‘किरातकालमा बनेका हिति राणा र शाहकालमा मासिए’
‘नेपालमा पाइएको जस्तो हिति प्रणालीको ज्ञान संसारमा कहीं पनि छैन। त्यो भनेको स्थानीय आवश्यकतालाई परिपूर्ति गर्न बनेको प्रणाली हो।’
शहरी विकास विशेषज्ञ तथा लेखक पद्मसुन्दर जोशीको पहिलो कृति हो, हिति प्रणाली। काठमाडौं उपत्यकाको प्राचीन हिति प्रणालीमाथि लेखिएको पुस्तकमा पानी व्यवस्थापन सम्बन्धी इतिहास, वर्तमान र भविष्यबारे चित्रण गरिएको छ।
समीक्षकसँगै इतिहासकारहरूले पनि यस पुस्तकको प्रशंसा गरेका छन्। हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक जोशीसँग अनिता भेटवालले गरेको कुराकानीः
तपाईं त इन्जिनीयरिङको प्राध्यापक। हिति प्रणाली अर्थात् इतिहास सम्बन्धी पुस्तक लेख्नतिर कसरी लाग्नुभयो?
बाल्यकालदेखि नै हितिमा पानी खाँदै, नुहाउँदै र उपयोग गर्दै आएको हुँ। तर, हितिमा पानी कसरी, कहाँबाट आउँदो रहेछ भन्ने ज्ञान थिएन। अरूलाई सोध्दा पनि सही उत्तर पाएको थिइनँ। त्यो जिज्ञासाको रूपमा नै थियो।
त्यही क्रिममा हितिबारे अध्ययन अनुसन्धान गर्ने अवसर मिल्यो। नयाँ पुस्तामा हराउँदै गएको यही ज्ञानलाई लिपिबद्ध गर्न आवश्यक ठानें। यही काममा थप अध्ययन गरें र पुस्तक नै निकाल्न लागिपरें।
गत दशकमा ललितपुरमा पानी सम्बन्धी तथा हिति बचाउन आन्दोलन भएको थियो। त्यस वेला पनि प्राविधिक रूपमा काम गरें। प्रत्येक हिति, हितिका संरक्षण समिति, स्थानीय बासिन्दाबारे जान्ने मौका पाए। त्यस वेला नै उपत्यकाका हितिको अभिलेख संकलन गरें। त्यसपछि यसका प्राज्ञिक विवरणबारे पुस्तकालयदेखि विज्ञहरूलाई भेटें। विभिन्न हितिसँग सम्बन्धित स्रोतबाट अनेक जानकारी लिए। र, पुस्तक तयार भयो।
हिति प्रणालीको शुरूआत कहिले भयो? यसको विकास क्रम कस्तो देखिन्छ?
काठमाडौं उपत्यका बागमती, विष्णुमती लगायतको नदी प्रणाली छ। तर, बस्ती भने अग्लो टार परेको ठाउँमा छ। अग्लो ठाउँमा बसाइ, तर पानी तल छ। त्यहाँ पानी व्यवस्थापन गर्न दुई वटा चुनौती भएछन्। एउटा पानी उपलब्ध हुने इनार मात्र भयो र दोस्रो वर्षात्मा ठूलो भेललाई कसरी व्यवस्थित गर्ने। लगनखेलका पोखरी हुँदैनथे भने वर्षात्मा मंगलबजार क्षेत्र पूरै डुबानमा पर्थ्यो। अब यस्तो चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भनेर पुर्खाहरूले यो विषय विचार गर्न थाले। त्यही क्रममा हितिको प्रादुर्भाव भयो।
यसको शुरूआत कहिले भयो भन्ने यकीन मिति उल्लेख छैन। किरातकालमै शुरू भएको भनेर मानिन्छ। त्यसपछि लिच्छविकालमा भने हिति प्रणालीबारे लिखित दस्तावेज नै पाइएका छन्। पहिलो लिच्छवि राजाका पालादेखिका हितिबारे लिखित प्रमाण छन्। यसरी हेर्दा किरातकालमा हिति बने, लिच्छविकालमा धेरै विकास भए, मल्लकालमा व्यापक विस्तार भयो।
काठमाडौं उपत्यकामा मात्र नभएर बाहिर बनेपा, दोलखा, पूर्वमा इलाम लगायत पश्चिमी क्षेत्रमा पनि यो प्रणाली पाइन्छ। स्थानीय भूमिगत स्रोतलाई संकलन गरेर आफूलाई चाहिएको ठाउँमा खाल्डो खनेर पानीको व्यवस्थापन गर्ने प्रणाली भएकाले यो रुचाइएको प्रणाली हो। यसको प्रविधि ‘क्लिस्ट’ भएकाले सबैको क्षमताले बन्दैन।
टीकाभैरव राजकुलो, नेपाल मण्डल हिति, नुगःहिति लगायत हिति निर्माण हुनुका पछाडि विभिन्न किंवदन्ती पाइन्छ। हिति प्रणालीबारे किंवदन्तीमा विश्वास गर्ने कि यसको वैज्ञानिक पाटोमा?
मूलतः त्यहाँ पानी उपलब्ध नभएसम्म मन्त्र फुकेर पानी आयो भन्ने कुरामा विश्वास गर्न सकिंदैन। प्राविधिक क्षमताका कारण नै हिति भएका हुन्। यो हितिको संरक्षण र व्यवस्थापनसँग जोडिन्छ। जस्तो- किंवदन्तीको कुरामा पाटनको पिम्बहाल (जगमरु) पोखरी टीकाभैरवको लाखेले बनायो भन्ने छ। गोदावरीबाट ढुङ्गा ल्यायो भनिएको छ।
टीकाभैरवको लाखे नै किन भन्यो भनेर हेर्दै खोज्दै जाँदा टीकाभैरवबाट आउने राजकुलोले यो पोखरी भरिंदो रहेछ। त्यसैले किंवदन्तीमा आकर्षक बनाउन कथाहरू जोडिएका होलान्।
यो प्राविधिक रूपमा सही देखिन्छ। किनभने, टीकाभैरवबाट आएको राजकुलोले रिचार्ज गरेको छ। त्यसैले किंवदन्ती र प्रविधिलाई जोड्न मिल्छ। किंवदन्ती हो भनेर विश्वास नै नगर्ने हैन, यो किन यसो भनिएको छ भनेर खोजी गरे वास्तविक अर्थ लाग्छ।
अहिले यस्ता विकास निर्माणका काम गर्न प्राविधिक हुन्छन्। त्यो वेलामा कस्तो जनशक्तिले हिति प्रणाली बनाएको पाउनुभएको छ?
यसमा ज्ञान छ। त्यस वेलाको हिसाबले पनि दुई वटा ज्ञान हुन्थ्यो। एउटा लिखित दस्तावेज बनाएर राखिएको र अर्को अनुभव गर्दै खारिएर सिकेको। हाम्रो पूर्वीय ज्ञानमा गर्दै सिक्ने बढी छ। हामीलाई उपलब्ध ठ्यासफू (पुराना हस्तलिखित किताब) हेर्दा यसलाई त्यस वेलाका तान्त्रिकले लिखित रूपमा राख्ने र ज्ञान दिने गरेका थिए। मेरो हिसाबमा तान्त्रिकहरू त्यस वेलाका ‘एक्सपर्ट’ थिए।
हिति बनिसकेपछि मर्मतसम्भार गर्न अरू व्यक्ति पनि जान्थे। बुबासँगै छोरा र अन्य गाउँका व्यक्ति पनि जान्थे। त्यसरी अरूले पनि सिके।
कुनै पनि प्राविधिक ज्ञान नभए पनि देखेर, अनि अनुभवले अहिलेसम्म काम गर्ने व्यक्तिहरू हुनुहुन्छ। अध्ययनका क्रममा भेटिएका एक जना व्यक्तिले आफू दुब्लो भएकाले बुबाले दुलोमा छिर्न लगाएर हिति ल्याएको भन्नुहुन्थ्यो। उहाँले पनि पछि मलाई विभिन्न स्थानको हितिको बनोटबारे जानकारी दिनुभयो। त्यसरी ज्ञान एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएर आयो।
हिति प्रणालीले हाम्रो रैथाने ज्ञानलाई कसरी अभिव्यक्त गर्छ? यसलाई किन जोगाउन नसकिएको होला?
रैथाने भनेको त्यहीं स्थानमा विकास भएका कुरालाई मान्ने हो। नेपालमा पाइएको जस्तो हिति प्रणालीको ज्ञान संसारमा कहीं पनि छैन। त्यो भनेको स्थानीय आवश्यकतालाई परिपूर्ति गर्न बनेको प्रणाली हो। यो रैथाने प्रणालीलाई नयाँ कुरा आएपछि कसरी प्रभाव पार्छ भन्ने हेर्नैपर्छ, तर हामीले हेरेनौं।
जस्तो- राणाकालमा अहिलेको पाइप प्रणाली आयो। राणाहरूले आफ्नो घरमा पानीको व्यवस्था गर्न पाइप ल्याएका थिए। वीरशमशेरले वीर धारा, चन्द्रशमशेरले त्रिचन्द्र धारा भनेर फलामका सार्वजनिक ट्याब राखिदिएका थिए। त्यो राख्दासम्म खास फरक परेको थिएन।
पछि, खानेपानी संस्थाहरूले खानेपानीको धारा वितरण गर्दा हितिमा कस्तो कसर पर्छ भन्ने सोचेनन्। पुरानो प्रणालीलाई बेवास्ता गरियो। यी सम्पदालाई त्यति नै वेला कसरी प्रयोगमा लिएर जाने भनेर सोचेको भए यो हितिको दुर्दशा हुने थिएन। त्यस वेला आधुनिक भनेपछि राम्रो, परम्परागत भनेपछि हेलामा परे।
हितिहरू कुन समयमा आएर मासिन थाले?
शाहकालमा हितिहरू त्यति बनेनन्। स्थानीय जनताले केही बनाए, तर अन्य कालमा जस्तो संरक्षणको काम भएन। बरु राजा-महाराजाले मठमन्दिर बनाए। हिति भने स्थानीय जनताले बनाएको देखिन्छ।
राणाकालदेखि हिति भत्काउन शुरू भयो। दुई-चार वटा हिति त उनीहरूले बग्गीमा जाँदा छिरेनन् भनेर पुर्न लगाए।
हितिको सबैभन्दा धेरै बेवास्ता हुन थालेको पाइपबाट पानीको वितरण गर्न थालेपछि नै हो। त्यसपछि मानिस पनि सजिलो खोज्न थाले। हितिका गुठीहरू पनि मासिन थाले। खास गरी २०२१ सालयता हिति ओझेलमा पर्न थाले। यो कालपछि पश्चिमी शैलीले बढावा पायो। हाम्रा धेरै सम्पदा मासिएका पनि यस्तै कारणले हो।
सत्तासीनहरूले पनि आफ्नो स्थानीय ज्ञानलाई मान्यता दिएनन्। जस्तो- सातौं शताब्दीमा बनेको काष्ठमण्डपलाई त्यति वेलाकै प्रविधिका आधारमा अहिले पनि बनाइएको छ। तर, त्यो ज्ञानलाई हाम्रो शिक्षामा ल्याएका छैनौं। घरमा रोगी बूढाबूढी जस्तै भएका हाम्रा हितिलाई राणाकालपछि उठाउने र बचाउने कोशिश नै भएन। त्यो भनेको विनाश गर्नु नै हो।
संसारमा नपाइने नेपालको हिति प्रणाली भन्नुभएको छ। हाम्रोभन्दा पनि पुरानो सभ्यता भएका देश पनि छन्। ती देशमा पानीको व्यवस्थापन कसरी गरिन्थ्यो होला?
रोमन सभ्यताको कुरा गर्ने हो भने उनीहरूले ‘एक्वाडक’ (ठूलो ठूलो पानीको भण्डारण गर्ने) भनेर खानेपानी र सिंचाइका लागि बनाउने प्रणाली थियो। हाम्रो हिति प्रणालीको जस्तो थोरै मिल्ने सभ्यता भने कन्नाट प्रणाली हो। यो इरानबाट आएको मध्य-पूर्वतिर देख्न सकिन्छ। कन्नाट बनाउन मरुभूमिमा गहिरो इनार खनेर जमीनमुनि भएको पानीलाई ‘अन्डरग्राउन्ड’ बाट खोल्सो बनाएर जहाँ आवश्यक छ, त्यहाँसम्म पुर्याइन्थ्यो। हाम्रो त्यसरी वरिपरिको पानी सोरेरभन्दा पनि भूमिगत जलभण्डार नै छ। तर, मूल रूपमा नेपालको हिति प्रणाली मौलिक हो।
हितिहरू झट्ट हेर्दा त कलात्मक र सुन्दर देखिन्छन्। प्राविधिक रूपमा हेर्दा यसको प्रविधि कस्तो हुन्छ?
एउटा हामीलाई वरदान नै प्राप्त भए जस्तो छ। काठमाडौं उपत्यकामा भौगर्भिक अर्थात् माटोको बनोट राम्रो छ। काठमाडौं उपत्यका कुनै समय ताल थियो। ताल हुँदा त्यहाँ थुप्रै झारपात उम्रिएका हुन्थे। त्यो सबै मरेपछि जमीनमा बस्यो। कुहिएपछि माटो बन्यो। त्यो माटो नै कालिमाटी हो। त्यो कालिमाटीले आफूभन्दा तल पानी चुहिएर जान दिंदैन। काठमाडौं उपत्यकामा यस्तै सयदेखि दुई सय मिटरसम्म कालिमाटी छ। यो भनेको आकाशबाट परेको पानी पनि कालिमाटी भन्दा तल जाँदैन, माथि नै बस्छ।
कहीं कालिमाटी पाँचदेखि २० फिटमा नै आउँछ। त्यो आकाशबाट आएको कालिमाटीभन्दा माथि, तर राम्रो ठाउँमा बसेको पानीलाई हामी ‘आकोफर’ भन्छौं, नेपालीमा जलभण्डार। यो पोखरीको जस्तो पानी बस्ने नभएर माटोको प्वालमा पानी जमेर बसेको हुन्छ। इनार खन्दा माटो निकालेर खाल्डो भएपछि वरपरको पानी जम्मा हुन्छ। तर, हितिका लागि इनारमा आउने जति मात्र पानी भएर हुँदैन, अझै धेरै र राम्रो पानी आउने हुनुपर्छ।
त्यस्तो भूमिगत जलभण्डारमा बगिरहेको पानी भेटेपछि त्यो स्थानमा नाभिमण्डल बनाउँछौं। त्यसले पानी भित्र्याउने काम गर्छ। त्यहाँबाट आएको पानी हिति डुँड (१३ कोठाको) माटोको नाली बनाएर माथिबाट इँटाले ढाकिन्छ। पानीको दिशा परिर्वतन गर्न त्यहाँ अठल राखिएको हुन्छ। त्यसले दिशा परिवर्तन गर्दै जहाँ पानी चाहिएको हो त्यहाँ पुर्याइन्छ। त्यहाँ ‘ग्राभिटी फ्लो’ ले लगिन्छ।
पाइपमा जस्तो माथि-तल यस प्रविधिमा हुँदैन। त्यसैले मुनि मुनिबाट ‘स्लोप’ मिलाएर लग्ने र हिति नजिक खाल्डो बनाएर पानी खन्याउने गरिन्छ। त्यसैले हितिलाई नेवारले हितिःगाह पनि भन्छन्। किनभने, हिति सधैं खाल्डोमा हुन्छ।
त्यसो भए अहिले जुन हितिबाट पानी आइरहेको छ, त्यो आउनु भनेको त्यसको मुहानको जलभण्डार राम्रो भएर हो। जलभण्डार नभएकै कारणले हिति सुकेका हुन भन्न मिल्छ? कि अरू पनि कारण छन्?
त्यो पनि हो। यसका अन्य कारण पनि छन्। जस्तो एउटा, जलभण्डारबाट पानी नै लिन नमिल्ने गरी तल गयो भने पनि नआउने भयो।
अर्को, कारण हिति डुँड भनेर ओछ्याइएको जमीनमुनि कहाँबाट गएको छ भन्ने नै थाहा छैन। त्यसको कुनै नक्शाङ्कन भएको छैन। घर बनाउँदा वा इनार बनाउँदा त्यो भत्किएको रहेछ भने पनि पानी आउँदैन।
यस्तै पानीसँगै बगेर जाँदा जाँदा फोहोरले पनि अवरुद्ध गर्न सक्छ। यी तीनभन्दा अर्को थप पानी हितिमा नआउनुको कारण छैन।
लिच्छविकालीन शिलापत्रहरूले पानी व्यवस्थापन र कुलोको मर्मतसम्भारमा सहयोग पुर्याए बापत कर छूट पाउने भनिएको रहेछ। लिच्छविकालको त्यो व्यवस्था हेरेर आजको राज्यको संरक्षण चेत कस्तो देख्नुहुन्छ?
अहिलेको राज्यले यो कुरा सोचेकै छैन। अझ यहाँ त घरघरमा ढल ल्याउन पर्यो भने उपभोक्ता समिति मिलेर पैसा उठाएर राख्छ। त्यसमा उल्टो राज्यले कर लिन्छ। लगानी नभएको ठाउँमा पनि कर लिन्छ। यो चाहिं पहिलेका शासकको भन्दा अहिले उल्टो भयो। राम्रो कामलाई प्रोत्साहन गर्न त्यति वेलाका शासकबाट सामाजिक ज्ञान सिक्न जरुरी छ।
शहरीकरणले पनि हिति प्रणाली मासिएको छ। अब यो प्रणाली सम्पदाका रूपमा मात्र रहन्छ कि यसलाई फेरि दैनिकीसँग जोड्न सकिने उपाय छन्?
सम्पदा जीवनोपयोगी पनि हुन्छन्। यो जीवनोपयोगी सम्पदा हुनैपर्छ। संरक्षणका लागि भने सम्पदाको रूपमा बुझ्नुपर्यो। तर, हितिबाट पानी झरिरहेको छ भने त्यो पनि खानुपर्छ।
त्यसैले अब यसलाई जीवन्त संरक्षणको रूपमा लानुपर्छ। हितिहरू किन संरक्षण भएनन् भन्दा पानी आउन छाडेपछि यसको के काम भनेर मास्न थालियो। संरक्षण भएर पानी आइरह्यो भने यसको जगेर्ना पनि हुन्छ।
मासिएका हितिको संरक्षण गरौं भन्ने आवाज त उठ्ने गरेको छ। पुराना त छँदै छन्, अब नयाँ बनाउन सम्भव छैन?
यो ठीक कुरा उठाउनुभयो। जुन वेला कमलपोखरीमा काम गरिंदै थियो, शृङ्गारको काम हुँदै थियो, त्यति वेला काठमाडौंका तत्कालीन मेयरलाई मैले दिएको सुझाव सम्झिन्छु। कमलपोखरी कुनै राजा-महाराजा वा जनताले बनाए, प्रताप मल्लले रानीपोखरी बनाए, अर्को मल्ल राजाले भक्तपुरमा सिद्धपोखरी बनाए। उनीहरूले त्यसरी बनाउन सक्छन् भने अहिलेको मेयर वा मेयरकै नामबाट नयाँ पोखरी किन नबनाउने भनेका थिए।
हामीले नयाँ प्रविधि खोजी खोजी प्रयोग गर्न पनि हुने, तर पुरानो, दिगो र सुन्दर लोप हुन लागेको प्रविधिले काम गर्न किन नहुने? सरकारले खुला क्षेत्र बनाउने भनेको छ। त्यो खुला क्षेत्रमा पोखरी पनि पर्छ। त्यो किन नबनाउने? यसले खुला क्षेत्र हुनुका साथै भोलि आगलागी भएमा पानी आपूर्ति गर्न सकिन्छ। वर्षात्को पानी जम्मा गरिदिन्छ र पानीको ‘इकोसिस्टम’ पनि राम्रो हुन्छ।
हिजोका राजाले पोखरी, हिति बनाउन हुने आजका मेयर वा नेताले नयाँ केही बनाउन नहुने भन्ने त छैन। त्यो गरेर बरु आफ्नै नाममा राखून्।
यो किन आवश्यक भन्दा तराई क्षेत्रमा जस्तो जनकपुर, वीरगञ्जमा एउटा समस्या छ। वर्षात्मा पानीको तह माथि आएर घर घरमा पानी छिर्छ। त्यही कारण उनीहरूले परम्परागत रूपमा पोखरी बनाएर पानीको व्यवस्थापन गरेका थिए। तर, अब शहरीकरणसँगै भएका पोखरी पनि मिच्दै, फोहोर फाल्दै पुर्न थालियो।
तराईमा ढल निकासको व्यवस्था महँगो हुन्छ। त्यसैले व्यवस्थापन हुँदैन, तर पोखरी बनाउने हो भने सस्तो पर्छ। पानीको व्यवस्थापन चुनौतीका रूपमा आएको छ। पोखरी भए पानीको सिञ्चन पनि गर्छ, धेरै पानी परे पनि घर बगाउँदैन, खुला ठाउँ पनि हुन्छ। अहिले वीरगञ्जमा जनसंख्या बढे पनि तिनै पुराना पोखरीमा खाँदिएर छठ पर्व मनाउनुपरेको छ। नयाँ पोखरी बनाउन सकिन्छ। पानीको संरक्षण पनि हुन्छ।
अहिले व्यवस्थित शहरीकरणको मुद्दा पनि उठिरहेको छ। शहरीकरणसँगै हिति प्रणालीलाई पनि जोगाउन के गर्न सकिन्छ?
शहरीकरणसँगै अर्को स्थानमा हिति बनाउने हो भने त्यो एकदमै सम्भव छ। त्यो बाहेक शहरीकरण भनेको बाटो, घर र ढल बनाउने हो। त्यसमा चाहिए बिजुलीको पोल र केबुलको तार लिएर जाने हो भनेर शहरीकरण बुझेका छौं। तर, शहर भनेको मान्छे बस्ने हो। त्यहाँ मान्छेको आवश्यकतालाई परिपूर्ति गर्ने हो। यो आवश्यकता परिपूर्ति गर्दा संरक्षणको कुरालाई ध्यान दिनुपर्छ। जस्तो, अब आउने समयमा पानीको ठूलो हाहाकार हुनेवाला छ। हामीले मेलम्ची, लार्के लगायतको पानी ल्याए पनि पुग्दैन। यस अवस्थामा भएको पानीलाई कसरी कम उपयोग गर्ने र कसरी फारु गर्ने भन्ने हुन्छ।
अर्को उपलब्ध पानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने महत्त्वपूर्ण छ। जस्तो- काठमाडौंमा वर्षात्मा १७ सय मिलिमिटर पानी पर्छ। त्यो पानीलाई रिचार्ज गरेर हिति प्रणालीभित्र लिएर हितिहरू ब्युँताउन सकिन्छ। शहरीकरण व्यवस्थापन गर्छु भन्ने मान्छेले खालि प्लटिङ गर्ने, चौडा बाटो बनाएर घर बनाउने भन्छन्। त्यसरी हुँदैन।
अझ नयाँ बस्ती बनाउँदा पानीको व्यवस्थापन कसरी गर्ने सोच्नुपर्छ। पहिले नै कहाँ पोखरी, राजकुलो राख्ने भनेर सोच्नै पर्छ। त्यसरी सोचे बस्न लायक बन्छ, अन्यथा शहर बाध्यात्मक रूपमा बस्नुपर्ने ठाउँ बन्छ। त्यसैले बस्नलायक शहर बनाउन मान्छेसँग जोडेर शहरको योजना बनाउनुपर्छ।
तपाईं त इन्जिनीयरिङका विद्यार्थीलाई पढाउनुहुन्थ्यो। यो हिति प्रणालीको संरक्षणका लागि इन्जिनीयरिङको पाठ्यक्रममा सुधार आवश्यक छ भन्ने लाग्छ?
एकदमै लाग्छ। परम्परागत निर्माण पद्धतिबारे अनिवार्य पाठ्यक्रममा विषयवस्तु राखिनुपर्छ। हिति त एउटा पाटो भयो, मन्दिर वा अन्य सम्पदा निर्माणका पाटाहरू पनि छन्। त्यस्ता ज्ञान बिस्तारै लोप भएर जाँदै छन्।
एउटा परम्परागत घर निर्माण गर्न पाँच किसिमको माटो चाहिन्छ। त्यो माटो ठाउँ अनुसार फरक फरक हुन्छ। त्यो ज्ञान हराइसकेको छ। हितिसँगै परम्परागत ज्ञानलाई मासिन नदिन पनि यो विषय पाठ्यक्रममा समेटिनै पर्छ।
यो अध्ययन अनुसन्धानका क्रममा हिति प्रणालीबारे जानकारीमा आएका केही रोचक विषय छन् कि?
त्यस्ता धेरै छन्। त्यसमध्ये एउटा हस्तलिखित ठ्यासफूमा एउटा चित्र पाएको थिए। त्यसलाई जर्मनका आर्किटेक्टले पानीको ‘फिल्टर सिस्टम’ भनेर लेखेका थिए। त्यसमा धेरै बुझ्ने प्रयास गर्दा थाहा पाएँ, त्यो नाभिमण्डल रहेछ। इन्जिनीयरिङको हिसाबले पनि त्यो नाभिमण्डलबाट सिक्ने धेरै कुराहरू छन्। त्यो पानी कसरी तलबाट माथि आउँछ, त्यो प्लाब कत्रो बनाउनुपर्छ, त्यसमा च्यापी (खोलाको गोलो ढुङ्गा) कसरी भर्ने, स्लोभ कसरी मिलाउने देखाइएको छ।
यो मात्र एउटा चित्रमा देखाएको ज्ञान हो। यो ठ्यासफूको चित्र एउटा पुस्तकमा मैले पाएको थिएँ। त्यसको अक्षर र तरीकाहरू हेर्दा ३७० वर्ष पुरानो हुनुपर्छ। त्यतिका वर्ष पहिले पानीको प्रविधि त्यति रहर र अचम्मलाग्दो तरीकाले व्याख्या गरिएको छ।
अन्त्यमा, इतिहासबारे त्यति धेरै लेखिंदैन। यसरी लेखिएका पुस्तक पनि त्यति धेरै बिक्री हुँदैनन्। हिति प्रणाली पुस्तकबाट फेरि यस्तै लेख्न कतिको ऊर्जा मिलेको छ?
इतिहास पढ्ने भनेको इतिहास सिक्न हो। इतिहासबाट सिकेको कुरा वर्तमान परिप्रेक्ष्यमा ढालेर त्यसलाई उपयोग गर्नुपर्छ। त्यसैले मैले हिति प्रणालीः इतिहास, वर्तमान र भविष्य लेखेको छु। त्यो मैले पुस्तक पढेर रमाइलो गर्न मात्र हैन, लिच्छविकालमा यस्तो-त्यस्तो थियो रे भनेर पढेर मात्र भएन, त्यो वेलाका राम्रो प्रयोग सिक्नुपर्यो। जस्तै- हिति बनाउँदा कर छूट दिन लिच्छविहरूले सिकाएका थिए भने अहिले पनि टोल मिलाएर आफ्नो व्यवस्थापन गरे सम्पत्ति करमा ३० प्रतिशत कर छूट भनेर स्थानीय सरकारले व्यवस्था गर्न सक्छ। त्यस कारण इतिहास भनेको सिक्नका लागि हो।
जहाँसम्म पुस्तकको बिक्री कुरा छ, ७० प्रतिशत पुस्तक बिक्री भइसकेको छ। पुस्तकको बिक्रीभन्दा पनि आफूले थाहा पाएको कुरा, आफूसँग भएको ज्ञान पुस्तकका मार्फत प्रसार गर्नुपर्छ। अझै पनि जति लिपिबद्ध गर्न सक्छु, गर्दै जानेछु।
किताबका कुराका अन्य अंक: