‘कञ्चनजंघा जुहार नेपालको गहनाहरूको उत्खनन गरेर एउटा प्लेटमा राखिदिएको उपहार हो’
‘कञ्चनजंघा सेरोफेरोका पाँच जिल्लालाई उजिल्याउन चाहने नयाँ पुस्ता, जो जहाँसुकै बसेका होस्, उनीहरूले यो किताब पढ्नुपर्छ।’
पत्रकार हस्त गुरुङ लेखक तथा वृत्तचित्र निर्माता हुन्। उनले अनुवाद गरेको किताब कञ्चनजंघा जुहार हालै बुक हिलले प्रकाशन गरेको छ। उक्त पुस्तक वनस्पतिविद् जोसेफ डाल्टन हुकरले लेखेको पुस्तक द हिमालयन जर्नलको नेपाल सम्बन्धी अंश हो। हुकरले सन् १८४८ मा इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ घुमेर गरेको वर्णनमा आधारित पुस्तकबारे हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुराका लागि हस्त गुरुङसँग पत्रकार तथा लेखक मोहन मैनालीले गरेको संवाद:
तपाईंले अनुवाद गर्नुभएको कञ्चनजंघा जुहारले कस्तो विषयवस्तु समेटेको छ? कुन ठाउँबारे छ?
यो किताब नेपाल के हो, नेपालभित्र के छन्, नेपालभित्र जुहार/गहनाहरू कति छन् भनी यी गहना उत्खनन गरेर डाक्टर जोसेफ डल्टन हुकरले एउटा प्लेटमा राखिदिएको उपहार हो। हाम्रो भूगोल, वनस्पति, त्यस वेलाको जीवनशैली, नेपालको महत्त्व जस्ता कुरा पस्किएको हुनाले यो किताब एउटा जुहारत जस्तो छ। यसमा जे जति जानकारी छन् ती सबै हाम्रा लागि उपयोगी छन्।
नेपालबारे विदेशीहरूले लेखेका धेरै किताब छन्, कञ्चनजंघा जुहार नै किन छनोट गर्नुभयो?
विदेशीहरूले नेपालबारे धैरै लेखेका छन्। ती अत्यन्त सुन्दर, मनमोहक साथै जानकारीमूलक छन्। अरू किताब राजनीति, समाजशास्त्र जस्ता विधागत छन्। यो किताब चाहिं बहुआयामिक छ। यसले दशौं विधालाई समेटेको छ। जस्तो- भूगर्भ, हिमाल, डाँडापाखाको उत्पत्ति जस्ता कुरा यसमा छन्। नेपालका ढुङ्गा, माटो कस्ता छन? ती किन यसरी बने? ती ढुंगा किन अहिले भएका ठाउँमा छन्? त्यहाँ नहुनुपर्ने ढुङ्गा कहाँबाट आए? यस्ता जिज्ञासाको जवाफ यसले दिएको छ।
हाम्रा खोलानाला कस्ता छन्? हावापानी कस्तो छ? वनस्पति कति महत्त्वका छन्? कस्ता वनस्पति छन्? हिमाली क्षेत्रमा कस्ता जनावर छन्? तिनका स्वभाव कस्ता छन्? मानिस कस्ता छन्? उनीहरू कसरी बस्छन्? यी विविध आयामलाई समेटिएको हुनाले यो साह्रै रुचिपूर्ण हुने भएकाले मैले अनुवाद गरेको हुँ।
अनुवादका लागि तपाईंलाई कसैले हौसला दियो?
दशौं वर्ष पत्रकारितामा बिताइसक्दा पनि मलाई यो किताबबारे वा यस्तो जानकारीबारे थाहा थिएन। हामी गहिरिएर अध्ययन गर्ने स्वभावका थिएनौं जस्तो लाग्छ। एकचोटि मोहन मैनाली र म पत्रकारिताको तालीम चलाउन इलाम गएका थियौं। त्यस वेला त्यहाँ पुराना पत्रकार धर्म गौतम दाइ भेटिनुभयो। कुराकानीमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहप्राध्यापक जुद्धबहादुर वैद्यको कुरा निस्कियो। मोहनले उहाँलाई भेट्नुपर्यो भन्नुभयो। हामी भेट्न गयौं। पत्रकारहरू आफूलाई भेट्न आउनुभयो भनी जुद्धबहादुर बहुत खुशी हुनुभयो।
कुराका सिलसिलामा उहाँले भन्नुभयो- विश्वप्रसिद्ध वैज्ञानिक चार्ल्स डार्बिनका सहकर्मी जोसेफ डाल्टन हुकरले नेपाल आएर अध्ययन गरेर हाम्रा लागि ठूलो उपहार स्वरूप यो किताब दिनुभएको छ। त्यो अंग्रेजीमा छ। त्यसलाई नेपालीमा अनुवाद गर्न सके कञ्चनजंघा सेरोफेरोका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमको उद्धार हुन्छ। यी पाँचै जिल्लालाई कञ्चनजंघाको भव्यताले कसरी छोएको छ भनी त्यो किताबमा छ, त्यसमा जे जति सूचना छन् ती सबै गहना बराबर छन्।
उहाँले विशेष जोड दिनुभएपछि हामीलाई पनि लाग्यो- ओहो! हामीले राम्रो काम त गरेका रहेनछौं। यसलाई अनुवाद गर्ने काम गर्नैपर्छ भनेर यसमा लागेका हौं।
मैले पनि यो किताब अनुवाद गर्ने प्रयास गरें, तर एक पेजभन्दा बढी गर्न सकिनँ। पुस्तकमा परेका ठाउँ, शब्द, प्राविधिक शब्दावलीले अप्ठ्यारो पार्यो। मैले जुन समस्या भोगेर अनुवाद गर्न सक्दिनँ भनें, तपाईंलाई त्यस्तो समस्या परेन?
मलाई यो किताबको अनुवाद मोहनले गरिदिए हुन्थ्यो भन्ने लागेको थियो। किनकि, मेरो अंग्रेजी भाषाको ज्ञान त्यति राम्रो छैन। अर्को कुरा, म पेशेवर अनुवादक पनि होइन। मोहनको अंग्रेजी पनि राम्रो, अनुवाद पनि गरिराखेको मान्छे। त्यसैले उहाँले गरिदिनु भए हुन्थ्यो भन्ने थियो।
मैले वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलाई यो किताब अनुवाद गर्न लागेको छु भनी बताउँदा उहाँले ‘प्रयास गर्नुहोस् न’ भन्नुभयो। मोहनले पनि ‘मैले हापें, यसलाई अगाडि बढाउनुपर्यो’ भन्नुभयो। त्यसपछि उहाँले किताबका सारा कागजपत्र मलाई पठाइदिनुभयो। मैले पढ्न शुरू गरें। मैले अनुवाद गर्न लागेको भाग त किताबको बीचको सानो टुक्रा रहेछ। त्यसभन्दा अगाडि र पछाडि पश्चिम बंगालदेखि सिक्किम, असम, नागाल्यान्ड, मेघालय, भुटान आदि ठाउँका कुरा रहेछन्।
त्यो पढेपछि ज्वरो आउला जस्तो भयो। नसक्ने कुरा किन गर्ने भनेर त्यसपछि एक वर्ष त्यत्तिकै थन्काएँ। मोहनले पटक पटक घचघचाएपछि मलाई लाग्यो, हुकरले कति खर्च र मिहिनेत गरेर कहाँबाट आएर यति कुरा लेख्नुभएको छ। हामी जाबो उल्था पनि गर्न सक्दैनौं भने हाम्रो अस्तित्व रहँदैन। यस्तो लागेपछि म उल्था गर्न बसें। मोहनले भने जस्तै अक्करे भीरमा झुन्डिंदै हिंडे जस्तो गरेर उल्था गर्न १० वर्ष लाग्यो। १० वर्ष नै गाह्रो भयो।
त्यो वेला बोलाइने हिमालका नाम अहिले परिवर्तन भइसकेका छन्। ठाउँका नाम पनि परिवर्तन भइसकेका छन्। सगरमाथा, गौरीशंकर, कञ्चनजंघा हिमालबारे मान्छेलाई उति थाहा थिएन। उचाइ पनि प्रष्ट भइसकेको थिएन। अर्कातर्फ, वनस्पतिका नाम, प्राविधिक शब्दावलीलाई कसरी अनुवाद गर्नुभयो?
सबैभन्दा गाह्रो वनस्पति र भूगर्भशास्त्रसँग सम्बन्धित विषयमा थियो। भूगर्भशास्त्रका शब्दावली असाध्यै गाह्रा। एउटा सानो शब्द हुन्छ, त्यसलाई व्याख्या गर्न लामो परिभाषा चाहिन्छ। नेपालमा भूगर्भका ज्ञाताहरूको संस्था नेपाल भौगर्भिक समाज छ। त्यसै गरी रसायनशास्त्रीहरूको पनि समाज छ। त्यहाँ विद्वान्हरू हुनुहुन्छ। उहाँहरूसँग मेरो सम्पर्क छ। भूगर्भ सम्बन्धी अप्ठ्यारा कुरा आए फलानाकहाँ र रसायनशास्त्रका अप्ठ्यारा कुरा आए फलनाकहाँ जान्छु भन्ने निश्चित गरें। वनस्पतिशास्त्रको कुरा आए तीर्थबहादुर डक्टर सा’ब, बटुकृष्ण उप्रेती हुनुहुन्छ। एक जना शाहजी पनि हुनुहुन्छ। उहाँहरू सबैकहाँ जान्छु। यसरी आँट भरियो।
गाँठो फुकाउन शुरूमा नेपाल सरकारको वनस्पति विभागमा वनस्पतिहरूको लिस्ट पठाएँ। तिनका नयाँ तथा पुराना नाम, वनस्पति परिवार आदि सारा कुरा छुट्याएर उहाँहरूले दिएपछि मलाई सजिलो भयो। वनस्पतिको नामबारे अर्को गाह्रो आइलाग्यो। जस्तो- एउटा फूललाई काठमाडौंमा लुकुशुहा भनिन्छ। त्यो नेवार नाम हो। तराईतिर विधुवी फूल कि के भनिन्छ। एउटा नाम लेख्दा अर्को ठाउँमा त्यसलाई बोलाउने नामसँग नमिल्ने। पछि अंग्रेजीको नाम जस्ताको तस्तै राख्ने भन्ने सल्लाह भयो। नेपाली पनि छ अंग्रेजी पनि छ।
त्यो प्राविधिक कुरा त मिलाउनुभयो। अंग्रेजीमा लेखिएको कुरालाई नेपालीमा अनुवाद गरी सरल किसिमले बुझ्ने बनाउन शरच्चन्द्र वस्तीले सहयोग गर्नुभएको छ भनी तपाईँले उहाँको पनि नाम लिनुभएको छ। उहाँको सहयोग कस्तो रह्यो?
यो किताबमा जे भाषा परेको छ, जसरी सरस भएको छ, त्यो मेरो काम होइन। त्यो शुद्ध नेपाली भाषाका प्रवर्द्धक आदरणीय शरच्चन्द्र वस्ती दाइको योगदान हो। यो किताब जोसेफ हुकरको टिपोट हो। मूल किताबमा कतिपय वाक्य कतिपय ठाउँमा पूरा छैनन्। अगाडि एउटा कुरा छ, त्यहीसँग सम्बन्धित कुरा अन्तिममा लेखिएको छ। यसरी चार ठाउँबाट भेला गरेर लेख्नुपर्ने अवस्था थियो। त्यसलाई मिलाउन बहुत गाह्रो थियो। शरच्चन्द्र दाइका हातले ती ती टुक्रा जोडिदिनु भएपछि यो किताब पढ्न लायक भयो।
यसको मतलब किताबको नेपाली संस्करणमा धेरै जनाको मिहिनेत छ?
मेरा अग्रज भूगर्भशास्त्री, वनस्पतिशास्त्री, वनस्पति विभागका कर्मचारीका साथै पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङका धेरै पत्रकारको सहयोग लिएको छु। उहाँहरूलाई यो के हो, फलना ठाउँ कहाँ छ भनी सोधेको छु। ती ठाउँमा मैले भ्रमण गरेको छैन। त्यसैले त्यो ठाउँ कस्तो देखिन्छ? कहाँबाट देखिन्छ? भनी पूर्वका साथीहरूलाई सोधें।
हुकरले पेमे खोला लेख्नुभएको छ, मैले पनि पेमे नै लेखेको थिएँ। त्यसको अहिलेको नाम चाहिं फेमे खोला रहेछ। कुब्रा हिमाल, जन्नु हिमालबारे थाहा थिएन। मैले उहाँको नाम त बिर्सें, एक जना शेर्पाजी हुनुहुन्छ, बडो विद्वान्। तर, सर्टिफिकेट नभएको। उहाँले यस्ता कुरा प्रष्ट पार्न सहयोग गर्नुभयो। उहाँजस्ता ५५ जनाको योगदान यो किताबमा छ। म त एउटा लमी जस्तो मात्र हो।
तपाईंलाई लागेको यो किताबको मुख्य कुरा के हो?
हुकरले यो किताब लेख्नुको मुख्य कारण कञ्चनजंघाप्रति आफ्नो आकर्षण हो भनी उल्लेख गर्नुभएको छ। त्यति वेला संसारभरिका विद्वान्हरूलाई सबैभन्दा उच्च हिमाल कुन रहेछ भनी खोज्ने उत्कट चाहना रहेछ। त्यस्तै, हुकरलाई कञ्चनजंघा सबैभन्दा उच्च भन्ने लागेको रहेछ। किनकि, उहाँ त्यहाँ पुग्नुभएको ५५–५६ वर्षपछि मात्रै एभरेस्टको कुरा आएको हो। कञ्चनजंघाको आकर्षणले हुकरलाई यत्रो दुःख गराएको रहेछ। उहाँले किताबको प्राक्कथनमा लेख्नुभएको छ– कञ्चनजंघालाई अगाडि हेर्न पाऊँ, साइडबाट हेर्न पाऊँ, पछाडिबाट हेर्न पाऊँ, यसको भव्यतालाई हेर्न पाऊँ, त्यति हेर्न पाए मेरो जीवन सार्थक हुन्छ। त्यसले पनि यो किताबलाई धेरै आकर्षित बनाएको छ।
पत्रकारहरू रूखा, टर्रा, खस्रा लेख्छन् भनिन्छ। यस किताबमा त लेखकले लेखेको कुरा तपाईँले अनुवाद गर्नुभएको होइन, आफैंले देखे झैं वर्णन गर्नुभएको छ। किताब पढ्दा तपाईंले अनुवाद होइन आफैं दृश्य हेरेर लेख्नुभएको जस्तो छ। यो कसरी सम्भव भयो?
प्रकृतिविद्ले जे देख्छन् हामी पत्रकारले त्यो देख्न सक्दैनौं। आम मान्छेले देख्ने दृश्य विद्वान्ले देख्ने दृश्यभन्दा अर्कै हुँदो रहेछ। उहाँले कञ्चनजंघा हिमाललाई पटक पटक ‘माइटी माउन्टेन’ लेख्नुभएको छ। अंग्रेजी शब्द ‘माइटी’ ईश्वरलाई प्रयोग गरिन्छ। उहाँलाई कञ्चनजंघाप्रति कति श्रद्धा रहेछ भन्ने त्यो शब्दले देखाउँछ। माइटीलाई मैले परम शक्तिशाली, महाशक्तिशाली त लेख्नुभएन। त्यसैले मैले ‘माइटी’लाई ‘भव्य’ लेखें। संस्कृतमा भव्य शब्द छ। ईश्वर जति भव्य हुनुहुन्छ त्यति अरू कोही पनि हुनुहुन्न भनेर नै मैले कञ्चनजंघालाई भव्य लेखेको छु। महाकाय, अजङ्गको पनि लेख्न सक्थें, तर भव्यले जति माइटी शब्दलाई प्रतिनिधित्व गर्छ, अरूले गर्दैन। अंग्रेजीमा जे शब्द छ, त्यही शब्द मात्र उल्था गरेको भए यो किताब साँच्चै नै म जस्तै रूखो, खस्रो हुन्थ्यो। तर, शरच्चन्द्र दाइको विशेष सुझावले यो सरल र रिसलो भएको छ।
हुकरले नेपाल, सिक्किम, भुटानका मान्छेबारे वर्णन गरेका छन्। उनले नेपालका सिपाही, दार्जीलिङ र भुटानका भरियाबारे के लेखेका रहेछन्?
अनुवाद गर्दै जाँदा मैले मेरा बाउबाजेका अनुहार झल्झल सम्झिएँ। मेरा बाउबाजेहरू पनि यहाँ लेखिए जस्तै थिए। कोही नयाँ मान्छे आए ट्वाल्ल, जिल्ल परेर हेर्ने। निकै बेरसम्म प्रश्न पनि नसोध्ने, केही पनि नगर्ने, अचम्म मानेर मात्र हेरिरहने। किताबमा यस्ता कुरा उल्लेख छन्।
नयाँ मान्छे आए भने हाम्रा ठाउँका मान्छेलाई दुईतीन वटा कुराले आकर्षित गर्नेरहेछ। जस्तै– यसले केही औषधि दिइहाल्छ कि, केही नयाँ कुरा दिइहाल्छ कि भन्ने हुँदो रहेछ। लाइटर, सलाइ दिइहाल्छ कि। नयाँ चिज पाइन्छ कि भनेर नयाँ मान्छेका वरिपरि झुम्मिने, छाड्दै नछाड्ने। यो किताब पढ्दा ती कुरा झल्झली सम्झिएँ। हुकरले जे जे देख्नुभएको छ, कोही नयाँ मान्छे आउँदा नेपालीको स्वभाव कस्तो थियो भन्ने वास्तविक हो।
एक ठाउँमा नेपालीको यति प्रशंसा गर्नुभएको छ कि त्यो गाउँमा केही छैन, तर पनि दिइरहेका छन्। त्यो गाउँमा आलु पनि ओखरका दाना जस्ता साना छन्। उनीहरू नयाँ मान्छेलाई ‘लानुस्, खानुस्, यति तपाईंलाई चाहिन्छ, तपाईंको सबै सिद्धिएछ’ भन्छन्। नेपालीहरूको यो उदार स्वभाव, दानप्रियता उहाँले उल्लेख गर्नुभएको छ। मलाई मेरै बाउआमाले गर्नुभएको जस्तो, मेरै छरछिमेकीले गरे जस्तो लाग्यो।
नेपालको प्रशासन र त्यस वेलाका शासक कस्ता थिए भन्ने कुरा ओलाङचुङगोलाको गोबाको प्रसङ्गले देखाउँछ। गोबा अर्थात् गाउँ बालाई जसरी भए पनि आफ्नो अभिमान, स्वभिमान अंग्रेजको अगाडि झुक्न नदिउँ जस्तो लाग्छ। उनले अंग्रेजलाई वेलावेला दुःख दिने, खुट्टा अड्काउने गरेको उल्लेख छ। पञ्चायतका शासक त्यसै गर्थे। अहिलेका शासकहरूले जे गरिरहेका छन् त्यो स्वभाव हिजैदेखि आएको रहेछ। नेपालीको स्वभिमान त्यही नै रहेछ। त्यसैले ब्रिटिशहरू पनि अलि डराउने रहेछन्। यिनीहरू हत्तपत्त टेर्दैनन् है, गोर्खालीको स्वभाव प्राचीन कालदेखि देखिएको छ भन्ने ठान्दा रहेछन्। त्यो बडो रुचिपूर्ण छ।
किताबमा उल्लेख भएका जिल्लाहरू इलाम, तेह्रथुम र पाँचथरको केही भाग तपाईं पनि जानुभएको छ। हुकरले वर्णन गरेको र तपाईंले देख्नुभएको ठाउँमा केही फरक छ?
दुरुस्तै चाहिं करफोक छ। करफोकको जुन वर्णन छ, सोली घोप्ट्याए जस्तो डाँडाको माथि टपक्क टोपी लगाए जस्तो करफोक भनेर। आज पनि त्यस्तै सुन्दर छ। त्यसको वरिपरि लिम्बू, बाहुन बसेका छन्। त्यहाँका मान्छेहरूले हुकरलाई ‘मलाई सिक्किम जान पाउने वातावरण बनाइ दे, अंग्रेज साहेबलाई यसो भनी दे’ भनेका छन्। अहिले त्यसो भन्छन् कि भन्दैनन होला ! त्यति वेलाका केही मानिसलाई नेपालपट्टि भन्दा उतातिर अलि सजिलो थियो कि? यो किताब नपढ्दै त्यहाँको लेप्चा गाउँ म गएको थिएँ। किताब पढेपछि त्यो त जस्ताको तस्तै रहेछ भन्ने लाग्यो। हुकरको आँखा क्यामरा जस्तो पो रहेछ। मैले नदेखेको चिज उहाँले देख्नुभयो। त्यो गजब छ।
यो किताब ककसले नछुटाई पढिदिए हुन्थ्यो जस्तो लाग्छ?
म फेरि पनि जुद्धबहादुर वैद्यलाई सम्झिन चाहन्छु। उहाँले नेपाल बनाउने जिम्मेवारी भएका नयाँ पुस्ताले यो किताब पढिदिए राम्रो भन्नुभएको थियो। पुरानो पुस्ताले पनि पढ्दा त राम्रो, तर उहाँहरूले अब गर्न सक्नुहुन्न। कञ्चनजंघा सेरोफेरोका पाँच जिल्लालाई उजिल्याउन चाहने नयाँ पुस्ता, जो जहाँसुकै बसेका होउन्, उनीहरूले यो पढिदिनुपर्यो। यसमा प्रष्टै लेखिएको छ, यो पुस्तक नेपालबारे जान्न चाहने नयाँ पुस्ताका सबै मानिसका लागि हो।