‘२५ वर्ष लाग्ला भनेको किताब ११ वर्षमै लेखें’
‘लेख्न शुरू गर्दा यो शब्दकोश पूरा गर्न २५ वर्ष लाग्ने अनुमान गरेको थिएँ। मेरो जीवनले भ्याउँदैन कि भन्ने लागेको थियो।’
चूडामणि गौतमको हाइअर लेभल इङ्ग्लिस ग्रामर, कम्पोजिशन एन्ड प्रनाउनसिएशन विद्यालय तहका विद्यार्थीमाझ निकै लोकप्रिय छ। २०३७ सालमा १५ रुपैयाँ मूल्य रहेको यो पुस्तकलाई अहिले ४९० रुपैयाँ पर्छ। आफूले लेखेका पुस्तकको प्रकाशन आफैंले गर्दै आएका गौतमको सरल तरीकाले ‘ग्रामर’ सिकाउने यो पुस्तक ११ लाख प्रति बिक्री भइसकेको उनी बताउँछन्।
‘ग्रामर गुरु’ को परिचय बनाएका ७९ वर्षीय गौतमको ८७ हजार शब्दको बृहत्तर नेपाली शब्दकोश हालै प्रकाशित भएको छ। १०७औं पुस्तकका रुपमा रहेको दुई हजार ६४ पृष्ठको शब्दकोशबारे हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुराका लागि लेखक गौतमसँग सन्त गाहा मगरले गरेको कुराकानीः
तपाईंलाई धेरैले अंग्रेजी ‘ग्रामर’ लेखकका रूपमा चिन्छन्। नेपालीमा बृहत्तर शब्दकोश लेख्ने सोच कसरी आयो?
त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग, पाठ्यक्रम विकास केन्द्र र नेपाल प्रज्ञा-प्रतिष्ठानले अक्षरको खुट्टा काट्नुपर्ने विकृत तरीका भित्र्याएपछि मेरो मनमा विद्रोह पैदा भयो। संयुक्त अक्षर नलेखेर ‘बुद्धि’ लाई ‘बुद्धि’ वा ‘विद्यार्थी’लाई ‘विद्यार्थी’ आदि लेख्ने भएपछि शब्दकोश लेख्ने सोच आयो।
२०६७ सालमा कमलमणि दीक्षितको अग्रसरतामा मानक किसिमको शब्दकोश बनाउनुपर्छ भन्ने कुरा उठ्यो। शब्दकोश बनाउन बालकृष्ण पोखरेल, चूडामणि गौतम, गोविन्द भट्टराई, राजेन्द्र विमल र शरच्चन्द्र वस्ती रहेको समिति पनि बन्यो। कमलमणि दीक्षितले मनैबाट आर्थिक सहयोग गर्छु भन्नुभएको थियो। उहाँ अहिले बितिसक्नुभयो। ८७ हजार शब्दको यो कोश तयार भएको छ, उहाँको चित्तले पनि शान्ति पाओस् भन्न चाहन्छु।
व्यक्तिगत रूपमा मलाई पनि यो किताब लेखेर मात्रै संसारबाट बिदा हुन पाए हुन्थ्यो भन्ने लागेको थियो। शब्दकोश बजारमा आयो, मेरो जीवनको धोको पूरा भयो।
कहिलेदेखि शब्दकोश लेख्न थाल्नुभयो?
लेख्न शुरू गर्दा यो शब्दकोश पूरा गर्न २५ वर्ष लाग्ने अनुमान गरेको थिएँ। मेरो जीवनले भ्याउँदैन कि भन्ने लागेको थियो। २०७६ चैतमा कोभिड-१९ महामारी लक्षित बन्दाबन्दी शुरू भएपछि दैनिक १२ घण्टाको दरले लेख्न थालें। एक हिसाबले भन्दा मलाई कोरोना वरदान जस्तो भयो। ११ वर्षमै यो शब्दकोश लेख्न सकें।
कुन समयमा बढी लेख्नुभयो?
प्रायः बिहान ८ बजेदेखि राति १० बजेसम्म लेख्थें। बीचमा दुई घण्टा छुट्टी लिन्थें। बिहानको ६ बजेदेखि राति २ बजेसम्म लेखेको अनुभव पनि छ।
शब्दकोश तयार गर्दा क-कसको सहयोग लिनुभयो?
यो मेरो १०७औं पुस्तक हो। अहिलेसम्म ३० हजार पृष्ठ जति लेखिसकेको छु। म विज्ञ होइन, यो शब्दकोश तयार गर्दा पनि धेरै विद्वान्हरूको सहयोग लिएको छु।
दुई हजार ६४ पृष्ठको यो शब्दकोशको विशेषता के हो?
शिष्ट परम्परा तथा स्वनामधन्य साहित्यकारहरूको प्रयोगमा आधारित, वर्णविन्यासमा भित्र्याइएका विकृतिबाट मुक्त, विभिन्न राष्ट्रभाषाहरूका शब्दहरू प्रयोग भएको सबैभन्दा ठूलो शब्दकोश हो, यो। जस्तै- लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, इन्द्रबहादुर राई, पारसमणि प्रधान र पारिजातहरूले प्रयोग गरेको वर्णविन्यास नै प्रयोग गरेको छु।
नेपाल बाहिरबाट भित्रिएका आगन्तुक शब्दको ह्रस्व र दीर्घको प्रयोगमा भताभुङ्ग पारिएको थियो, त्यसलाई सच्याएको छु। उदाहरणका लागि ‘नमूना’, ‘कानून’, ‘शहीद’, ‘कोशिश’ आदि। त्यस्तै, क्षतिपूर्ति, मीठो, तीतो दीर्घ लेख्नुपर्छ। ‘व’ र ‘ब’ को प्रयोगमा भएको विकृतिलाई पनि सुधारेको छु।
भीमनिधि तिवारीले ‘यस्तो चाडाँ पनि बिदा नदिने हाकिम कस्तो हाकिम?’ भन्ने वाक्य प्रयोग गरेका थिए। यो शब्दकोशमा ‘चाडाँ’ शब्दको पनि प्रयोग गरेको छु। एउटा टेलिचलचित्रमा ‘मुखाँ हान्दिऊँ’ भन्ने संवाद छ। जनजिब्रोमा झुण्डिएको त्यो ‘मुखाँ’ भन्ने शब्दको पनि प्रयोग गरेको छु।
त्यस्तै, जताबाट भने पनि एउटै अर्थ दिने उभयत सार्थक शब्दको प्रयोग गरिएको छ। जस्तो- ‘नवजीवन’, ‘कटक’, ‘कालिका’ आदि। लिम्बू, नेवार, तामाङ, शेर्पा लगायतका भाषाका केही शब्द पनि प्रयोग गरेको छु।
भाषा बिगार्ने शुरूआत कहाँबाट भयो?
त्रिभुवन विश्वविद्यालयको नेपाली विभागबाट। त्यहाँका केही विद्यावारिधिहरूको बहुलठ्ठीपनाका कारण वर्णविन्यास बिगार्ने परिपाटीको शुरुआत भयो। पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि माथिको पुस्तकमा पनि विकृत वर्णविन्यास प्रयोग गर्यो। प्रज्ञा-प्रतिष्ठानले शब्दकोशबाटै भाषा बिगार्ने काम गर्यो।
सबैभन्दा ठूलो कमजोरी के भयो भने, जतिसुकै पढेका, शैक्षिक प्रमाणपत्र बोकेका शिक्षकहरूमा पनि सिकाइको क्षमता अभाव देखियो।
सञ्चार माध्यममा भाषाको प्रयोग कस्तो छ?
नेपाली सञ्चार माध्यममा भाषाको प्रयोग सबै ठीक छैन। जस्तो ‘तस्वीर’ आगन्तुक शब्द हो। यसको शुद्ध ‘तस्वीर’ हुन्छ। तर, धेरैले ‘तस्बिर’ लेखेको देख्छु। यो गलत प्रयोग हो। रेडियो-टेलिभिजनमा काम गर्नेहरूले ‘य’ र ‘ए’ को सही उच्चारण गर्दैनन्।
भाषा कसले सुधार्ने?
नेपालीमा ‘ण’ चाहिंदैन भन्ने गरेका छन्। मैले शब्दकोशमा ‘ण’ चाहिन्छ भन्ने उल्लेख गरेको छु। ‘ण’ चाहिंदैन भन्ने हो भने बहालवाला गृहमन्त्री बालकृष्ण खाणको थर कसरी लेख्ने? ‘खाण’ लाई ‘खान’ लेख्ने हो भने त चेङ्गिज खान वा सलमान खान जस्तो हुन जान्छ। ‘ण’ प्रयोग नहुँदा अर्कै जाति-धर्मको मान्छे बन्न पुग्दो रहेछ भन्ने त यही उदाहरणबाट देखियो, होइन?
त्यस्तै, ‘ण’ प्रयोग नगर्ने हो भने नेपालमा १०४ वर्ष शासन गरेका ‘राणा’ को सट्टा ‘राना’ लेख्नुपर्ने हुन्छ। राना थारू हुन्छ, राना मगर हुन्छ, राणा छुट्टै हुन्।
सुधारका लागि चेतना र विवेक चाहिन्छ, खास गरी शिक्षकहरूमा। शुरूआत ‘क, ख, ग, घ, ङ...’ बाटै गर्नुपर्छ।
पढेका सबैले जानेका हुँदैनन्, जानेका सबैले पढेका पनि हुँदैनन्। त्यस कारण भाषालाई विकृत हुन नदिन र सुन्दर प्रयोग गर्न पढेका र जानेका मान्छे नै चाहिन्छन्।
नयाँ पुस्तकमा पनि काम गरिरहनुभएको छ?
कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरेर शब्दकोश लेख्दै छु। मेरो जीवनी पनि लेख्दै छु।