‘रेडियोकर्मी भनेर चिनिँदा मेरो कवि परिचय छोपियाे’
“एउटा लेखक बाँचिरहन र लेखिरहन धेरै पढ्न जरुरी छ। इतिहास, भूगोल, संस्कृति, संवेदना र समाज पढ्न जरुरी छ।”
अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता नवराज लम्सालका कर्ण र धरा महाकाव्यका साथै तीन वटा कविता संग्रह र दुई वटा गीति संग्रह प्रकाशित छन्। अग्नि उनको तेस्रो महाकाव्य तथा आठौं कृति हो। लम्सालसँग अग्नि महाकाव्यसँग सम्बन्धित रहेर हिमालखबरका लागि सागर बुढाथोकीले गरेको कुराकानी:
यो वर्षको मदन पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा बधाई छ, कस्ता प्रतिक्रिया आइरहेका छन्?
धेरै धेरै धन्यवाद। महाकाव्यले पुरस्कार नपाएको वर्षौं भएको थियो। अग्निले पुरस्कार पाउँदा धेरैले सद्भाव देखाइरहेका छन्। अग्निले मदन पुरस्कार पाएसँगै लोप हुन लागेको महाकाव्य विधा पुनर्जागृत भयो भनेर धेरैले बधाई दिइरहेका छन्।
अधिकांश कवि आख्यान लेख्न लागिरहेका वेला तपाईं धमाधम महाकाव्य लेखिरहनुभएको छ, किन?
म बाहिरको परिवेशबाट नियन्त्रित भएर भन्दा आफ्नो हृदयको आवाज सुनेर हिंड्छु। जीवनको उद्देश्य निर्धारण गरेर हिंड्छु। भलै त्यो उद्देश्य पूरा हुन्छ कि हुँदैन थाहा छैन। तर‚ बाहिरको परिवेशले निर्देशित हुन्नँ। म कवितामा आफूले भन्न चाहेको कुरा प्रष्ट भन्न सक्छु जस्तो लाग्छ। जुन कुरा तीन पेजमा लेख्न सक्दिनँ, त्यो तीन हरफकाे कवितामा लेख्न सक्छु जस्तो लाग्छ। त्यसैले म कवितालाई प्रेम गर्छु। महाकाव्य कविताको बृहत्तर रूप हो। जीवनका बहुआयामिक पाटा छन्। अर्थात् साना पनि छन्, ठूला पनि। सानाको नाममा एक थोपा आँशु, एक मुस्कान, एउटा आइया अथवा आत्थामा रमायौं।
बिहान जुरुक्क उठेर काठमाडौंको भीडमा पसेपछिको उतारचढाव आफैंमा एउटा महाकाव्य जस्तो छ। जिन्दगीको सम्पूर्णता यसमै छ। त्यस कारण कुनै वस्तुलाई एकापट्टिबाट मात्र हेरियो भने सम्पूर्णता देखिंदैन। सम्पूर्णता देख्न चारैतिरबाट हेर्नुपर्छ। एउटा विषयलाई महाकाव्यको कोणबाट हेर्दा त्यसको सम्पूर्णता देख्न सकिन्छ जस्तो लाग्छ। धेरै किताब बेचेर धेरै रोयल्टी आओस् भन्ने भन्दा पनि अन्तरहृदय पोख्न पाऊँ र मैले लेखिने विषयको सम्पूर्णता आओस् भन्ने अपेक्षा राखेर महाकाव्यको बाटो रोजेको हुँ।
महाकाव्यलाई काव्यको बृहत् स्वरूप मानिन्छ, अग्नि लेख्न कति समय लाग्यो?
मैले अग्निका लागि अध्ययन गरेको २० वर्ष भयो। धेरै कुरा गरे जस्तो नठानियोस्, म लेख्नका लागि लेख्नेभन्दा पनि सार्थक र वस्तुनिष्ठ विषयमा लेख्न मन पराउँछु। मलाई इतिहास‚ संस्कृति र भूगोल टेकेर समयको संवेदना लेख्न मन पर्छ। इतिहास, संस्कृति र भूगोल भएको देशका नागरिकले लेख्ने भनेको आजको समय, संवेदना र समाज हो। आज राम र सीताको पार्कमा भेट भएर माया बस्याे, भोलि भेटेर मःम खाए, पर्सि सिनेमा हेर्न गए, अर्को दिन लुकेर बिहे गरे, त्यसको अर्को दिन छुट्यो जस्ता कुराहरू लेख्दिनँ। यस्तो विषयमा दम हुन्छ जस्तो लाग्दैन।
अग्निबारे लेख्न शुरू गर्दा अनुसन्धान पूर्णता भएको थिएन। त्यसबीचमा मैले कर्ण र धरा जस्ता महाकाव्य लेखें। त्यसपछि मात्र मैले अग्निलाई पूर्णता दिएँ।
अग्नि महाकाव्य पढ्दै गर्दा इतिहास, धार्मिक ग्रन्थ र समाज पढिरहेको महसूस हुँदो रहेछ, यो किताब लेख्नुको पृष्ठभूमि के थियो?
एउटा कार्यक्रमको सिलसिलामा हेटौंडा गएको थिएँ। मकवानपुरगढीमा सेनवंशी राजाको पालाको ठूले कामीले जेठी तरबार बनाएको कथा सुनें। त्यो कथा सुनेपछि त्यस कथामा महाकाव्य लेख्न मन लाग्यो। आजसम्म दलित, आदिवासी-जनजाति, महिला, मधेशीका नाममा हामीले दयाका शब्दहरू ओछ्यायौं। तर, अग्नि लेख्नुअघि त्यसलाई उल्टो पारौं भन्ने लाग्यो। एउटा दलितले आरनमा बसेर यो देश हेरोस्, त्यहाँबाट माथिल्लो तहमा बस्ने मान्छे हेरोस्। देशको इतिहास, भूगोल, संस्कृति र धर्म हेर्दा उसले आफूलाई कहाँ पाउँछ?
‘ए धर्मशास्त्रका विज्ञहरू हो, तपाईंको धर्मशास्त्रमा म किन छैन, ए इतिहासकारहरू हो, म तपाईंको इतिहासमा किन छैन? तपाईंको समाजशास्त्र र अर्थशास्त्रमा किन छैन? तपाईंको राज्यसंयन्त्रमा किन छैन’ भनेर एउटा पात्र सडकबाट बोलोस् भन्ने मेरो अपेक्षा हो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि बिसे नगर्चीले एक रुपैयाँ दिएर ११ सय घरधुरीले ११ सय उठाएको भनेर पढ्छौं। उक्त रकम उठाइसकेपछि पृथ्वीनारायण फलाम किनेर खुकुरी बनाउन जसवीर कामीकहाँ गएका थिए। ती जसवीर कामीका सन्तान कहाँ होलान्? ती बिसे नगर्चीका सन्तान कहाँ होलान्?
आरन बस्ने छेलाङ विश्वकर्माले- लुगा लगाउनुहुन्छ, जनाई लगाउनुहुन्छ, हतियार चलाउनुहुन्छ, तर आफैं बनाउनु हुन्न। आफू बनाउनु हुन्न, ठीकै छ। तर‚ बनाउनेहरूलाई अछूत किन भन्नुहुन्छ भनेर प्रश्न गर्छ। दलित भएकोमा उसमा कुनै हीनताबोध र शासकप्रति कुनै गाली छैन। तर‚ उसले निर्भीकतासाथ प्रश्न उठाउँछ। यही पृष्ठभूमिमा अग्नि लेखेको छु।
धेरै लेखिने, पढिने र सुनिने विधामा कविता पर्छ। प्रकाशनको हिसाबले महाकाव्य कम प्रकाशन भएको छ, यसमा बजार अथवा साधनाले कस्तो अर्थ राख्छ?
गीत र कविताको तिर्खा किताब नकिनेर पनि पूरा हुँदो रहेछ। अखबारमा कविता छापिएकै हुन्छ। साहित्यिक पत्रपत्रिकामा पनि कविता र गीत छापिएकै हुन्छन्। कविता र कवितासँग जोडिएका विधाका तिर्खा मेट्ने अरू माध्यम पनि हुँदा रहेछन्, तर आख्यान पढ्न किताबै किन्नुपर्छ। आख्यान नै पढेर रेडियो वा अन्य माध्यममा बजाउने चलन कम छ। त्यसो हुनाले पुस्तक कम प्रकाशन भए पनि कविताको प्रभाव बढी छ।
मलाई धेरै मानिसले महाकाव्य मृत र लोपोन्मुख विधा हो, यसमा किन हात हाल्छौ भनेका थिए। तर, २०६६ मा कर्ण, २०७३ मा धरा र २०७८ मा अग्नि आयो। अहिले युवा पुस्ताले अग्नि खोजी-खोजी पढ्न थालेका छन्। महाकाव्य नपढिने होइन रहेछ। महाकाव्य लेख्नेहरूले क्लिष्ट र दुर्बोध्य शब्दहरू प्रयोग गरेर अनावश्यक कल्पना थोपरेका रहेछन्। आफ्नो कुरा प्रष्ट भन्न सकियो र भन्ने कुरालाई बोक्न सक्ने भाषा पनि सरल भयो भने जुनसुकै विधाको साहित्य पढ्दा रहेछन्। मलाई महाकाव्य लेखेर पाठक कम पाएँ भने जस्तो लागेको छैन।
एउटा लेखकका लागि मदन पुरस्कार पाउनुले के अर्थ राख्दो रहेछ?
मदन पुरस्कार धेरै लेखकहरूको अपेक्षा हो। यो संयोगका कुरा हो। कहिले मिल्न सक्छ‚ कहिले नमिल्न सक्छ। पुरस्कारका लागि पुरस्कार भए त कर्ण या धरामा हुन सक्थ्यो होला। संयोग अग्निमा आइपुग्यो। पुरस्कारले सामाजिक स्वीकृति निर्माण गर्छ। लेखकलाई चाहिने भनेको सामाजिक स्वीकारोक्ति हो। त्यो स्वीकारोक्ति एउटा लेखकका लागि ठूलो सम्पत्ति हो। मदन पुरस्कार पाउँदा र नपाउँदाको नवराज लम्साल त्यही हो। उसको किताब पनि त्यही हो, तर पुरस्कार पाइसकेपछि मानिसहरूले हेर्ने दृष्टिकोण पृथक् हुँदो रहेछ।
कविता कम बिक्ने विधा हो भनिन्छ, यो बजारसँग जोडिने कुरा हो कि होइन?
यो एकदमै हो। लेखकहरूले मेरो किताबको मूल्य यति हो भनेर बजारमा पठाएपछि त्यो बिक्रीसँग स्वाभाविक रूपले जोडिन्छ। कोही लेखकले बिक्रीसँग मलाई सरोकार छैन भन्यो भने त्यो एक किसिमको ढोंग हो। तर, बिक्रीको नाममा जसरी बिक्छ, पाठकले जे खोज्छ, त्यही दिनु हुँदैन। एउटा सक्षम लेखकले पाठकलाई आफ्नो बाटोमा हिंडाउने हो। कथ्य पाठकले चाहेको जस्तो भए पनि सन्देश लेखकको हुनुपर्छ।
यसअघि तपाईंले दुई वटा महाकाव्य लेखिसक्नुभएको छ, महाकाव्यका पाठक चाहिं कति रहेछन्?
उपन्यास पनि धेरै निस्किएका छन्, तर सबै पढिएका छैनन। सबै कथाको चर्चा छैन। सबैको संस्मरण जगदीश घिमिरेको अन्तर्मनको यात्रा जस्तो छैन। त्यसको मतलब जुनसुकै विधाको साहित्यले पाठकसम्म जान पाठकको संवेदना कति उठायो, संवेदनालाई बोक्ने भाषा कति खेलायो भन्ने कुरामा निर्भर गर्छ। म कविताको भविष्य अत्यन्त उज्ज्वल देख्छु। पाठक पनि धेरै देख्छु। रेडियो, टेलिभिजन र पत्रपत्रिकामा कविता आइरहेका छन्। कविहरू अब अझ जिम्मेवार भएर झन् मिहिनत गरेर सूक्तिमयतालाई सुदृढ बनाएर लानुपर्छ। कवितालाई कविताकै भाषामा लानुपर्छ। कवितालाई नाराको भाषामा लानु हुँदैन भन्ने मेरो आग्रह छ।
महाकाव्य जस्तो बृहत् कृति लेख्न सर्जकसँग ठूलो धैर्य र साधना चाहिन्छ, आजका पाठकमा धैर्य छ त?
पढ्न शुरू गरेपछि आँखा नझिम्काई पूरै पढें भन्ने धेरै प्रतिक्रिया पाएको छु। अबको एक-दुई दिनमा दोस्रो संस्करण आउँदै छ। यो मेरो सौभाग्य हो वा समयको कुरा हो‚ महाकाव्य लेखेकैले पाठककहाँ पुग्न पाइनँ भन्ने लघुताभास राख्नुपरेको छैन। धेरै पाठकले पढेको छु भनेर सन्देश पठाइरहनुभएकाले उत्साहित भएको छु।
अब प्रसङ्ग बदलौं, समकालीन कविता लेखनको अवस्था कस्तो छ?
विषयको हिसाबले हेर्दा अत्यन्त आशावादी छु। कवितामा विषयको विविधता छ। नेपाली कवितामा पहिचान, सांस्कृतिक चेत र जागरणको कुरा उठेका छन्। पर्यावरण र लैङ्गिक समानताको कुरा उठेका छन्। संख्यात्मक र गुणात्मक ढङ्गले राम्रा कृतिहरू आएका छन्। यो अझै कसिलो र माझिनुपर्छ। कविताले कविताकै भाषा ग्रहण गर्नुपर्छ। अहिले कविता त्यसतर्फ उन्मुख छ, तर ठीक बाटोमा पुगिसकेको छैन।
पछिल्लो समय पाठक, लेखक र प्रकाशकहरूको रोजाइमा आख्यान विधा परिरहेको छ, यो कविताका लागि चुनौती हो कि चेपुवामा परेको वेला आफ्नो शक्ति देखाउने अवसर हो?
अवसर हो। कविता धेरै छापिनुपर्छ। योसँगै सबै विधा लेखिनुपर्छ। सबैले कविता या आख्यान लेखेर फरक स्वाद हुँदैन। पहिलो शर्त किताब लेखिनुपर्छ, छापिनुपर्छ, वितरण हुनुपर्छ र पाठक बढ्नुपर्छ। नयाँ पुस्ताका लेखकहरू किताब छाप्न चाहन्छन् भने स्वागत गर्नुपर्छ। रिटायर्ड जीवन बिताइरहेकाहरू किताब छाप्न चाहन्छन् भने सम्मान गर्नुपर्छ। तर, समालोचनाको कोणबाट हेर्न भने छाड्नु हुँदैन।
कोही व्यक्ति आफ्नो पहिचान खोज्न किताब निकाल्छन् भने कोही किताब लेखेको छु भनेर देखाउन। त्यस्तै‚ कोही साहित्यको पहिचान दिलाउन किताब लेख्छन्। कुनै लेखकले लेखेको विषयवस्तु र शिल्पले नेपाली साहित्यको श्रीवृद्धि गर्छ। जो लेखकको किताबले नेपाली भाषा र साहित्यको चिन्तन र फैलावट गर्छ, त्यो लेखकसँग रहरले लेख्ने लेखकलाई दाँज्नु हुँदैन। समालोचकले यस्ता कुरा ध्यान दिनुपर्छ, त्यस्ता समालोचकको अभाव अझै छ।
सञ्चारकर्मी भएको कारण तपाईंको लेखनका विषय र शैलीमा प्रभाव परेको छ या छैन?
पत्रकार भएकै कारण विषयवस्तुका गम्भीरता बुझेर टपक्क टिप्न सजिलो भयो। पत्रकारिता गर्ने क्रममा देशका विभिन्न ठाउँ पुग्दा त्यहाँको समाज र भूगोल अध्ययन गर्न पाएँ। पत्रकार भएकै कारण सन्दर्भ सामग्री खोज्न सहज भयो। तर, रेडियो नेपालमा बोल्ने नवराज लम्साल भन्ने परिचयले कवि नवराज लम्सालको परिचय छोपिरह्यो। कुनै पत्रपत्रिकाले विशेषाङ्क निकाल्ने वेला कवि नवराज लम्साललाई सम्झिएनन्। किनभने, नवराज लम्साल रेडियो नेपालको कार्यक्रम सञ्चालक थियो। कुनै विशेष समारोह र सन्दर्भमा नवराज लम्साललाई सम्झिन भ्याएनन्, किनभने उसको कवि परिचयभन्दा रेडियोकर्मीको परिचयको प्रभाव ज्यादा थियो।
कहिलेकाहीं रेडियोकर्मी नवराज लम्साल साहित्यकार नवराज लम्साल मात्र भइदिएको भए अझ मेरो मूल्याङ्कन सही हुन्थ्यो कि भन्ने लाग्छ। सञ्चारकर्मी नवराज लम्सालले कवि परिचय थिच्यो कि झैं लाग्थ्यो। अग्नि आएपछि कवि नवराज लम्साल सञ्चारकर्मी पनि हो भनेर चिन्न थालेका छन् भन्ने लागेको छ।
अब केही व्यक्तिगत कुरा गरौं, तपाईंको लेखनको शुरूआती दिन कस्ता थिए?
मैले संस्कृत मावि रानीपोखरीमा ८ कक्षामा पढ्दाखेरि नै कालिदासको संस्कृत साहित्य पढ्न पाएँ। सानै उमेरमा संस्कृत साहित्यसँग ठोक्किन पाउँदा त्यसले मलाई संस्कृत साहित्यको विराट् संसारमा प्रवेश गरायो। कलेज पढ्दा कविता सुन्ने, सुनाउने माहोल बन्यो। केही वर्ष संस्कृत छात्रावास बसेकाले धेरै वर्ष छन्दको ‘ह्याङओभर’ बोकेर हिंडें। कर्ण र धरा महाकाव्य आधा गद्य र आधा पद्यमा लेखेको छु। मलाई सानैदेखि संस्कृत भाषा र साहित्यको नजिक हुने अवसर मिलेकाले पनि महाकाव्य लेख्न प्रेरणा मिलेको हो।
लेखनका शुरूआती दिनमा असफल पो हुन्छु कि भन्ने डर लागेन?
मैले भविष्यको चिन्ता गरिनँ। भोलि जे होला होला‚ आज इमानदारीपूर्वक‚ मिहिनेतका साथ कोशिश गर्छु भन्ने लाग्थ्यो। अहिले पनि भोलिको घाम कताबाट उदाउँछ भन्ने चिन्ता हुँदैन। आजको दिन सहजताका साथ बिताउनुपर्छ जस्तो लाग्छ। र, निराशा र कुण्ठाहरूलाई पनि सकारात्मक रूपमा लिन्छु।
यहाँ कत्तिको महत्त्वाकांक्षी हुनुहुन्छ?
महत्त्वाकांक्षा छ। महत्त्वाकांक्षा भएन भने केही गर्न सकिंदैन। तर‚ महत्त्वाकांक्षाका नाममा तुरुन्त प्राप्तिको कहिल्यै अभिलाषा राखिनँ। अझै पनि राम्रो किताब लेख्ने र रेडियोमा राम्रो कार्यक्रम बनाउने जस्ता महत्त्वाकांक्षा छन्। तर, यी कुरा भएनन् भने निराश पनि हुँदिनँ।
जीवनमा धेरै हन्डर खाएँ। सुदूर गाउँबाट जुँगाको रेखी नबस्दै कक्षा ८ पढ्न काठमाडौं छिरेको म झण्डै ४० वर्षदेखि काठमाडौंमै छु। यो दौरानमा काठमाडौंले मलाई धेरै कुरा दियो। तर, मलाई पुग्यो भन्ने पनि छैन। अझै सक्रियतापूर्वक काम गर्छु। अब म झन् धेरै पढ्छु र अहिलेभन्दा धेरै राम्रा किताब लेख्छु भन्ने लागिरहेको छ।
अध्ययनको कुरा गर्नुभयो, एउटा राम्रो लेखक बन्न अध्ययन किन जरुरी छ?
नखाई ओकल्न सकिंदैन। यसो भन्दा धेरै लेखकको मानहानि नहोस्। पहिलो किताब भयङ्कर हिट हुने लेखकको दोस्रो किताब बेपत्ता भयो। दोस्रो किताब जेनतेन हिट हुनेको तेस्रो किताब धुलिट्याम्म भयो। पहिलो किताब लेख्ने वेला उसको २५/३० वर्षको अध्ययन, अनुभव खारिएर आगो भएर निस्किएको थियो र उसको किताब भर्भराउँदो भयो। दोस्रो किताब निकाल्दा उसले बीचमा पढ्दै पढेन, अनुभव पनि पहिलो किताबमै सकियो। सोही कारण एउटा लेखक बाँचिरहन र लेखिरहन धेरै पढ्न जरुरी छ। लेखकले इतिहास, भूगोल, संस्कृति, संवेदना र समाज पढ्न जरुरी छ। हरेक भूगोलका मान्छेका आफ्नै भाषा, खाना, भोगाइ, परिवेश, संस्कृति छन्। त्यसैले देश पढ्नुपर्छ, बुझ्नुपर्छ।
एउटा लेखकले समाज र यसको बहुलता जानेन भने त्यो मानिस लेखक नै हुँदैन। उसको किताब बिक्ला, पैसा पनि कमाउला, तर उसको किताब भोलिका लागि रहँदैन। आज धेरै लेखकहरूलाई आफूले लेखेको किताब घरमा श्रीमती र आफन्तले नपढे हुन्थ्यो भनेर लुकाएर हिंड्नुपर्ने अवस्था छ। एउटा लेखक मर्ने वेला आफ्ना सन्तानलाई बोलाएर मैले तिमीहरूलाई जीवनमा जति शिक्षा दिएँ, बाँकी शिक्षा यो किताबमा भएका अक्षरले दिनेछ भनेर निर्धक्क भन्न सक्दैन भने उसले लेखक बनेर भ्रम बाँड्न हुँदैन।
आठ वटा कृति प्रकाशन गरिसक्नुभयो, सञ्चारकर्ममा पनि व्यस्त हुनुहुन्छ, समय कसरी व्यवस्थापन गर्नुहुन्छ?
म एक समय बिहान १० देखि राति १०/११ बजेसम्म काम गर्थें। त्यो वेला बिहान १० देखि साँझ ५ बजेसम्म रेडियो नेपालमा र बेलुका १०/११ बजेसम्म बीबीसी नेपाली सेवामा काम गर्थें। त्यसपछि राति लेख्ने र पढ्ने काम गरेर जम्मा दुई घण्टा सुत्थें। बिदा र खाली समयमा पढ्ने र लेख्ने काममा नै व्यस्त भएँ। जीवनको १५/२० वर्ष धेरै रहर मारेर पढ्ने र लेख्ने काम गरें। पछिल्लो १८/२० वर्षमा यति धेरै काम गर्न सक्नुको कारण व्यक्तिगत रहर मारेर नै हो।
आगामी लेखनका योजना के छ? कविता नै लेख्नुहुन्छ कि अरू विधाका कृति आउँछन्?
म एउटै विषयलाई लामो समय खेलाई त्यो परिपक्व भएपछि लेख्ने मान्छे हुँ। कर्ण लेख्दा धेरै पटक महाभारत पढें। धरा लेख्दा देशको कति धेरै भूगोल पुगें। अग्नि लेख्दा पटक पटक मकवानपुरगढी गएँ। आरन हेर्न मात्र कञ्चनपुर‚ मुगुसम्म पुगें। अहिले मसँग पाँच-सात वटा गम्भीर विषय दिमागमा तन्द्रा जस्ता भएर बसेका छन्। त्यसको गम्भीर अध्ययन गर्नुपर्ने छ।
त्यसका लागि केही समय देश बाहिर र देशभित्र अध्ययन गर्नुपर्नेछ। कविता नै लेख्नुपर्छ भन्ने किसिमको कुनै आग्रह छैन। राम्रो साहित्य लेख्नुपर्छ, विधा जुन भए पनि हुन्छ जस्तो लाग्छ। अबको केही समय अध्ययन गर्छु, विषयवस्तु परिपक्व भएपछि लेख्छु।