेली चरीसँग उहाँको भेटबाट शुरू गरेर जुरेली दर्शनमा अन्त्य गरेको हो। जुरेली चरासँगको भेट गराउन उहाँ कस्तो परिस्थितिमा त्यो चरासँग जोडिनुभयो भन्ने कुरा गर्नुभएको छ। उहाँका अनुसार, वैराग्यमा नपुगी मानिसले दर्शन बुझ्दैनन्।
वैराग्यमा उहाँ कसरी पुग्नुभयो भन्दा २००१ सालमा काठमाडौं उपत्यका कहिल्यै नटेकेको नेवारको छोरा तनहुँ, लमजुङ बेग्लै भूभाग, बेग्लै परिस्थिति र संस्कृतिमा पुग्नुभयो। त्यही समयमा औलो लागेर उहाँलाई महामृत्युञ्जयको पाठ पढिसकेको अवस्था थियो। त्यहाँबाट बाँचेर आइसकेपछि पनि डिप्रेशनमा जानुभयो।
दोस्रो विश्वयुद्ध उत्कर्षमा पुगेको समय थियो। नेपालबाट विश्वयुद्धका लागि धेरै तन्नेरी बाहिरिएको गण्डक क्षेत्र हो। त्यही ठाउँमा सत्यमोहन पुग्नुभएको छ। तन्नेरी खाली भएपछि बालबालिका र वृद्धवृद्धा मात्र थिए। त्यहाँको विरह, दुःख उनीहरूसँगै बसेर अनुभूत गर्नुभयो। त्यस्तो परिस्थितिमा परेर डिप्रेशनमा पुगे पनि उहाँ भाग्न नमिल्ने अवस्थामा हुनुहुन्थ्यो। भागे सरकारी काम, घरजग्गा सबै जाने डर थियो। त्यसैले पनि उहाँ चरासँग नजिकिनुभयो।
चरासँग नजिकिनु अगाडि नै उपत्यकाका चराको ज्ञान थियो। चराले जस्तो परिस्थितिमा पनि आफ्नो जीवन बाँचेको देखेर सत्यमोहनको जीवनमा ठूलो परिवर्तन आएको हो। त्यसैले मैले जुरेली चरी शीर्षकबाटै यो किताब शुरू गरेको हुँ।
यो किताब जब सत्यमोहन जोशीको हातमा पर्यो, उहाँको प्रतिक्रिया कस्तो थियो?
योसँग जोडिएको एकदमै रमाइलो घटना छ। एक वर्षअघि नै उहाँको स्वास्थ्य कमजोर हुँदै गएको थियो। किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो। यसको एक साताअघि मात्र काठमाडौंमा तयार पारिएको ‘डमी’ किताब प्रकाशकले मेरो हातमा दिनुभएको थियो। त्यो हातमा पर्ने बित्तिकै सत्यमोहन सरलाई देखाउँछु भनेर उत्सुक भएँ। तर, प्रकाशकले ‘तत्काल नदेखाउनू, किनभने दिल्लीमा छपाइ भइरहेको छ। हार्ड कपी नै हातमा परेपछि देखाउनुहोला। तत्काल देखाउँदा फिका पर्न सक्छ’ भन्नुभयो। त्यसपछि मैले ‘डमी’ किताब घरमै राखें।
अचानक सत्यमोहन सर अस्पताल भर्ना हुनुभयो। उहाँको स्वास्थ्य अवस्था जटिल छ भन्ने खबर आयो। मलाई तनाव भयो। यो किताब उहाँलाई नै देखाउन पाइन्न कि भन्ने मनमा लाग्यो। किताब कहिले छापिएर आइपुग्छ, टुङ्गो थिएन। उहाँले हेर्नै पाउनुभएन भने यो किताबको के महत्त्व सोचेर जे पर्ला पर्ला भनेर ‘डमी’ नै लिएर अस्पतालमा भेट्न गएँ।
अक्सिजन लगाएर बस्नुभएको थियो, स्वास्थ्य अवस्था एकदमै नाजुक थियो। मैले ‘सर, किताब ल्याएको छु,’ भन्ने बित्तिकै दुवै हातले किताब समात्नुभयो। लोलाएका आँखामा चमक भरियो भने अनुहारको रङ नै फेरियो। तुरुन्तै उहाँमा आएको परिवर्तन देखेर त्यहाँ भएका सबै चकित भए।
किताब समात्ने बित्तिकै पाना पल्टाउन थाल्नुभयो। त्यसको केही छिनमै जेठी छोरी काबेरी दिदी र ज्वाइँ खाना लिएर भेट्न आउनुभएको थियो। करीब १० मिनेट बितिसक्दा पनि किताबबाट आँखा हटाउनुभएन। नर्सहरू औषधि खुवाउन आउँदा पनि टसमस हुनुभएन। त्यसपछि परिवारका सदस्यले सम्झाइदिनुस् भन्नुभयो। मैले ‘यो डमी किताब भएकाले छाडेर जान सक्दिनँ, तर तपाईंले यो किताब हेर्ने चाहना गरुन्जेल यहीं बस्छु। अहिले औषधि चाहिं खाइदिनुस्’ भनें।
त्यसपछि बल्ल औषधि खानुभयो र पछि पुन: किताब हेर्न थाल्नुभयो। किताब हेर्न पुग्यो भन्नुभएपछि मात्र म अस्पतालबाट निस्कें।
उहाँले धेरै काम गर्नुभएको, उपलब्धि पनि हासिल गर्नुभएको थियो। आफूले गर्न नसकेको केही कुरा भन्नुहुन्थ्यो?
मैले धेरै संवाद गरेको छु। उहाँ भन्नुहुन्थ्यो- पहिले पुरस्कार, राज्यले दिने मान-सम्मानहरूको एकदमै चाहना थियो, कसरी पाउने, कुन उपाय लगाउने भन्ने लाग्थ्यो। तर, जीवनमा यस्तो समय आयो, जति वेला यी सबै चाहनाहरूको आश गर्न छाडें। मेरो सोचाइ बन्द भएपछि, पुरस्कार, मान-सम्मान लाइन लागेर मेरो पछि लाग्न थाले।
यो किताब लेखिसकेपछि कत्तिको खुशी हुनुभयो?
किताब विमोचन हुँदा उहाँले मेरो र किताबबारे बोल्नुभयो। उहाँले आफूभित्र प्रवेश गरेर यो किताब लेखिदिनुभयो भन्नुभयो, देशकै श्रेष्ठ व्यक्तिले मेरो तारीफ गर्नुभयो। मेरा निम्ति त्योभन्दा सौभाग्य के हुन्छ र! म सिङ्गो परिवारप्रति अनुकृत छु। सत्यमोहन सरको निधन हुँदा उहाँका दुई छोरासँगै जन्मकुण्डली जलाउनेमा तेस्रो व्यक्ति म पनि थिएँ। सत्यमोहन सरले मलाई आफ्नै परिवारको सदस्य मान्नुहन्थ्यो भने निधनपछि उहाँको परिवारले मलाई त्यसरी नै परिवारको सदस्य मान्दा कृतज्ञ छु।
तीन वटा पुस्तक लेखिसक्नुभयो। अबको तयारी के छ?
म त लेख्ने मान्छे हुँ। दुई-तीन वटा किताबमा काम गर्दै छु। म किताबकै काममा व्यस्त छु।
त्यस्तै, सत्यमोहन सरको सबै रेकर्ड मसँग छ। कति कुरा उहाँले चाहना नराख्नुभएकाले त्यस्ता कुराहरू म चलाउँदिनँ। उहाँले भन्नुभएको तर किताबमा नअटाएका कुरा पनि छन्, त्यसलाई खोतल्ने काम गर्नेछु।