‘धेरै पढेर वेल इन्फर्म्ड हुनु नै बौद्धिक हुनु होइन’
बुकाहोलिक्स नामक फेसबूक ग्रूपकी सञ्चालिक हुन, सगुना शाह। किताब पढ्ने र त्यसबारे छलफल गर्ने यो एउटा खुला समूह मात्र हो, जसमा अहिले २४ हजार सदस्य जोडिएका छन्। शाहले शिवा शाहद्वारा लिखित अंग्रेजी किताब द अदर क्वीनलाई नेपालीमा अनुवाद पनि गरेकी छन्। त्यसाे त शाह नाटक पनि खेल्छिन्। अंग्रेजी साहित्य र फ्रान्सेली भाषा पढाउने शिक्षक समेत रहेकी शाहसँग अनुवाद अनुभव र पठन संस्कृतिको विषयमा सागर बुढाथोकीले कुराकानी गरेका छन्।
यहाँले पछिल्लो समय पढेको किताब कुन हो, अहिले के पढ्दै हुनुहुन्छ?
मैले भर्खरै रामलाल जोशीको बाआमा पढें। त्यसअघि छाइल पढेकी थिएँ। मलाई कुकुर मन पर्ने भएकाले छाइल पढ्नुअघि बूक अफ डग पढेको थिएँ। अहिले चाहिं डाकिनी– दि हिमालयन क्वार्टेट भन्ने बजारमा आइनसकेको किताब पढिरहेकी छु। यो दीपकशमशेर राणाले लेख्नुभएको चार वटा उपन्यासको संग्रह हो।
यहाँले शिवा शाहको द अदर क्वीन पुस्तकको अनुवाद गर्नुभएको थियो, उहाँ साहित्य सर्कलमा खासै परिचित हुनुहुन्न है?
शिवा शाहको द अदर क्वीन लेख्नुअघि तीन वटा पुस्तक प्रकाशन भइसकेका छन्। द अदर क्वीन अघि नै र उहाँका लोयल्ज अफ द क्राउन, फेसिङ माई फ्यान्टम र बियोन्ड द इलुजन किताब मैले पढिसकेकी थिएँ। उहाँ ठूलो समूहमा परिचित नहुनुको कारण चर्चामा आउन चाहनुहुन्न। नेपालमा खासमा अंग्रेजी भाषामा लेख्ने चर्चित लेखकमा सम्राट् उपाध्याय र मञ्जुश्री थापा हुनहुन्छ। त्यस्तै, रवि थापा र प्रणय राणालाई जतिले पढ्नुहुन्छ, शिवा शाहलाई कम मानिसले पढ्नुहुन्छ। उहाँ धनगढीमा जन्मनुभएको थियो र पछि शाही परिवारमा विवाह भएको थियो। त्यसैले पनि उहाँलाई द अदर क्वीन लेख्ने प्रेरणा मिलेको होला।
अनुवाद गर्न द अदर क्वीन रोज्नुको कारण के हो?
प्रकाशक र लेखकबाट अनुवाद गर्न मलाई अनुरोध भएको थियो। दरबारसँग मेरो नजिकको सम्बन्ध जोडिएको भएकाले त्यति वेलाका भाषा, परिवेश, राजनीति जस्ता कुराहरू अरू भन्दा धेरै थाहा छ कि भन्ने हिसाबले उहाँहरूले मलाई भन्नुभएको होला। त्यसमा मेरो रुचि आफ्नो पुस्ताका लागि 'ट्रिब्युट' दिऊँ भने जस्तो हो। किनभने, त्यो दुई सय वर्षअघिको इतिहाससँग मेरो पनि इतिहास जोडिएको छ।
द अदर क्वीनको अनुवादले नेपाली साहित्यमा के कस्तो अर्थ राख्छ?
यो किताब दुई सय वर्षअघिको इतिहासलाई आख्यानीकरण गरिएको हो। यो ऐतिहासिक आख्यान हो, इतिहास होइन। आख्यान भएको कारणले लेखकले जुनसुकै आकार दिन त पाए, तर त्यसमा भएका चरित्रहरू यथार्थमा छन्। त्यो वेलामा दरबारका भित्र र बाहिर बेलायती प्रभाव कस्तो थियो, रानीहरूको शक्ति कस्तो खालको थियो, राजाहरू अलिकति प्रभावशाली नभएकाले सत्ता कसरी बदलियो र राणाहरूको उदय कसरी भयो भन्ने कुरा पुस्तकमा छ। राजाको कमजोरी र रानीहरूको दूरदर्शितालाई यो पुस्तकले उजागर गर्छ।
हामी नेपाली पाठकहरू अंग्रेजीमा लेखिएको किताब कम पढ्छौं। यसरी अनुवाद भएर आउँदा यो किताब ठूलो समूहमा जान सफल भएको जस्तो लाग्छ।
अनुवादलाई पुन:सिर्जना पनि भन्ने गरिन्छ, यो पुस्तक अनुवाद गर्दा यहाँले के कस्ता अफ्ठ्यारा महसूस गर्नुभयो?
शब्दको मात्र अनुवाद गर्ने हो भने त्यति धेरै अप्ठ्याराहरू नआउलान्। भावानुवाद गर्न सक्नु अनुवादकको ठूलो सफलता हो। भावानुवाद गर्ने सिलसिलामा त लेखकले लेखेको कुरामा मात्र नभएर उहाँको मनोविज्ञान र भन्न खोजेको कुरामा पनि केन्द्रित हुनुपर्छ। कहिलेकाहीं कुन शब्द चलाउने भनेर पनि गाह्रो हुन्थ्यो। किनकि, एउटा गलत शब्द हाल्दा त्यसको संरचना नै फरक हुन जान्थ्यो। अनुवादकलाई वास्तविक लेखकले भन्न खोजेको भावलाई दिन सकेको छु कि छैन भन्ने कुरा नै चुनौतीपूर्ण हुने रहेछ।
विश्वस्तरका विदेशी साहित्यहरू नेपाली भाषामा अनुवाद हुन थालेको धेरै भइसकेको छ, तर गुणस्तरलाई लिएर सधैं प्रश्न छ, गुणस्तरीय अनुवाद हुन नसक्नुको कारण के होला?
धेरै पाठकले विश्व साहित्य पढिसक्नुभएको छ भने मात्र यो कुरा पत्ता लगाउन सक्ने हो। हामीकहाँ जति पनि अनुवाद हुन्छन्, त्यसको 'ओरजिनल' संस्करण धेरैले पढ्न पाएका हुँदैनन्। मैले पछिल्लो समयमा मोहन मैनालीले अनुवाद गरेको पुस्तक आकाशमुखी पढें । म हत्तपत्त अनुवाद गरेको पुस्तक पढ्न रुचाउँदिनँ।
मोहन सरले अनुवाद गरेको पुस्तकको कुरा गर्दा उहाँले कतिपय ठाउँमा अनुवाद नगरेर छाड्नुभएको छ। तर, उहाँले त्यो कुरा पुस्तकमै लेख्नुभएको छ। मैले किन त्यस्तो गरेको भनेर सोध्दा उहाँले गर्नै सकिएन भन्नुभयो। पाठकले मूल संस्करण पढेको छैन भने अनुवाद पढ्दा यस्ता कुरा थाहा पनि हुन्न।
त्यसैले गुणस्तर केको आधारमा मापन गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। गुणस्तर तब मात्र थाहा हुन्छ जब चाहिं हामीले दुवै भाषामा लेखिएका किताब पढेका हुन्छौं।
विश्व साहित्यका पुस्तक अनुवाद गर्न एक अनुवादकसँग हुनुपर्ने आधारभूत गुणहरू के के हुन् जस्तो लाग्छ?
अनुवादकसँग अनुवाद गर्ने किताब लेखिएको भाषा र अनुवाद गर्दै गरेको भाषाको ज्ञान र बुझाइ गहिरो हुनुपर्छ। यी दुई भाषाको ज्ञानको साथसाथै लेखकले के भन्न खोजेको छ भन्ने कुराको पनि बोध हुनु पर्छ। यति भएन भने शब्दको मात्र अनुवाद हुन्छ र त्यही नै ठूलो समस्या बन्छ।
नेपाली भाषाका किताब विदेशी भाषामा अनुवाद अत्यन्त कम मात्रै भएको छ, यसो हुनुको कारण के होला? यसमा हाम्रो साहित्यको गुणस्तर प्रमुख कारण हो कि अन्य कारणहरूले गर्दा नेपाली साहित्य विश्व बजारमा पुग्न सकेको छैन?
यो प्रकाशक र लेखकले वहन गर्नुपर्ने जिम्मेवारी हो। मलाई चाहिं नेपाली किताबहरू पढ्दा यो किताब अनुवाद गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। जस्तो कि, गुरूप्रसाद मैनालीको नासो । त्यस्तै माया ठकुरी, भागीरथी श्रेष्ठ जस्ता लेखकको कथा अंग्रेजीमा अनुवाद भएर विश्व साहित्यसम्म पुग्न सक्यो भने कस्तो राम्रो हुन्थ्यो होला भन्ने लाग्छ। माया ठकुरीको आमा जानुहोस् भन्ने किताब अ फल लेस अ गड भनेर अक्षर पब्लिकेशनले निकालेको छ। तर, यति मात्रैले पुग्दैन। नेपाली साहित्यमा राम्रा राम्रा किताबहरू छन्, जुन अनुवाद भएको खण्डमा धेरैले पढ्थे।
वेलाबखत तपाईं नेपाली लेखक तथा पाठकहरू कम अध्ययनशील छन् भन्नुहुन्छ? यो भनाइको आधार के हो?
अहिले निरन्तर एउटै 'थिम' र विषयवस्तुमा कथाहरू आइरहँदा हामीले फरक फरक विषयवस्तु नदेखेका हौं कि जस्तो लाग्छ। अरहान पामुकको माई नेम इज रेड पढ्नुभयो भने त्यसको पहिलो च्याप्टरमा लासले बोलिराखेको छ। मैले भन्न खोजेको के भने हाम्रा लेखकहरूले कथा भन्ने शैली बदल्न सक्नुभएको छैन। उहाँहरू सीमित किताबहरू मात्र पढ्नुहुन्छ जस्तो लाग्छ।
हामीमा धैर्य र 'रिवर्क' गर्ने मानसिकता विकास भइसकेको छैन जस्तो लाग्छ। अहिले धेरै किताबहरू पढिरहँदा अलिकति 'रिवर्क' गरेको भए, अलिकति च्यात्न सकेको भए, अलिकति मेट्न सकेको भए, अलिकति केर्न र फाल्न सकेको भए अझै राम्रो साहित्य निस्किन्थ्यो होला जस्तो लाग्छ। तर, हामीलाई के छ भने एउटा कविता सिर्जना गरेर फेसबूकमा हाल्यो भने लाइक र वाह-वाही गरेको प्रतिक्रिया आउँछ। त्यसले लेखकको अहङ्कार बढाउँछ। त्यही भएर आफूले एक वर्षअघि लेखेको कुरा फर्केर हेर्दा धेरै अन्तर देखिन्छ। यसमा अझै धेरै काम गर्न सकिन्थ्यो जस्तो लाग्छ।
केही गिनेचुनेका लेखक हुनुहुन्छ, उहाँहरूको सिफारिश हेर्दा विश्व साहित्य एकदम धेरै पढ्नुहुन्छ। तर, अहिले आउँदै गरेका नयाँ पुस्ताका लेखकहरूले अलिकति अध्ययनको दायरा अलि बढाए हुन्थ्यो होला भन्ने लाग्छ। म आफैंले पनि अथाह पढेकी छु भन्दिनँ।
हामीकहाँ कम पढ्ने र झूटो प्रशंसा गर्नेको बहुमत भएकाले पनि यस्तो संस्कार विकास हुन गएको हो कि?
हामीकहाँ पढिसकेपछि कि त झुर भनेर भन्दिने, कि त अति प्रशंसा गरिदिने प्रवृत्ति छ। यो सामाजिक सञ्जालको कारणले पनि भएको होला। कतिपय लेखकहरूको स्टेटसमा 'वाह–वाह' गरेका तीन-चार सय वटा प्रतिक्रिया आउँछ। उहाँहरूको सिर्जनशीलता वाह–वाहीले खुम्चिनु भएन। लेखकहरूले आत्मालोचना, आत्ममूल्याङ्कन र आफैंलाई प्रश्न गर्नुपर्छ। सानोभन्दा सानो कुरा लेख्दा किन, केका लागि र यसको अर्थ के हुन्छ भनेर आफूले आफैंलाई सोध्नुपर्छ जस्तो लाग्छ।
अपवाद बाहेकका लेखकहरूमा कुनै पनि सिर्जनामा पटक पटक काम गर्ने धैर्य भएन भन्नुभयो,यस्तो हुनुको समस्या लेखकको हो कि प्रकाशन गृहको हो?
पहिलो समस्या त लेखकको नै हो। प्रकाशन गृहले पनि यसलाई पुनर्लेखन गर्नुपर्छ भन्न सक्नुपर्छ जस्तो लाग्छ। त्यसो भयो भने लेखकलाई अझै केही राम्रो गरौं भन्ने लाग्छ। त्यो पनि सकारात्मक उत्प्रेरणा हो। हाम्रोमा पुनर्लेखन गर भनेर कम मात्रै प्रकाशन गृहले भन्छन्। यसले साहित्यको स्तर बढाउन असहयोग गर्छ।
अब प्रसङ्ग बदलौं, बुकाहोलिक्स नामक संस्थाबाट साहित्य सम्बन्धी गतिविधि गर्दै आउनुभएको छ, यो फोरम जन्मनुको पृष्ठभूमि बताइदिनुस् न।
यो २०११ मा स्थापना गरेको फोरम हो। त्यस्तो ठूलो उद्देश्य लिएर खोलेको फोरम होइनँ। किताब पढ्न रुचाउनेहरूको छलफल गर्ने थलो होस् भनेर यो फोरम खोलेको हुँ। बिस्तारै बिस्तारै लेखक, प्रकाशक र अध्ययनशील पाठक जोडिन पुग्नुभयो।
म सानैदेखि अलि बढी किताबमा रुचि राख्थें। स्नातकोत्तर गरिसकेपछि किताब पढ्ने बानीलाई निरन्तरता दिन पाएँ। त्यही सिलसिलामा सामाजिक सञ्जालमा पोस्ट गर्दै जाँदा कति धेरै पढेको, बौद्धिक छु भनेर देखाउन खोजेको भन्ने खालका टीका-टिप्पणी पनि आए। त्यो वेला मलाई म यस्तो 'प्लेटफर्म' बनाउँछु जहाँ किताबको मात्र कुरा होस् भन्न सोच आयो। शुरूमा १५ जना साथी हुनुहुन्थ्यो। अहिले २५ हजार सदस्यहरू हुनुहुन्छ।
सन् २०१३ मा प्रभाकर गौतम भाइ हाम्रो 'एडमिन' समूहमा हुनुहुन्थ्यो। उहाँ त्यो वेला मार्टिन चौतारीमा पनि आबद्ध हुनुहुन्थ्यो। उहाँले महीनामा एक पटक किताबबारे छलफल गरौं भनेर प्रस्ताव राख्नुभयो। मार्टिन चौतारीले ठाउँ उपलब्ध पनि गरायो। र, हामीले महीनामा एक पटक बहस शुरू गर्यौं। अब आएर यति गरेर मात्र पुग्दैन भन्ने लागेको छ।
बुकाहोलिक्स जस्तै उद्देश्य लिएर जन्मिएका अन्य फोरमरू पनि थिए, तर उनीहरूले निरन्तरता दिन सकेनन्। तपाईंहरू एक दशकदेखि निरन्तर सक्रिय हुनुहुन्छ। के कस्ता अफ्ठ्यारा छन्?
आर्थिक पाटोमा अप्ठ्यारो छ। तर, सबै कुरा पैसा मात्र होइन रहेछ। स्थापना कालदेखि म यसमा आबद्ध छु। आफूले जन्माएको संस्था भएकाले अभावका बीच पनि हुर्काइरहेकी छु। विभिन्न साथीहरू यसमा जोडिनुभयो, जानुभयो। मलाई चाहिं आफैंले जन्माएको भएकाले कुनै पनि हालतमा चलाएर छोड्छु भन्ने छ। यो मेरा लागि 'प्यासन' भयो। यसले गर्न सक्ने परिवर्तनहरू देखिरहेकी छु। पहिले हामीले किताबको मात्र बहस गर्थ्यौं भने अब लेखनलाई कसरी राम्रो बनाउने भन्ने बहस चलाउने योजनामा छौं। यो लगायत यस्तै 'थिमाटिक' विषयमा बहस चलाउने योजना बनाइरहेका छौं।
यो फोरमले चकटी बहस गरिरहेको छ। त्यसमा पुस्तक र वक्ता छनोट कसरी गर्नुहुन्छ?
पुस्तक र वक्ताका लागि हाम्रो टीममा बसेर छलफल गर्छौं। कतिपय अवस्थामा समूहमा कुन कुन पुस्तकमा छलफल होस् भनेर चाहनुहुन्छ भनेर पोस्ट गर्छौं। त्यहाँ माग भएका पुस्तकबारे पनि बहस चलाउँछौं। कतिपय अवस्थामा आफूले पढेको किताब बहस गर्नुपर्छ भन्ने लाग्यो भने पनि छलफलमा राख्छौं।
किताबको चयन त छँदै छ, हामीलाई वक्ताहरू चाहिं 'स्ट्रङ' चाहिन्छ। अधिकांश मानिसहरू जहाँ बोल्दा पनि आफूलाई लागेको भन्दा 'पोलिटिकल्ली करेक्ट' भएर बोल्नुपर्ने खालका हुनुहुन्छ। कतिपय फोरममा आफूलाई लागेको बोल्न खोज्नेले पनि समय लगायत अन्य कारणले बोल्न पाइरहेका हुँदैनन्। त्यसैले यहाँ आउने वक्ताहरू दिल खोलेर किताबबारे बोल्नुहुन्छ। हामी सकेसम्म लेखकलाई राम्रो लागोस् या नलागोस्, आफूले चाहेको कुरा बोल्न सक्ने खालको वक्ता खोजेर ल्याउँछौ।
यहाँले भने जस्तो वस्तुगत विश्लेषण गर्ने वक्ता भेटिन्छ त?
खोज्ने हो भने गाह्रो छैन। किनभने, हामी फरक फरक क्षेत्रका किताब पढ्न रुचि भएकाहरू लिएर आउँछौं।
अब पठन संस्कृतिको कुरा गरौं, अहिले धेरै अभिभावकहरू आफ्ना सन्तान किताब नछुने र घण्टौं स्मार्टफोनमा भुल्ने गरेको गुनासो गर्छन्, उनीहरूलाई किताबमा कसरी आकर्षित गर्न सकिएला?
बालबालिकालाई हातमा 'स्मार्टफोन' थमाउने र टिकटकमा बच्चालाई नचाएर भाइरल बनाउने काम पनि अभिभावकको हो। अभिभावकको हातमा किताब भयो भने बच्चाहरूले पनि सिक्छन्। कतिपय अभिभावकहरूले ६ महीनाको बच्चालाई पनि कथा पढेर सुनाएका हुन्छन्। ६ महीनाको बच्चाले केही पनि बुझ्दैन, तर संस्कार सिकाउन अभिभावकहरूले यस्तो गरिरहेका हुन्छन्। यो त अपवादको कुरा भयो। आम समस्या के छ भने जब कुनै पनि कुरा बिग्रिसक्छ तब मात्र हामी ध्यान दिन्छौं।
बालबालिकालाई कोर्सभन्दा बाहिरको किताब पनि महत्त्वपूर्ण छ भनेर अभिभावक, विद्यालय या शिक्षकले पनि सिकाउनुपर्छ। म कलेज पनि पढाउँछु। विद्यार्थीलाई पढाउँदा मैले किताब समीक्षा गर्न अनिवार्य बनाएकी छु, जसको २५ नम्बर छ। जिन्दगीमा कोर्स बाहिरका एउटै पनि किताब नपढेका विद्यार्थीहरू स्नातक तहमा छन्। उनीहरूले उत्तीर्ण हुन मात्र कोर्स पढेका छन्। यो देख्दा दु:ख लाग्छ।
पठनमा बालबालिकालाई आकर्षित गराउन घरमा किताब हुनुपर्यो, बालबालिकाले अभिभावकले किताब पढेको देख्नुपर्यो। विद्यालयहरूले पनि कोर्स बाहिरका किताब पढाउन उत्प्रेरित गर्नुपर्छ। बालबालिकाको उमेर, क्षमता र रुचि अनुसार किताब छानेर दिनुपर्छ। कति जना बालिबालिकाहरू असाध्यै पढन्तेहरू छन्। सबै अभिभावकले त्यस्तो खालको वातावरण उपलब्ध गराउन नसक्लान्, तर विद्यालयले त्यो वातावरण उपलब्ध गराउन सक्छ। विद्यालयले पुस्तकालय बनाएर विद्यार्थीको उमेर र रुचि अनुसार निश्चित समय तोकेर दैनिक पढ्न लगायो भने मात्रै पनि पठन संस्कृतिको धेरै विकास हुन्छ।
केही पाठक निश्चित लेखक या निश्चित विधा बाहेकका किताब पढ्दैनन्, उनीहरू किताबको फरक फरक विधामा किन आकर्षित भइरहेका छैनन्?
एउटा सरल उदाहरण दिन्छु– मलाई घिरौंला र फर्सी मन पर्दैन। खाएर होइन हेर्दै मन नपरेर हो। किताब पढ्नु पनि ठ्याक्कै यस्तै हो जस्तो लाग्छ। कतिपयले त्यो किताब अप्ठ्यारो होला भनेर पढ्दैनन्। कसैलाई पढ्ने इच्छा नभएर पढ्दैनन्।
नेपालमा अहिले धेरैले पढ्ने लेखक भनेको सुविन भट्टराई हो। उहाँको कथाकी पात्रदेखि लिएर इजोरियासम्म धेरैले पढे। एउटा कुनै पनि लेखकलाई त्यो रूपले 'क्राउड' जम्मा हुँदो रैछ भन्दाखेरि निश्चय पनि खुशी लाग्ने कुरा हो। सुविनजीको किताबले पढ्नमा बानी लगाउँछ भने त्यसमा खराबी के छ? चेतन भगतको किताबले पढ्नमा बानी गराउँछ भने त्यसमा खराबी के छ?
फरक कुराहरू ट्राई गर्दा शुरूमा असहज होला, मन नपर्ला, त्यसको अर्थ त्यो किताब नराम्रो भन्ने होइन। त्यो किताबका लागि त्यो समयमा त्यो मानिस तयार नभएर हुन सक्छ। पढ्दै जाँदा बिस्तारै बिस्तारै उसको रुचिका क्षेत्र फराकिला हुँदै जान्छन्। यो खासै चिन्ताजनक अवस्था होइन।
मान्छे किताब किन पढ्छ? किन पढ्दैनन्?
मलाई चाहिं सानैदेखि स्कूलले पढ्ने बानी लगायो। अभिभावकले पढेको देखेर म आफैं किताबसँग नजिक भएँ। तर, मेरी बहिनीको किताबसँग खासै लगाव छैन। यो नितान्त आफ्नो स्वभाव र इच्छा होला जस्तो लाग्छ। किताब पढ्यो भन्दैमा के के न भयो भन्ने पनि जरुरी छैन। मान्छे जिम किन जान्छ या अथवा योग किन गर्छ भन्ने प्रश्न हुँदैन नि। यो आफ्नो आफ्नो रुचिको विषय हो।
एउटा कुनामा बसेर संसारका आर्थिक, सामाजिक, राजनीतिक पाटाहरू बुझ्न पाइन्छ। किताबको माध्यमबाट तपाईंले संसारै यात्रा गर्न पाउनुहुन्छ। किताबको मार्फत तपाईंले विश्वविख्यात मानिसबाट 'मोटिभेशन' लिन सक्नुहुन्छ। अर्थदेखि राजनीतिको हरेक कुरा किताब पढेर जानकारी राख्न सकिन्छ।
किताब पढ्नुलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। मान्छे साँच्चै किताब पढेर बौद्धिक हुन्छन्?
हुँदैनन्। किताब पढ्नेहरू धेरै विषयवस्तुको जानकारी र चासो राख्ने भएकाले 'वेल इन्फर्म्ड' हुन्छन्। कसैले केही सोध्यो भने विभिन्न उदाहरण दिएर जवाफ दिन सक्छन्। विभिन्न घटना, तथ्य-तथ्याङ्क या कोटेशन सहित जवाफ दिन सक्ने क्षमता किताब पढेर प्राप्त हुने भएकाले त्यो मान्छे बौद्धिक जस्तो देखिन्छ। पठनले मानिसमा परिवर्तन ल्याउँछ नै। तर, 'वेल इन्फर्म्ड' हुनु मात्रै बौद्धिक हुनु होइन।
यहाँलाई कुनै पनि किताब पढ्न पर्छ भन्ने किन लाग्छ?
मलाई कहिले पनि टप टेन, बेस्ट सेलर सेलिब्रेटी लेखकको किताब पढ्न हतार नै लाग्दैन्। जस्तो- अहिले इजोरियाको क्रेज छ तर मलाई पढ्न हतार छैन। आफूलाई केले 'ड्राइभ' गर्छ भन्ने मलाई नै थाहा छैन। मैले धेरै पढ्ने भनेको आत्मकथा, जीवनी र संस्मरण हो। म आफैं पनि संस्मरण किसिमको 'रिफ्लेक्टिभ' लेखन बढी गर्ने भएकाले होला विषयवस्तु कस्तो खालको छ भन्ने कुराले अर्थ राख्छ।
मसँग म्यान हु बिकेम द क्वीन किताब छ। यो किताब धेरै जनाले पढ्नुभएको छ जस्तो लाग्दैन। म अलिकति 'अनकन्भेन्शनल' विषय छानेर पढ्छु। अत्यन्तै धेरै मानिसले पढिरहेको किताब मेलै नपढेको हुन सक्छ।
पुस्तक पसलमा जाँदा, ब्लग पढ्दा कुनै किताबले ठ्याक्कै ध्यान आकर्षण गरिहाल्छ। किताब पढ्नुअघि सकेसम्म समीक्षा पढ्दिनँ। किनकि, समीक्षा पढ्यो भने अरूको सोचाइले आफूलाई प्रभाव पार्छ कि भन्ने लाग्छ। साधारणतया चर्चित भनेको लेखकको किताब, बेस्ट सेलर या चर्चित भनिएको किताब पढ्न चाहिं मलाई हतार लागिहाल्दैन।
कुनै त्यस्तो किताब छ, जसलाई नपढ्नुभएको भए तपाईंको अहिलेको जस्तो सोच निर्माण हुँदैनथ्यो अथवा सोच्ने तरीका अहिलेको जस्तो हुँदैनथ्यो?
जे. कृष्णमूर्तिको फस्ट एन्ड लास्ट फ्रीडम मलाई प्रभाव पारेको किताब हो। शिक्षाबारे होस्, सम्बन्धबारे होस्, जीवन दर्शनको कुरामा होस् या मेरो सोचको कुरामा त्यो पुस्तकले धेरै प्रभाव पारेको छ। म आफैं पढाउने पनि भएकाले पनि होला, हामी कस्तो खालको मानिस निकालिरहेका छौं भन्ने कुरामा सचेत हुन्छु। विद्यार्थीलाई मूल्याङ्कन गर्ने आधार उनीहरूले पाएको नम्बर होइन। हामीसँग ४० जना विद्यार्थीमध्ये कोही यस्तो पनि विद्यार्थी पनि हुन सक्छ, तर उसको क्षमता पहिचान गर्न नसकेर हेला गरेका हुन्छौं। यस्तो कुरा स्कूलमा धेरै देखिन्छ।
म वेलाबखतमा विद्यार्थीलाई क्रिटिकल इभ्यालुएशनका लागि जे. कृष्णमूर्तिको किताबकोाकेही पाठहरू दिन्छु। जसले आफ्नो जिन्दगी, सोचाइ, सपना र इच्छाहरूबारे सोच्न बाध्य गराउँछ।
नेपालमा पुस्तकालय अत्यन्तै बिरलै भेटिन्छ, यस्तो हुनुको खास कारण के होला?
यो राज्यले नै उत्तरायित्व लिनुपर्ने कुरा हो। पुस्तकालय भयो भने पठन संस्कृति विकास हुन्छ, किनकि सबैले पुस्तक किनेर पढ्न सक्दैनन्। राज्यले गर्न सक्ने सानो सानो कुरा नगरेको भएकाले पछिल्लो समयमा बूक सहितको क्याफे खुल्न थालेका छन्। यस्तो हुनुको कारण राज्यले बसेर पढ्ने ठाउँ नबनाइदिएर हो। कलेज तथा विश्वविद्यालय गयो भने पुस्तकालय नै छैन। पुस्तकालय बनाउन राज्यले बेवास्ता गरेकाले पठन संस्कृति पनि विकास नभएको हो।
विदेशतिर त रूखमा पनि किताब अड्याएको पाइन्छ। फूटपाथमा पनि किताब राखेको भेटिन्छ। अहिले नेपालमा पुराना लुगा भएकाले छाड्ने र नभएकाले लाने चलन चलेको रहेछ। बरु किताब पनि यस्तै गरेको भए ठुलो समूहले किताब पढ्थे कि? हाम्रोमा केही पुस्तकालय छन्, तर अत्यन्त कम मानिस मात्र जान्छन्। मलाई अत्यन्त दु:ख लागेको कुरा चाहिं भूकम्पमा ढलेको केशर पुस्तकालयको किताब व्यवस्थापन गर्न नसकेको देख्दा हो।
हामीमा जे पनि कुरा पाएनौं भनेर गुनासो गर्ने बानी छ। भएका पुस्तकालय कति जान्छौं भन्ने प्रश्न छ। त्रिविको विद्यार्थीले त्यहाँको पुस्तकालय गएर अध्ययन त गर्ला, तर अन्य ठाउँको विद्यार्थीका लागि त्यो सुविधाको सहज पहुँच भएन्। विभिन्न ठाउँमा पुस्तकालय निर्माण गरेर पठन संस्कृति वृद्धि गर्ने काम राज्यको हो।
हालसालै सम्पन्न बाह्रखरी कथा प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो, नयाँ पुस्ताका लेखकहरूको कथा पढ्नुभयो, कथाको विषयवस्तु, कथा भन्ने शैली र प्रस्तुतिमा पुरानो पुस्ताका लेखकभन्दा के कस्तो फरक पाउनुभयो?
निर्णायकका रूपमा गर्नुपर्ने काम मैले गरिसकें। निर्णायकको निर्णय 'कोलाब्रेटिभ' हुन्छ। त्यो प्रतियोगितामा आएका ५९६ कथाबाट ५० उत्कृष्ट आन्तरिक जुरीले छाने। ५० मा नपरेका राम्रो कथा के कारणले छानिएनन्, त्यो आन्तरिक जुरीले लिने जिम्मेवारी भयो। हामीलाई दिइएका कथामा लेखकको नाम र शीर्षक हुँदैनथ्यो। त्यसो हुँदा 'फेयर जजमेन्ट' हुने भयो। धेरै लेखकले के विषयवस्तुमा लेख्दा जित्न सकिन्छ भन्ने मानसिकताले लेखेको जस्तो पनि लाग्यो।
धेरै वटा कथा महिलाको विषय, बलात्कारको विषय, जातीय विभेदको विषयमा आएका थिए। हुन त सही विषयवस्तु उठाइएको हो, तर 'रिपिटेशन' धेरै थियो।
अहिलेकf लेखकको भन्दा पुरानो पुस्ताका लेखकको शैली र प्रस्तुति प्रभावशाली लाग्यो। 'एक्सपेरिमन्ट' गर्न खोज्दा धेरै जना चिप्लिनुभएको छ। २० वर्षअघि लेखिएको विषयवस्तुमा अहिले पनि लेखिएको छ। शैली पनि उस्तै छ। फरक लेख्न खोजे पनि विषयवस्तु र थिमाटिक हिसाबले उस्तै थियो। एकदम थोरै कथाहरू मात्रै पूर्ण रूपमा फरक थिए।
अहिलेको पुस्ताको लेखकबाट कस्तो विषयवस्तु र शैलीको अपेक्षा राख्नुभएको हो?
मनोवैज्ञानिक विषयवस्तुमा कम लेखिएको छ। हामी लैङ्गिक विभेदको कुरा गर्छौं। तेस्रो लिङ्गी अन्तर्गत पनि 'क्वेर' समुदायको कथा लेखिएको छैन। के विषयवस्तुमा लेख्ने भनेर हामीले भन्न गाह्रो हुन्छ। एउटा लेखकले आफूलाई मन लागेको विषयवस्तुमा लेख्ने हो। मलाई महत्त्वपूर्ण लागेको विषय लेखकलाई महत्त्वपूर्ण नलाग्न पनि सक्छ।
अहिलेको लेखनमा अलिक बढी नारा, अलि बढी आक्रोश र बढी नै दु:ख पोखिएको हुन्छ। कहिलेकाहीं किन यति दु:खी लेखनी भने जस्तो लाग्छ। संसारमा 'सेलिब्रेट' गर्ने कुराहरू पनि त छन्, त्यो खालको लेखनी किन नआएको होला? शायद मानिसहरू सुखमा रमाउने भएकाले लेख्न बिर्सन्छन् होला कि?
अहिलेका लेखकहरूले कला पक्षलाई भन्दा आक्रोश या नारालाई बढी प्राथमिकता दिएका छन् भन्न खोज्नुभएको हो?
लेखनमा त्यस्तै देखिन्छ। हुन त आक्रोश नहोस् पनि किन, समाजमा यति धेरै समस्याहरू छन्। मैले भन्न खोजेको के हो भने लेखनको क्षेत्र त्यति मात्रै होइन। एउटा सुन्दर कवितामा कति धेरै पक्षहरू हुन्छन्, तर कतै बसेर भाषण दिने जस्तो कविता लेखिइरहेको छ। कथाका विषयवस्तु र शिल्प पनि वर्षौंदेखि उस्तै छन्। जसको कारण लेखकहरूको सिर्जनात्मकता छायामा परेको हो कि जस्तो लाग्छ।
कलापक्ष कमजोर भएको साहित्यको आयु लामो हुँदैन भनिन्छ, यहाँ निर्णायक भएका कथाहरू पढ्दा नेपालको साहित्यको भविष्यलाई लिएर कत्तिको आशावादी हुनुहुन्छ?
म धेरै उत्साहित छैन। हो, राम्रो कथाहरू पनि आएका छन्, तर ती पर्याप्त छैनन्। अहिले त मलाई के महसूस भइरहेको छ भने ५० भित्र नछानिएकामा पो राम्रो कथा थिए कि! हामीलाई त अत्यन्त थोरै कथा हात पर्यो जसमा उस्तै उस्तै कथा थियो। कति वटामा त पात्रको नाम समेत एउटै थियो। दमाईं किन सेते दमाईं मात्र हुने? चार वटा कथामा त सेते दमाईं मात्रै छ। त्यसैले ५० भित्र नपरेको कथामा के थियो भन्ने कौतूहल जागेको छ।
पछिल्लो समय साउथएशियन साहित्यले विश्व बजारमा पनि चर्चा पाउन थालेको छ, त्यो हेर्दा नेपाली साहित्यको स्तर कहाँ देख्नुहुन्छ?
नेपालीमा राम्रो साहित्य नभएको होइन। अनुवाद नहुनु समस्या हो कि। अनुवाद नगरीकन विश्व बजारमा पुग्न सम्भव छैन। धेरैभन्दा धेरै किताब किन अनुवाद भइरहेको छैन भन्ने कुरा मैले भन्दा पनि लेखक तथा प्रकाशकहरूले भन्ने कुरा हो। तर, केही नेपाली साहित्य अनुवाद भएर विश्व बजारमा गएका र राम्रो प्रतिक्रिया पाएका छन्। यो राम्रो सङ्केत हो।
नेपालमा साहित्य महोत्सवहरू धेरै भइरहेका छन्, तर उही अनुहार र कन्टेन्ट दोहोरिएको भन्ने गुनासो धेरै सुनिन्छ, यस्तो हुनुको कारण के होला?
यस्ता साहित्यिक महोत्सव हुनु राम्रो कुरा हो। किनकि, हामी अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवमा जान सक्ने स्थिति छैन। नेपालमा भएका साहित्य महोत्सवमा विदेशी लेखकहरूलाई पनि बोलाउने गरिन्छ। ती चर्चित लेखकहरूको लेखन यात्रा, अनुभव, अनुभूति सुन्न पाउनु पनि गजबकै कुरा हो। नेपालभित्रैबाट ककसलाई छान्ने भन्ने कुरामा चाहिं सधैं अभाव खट्किएको देख्छु। राम्रो लेखेका तर धेरै नसुनिएका मान्छेहरू अगाडि ल्याइँदै ल्याइँदैन। घोडा दौडाए जस्तो गरी कतिपय सेसनहरू दौडाइन्छ। यदि तपाईंले प्रश्न गर्नुहुन्छ भने मलाई लागेको कुरा मैले भन्न पाउनुपर्छ। तर, त्यहाँ त जवाफ दिने समय नै हुन्न। 'र्यापिड फायर' जस्तो हुन्छ। जुन साहित्य महोत्सवमा गए पनि उही अनुहार र उही कन्टेन्ट हुनाले सुन्ने मान्छेहरूलाई उत्साह नै हुन्न। मेरै कुरा गर्दा पनि म यति धेरै फोरममा गएर बोलिरहेछु कि मलाई नै प्रश्न आउँछ। साहित्यिक महोत्सव आयोजकहरूले यस्तो गर्नुको कारण फलानो फलानोलाई बोलायो भने क्राउड जम्मा हुन्छ भनेर पनि हो कि। तर, यसले गर्दा जो मान्छेले मिहिनेत गरेर राम्रो लेखिरहेको छ, जसलाई अघि बढ्ने आवश्यकता छ, उसलाई असर गर्छ।
यहाँको आउन लागेको कस्तो पुस्तक हो ?
उदय अधिकारीले केही समयअघि प्रश्नहरू पुस्तक निकाल्नुभयो। उहाँले प्रश्नहरू निकाल्दा मैले उहाँले पठाएको प्रश्नको जवाफ लेख्न थालिसकेकी थिएँ। त्यसपछि अचानक प्रश्नहरू आए। त्यो किताब पढ्दा उहाँहरूलाई सोधिएका प्रश्नहरू मलाई पनि सोधिएको र केही प्रश्नहरू फरक पनि थिए। अझ भनौं, व्यक्ति अनुसार कतिपय प्रश्नहरू फरक थिए। त्यो किताब पढेपछि ममाथि अभि सुवेदी या अरू कुनै लेखक हावी हुन्छन् कि भनेर मैले प्रश्नहरू पढिनँ।
म अहिले त्यो किताबका उत्तरहरू लेखिरहेकी छु। उहाँले प्रश्न नगरेको भए म लेख्दिनथें होला। यो अवधारणा जन्मँदै जन्मँदैनथ्यो होला। मैले हालसालै महेश पौड्याल सरको यस्तै प्रकृतिको किताब पढें, त्यसपछि मलाई 'मोरल्ली अफलिप्ट' भयो। मैले पनि मेरा कुराहरू भन्दा हुन्छ जस्तो लाग्यो। तर, यसलाई अन्तर्वार्ताको फर्म्याटमा अथवा संस्मरणको फर्म्याटमा निकाल्ने भन्ने तय भइसकेको छैन।