‘नियमित डायरी लेख्ने बानीले पुस्तक तयार भयो’
‘यो किताब मेरो विचार, भावनाबाट आएको होइन, मैले जे देखें, भोगें, त्यसैलाई दस्तावेजीकरण गरेकी हुँ।’
कथा संग्रह सम्बन्धहीन सम्बन्धहरूबाट प्रशंसा बटुलेकी लेखक एवं पत्रकार बबिता बस्नेतको १५ वर्षपछि नयाँ पुस्तक बजारमा आएको छ। भर्खरै सार्वजनिक भएको बस्नेतको पुस्तक समय साक्षी विभिन्न क्षेत्रको यात्रा संस्मरण हो।
पत्रकारितासँगै साहित्य लेखनमा पनि नियमित कलम चलाउँदै आएकी लेखक बस्नेतसँग नयाँ पुस्तक समय साक्षीमा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुराका लागि अनिता श्रेष्ठले गरेको संवाद:
कसरी समय साक्षी नाम जुराउनुभयो? समयलाई यति धेरै महत्त्व दिनुको कारण के हो?
मलाई समयबारे कुरा गर्न, पढ्न एकदमै रमाइलो लाग्छ। समयबारे वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र भगवान् कृष्णले पनि कुरा गरेका छन्। यसबारे खोजेर पढ्न पहिलेदेखि नै रुचि थियो। समय साक्षी किताबको शीर्षक राख्नुको कारण पनि समय नै हो। हरेक कुराको समय हुन्छ। म विभिन्न ठाउँमा गएँ, मानिसहरूलाई भेटें, जुन समयलाई ‘डकुमेन्टेशन’ गरें। यही क्षणको साक्षी नै समय भएकाले यो नाम रहन गएको हो।
यो किताब लेख्न कति समय लाग्यो?
यो किताब एकैपटक सरासर लेखेको होइन, यसलाई लेख्न धेरै मिहिनेत पनि गर्नु परेन। यो मेरो कुनै भावना वा विचार पनि होइन। मैले विभिन्न देशमा भ्रमण गर्ने मौका पाएँ, जुन मैले पाएका अवसरहरू थिए। सन् १९९३ देखि विदेश यात्रा शुरू गरेकी थिएँ। ‘इन्डियन इन्स्टिच्यूट अफ मास कम्युनिकेशन’ मा अध्ययन गर्न जाँदा पहिलो यात्रा गरेकी थिएँ। त्यसपछि कामको सिलसिलामा २४ वटा देशको भ्रमण गरिसकेकी छु।
तिनै देश घुम्दा मलाई लागेका महत्त्वपूर्ण तथा रोचक घटनाहरूलाई यात्रा संस्मरणमा उतारेकी हुँ। पहिलेदेखि नै यात्रा संस्मरण पढ्न मन लाग्थ्यो। आफू नपुगे पनि पढ्दा ती ठाउँहरू पुगे जस्तो लाग्थ्यो। जुन ठाउँमा घुमेर आए पनि कम्तीमा एउटा लेख लेख्ने गर्थें। ती लेखिएका विषयहरू एउटै ठाउँमा ल्याउनुपर्छ भन्ने पनि सोच थियो। योसँगै मैले सधैं डायरी लेख्ने गरेकी थिएँ। यसलाई एकै ठाउँमा राख्न सके पढ्न पनि मजा आउने सोचेर यो किताब तयार गरेकी हुँ।
लेखक बन्न डायरी लेख्न कति जरुरी छ?
एकदमै जरुरी छ। मैले सन् १९९९ देखि व्यक्तिगत डायरी लेख्न थालेकी हुँ। हाल डायरी लेख्न थालेको २३ वर्ष भइसकेको छ र घरमा यसको चाङ नै छ। मैले कुन ठाउँमा भ्रमण गरें, कसलाई भेटें र के गरें, सबै लेख्थें। यसले मलाई धेरै सजिलो बनायो।
दैनिक रूपमा धेरै कार्यक्रम तथा विभिन्न ठाउँमा जानुपर्ने भएकाले कैयौं घटनाहरू बिर्सिन्छ, तर लेखेर राख्दा मिति, समय सबै सहजै याद गर्न सकिन्छ। मैले जस्तो अन्यले पनि यसरी डायरी लेख्दा धेरै कुरा सम्झन सजिलो हुन्छ।
पहिले पनि कथा संग्रहमा कलम चलाइसक्नुभएको छ। त्यसलाई निरन्तरता नदिई यात्रा संस्मरण नै किन रोज्नुभयो?
कथा लेख्न मलाई एकदमै रमाइलो लाग्छ। मेरो किताब सम्बन्धहीन सम्बन्धहरू धेरैले मन पराएका छन्। यूट्युबमा पनि उत्तिकै चर्चा पाइरहेको छ। हामी सञ्चारकर्मी भएकाले घटनाक्रम, सत्यतथ्यलाई मिलाएर सजिलै लेख्न सक्छौं, तर कतिपय परिकल्पनाका कुरा लेख्न गाह्रो हुन्छ।
मलाई भने देखेका, सुनेका वास्तविक कुराहरू र परिकल्पना मिलाएर कथा लेख्न रमाइलो लाग्छ। अहिले पनि अर्को कथा सङ्ग्रह तयारी अवस्थामा छ। कथामा पात्रको परिकल्पना हुन्छ, त्यसलाई राम्रा बनाउने, ऊसँगै हाँस्ने, रुने, पात्रलाई कता लाने, कति टाढासम्म पुर्याउने, के खुवाउने, के लगाउने सबै कुरा हाम्रै परिकल्पनामा भर पर्छ। तर, अहिलेको मेरो किताब यात्रा संस्मरण नै हो। भएका कुरालाई नै उतारेकी हुँ, जसमा परिकल्पना केही पनि छैन।
परिकल्पना गरेर लेख्ने र जस्ताको तस्तै लेख्ने फरक विधा हो। कथा संग्रह त छँदै छ, तर सधैं भ्रमण गरिरहन नसकिने भएकाले यात्रामा भएका कुरा किताबमा लेख्न सकिने देखेर यो किताब लेखें।
पत्रकारिता गर्दागर्दै साहित्यमा पनि कलम चलाइरहनुभएको छ। पत्रकारिता र साहित्यमा के भिन्नता पाउनुभयो?
पत्रकारितामा ‘६ क’ को नियम अनुसार समाचार लेखिन्छ। कुनै घटना भए जे देखेको छ वा भएको छ, सोही कुरा लेख्नुपर्छ। तर, साहित्यमा कुनै घटना भएको छ भने आफू पनि त्यही ठाउँमा हुनुपर्ने, आफैंलाई दुखाउनुपर्ने, आफैंलाई दुर्घटित गर्नुपर्ने हुन्छ।
मेरो विचारमा साहित्य र पत्रकारिताको कुरा गर्दा पत्रकारिता सजिलो छ। यसमा देखेको कुरा लेख्ने तथा विश्लेषण गर्ने हो, तर साहित्यमा भने घटनास्थलमै पुग्नुपर्ने, आफैंलाई दुखाउनुपर्ने, खुशी बनाउनुपर्ने हुन्छ। लेख्दा पनि हाम्रो जुन प्रकारको भूमिका हुन्छ, त्यही तहमा पुगेर सोच्नुपर्ने तथा शब्दहरू पनि त्यसरी नै चयन गर्नुपर्ने हुन्छ। पत्रकारिता सीधा कुरा हो भने साहित्यमा आफैंलाई परिकल्पनामा ढाल्नुपर्छ।
यात्राकै क्रममा २४ वटा देश घुमिसक्नुभयो। नेपालसँग के कस्ता समानता तथा भिन्नता पाउनुभयो?
मैले धेरै देश घुमें, तर विचार गर्दा हाम्रो देश एकदमै अलग पाएँ। नेपालमा धेरै विविधता छ, सबैभन्दा बढी खानेकुराको विविधता छ। तर, कतिपय देशमा बिहानदेखि पाउरोटी खाएको बेलुकासम्म पनि त्यस्तै प्रकारको खानेकुरामै सीमित हुनुपर्छ। नेपालमा दालभात खाने प्रचलन भए पनि योसँगै अन्य परिकार छन्। त्यस्तै, संस्कृतिमा पनि आआफ्नै चालचलन छन्, तर सबैभन्दा बढी विविधता दक्षिणएशियामा पाएँ।
किताबमा सिंगापुरको यात्रालाई बिर्सनै नसकिने भन्नुभएको छ। किन अविस्मरणीय रह्यो?
मेरो जीवनमा एउटा घटना घटेको थियो। जहिले पनि म सपनामा एउटा ठाउँ देख्थें। हरेक तीनदेखि पाँच महीनामा म त्यो ठाउँमा पुग्थें। विपनामा त्यो ठाउँ कहाँ होला भनेर सोच्थें। तर, म सिंगापुर गएको वेलामा त्यही ठाउँ भेटें। सबैभन्दा अचम्म त जब त्यो ठाउँ पुगेर प्रत्यक्ष आँखाले देखें, त्यसपछि त्यो ठाउँको सपना आउन छोड्यो। अहिलेसम्म त्यो सपना दोहोरिएको छैन।
त्यस्तै, यात्राकै क्रममा एम्स्टर्डाम (नेदरल्यान्डको राजधानी) पुगेकी थिएँ। त्यहाँ यौन सामग्रीको पसल देख्दा अचम्म लागेको थियो। त्यति वेला नेपालमा मैले दाल, चामल, लुगा इत्यादिको पसल मात्र देखेकी थिएँ। यौन सामग्री बेच्ने पसल पनि हुन्छ भन्ने थाहा नै थिएन। सुनेको भए पनि खुला रूपमा प्रदर्शन नै गरेर राखिन्छ भन्ने कल्पना पनि गरेकी थिइनँ।
पत्रकार भएर तपाईं पूर्व राजासँगै भ्रमणमा जानुभयो। त्यति वेला कसरी रिपोर्टिङ गर्नुहुन्थ्यो?
म पूर्व राजा ज्ञानेन्द्र शाहको पालामा भारत भ्रमणमा गएकी थिएँ। सरकारी भ्रमण भएकाले कार्यालयबाटै पठाइएको थियो। भारतको राष्ट्रपति कार्यालयमा मैले दुई पटकसम्म जाने मौका पाएँ। उच्च पदाधिकारीहरूसँगै भ्रमणमा जाँदा एकदमै दौडादौड हुँदो रहेछ। उहाँहरूले के कुरा गर्नुभयो, के भयो भन्ने कुरा जस्ताको तस्तै थाहा पाउन कुरेर बस्नुपर्ने त कहिले सँगै भएका मानिससँग सोध्नुपर्ने, धाउनुपर्ने हुन्थ्यो। यसले गर्दा हामी निकै थाक्थ्यौं, तर त्यस्तो व्यस्त समयमा पनि पूर्व राजा कहिल्यै थाकेको देखिनँ। उहाँको अनुहार सधैं शान्त, हाँसिरहको, बिहानदेखि बेलुका एकपछि अर्को कार्यक्रममा भाग लिंदा पनि थकित भएको पाएनौं।
यस्तो भ्रमण मलाई भने गाह्रो लाग्यो। किनभने, उच्च अधिकारीहरूको पछि पछि लागेर मात्र समाचार नबन्ने रहेछ। सूचनाका लागि धेरै ठाउँमा सोध्नुपर्ने, धाउनुपर्ने र यसलाई लेखेर बुझाउनुपर्ने थियो। अहिले त तुरुन्त इमेल लेखेर पठाउँदा हुन्छ, त्यति वेला भने हामीले फ्याक्सका माध्यमबाट समाचार पठाउनुपर्थ्यो, जुन निकै गाह्रो हुन्थ्यो।
तपाईंले शुरू गर्दाको समय र अहिलेको समयको पत्रकारितामा के फरक छ?
म ३० वर्षअघि पत्रकारितामा प्रवेश गरेकी थिएँ। त्यति वेला हाम्रो हात हातमा कम्प्युटर हुन्छ र आफ्नै कम्प्युटरबाट समाचार लेख्न पाइन्छ भन्ने सोचेकै थिइनँ। मैले मात्र होइन, त्यति वेला काम गर्ने पुस्ताले पनि योसम्मको कल्पना गरेको थिएन।
एउटा मात्र कम्प्युटर हुन्थ्यो। हामी हातले नै समाचार लेख्थ्यौं। समाचार लेखिसकेपछि सम्पादकलाई देखाएर बल्ल कम्प्युटर अपरेटरलाई दिन्थौं। कम्प्युटर कोठामा छिर्दा पनि जुत्ता फुकालेर सुस्तरी समाचार बुझाउँथ्यौं।
अहिले मोबाइलबाटै समाचार अपडेट गर्ने समयमा आइपुगेका छौं। प्रविधिका हिसाबले निकै अघि पुगिसकेका छौं। तर, मलाई अहिलेका पत्रकारले भन्दा हाम्रै पुस्ताले धेरै मिहिनेत गर्थ्यो जस्तो लाग्छ। पहिले कुनै समाचार लिन धेरै अध्ययन गर्नुपर्थ्यो, दस्तावेजहरू लिन कहाँ कहाँ पुग्नुपर्थ्यो। अहिले कति कुरामा सहज भएको छ।
रिपोर्टिङकै क्रममा संयुक्त राष्ट्रसंघको महासभामा समेत पुग्नुभयो। महिला सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सभा-सम्मेलमा सहभागी हुनुभयो। महिलाको अवस्था कस्तो पाउनुभयो?
कहिलेकाहीं जानीनजानी ऐतिहासिक क्षणमा सहभागी हुँदा रहेछौं। लोक सेवा आयोगको प्रश्नमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने पहिलो महिला पत्रकार बबिता बस्नेत भनेर राखिएको पाएँ। सन् १९९४ को राष्ट्रसंघको महासभामा सहभागी भएकी थिएँ, त्यति वेला म नै पहिलो रहेछु।
योसँगै महिला सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा पनि भाग लिने मौका पाएँ। त्यहाँबाट मैले के थाहा पाएँ भने विश्वभरका महिलाको अवस्था समान रहेछ। देश अनुसार खान-लाउन समस्या, यसोआराममा फरकपन होला वा कोही सुखी वा दुःखी होलान्, तर समस्याहरू एकै खालको पाएँ। सबै देशमा उस्तै खालको पितृसत्तात्मक सोचलाई चिर्दै अगाडि बढ्नुपर्ने चुनौती तथा जोखिमहरू देखें। यूरोप, अमेरिका, अफ्रिका, दक्षिणएशियामा बसोबास गर्ने महिलाको अवस्था उस्ताउस्तै पाएँ। कतिपय कानूनी प्रावधान तथा समानताको हिसाबमा नेपाल अझ अघि रहेको पाएँ।
अहिले पत्रकारको संख्या पनि बढ्दै गएको छ। उनीहरूको अवस्था कस्तो छ र अझ सक्षम बनाउन के गर्नुपर्छ?
हामीले पत्रकारिता शुरू गर्दा औंलामा गन्न सक्ने महिला पत्रकार थियौं। सञ्चारिका समूहको तथ्याङ्कमा हाल नेपालमा पत्रकारिता क्षेत्रमा २५ प्रतिशत महिला पत्रकार छन्। अझ संख्याको हिसाबमा महिला बढ्दै छन्। अन्य क्षेत्रमा पनि महिलाको सहभागिता उस्तै हो। तर, यस क्षेत्रमा अझै बढी मिहिनेत गर्नुपर्ने देखिन्छ।
चुनौती तथा जोखिम दुवै महिला तथा पुरुष पत्रकारलाई बराबर छ, तर अलि बढी महिलालाई छ। महिलालाई घरको कामकाजको भार पनि छ भने यो क्षेत्रमा अलि ‘माइन्ड इन्गेज’ हुन्छ। पहिलेको तुलनामा चुनौती कम हुन सक्छ, तर अवसर भने महिलालाई समान नै छ। अझै मिहिनेत गर्नुपर्ने त छ नै, ‘अपग्रेड’ पनि भइराख्नुपर्छ।
पत्रकारिता क्षेत्र भनेको पटक पटक प्रमाणित गर्नुपर्ने पेशा हो। अन्य क्षेत्रमा एक पटक परीक्षा उत्तीर्ण भएपछि वा छनोट भएपछि अवकाश नपाएसम्म सोही अनुसार काम हुन्छ। तर, यहाँ दैनिक पत्रिकामा काम गरे दैनिक रूपमा, साप्ताहिक भए हप्ताको एकपटक आफूलाई प्रमाणित गरिरहनुपर्छ। अब त अनलाइनको अवधारणाले गर्दा पलपलमा प्रमाणित गर्नुपरेको छ। यो क्षेत्रमा अरूसँग नभई आफैंसँग प्रतिस्पर्धा हुन्छ। हामीले लेखेका कुराले अरूको जिन्दगीलाई असर गर्ने भएकाले पनि बढी मिहिनेत गर्न जरुरी छ।
महिला पत्रकार त बढिरहेकै छन्। तर, महिला सम्पादकको संख्या किन कम छ?
महिला पत्रकारहरूको निरन्तरता कम छ। केही समयसम्म मात्र काम गरेर छोड्ने प्रवृत्ति अहिलेसम्म पनि छ। निरन्तरता दिन नसक्नु नै चुनौतीपूर्ण रहेको देखिन्छ। यसै कारणले पनि निर्णायक तहमा महिला कम देखिन्छन्।
मिडियामा आइसकेका महिलालाई कसरी जोगाउने भन्ने नै प्रश्न हो। हामीले पनि मिडियामा प्रवेश गर्दा सामाजिक, आर्थिक चुनौतीको सामना गरेका थियौं। पत्रकारितासँगै अन्य काम गर्दा कामको बोझ धेरै हुन्थ्यो। तर, अब पत्रकारितामै पूरा समय लाग्दा जीवनयापन गर्न सक्ने वातावरण बनाउन जरुरी छ।
पत्रकारिताको व्यस्त समयबीच पनि किताब लेख्न कसरी भ्याइरहनुभएको छ?
म रातको समयलाई किताब लेख्न प्रयोग गर्छु। मलाई किताब लेख्न केही कुराले छुनुपर्छ, तब मात्र लेख्न शुरू गर्छु। नियमित रूपमा लेख पनि लेखिरहेकै छु। लेख्ने काम नै मेरो मुख्य काम हो भनेर लिएकी छु।
अन्त्यमा, समय साक्षी मार्फत के भन्न खोज्नुभएको छ?
मेरो किताब समय साक्षी पढेर मानिसहरूले आफ्नो यात्राको विषयलाई लेख्न प्रेरणा दिन्छ। सबै जना विभिन्न देश, ठाउँमा घुमिरहेका हुन्छन्। आफूले भोगेका, देखेका, भेटेका मानिसहरूबारे लेख्न उनीहरूले सोचेका हुँदैनन्। मेरो किताब पढेर धेरै पाठकले आफूसँग पनि यस्ता भोगाइ तथा यात्रा गरेका र यसबारे लेख्न इच्छा भएको प्रतिक्रिया दिएका छन्।
पहिले मलाई पनि साहित्यकार अस्कर वाइल्डका कथाहरू पढ्दा एकदमै रमाइलो लाग्थ्यो। वाइल्डले परिकल्पनाको हद पार गरेर कथाहरू लेखेका छन्, जसले गर्दा म पनि लेख्न सक्छु, परिकल्पना गर्न सक्छु जस्तो हुन्थ्यो। र, मैले लेखें पनि। यसमाथि यो किताब मेरो विचार, भावनाबाट आएको होइन, मैले जे देखें, भोगें, त्यसैलाई दस्तावेजीकरण गरेकी हुँ। मैले सिकेका कुराहरू अन्यले पनि सिक्न सक्छन्।