‘सतीप्रथा हट्यो, महिलाद्वेषी संस्कार हटेन’
‘धर्मशास्त्रदेखि ऐन, कानून, रुक्का, राजाज्ञा अथवा अन्य अभिलेखीय प्रमाणले सतीप्रथालाई सकारात्मक संस्कारका रूपमा प्रस्तुत गरेको पाइन्छ।’
लेखक सुजित मैनाली इतिहासको विषय समाजसँग जोडेर कलम चलाइरहेका छन्। उनले पछिल्लो पुस्तक ‘सती: इतिहास र मिमांसा’ मा सतीप्रथाको विषयमा यसअघि लेखिएको इतिहासभन्दा फरक दृष्टिकोण प्रस्तुत गरेका छन्। लेखक मैनालीसँग हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा सागर बुढाथोकीले गरेको कुराकानी:
सय वर्षअघि नै कानूनी रूपमा अन्त्य गरिएको सतीप्रथामाथि किताब लेख्न के कुराले प्रेरित गर्यो? अहिले यसको सान्दर्भिकता कति छ?
सतीप्रथा कानूनी रूपमा अन्त्य भए पनि त्यसका अवशेष अहिले पनि छन्। सतीप्रथा पुरुषसत्ताले अँगालेको क्रूरतम अभ्यास थियो। पितृसत्ताबाट नेपाली समाज र विश्व समुदाय नै मुक्त भइसकेको छैन। यो किताब सतीप्रथाको माध्यमबाट पितृसत्ताको जरो पहिल्याउने प्रयत्न हो। उन्मूलन भइसकेको प्रथाको अध्ययनले हामी बाँचिरहेको वर्तमानलाई बुझ्न पनि मद्दत गर्छ भन्ने महसूस भएपछि किताब लेख्न शुरू गरेको थिएँ। किनकि, इतिहास इतिहास मात्रै नभएर त्यसले हाम्रो वर्तमानलाई पनि निर्देशित गरिरहेको हुन्छ।
सतीप्रथाको नै किन रोज्नुभयो?
इतिहासका दस्तावेज, ग्रन्थ पल्टाउँदा मूलत: दुई वटा विषयमा बढी लेखिएको हुँदो रहेछ। एउटा लेनदेन र अर्को महिलालाई नियन्त्रण गर्ने उपक्रम सम्बन्धी प्रकाश पार्ने विषय। आर्थिक र लैंगिक कोणबाट समाजलाई हेर्यौं भने हाम्रो हेराइ वस्तुगत हुँदो रहेछ भन्ने मलाई महसूस पनि भयो। मेरो व्यक्तिगत अभिरुचि पनि लैंगिक अध्ययनमा छ।
सतीप्रथाको विषयमा लेख्नुअघि बोक्सी प्रथाबारे लेख्न सकिन्छ कि भनेर अध्ययन शुरू गरेको थिएँ, तर बोक्सी प्रथाबारे लेख्न बढी जटिल रहेछ। किनकि, त्यो सम्बन्धी सन्दर्भ सामग्री उपलब्ध नहुने रहेछन्। त्यसैले सतीप्रथाबारे लेख्नको लागि अनुसन्धान शुरू गरें।
बोक्सी प्रथाका विषयमा लेख्न सन्दर्भ सामग्री जुटाउन गाह्रो भएको सुनाउनुभयो। सतीप्रथाका विषयमा सन्दर्भ सामग्री कसरी जुटाउनुभयो?
सतीप्रथासँग सम्बन्धित सन्दर्भ सामग्री जुटाउन पनि एकदम गाह्रो भयो। राजनीतिक इतिहास लेख्न सजिलो हुन्छ, किनकि शासकहरूले आफ्नो स्तुति लेखाएका पनि हुन्छन्। शासन सत्ताबाट लाभ लिएका व्यक्तिले लाभ लिने क्रममा लिखत बनाएका हुन्छ। त्यो लिखतले पनि राजनीतिक इतिहास लेखनमा सहयोग गर्छ।
सतीप्रथा सीमान्त विषय हो। जतिवेला यी घटनाहरू घटे, त्यो अभिलेखीकरण गर्नुपर्छ भन्ने चेत थिएन। सामाजिक विषय भएकाले लिखत तयार पार्न आवश्यक पनि ठानेनन्। त्यसको संग्रह र सुरक्षण गर्नुपर्छ भन्ने महसूस पनि गरेनन्। तथापि, एकाध स्मृति अभिलेखमा बाँचेका छन्, तर जति अभिलेख छन्, तीमध्ये थोरै मात्र भेटिन्छन्। सोही कारण सन्दर्भ सामग्रीको सङ्कलन गर्न निश्चय पनि गाह्रो भयो, किनकि हामीसँग एकदमै थोरै लिखत मात्र बाँकी छन्।
त्यसो हुनुको कारण हाम्रोमा संस्थागत स्मृति संरक्षण गर्ने संस्कार छैन। जस्तो कि, वीर शमशेरको पालामा सती पठाउनुअघि मुचुल्का उठाउनु भनेको छ। जंगबहादुरले जारी गरेको ऐनमा सरकारी अधिकारीको उपस्थितिमा मुचुल्का उठाएपछि विधवालाई ‘तिमी राजीखुशीले जान लागेको हो/होइन, बलजफ्ती पठाउन लागेको हो कि’ सोधेर मुचुल्का उठाइसकेपछि विधवालाई सती पठाउनू भनिएको छ। राज्यको पहुँच नभएकाले दुर्गम क्षेत्रमा मुचुल्का उठाइएन होला, शहरी क्षेत्र जहाँ राज्यको सहज उपस्थित थियो, त्यो ठाउँमा त मुचुल्का पक्कै उठाइयो, तर त्यो भेटिन्न। किनकि, संस्थागत स्मृति राख्ने सवालमा हाम्रो संस्कारमै उदासीनता छ।
‘अर्काइभल इभिडेन्स’ सँगसँगै सतीप्रथाबारे अझ बढी र अझ गहिरोसँग जानकारी दिने भनेको लोककथा र अनुश्रुतिहरू हुन्। अभिलेखीय प्रमाणभन्दा यस्ता मौखिक परम्परामा बाँचेका प्रमाणले पनि सतीप्रथाबारे थुप्रै खुलासा गर्छन्। त्यस्ता लोककथा, अनुश्रुति र किंवदन्ती पनि संकलन गरेको छु।
इतिहास लेखनमा किंवदन्ती कत्तिको प्रामाणिक हुन्छन्?
शासकहरूको इतिहासको लागि अभिलेखीय प्रमाणलाई आधार मान्न बढ्ता सहज हुन्छ। किनकि, उनीहरूको भोगाइ, अनुभव, दैनिकी नजिकबाट गहिरोसँग नियालेका मानिसले अभिलेखमा तयार गरेका हुन्छन्। तर, सीमान्तीकृत तथा इतिहासमा बेवास्ता गरिएका विषयमा यस्ता अभिलेख पाइन्न। त्यसैले यस्ता विषयमा अनुसन्धान गर्न अनुश्रुति तथा किंवदन्ती एकदम उपयोगी हुँदो रहेछ भन्ने महसूस भयो। उदाहरणका लागि अभिलेखीय प्रमाणलाई आधार मान्ने हो भने धर्मशास्त्रदेखि ऐन, कानून, रुक्का, राजाज्ञा अथवा अन्य अभिलेखीय प्रमाणले सतीप्रथालाई सकारात्मक संस्कारका रूपमा प्रस्तुत गरेको पाइन्छ। जस्तै, सती देवी भनेर पूजा गर्ने, पतिभक्तिले विभोर भएर पत्नीहरू आत्मदाह गर्थे भन्ने कुरा अभिलेखीय प्रमाणले देखाउँछ।
सतीप्रथा सम्बन्धी प्रमाणमा सतीको पीडा झल्किन्न। यसले सत्यको एउटा ठूलो आह्वानलाई छोपिदिएको छ। किनकि, मैले अनुसन्धान गर्दा विधवाहरू सती गएको होइन, पठाइएको रहेछ भन्ने पाएँ। संस्कार संस्कृति र धर्मको आह्वानमा पितृसत्ताले विधवाको दहन गर्थ्यो। त्यो पीडा मैले अनुश्रुति र किंवदन्तीमा पाएँ।
नेपालमा ‘सतीले सरापेको देश’ भन्ने भनाइ चर्चित छ। यो त किंवदन्ती हो। श्राप खुशी भएको मानिसले होइन, पीडा, असन्तुष्टि र इच्छा विपरीत जल्न बाध्य पारिनेले दिने हो। सतीले दिने श्राप भन्ने उक्तिले विधवा भएर जल्ने वेला सती खुशी थिइनन् भन्ने जनाउँछ।
जंगबहादुर राणा श्री ३ महाराज भएको वेला बेलायती सैनिक अधिकारी हेनरी लरेन्स काठमाडौंमा थिए। उनी एक जना साथी लिएर सती गएको हेर्न गएछन्। उनले त्यो वेलाको सती गमनको दृश्यको अत्यन्तै दर्दनाक प्रस्तुति आफ्नो डायरीमा लेखेका छन्। त्यहाँ विधवा पतिको लासमाथि सुतेको, त्यसपछि तीन वटा हरियो बाँस लास र विधवाको माथि पर्ने गरी तेर्स्याएर ६ जनाले समाएको उल्लेख गरिएको छ। बाँस विधवामाथि तेर्साउनु भनेको उनलाई त्यहीं थिचेर जलाउने उपक्रम हो।
कतिपय विधवालाई लागूऔषध खुवाएर अचेत बनाएर चितामा जलाइन्थ्यो। भाग्न खोज्नेलाई विधवालाई लास घोच्ने बाँसले टाउकोमा हानेर अचेत बनाएर जलाइन्थ्यो। अछामतिर च्यारुङ भन्ने विशेष उपकरण बनाइएको थियो, त्यसले विधवालाई दुईतिरबाट बाँध्न मिल्थ्यो। कतिपय ठाउँमा खाल्डोमा चिता तयार पारेर तेल, घ्यू शरीरमा लगाएर फाल हाल्न लगाइन्थ्यो। यो सबै विधवा नउम्किऊन् भनेर गरिएको हो।
अनुश्रुति किंवदन्तीले विधवामाथि भएको ज्यादतीको यो सत्यबारे उजागर गरेका छन्। समाजका दमित, अवहेलित र बेवास्ता गरिएको वर्गको इतिहास लेख्ने हो भने अभिलेखीय प्रमाणभन्दा किंवदन्ती सत्यका बढी नजिक हुन्छन्।
सतीप्रथालाई विगतमा धार्मिक कर्मको लेपन दिएर लेखिँदै आएकामा तपाईंले यसलाई सांस्कृतिक हिंसा भन्नुभएको छ, कसरी?
विगतमा सतीप्रथालाई धार्मिक कर्मको लेपन लिएर लेख्नुको कारण समाजशास्त्रीय चेतको अभाव र खराब नियत हो। नियत खराब कसरी हो भने हिंसा भन्यो भने त त्यसको विरोध गर्नुपर्छ। विरोध गर्यो भने त्यसले पितृसत्तालाई हानि गर्छ। जस्तो कि, सतीप्रथाको कुरा बिर्सेर महीनावारी हुँदा बार्ने र छाउपडी प्रथा हेरौं। त्यहाँ पनि धर्मको आवरणमा महिलालाई हरेक महीना अछूत करार गरिएको छ। धर्मको आवरण दियो भने उनीहरूलाई सहमत गराउन सजिलो हुन्छ।
धर्मले वर्जित गरेको भनेपछि पीडित र समाज दुवै सहमत हुन्छन्। यदि हिंसा उजागर गर्ने हो भने यस्ता यावत् संस्कारहरू परित्याग गर्न लायक हुन्छन् भन्ने निष्कर्ष निस्कन्छ। धर्मको सहायताले पुरुषसत्तालाई टिकाउने, बलियो बनाइराख्ने र यसलाई कमजोर हुन नदिने एउटा पुरातनपन्थी खेमा छ, त्यो खेमाले सुनियोजित रूपमा सतीप्रथालाई धार्मिक आवरणमा गरिने प्राण उत्सर्ग हो भनेर अपव्याख्या गर्छ। यो महिलामाथि हुने हिंसालाई निरन्तरता दिने एउटा प्रपञ्च हो।
तपाईंले सतीप्रथाको अभ्यास तुलनात्मक रूपमा भारतमा बढी रहेको र कुनै वेला विश्वका अन्य देशमा पनि यो फरक तरीकाले अस्तित्वमा रहेको उल्लेख गर्नुभएको छ। अभ्यास नै कम भएर हो कि प्रमाणहरू कम भेटिएकाले नेपालमा कम देखिएको हो?
नेपाल-भारतको सतीप्रथासँग मिल्दाजुल्दा अभ्यासहरू अन्यत्र पनि थिए। जस्तै- इजिप्टमा थियो। रसियातlर पनि देखा परेको छ। अरू थुप्रै देशका विभिन्न समुदायमा श्रीमान्को मृत्युपछि श्रीमती, दास, दासीहरूलाई पनि मारेर गाड्ने चलन थियो। अहिले ती चिहानहरू उत्खनन गर्दा त्यस्ता थुप्रै अस्थिपञ्जर फेला परेका छन्। अन्यत्र यो प्रथा हराइसकेपछि भारतीय उपमहाद्वीपको हिन्दू समुदायमा बाँकी रह्यो।
भारतमा भयावह सतीप्रथाको अभ्यास हुने राजस्थान र बंगाल हो। भारतको तुलनामा नेपालमा सतीप्रथाको अभ्यास कम भएको देखिन्छ। त्यसका अनेक कारण छन्। नेपालमा भारतभन्दा एक सय वर्ष पछाडि यो प्रथा सजिलै अन्त्य गरिएको थियो। किनकि, नेपालको समाज भारतको समाज जस्तो धार्मिक र सांस्कृतिक हिसाबले ज्यादै कट्टर र महिलाद्वेषी छैन।
नेपालमा जनजाति र हिन्दू समुदायबीच बाक्लो अन्तर्घुलन भएको छ। यहाँको जनजाति समुदायमा तुलनात्मक रूपमा महिलाको स्तर माथि छ। जनजाति र हिन्दू समुदायबीचको हजारौं वर्ष लामो अन्तर्क्रियाले पनि नेपालका हिन्दूहरू भारतका हिन्दूहरू जति महिलाद्वेषी छैनन्।
अर्को, विदेशीसँग पौंठेजोरी बढी भयो भने संस्कार, संस्कृति र धर्मलाई कठोर बनाइँदो रहेछ। भारतमा त पटक पटक बाहिरियाहरूले शासन गरे। बाहिरबाट आएकासँग लडेर, कतिपय अवस्थामा पराजित भएर उनीहरूको अधीनता स्वीकार गरेर बस्नुपर्दा भारतमा एक किसिमको कुण्ठा छ। जोखिम महसूस बढी गर्ने समुदायमा धार्मिक-सांस्कृतिक कट्टरता बढी हुँदो रहेछ। नेपालमा अन्य धार्मिक समुदायले युद्ध र जितेर शासन गरेको इतिहास छैन। त्यसले गर्दा नेपालको हिन्दू समुदाय भारतको जति महिलाप्रति निर्मम र कठोर पाइन्न। वर्णव्यवस्था र जातव्यवस्थामा पनि यो अन्तर्सम्बन्धित छ।
पुस्तकमा ‘भग-यन्त्रणा’ शीर्षकमा लामै आलेख देखिन्छ। तर, सतीप्रथा कति भग यन्त्रणा हो/होइन भन्नेबारे चाहिं विश्लेषण गरिएको भेटिन्न नि?
भग-यन्त्रणा भन्ने शीर्षक नै विश्लेषणको उपज हो। महिलाको यौनिकतालाई नियन्त्रण गर्ने र यातना दिने धार्मिक प्रपञ्च हो, सतीप्रथा। यो विषयमा प्रशस्तै सैद्धान्तिक विश्लेषण गरिएको छ। पति मरेपछि विधवाको यौन जीवन नियन्त्रण गर्नलाई जर्बजस्ती सती पठाइन्थ्यो। महिलालाई पुरुषप्रति वफादार बनाउन संस्कृति र कानूनको सहायता लिएको देखिन्छ। बहुविवाह, विवाहेतर सम्बन्ध र बिहेअघि सम्बन्ध बनाउनेलाई नियन्त्रण गर्न कडा कानून बनाइएको थियो।
जंगबहादुरको पालामा बिवाहेतर सम्बन्ध बनाउनेलाई नाक काटेर घर निकालासम्म गरिन्थ्यो। त्यो वेला कानूनको डण्डा देखाएर पुरुषप्रति बफादार बन्न बाध्य पारिएको थियो। त्यस्तै, राज्यले नदेख्ने ठाउँमा कानूनको उल्लंघन गर्न सक्छन् भनेर संस्कृतिको सहायता लिइएको छ। संस्कृतिमा पति बाहेक अरू नचिताउने महिला देवी तथा सती सावित्री हुन् भनेर फुर्क्याउने गरिएको छ। यतिले पनि नपुगेर कोही महिलाले आफ्नो यौन स्वतन्त्रताको उपभोग गर्न खोजे भने दण्ड दिएर नियन्त्रण गर्ने प्रचलन छ।
यी दुई कुरालाई विश्लेषण गरेर मैले भग-यन्त्रणा शीर्षकको आलेख तयार गरेको हुँ। किनकि, पितृसत्ताले पतिको मृत्युपछि पनि पत्नी जीवितै रहेमा पति बाहेक अर्को कुनै पुरुषसँग सम्बन्ध कायम हुन सक्ने ‘जोखिम’ देख्यो। त्यसैले, पतिको मृत्युपछि पत्नीलाई जलाइदियो। सतीत्व जोगाउने नाममा महिलाको यौन स्वतन्त्रता हनन भएको छ। यो किताबको निष्कर्ष नै त्यही हो।
सतीप्रथालाई नारीलाई आजन्म नियन्त्रणमा राख्ने पुरुष मनोविज्ञानको आलोकमा व्याख्या गर्नुभएको छ। यसले नेपाली महिला आन्दोलनसँग के-कस्तो सम्बन्ध राख्छ?
सतीप्रथा सम्बन्धी मेरो लेखन मृत्य युगको कंकाल उधिन्ने प्रयत्न मात्र होइन, सतीप्रथाको अध्ययनले मृत भइसकेको प्रथाबारे प्रकाश पारेको मात्र पनि छैन। जस्तो- अहिले पनि त विभिन्न महिलाद्वेषी संस्कार अनुसरण गरिरहेका छौं। गहिरिएर हेर्यौं भने यावत् संस्कारको अन्तिम उद्देश्य भनेको महिलाको यौन स्वतन्त्रता नियन्त्रण गर्नेछ। तेजाब हमलाका घटना हेर्दा आफूसँग प्रेम या बिहे गर्न नमानेको महिलालाई अरूसँग पनि सम्बन्ध बनाउन लायक रहनुु हुन्न भन्ने मनोविज्ञानले तेजाब छ्यापेको देखिन्छ। सतीप्रथाको मर्म पनि यही त हो नि।
समाजमा बालविवाह अझै छ। अहिले बालविवाह लैंगिक अध्ययनको महत्त्वपूर्ण अनुसन्धानको विषय हो। यौन सम्बन्धी अनुभव, आकांक्षा विकास हुनुअघि नै उनीहरूलाई बिहे गरेर पठाउनुपछिको नियत महिलाको ‘यौन पवित्रता’ जोड्न खोजिएको छ। अझै पनि महिलाको ‘यौन पवित्रता’ सुनिश्चित गर्न तय गरिएका यावत् सांस्कृतिक उपक्रम दिनदिनै अभ्यास गरिरहेका छौं। सतीप्रथाको अध्ययनले पितृसत्ताको इतिहासको जरो बुझाउँछ। पितृसत्ताबाट निर्दिष्ट संस्कृति बुझ्न पनि मद्दत गर्छ। इतिहासबारे मात्र होइन, यो वर्तमान बुझ्ने र बुझाउने प्रयत्न पनि हो।
लेखक कृष्ण धरावासीको ‘झोला’ र त्यसमाथि बनेको सिनेमाले सतीप्रथाबारे पाठकलाई दिग्भ्रमित बनाएको दलील प्रस्तुत गर्नुभएको छ। त्यसमा तपाईंले देख्नुभएका कमजोरी के हुन्?
कृष्ण धारावासीको ‘झोला’ पढ्दै गर्दा मलाई पर्याप्त अनुसन्धान नगरी लेखिएको जस्तो महसूस भयो। खोज्दै जाँदा हो पनि रहेछ। त्यसमा गम्भीर त्रुटि छ। त्यो पढ्दा कस्तो छनक मिल्छ भने श्रीमान् मर्नासाथ श्रीमतीलाई सती पठाइहाल्थे। इतिहास पल्टाएर हेर्यौं भने सतीप्रथा लगातार अभ्यास भइरहने प्रथा होइन। यो एकदम विरलै अभ्यास हुन्थ्यो। र, यो सर्वसाधारणभन्दा बढी राजपरिवार, उच्च भनिएका सम्पन्न परिवार, भारदारहरूमा अभ्यास हुन्थ्यो। त्यति वेलाको कानून र अभ्यास हेर्ने हो भने झोला कथामा गम्भीर त्रुटि छन्।
झोला कथा चन्द्र शमशेरको शासन ताकाको कथा हो। जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनमा कान्छो छोरा १६ वर्षभन्दा कम उमेरको छ भने उसकी आमालाई सती पठाउन मिल्दैन भनिएको छ। झोला कथामा सती पठाउने भनिएको महिलाको छोरा बालक छ, व्रतबन्ध गरिएको छैन। त्यस्तै, सती पठाउने वेलामा जेजस्तो धार्मिक अनुष्ठान गरिएको छ, त्यस्तो पनि अभ्यास भएको भेटिन्न।
साहित्य हो, कल्पना गर्न पाइयो भन्ने एक प्रकारको विश्लेषण पनि सुनिन्छ। साहित्यमा पात्रका नाम र संवाद काल्पनिक हुन सक्छन्, तर जुन परिवेश चित्रण गरिन्छ, त्यो हुबहु मिल्नुपर्छ। त्यही कारण इतिहास लेखनभन्दा साहित्य लेख्न गाह्रो भनिन्छ। किनभने, साहित्यमा त्यतिवेलाको समग्र जीवनको चित्रण पनि हुनुपर्छ। यस्ता विषयमा साहित्य लेख्न गहन सोधको आवश्य पर्छ, तर झोला कथा लेख्दा आवश्यक शोध गरिएको थिएन भन्ने प्रमाणले देखाएको कुरा पुस्तकमा उल्लेख गरेको हुँ।
लेखकका रूपमा तपाईंको समाजशास्त्रीय छवि पनि किताबमा पटक पटक प्रकट भएको छ? सतीप्रथा आफैंमा ऐतिहासिक चिन्तनको विषय मात्र हो कि यसको समाजशास्त्रीय महत्त्व पनि छ?
समाज बुझ्न इतिहास बुझ्नैपर्छ। यी दुवै विषय एकअर्कासँग गाँसिएका हुन्छन्। वस्तुत: इतिहास बुझिएन भने हामी वर्तमान समाज बुझ्नै सक्दैनौं। किनकि, वर्तमान समाजलाई इतिहासले नै बनाएको हुन्छ र अहिले पनि कुनै न कुनै रूपमा निर्देश गरिरहेको हुन्छ। त्यसैले यसलाई छुट्याएर हेर्न मिल्दैन।
तपाईंको अघिल्लो पुस्तक शिलान्यास पनि इतिहाससँग सम्बन्धित छ। इतिहास लेखनमा हामी कहाँ छौं?
इतिहास लेखनमा हामी धेरै माथि पुगेका छैनौं। इतिहास सम्बन्धी अध्ययन गर्न धेरै जटिलता छन्। अर्काइभ गर्ने बानी छैन। त्यसले गर्दा प्रशस्तै सन्दर्भ सामग्री पाउन गाह्रो छ। इतिहास सम्बन्धी अध्ययन गर्न धेरै किताबको संकलन हुनुपर्छ। नेपालको इतिहास र समाज बुझ्न सहयोग पुर्याउने पुस्तकालय हाम्रोमा एउटै पनि छैन। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा इतिहास र समाजको अध्ययन गर्नु पर्यो भने त्यहाँको पुस्तक एकदमै अपर्याप्त छ। नेपाल सम्बन्धी कागजात र दस्तावेज पाउने, नेपालबारे निस्किएका ग्रन्थहरू संग्रह भएको पुस्तकालयको ठूलो खाँचो छ। यो नहुँदा जति अध्ययन गर्न सक्नुपर्थ्यो, त्यति गर्न सकेका छैनौं।
हाम्रोमा राजनीतिक इतिहास तुलनात्मक रूपमा बढी लेखिएको छ। किनकि, वंशावलीहरू प्रशस्तै उपलब्ध छन्। अभिलेख, शिलालेख, लालमोहरहरू प्रशस्तै पाइन्छन्। सामाजिक इतिहास लेख्ने सवालमा भने एकदमै पछि छौं।
अन्य देशमा वैकल्पिक इतिहास लेखनको परिपाटी पनि देखिन्छ। त्यस्तो लेखनको उपादेयता के हो? नेपालमा किन त्यति धेरै लेखिएन?
हामीले बुझिआएको, सुनिआएको कुरा सत्य नहुन सक्छ। बुझिआएको भन्दा यथार्थ अर्कै हुन सक्छ। आलोचनात्मक रूपमा हेर्यौं भने इतिहासका ओझेल परेका सत्य उद्घाटित हुनुपर्छ। मेरो यो पुस्तक पनि वैकल्पिक इतिहास लेखनकै नमूना हो। किनकि, सतीप्रथाबारे रहिआएको परम्परागत बुझाइभन्दा यसमा फरक दृष्टिकोण प्रस्तुत गरेको छु।
वैकल्पिक इतिहास बढी नलेखिनुको कारण हामी शैक्षिक र बौद्धिक हिसाबले पछि छौं। बौद्धिक मन्थन हुने ठाउँ भनिएको विश्वविद्यालय बौद्धिकताको केन्द्र बन्न सकेको छैन। त्यस्तै, यस्ता लेखनमा मानिसलाई संलग्न गराउने र टिकाउने आर्थिक सहायताको पनि अभाव छ। एकदमै सम्भावना भएका क्षमतावान् शोधकर्ताले पनि समय लिएर अनुसन्धान गर्न सकेका छैनन्। त्यसैले, इतिहास लेखनको समग्र प्राज्ञिक मन्थन गर्न-गराउन सकेका छैनौं।
इतिहास लेखनमा अध्ययन-अनुसन्धानको महत्त्वबारे धेरै भन्नुभयो। यसमा लेखकीय शैली र दक्षताले कस्तो अर्थ राख्छ?
दक्षताको लागि प्रशिक्षण छैन। स्नातकोत्तर र विद्यावारिधि गरेका धेरै व्यक्तिलाई पुरातत्त्व विभागले सम्मानित गरिसक्यो। तर, नेपालका प्राचीन शिलालेख तथा अभिलेख पढ्न सक्ने जनशक्ति एक जना पनि उत्पादन गर्न सकेको छैन। अहिले पनि त एकदमै प्राचीन कालका अभिलेख, मल्लकालका अभिलेख परिशीलन गरेर इतिहास लेख्नेहरू संशोधन मण्डल र त्यहाँबाट दीक्षित इतिहासकार र उनीहरूका चेलाहरू हुन्। उनीहरू नभएको भए इतिहास अध्ययनको क्षेत्रमा ठूलो रिक्तता हुन्थ्यो।
खासमा दक्षता सिकाउने स्थान नै छैन। दक्षता सिकाउने विश्वविद्यालय हो, तर विश्वविद्यालयको क्षमता र अभिरुचि दुवै छैन। पुरानो लिपि पढ्न सक्ने र विश्लेषण गर्न सक्ने अहिले सीमित मानिस छन्। उनीहरूपछि के गर्ने भनेर अहिलेसम्म सोचिएको छैन। कुनै पनि निकायले त्यसका लागि पहलकदमी कतैबाट लिएको छैन।
यसको मतलब हाम्रो इतिहास लेखिन धेरै बाँकी नै छ?
लेख्न बाँकी इतिहास धेरै छ। मैले हालसालै स्टिभिन पिंकरको द बेटर एन्जल्स अफ दी आवर नेचर भन्ने पुस्तक पढें। त्यो हिंसाको इतिहास सम्बन्धी पुस्तक हो। त्यसमा यातनाबारे ऐतिहासिक घटनाहरू उल्लेख गरेर विवेचना गरिएको छ। त्यो पढ्दै गर्दा मलाई के सोच आयो भने नेपालमा पनि यातनाका धेरै घटनाहरू छन्। नेपालमा यातनाबारे फाट्टफुट्ट लेखिए पनि राम्रोसँग लेखिएको छैन। अध्ययन र अनुसन्धान गर्न बाँकी क्षेत्रहरू थुप्रै छन्। अर्को, अध्ययन कहिल्यै पूर्ण हुने विषय पनि होइन। यो कहिल्यै पनि नसकिने विषय हो।
गम्भीर विषयमा लेख्न र प्रकाशन गर्न लेखक र प्रकाशनगृह उत्साही छैनन् भनेको सुनिन्छ। यस्तो विषयमा लेख्नुअघि बजारतिर ध्यान गएन?
बजार हेरेर होइन, विषय हेरेर लेख्ने हो। आकांक्षा पालेर कर्म गर्दा त्यसले निराशा दिन्छ। हामी कर्म पो गर्न सक्छौं, फल निर्धारण गर्न त सक्दैनौं। कुनै काममा गरिने मिहिनेत र साधनामा मात्र मेरो सामर्थ्य छ, त्यसले दिने नतीजा मेरो वशको विषय होइन। बिक्रीको लोभमा लिएर अनुसन्धान गर्नु त्यति राम्रो पनि हुँदैन।
पठन-संस्कृतिको विकासमा पनि जोड दिइरहनुभएको छ। पठन संस्कृतिमा हामी कहाँ छौं?
पठन संस्कृति मौलाउन नसक्नु अविकसित देशको साझा समस्या हो। हाम्रोमा पढ्नुपर्छ भन्ने अवधारणा धेरै पछि आएको हो। हाम्रो मौखिक परम्परामा टिकेको समाज हो। घरमा किनेर ल्याएर पुराण पढ्दैनौं। पुराण लगाएको ठाउँमा जान्छौं। लेख्न पढ्नभन्दा बोल्न र सुन्न बढी सहज मान्छौं। त्यही पृष्ठमूभिबाट आएकाले पनि पठन संस्कृति कम गराउने भूमिका खेल्यो होला।
अहिले जुन जुन देशमा पठन संस्कृति राम्रो छ, तिनै देशले उत्पादन र अन्वेषण गरिरहेका छन्। हामी जस्तो केही नपढ्ने मुलुकका नागरिकलाई उनीहरूले उपभोक्ता बनाइरहेका छन्। यो सबै देखेर पनि हामीले सिक्न सक्नुपर्थ्यो। सिक्न पनि सकिरहेका छैनौं, पठन संस्कृतिको महत्त्व सिकाउने अभिभारा लिनुपर्ने सरकार, शैक्षिक संस्था र सञ्चार माध्यमले पनि जति प्राथमिकता दिनुपर्थ्यो, दिएको पाइँदैन।
अहिले निजी शैक्षिक संस्थाहरू महँगा भए भनेर सुनिन्छ, तर यी शैक्षिक संस्थाको पुस्तकालयमा कस्तो किताब होला? राज्यले सञ्चालन गरेका पुस्तकालयको हालत उस्तै छ। पुस्तकालय हुने बितिक्कै ह्वारह्वार्ती मानिस जाने कुरा पनि होइन। उनीहरूलाई किताब पढ्न प्रेरित गर्ने कार्यक्रम पनि ल्याउनुपर्छ।
कोरोना महामारीमा, बन्दाबन्दीको वेला बालबालिकालाई स्मार्टफोनको लत लाग्ला भनेर विकसित देशहरूले पठन संस्कृति बढाउने योजना ल्याए। हाम्रोमा त्यस्तो कुनै कार्यक्रम तथा योजना आएन।
पठन भनेको दैनिक रूपमा अभ्यास गर्ने जीवनको हिस्सा हुनुपर्ने हो। विद्यार्थी र शिक्षकले मात्रै पढेर हुँदैन, सबै नागरिकले पढ्नुपर्छ। बिल गेट्स जस्तो व्यस्त व्यापारीले वर्षमा जति किताब पढ्छन्, यहाँ त विश्वविद्यालयको १० जना प्राध्यापकले मिलेर पनि त्यति किताब पढेका हुँदैनन्। पठन संस्कृति बढाउन सामूहिक प्रयत्नबाट मात्रै सम्भव हुन्छ।
लेखक-अनुसन्धाताका रूपमा आगामी योजना के छ?
अहिले म आफूलाई रुचि लागेका किताब पढ्दै छु। मनमा लागेका कुरा लेखका रूपमा लेखिरहेको छु। लेखनका योजनाहरू छन्, कार्यान्वयनमा आइसकेका छैनन्।