‘पुस्तक बिक्रीले कविताको उत्कृष्टता मापन हुँदैन’
‘पढेर घोत्लिनुपर्ने खालका कविता कमै मात्र लेखिएका छन्। खासमा भन्दा कला पक्ष कमजोर छ, नारा र आक्रोश बढी हुन्छ।’
कविताकृति जब एउटा मान्छे हराउँछ प्रकाशनमा आएसँगै कवि चन्द्र गुरुङ चर्चामा छन्। यो पुस्तकमा संगृहीत अधिकांश कविता वैदेशिक रोजगारीको सिलसिलमा विदेशमा रहँदा लेखेका हुन्।
डेढ दशकभन्दा लामो वैदेशिक रोजगारीले नै कवितामा सक्रिय बनाएको उनी बताउँछन्। कविताकृति जब एउटा मान्छे हराउँछसँगै समसामयिक विषयमा केन्द्रित हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा कवि गुरुङसँग सागर बुढाथोकीले गरेको कुराकानीः
जिन्दगीको लामो समय त परदेशमै बिताउनुभएछ है?
हो, माओवादी द्वन्द्वको वेला २०६० सालमा विदेश गएको थिएँ। लगभग १६ वर्ष विदेशमै बसें।
१६ वर्ष परदेशमा बिताउनुभयो। कस्तो हुँदो रहेछ परदेशी जीवन?
परदेशी जीवन सहज हुँदैन। देशका राजनीतिक, सामाजिक र आर्थिक दुर्दशाले गर्दा धेरै नेपाली विदेशिएका छन्। आफ्नो घर, परिवार यता हुन्छ, देशको माया लाग्छ, यी कुराले गर्दा परदेशी जीवन पीडादायी नै हुन्छ।
विदेश गएपछि सक्रिय रूपमा कविता लेख्न थाल्नुभयो। के कुराले कविता लेख्न घचघच्यायो?
कविताप्रति पहिलेदेखि नै चासो थियो। विद्यार्थी जीवनमा पनि रुचिपूर्वक कविता पढ्थें। आफ्ना भावनालाई कविताको ढाँचामा लेख्न खोज्थें। कक्षा १२ मा पढ्दा कविता वाचन गरेको थिएँ। क्याम्पस पढ्दै गर्दा पढाउँथें पनि। त्यो वेला लेख्ने र पढ्ने काम सक्रियतापूर्वक जारी राख्न सकिएन।
त्यसपछि विदेश गएँ। विदेशमा भने देशप्रतिको माया र परिवारको सम्झनाले सतायो। काम सहज भएकाले फुर्सद पनि थियो। फुर्सदमा मनका भावना लेख्न थाल्दा कविता भयो। विदेश नगएको भए शायद कविता लेख्दैनथंे होला। म कवि हुनुमा परदेशी जीवनको योगदान छ।
परदेशबाट फर्केसँगै जब एउटा मान्छे हराउँछ कविताकृति पनि आयो। यसमा ‘परदेश’ शीर्षकमा रहेका कविताको धेरैले प्रशंसा गरेका छन्। जीवन भोगाइ भएर धेरैलाई छोएको हो?
कुनै पनि सर्जकले आफ्नै जीवन अनुभूति, आफ्नो परिवेश, आफ्नो समाजमा घटेका घटना र आफ्नै दैनिकीका अनुभूति लेख्ने हो। लामो समय परदेशमा बसेकाले मैले परदेशीका दुःख, व्यथा, बाध्यता, घर र देशप्रतिको माया र सम्झना धेरै लेखें। यी कविता अरूभन्दा राम्रो लेखिएछ भन्ने मलाई पनि लागेको छ।
यो कविताकृति प्रकाशित भएपछि कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ?
कविता त्यति धेरै बिक्री हुने विधा होइन। कवि र कविताकृति धेरै आइरहे पनि खासै चर्चा सुनिन्न। तर, यो कृति पढेर नयाँ नयाँ पाठक सम्पर्कमा आए। यस मानेमा मैले यो कृतिबाट नयाँ पाठक धेरै कमाएको छु।
प्रकाशन गृहहरू कविताको पुस्तक छाप्न त्यति रुचाउँदैनन्। यो पुस्तक प्रकाशन गर्न कतिको सजिलो भयो?
कविताको उत्कृष्टता बिक्रीले मापन हुँदैन। तर, बिक्री कम हुने विधाको पुस्तक छाप्न प्रकाशकलाई पनि अप्ठ्यारो छ। मैले केही राम्रा प्रकाशन गृहमा गएर कविता देखाए। उनीहरूले प्रष्ट रूपमा कविता बिक्री हुँदैन, अरू कविताकृति ‘पाइप लाइन’ मा भएकाले अहिले छाप्न सकिन्न भन्ने जवाफ दिए। धेरै प्रकाशकबाट अस्वीकृत भएपछि यो मेरो कृति छापिएको हो।
प्रकाशन गृहबाट अस्वीकृत हुँदा कस्तो लाग्दो रहेछ?
मैले यो कुरालाई नकारात्मक रूपमा लिइनँ। किनभने बजारमा थुप्रै नयाँ नयाँ प्रकाशन गृह छन् र उनीहरूले बजारमा राम्रो उपस्थिति जनाएका छन्। केही प्रकाशन गृहबाट अस्वीकृत हुँदा अन्य प्रकाशन गृह पनि छन् भन्ने किसिमले सोचें।
तपाईंका कविता सरल पनि छन्। यसका लागि शब्द चयन लगायतका विषयमा ध्यान दिनुपर्छ कि आफैं बन्छ?
कवितामा भावना र विचार हुन अत्यन्तै जरुरी छ। त्यसपछि भावना र विचारलाई कलाको रूप दिने सामर्थ्य महत्त्वपूर्ण हो, जसले कवितालाई उत्कृष्ट बनाउँछ। मेरा कविता विषयवस्तु, भाषा र प्रस्तुतिका हिसाबले सरल छन्। सरल कविता भन्दैमा नराम्रो हुँदैन।
कुनै पनि कविले सरल भाषामा उत्कृष्ट कविता दिन सक्नुपर्छ। सरल लेख्ने भन्दैमा समाचार, नारा, भाषण, आक्रोश या कुण्ठा लेख्न भने हुँदैन। कवितामा कला पक्ष हुनैपर्छ।
सरल भाषामा कविता लेख्न मिहिनेत धेरै गर्नुपर्छ कि ‘टाइमिङ’ ले ल्याउने कुरा हो?
टाइमिङ भावसँग सम्बन्धित कुरा हो। एउटा कवि कुन समयमा बाँचिरहेको हुन्छ, त्यही अनुसारको भावनामा कविता लेख्ने हो। सरलता लागि मिहिनेत चाहिन्छ नै। सरल भाव या विचारलाई कलात्मक कविता बनाउन गहनता हुनैपर्छ। यो हिसाबले सरल कविता लेख्न झन् गाह्रो छ।
नेपाली कविमा विदेशी कविताको कत्तिको प्रभाव देख्नुभएको छ?
म आफैं पनि कविता अनुवाद गर्छु। हिन्दी, अरबी, अंग्रेजी कविका कविता अनुवाद गरेको छु। विदेशी कविता पढ्दै गर्दा पक्कै पनि केही कविताले छुन्छ र ‘ह्याङओभर’ बाँकी रहन्छ। लेख्न बस्दै गर्दा कुनै न कुनै कविताले प्रभाव पार्न सक्छ। प्रभावित भएर कुनै ‘थिम’ मा कविता लेख्नु गलत कुरा होइन। किनभने, संसारभरका विषयवस्तु उस्तै उस्तै हुन्। एउटा अंग्रेजी कविले लेखेको विषयमा हामीले कविता लेख्नु हुन्न भन्ने हुन्न। तर, प्रस्तुतिमा नयाँपन हुनुपर्छ।
विदेशी भाषामा लेखिएका कविता अनुवाद गरिरहनुभएको छ। नेपालीमा लेखिएका कविता दाँज्दा कस्तो पाउनुहुन्छ?
धेरै नेपाली कविका कविता निकै राम्रा छन्। केही नेपाली कविका कविता मैले हिन्दीमा अनुवाद गरेको छु, जुन धेरैले रुचाए पनि। छानेर केही नेपाली कविता अनुवाद गर्ने हो भने त्यसले विश्व साहित्यका पाठकमा राम्रै छाप छाड्न सक्छ भन्ने लाग्छ।
अहिलेका कविले कस्ता कविता लेखिरहेका छन्?
राम्रा लेख्ने कविहरू धेरै छन्। सजग भएर कविता लेख्ने नयाँ पुस्ता आइरहेको छ। नारा, भाषण र कुण्ठा लेख्ने कविका पनि पाठक छन्, तर त्यो मात्रै कविता होइन। कवितामा कलात्मकता चाहिन्छ।
अहिलेका कवितामा कला पक्षभन्दा नारा र कुण्ठा हावी भएको छ भन्न खोज्नुभएको हो?
अहिलेको माहोल नै त्यस्तै छ। देशको राजनीति र समाज हेर्दा निराशा उत्पन्न हुन्छ। त्यसले आक्रोश जन्माउँछ। एउटा सचेत कविले यो निराशालाई लेख्दा कला पक्षलाई पनि ध्यान दियो भने उत्कृष्ट कविता बन्छ।
कविता विधा साहित्यको अन्य विधा जस्तो होइन। कविताका केही चरित्र हुन्छन्। कविता भएपछि त्यसमा बिम्ब हुनैपर्छ, कल्पनाशीलता र ‘पर्सनिफिकेशन’ हुन्छ। अन्य विधामा यी कुरा आवश्यक छैनन्। तर, कसैले अन्य प्रयोग गर्यो भने राम्रै हुन्छ। राम्रो कविता लामो आयु बाँच्छ। त्यस्तो कविताका लागि समाज र त्यसको रूपरङ्ग आउनुपर्छ।
एउटा भूगोलको कविले लेखेको कविता अर्को भूगोलको पाठकलाई पनि आफ्नै भावना लेखेको जस्तो महसूस हुनुपर्छ भन्छन्। त्यसरी महसूस हुने गरी कविता लेखिंदै छन् त?
सामान्यतया फरक भूगोलका मानिसका कथा र दुःख उस्तै हुन्छन्। एउटा भूगोलको कुनै मानिसको पीर, व्यथा र खुशी अर्को भूगोलको मानिससँग मिल्न जान्छ। त्यस कारण नेपाली कविका कविता अर्को भूगोलको पाठकले आफ्नै जस्तो महसूस गर्न सक्छ। नेपालमा जस्तो राजनीतिक र सामाजिक समस्या धेरै देशसँग मिल्ने भएकाले सिर्जना पनि मिल्छ।
त्यसै गरी हाम्रा कविहरू कविता सर्वकालीन हुनुपर्छ भन्ने चेत सहित कविता लेखिरहेका छन्। सचेत भएर नलेख्दा पनि कुनै न कुनै भूगोलको पाठकले महसूस गर्न सक्छ। अहिले फरक भूगोलको पाठकले नेपाली कविको कविता चर्चा नगर्नुको कारण अनुवाद नभएर हो।
अनुवाद नभएकाले नेपाली साहित्य विश्व बजारमा पुगेन भन्नुभयो। यसमा कसले भूमिका खेल्नुपर्छ?
यो काम राज्यले नै गर्नुपर्छ। विश्वका अन्य देशका सरकारले आफ्नो साहित्य अन्य देशमा फैलाउन अनुवादमा लगानी गरिरहेका छन्। अरबी साहित्य विश्वका अन्य भाषामा पुगिरहेको छ। त्यस्तो वातावरण हाम्रोमा नभएकाले हाम्रो साहित्य विश्व बजारमा नपुगेको हो।
राम्रो कविता लेखनका लागि साधना कत्तिको आवश्यक पर्छ?
उत्कृष्ट साहित्य लेख्न भाषा, शब्द चयन र पाठकको मन छुने विषयवस्तु छान्नु जरुरी हुन्छ। त्यसका लागि साधना नभई हुन्न। कुनै पनि विषयमा कविता लेखिसकेपछि पटक पटक पुनर्लेखन गर्नुपर्छ। एकै पटकमा कुनै पनि कविता तयार हुँदैन। सटीक र छरितो बनाउन साधना चाहिन्छ नै। भावना, बिम्ब र विचारको राम्रो संयोजन गर्न पनि लामो समय लाग्छ। कविता लेखनको प्रकिया नै साधना हो।
एउटा कविलाई के कुराले कविता लेख्न प्रेरित गर्दो रहेछ?
कविताको उपस्थितिले आख्यानमा मिठास थपिन्छ। साहित्यको सौन्दर्य बढ्छ। कविताको उपस्थिति कुनै न कुनै स्वरूपमा साहित्यको अन्य विधामा उपस्थित छ। कविता आफूलाई व्यक्त गर्ने उपयुक्त माध्यम पनि हो। कविता साहित्यमा प्रवेश गर्ने पहिलो खुड्किलो पनि हो। कविताले समाज र जीवनको नजिक लगिदिन्छ। कविताको अध्ययनले सोचाइको धरातल बृहत बनाइदिन्छ। यस्तै यस्तै कारणले कविहरू कविता लेखिरहन्छन्।
नेपाली कवितामा के कुरा छुटे जस्तो लाग्छ?
अलि बढी वर्णनात्मक हुन्छन्। पढ्दै गर्दा कविता होइन, कथा पढे जस्तो लाग्छ। कुनै दृश्य या घटनाको ज्यादै वर्णन गरिएको हुन्छ। नारा, आक्रोश बढी हुन्छ। सरल छ, गहन छैन। कविता पढेर घोत्लिनुपर्ने खालका कविता कम मात्रै लेखिएका छन्। खासमा भन्दा कला पक्ष कमजोर छ।
पहिलेको तुलनामा अहिले कविताको विषयवस्तुमा के कस्तो परिवर्तन पाउनुभएको छ?
सशस्त्र द्वन्द्व र जनआन्दोलनमा कविताका विषयवस्तु फेरिए। विदेश जाने प्रचलन बढ्दै गएपछि वैदेशिक रोजगारीको विषयमा पनि कविता लेखिन थालेको छ। नयाँ विषयवस्तुको समस्या हुन्न जस्तो लाग्छ। महिला, तेस्रोलिङ्गी, फेरिएको समाजको मनोविज्ञान जस्ता विषयमा कविता लेखिन थालेका छन्।
अहिले धेरै कवि उपन्यास लेखनतिर लागेका छन्। बजारकै कारणले हो कि अरू केही छन्?
एउटा कारण बजार नै हो। किनकि, उपन्यासका पाठक धेरै छन्। उपन्यासमा शब्दसित खेल्न पाइन्छ। त्यसैले पनि कविहरू उपन्यास लेखनमा लागिरहेका छन्।
तपाईंलाई उपन्यास लेखौं जस्तो लागेको छैन?
धेरै समय विदेशमा बसेकाले त्यहाँको अनुभव र अनुभूति लेख्ने विचारमा छु। किनकि, धेरै कुरा कवितामा लेख्न सकिन्न। निबन्ध, संस्मरण या उपन्यासका रूपमा केही न केही लेख्ने सोचमा छु।