‘युवा पुस्तालाई पाठक नै नमान्ने र उनीहरूबारे लेख्नेलाई लेखकै नमान्ने जमात छ’
‘पहिल्यैदेखि लेखेको लेखकको कुराले पाठकलाई तानिरहेको हुन सक्छ। धेरै पुस्तक बिक्री भएको चाहिं पाठकले प्रतीक्षा गरेको भएर हुन सक्छ।’
युवा पुस्ताले रुचाएका लेखक हुन् सुबिन भट्टराई। उनको नयाँ पुस्तक इजोरिया भर्खरै बजारमा आएको छ। यसअघि पनि समरलभ, साया, मनसुन, प्रिय सुफी, कथाकी पात्र पुस्तकलाई पाठकले खूब मन पराएका थिए।
किशोरावस्थाको प्रेम र यौन मनोविज्ञानलाई कथामा पस्किने लेखक भट्टराईले यस पटक भने सामाजिक विषयलाई उधिनेका छन्। उनै लेखक भट्टराईसँग हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा अनिता भेटवालले गरेको कुराकानी:
यो पुस्तक लेख्न किन जनकपुर नै रोज्नुभयो?
पहिलो कुरा काठमाडौंभन्दा बाहिर गएर पुस्तक लेख्छु भन्ने लाग्यो। कहाँ भन्ने यकीन थिएन। पहिलेदेखि नै जनकपुरको मैथिली भाषा, त्यहाँका मन्दिर, सांस्कृतिक पक्षहरूले तानिरहेको थियो। त्यस्तैमा साथीसँग जनकपुर गएँ। एक बसाइमै त्यो ठाउँ र त्यहाँका मानिसबाट प्रभावित भए।
अर्को, मैले पढेका साहित्यिक कृतिमा तराई भनेर लेखिएको थियो, तर जनकपुरकै कुरा पाएको थिइनँ। फेरि महिलाको कथा भन्न जनकपुर र मिथिला क्षेत्र नै रोज्नुपर्छ भन्ने लाग्यो। यो जनकपुरको धरातलमा लेखिएको उपन्यास भए पनि हिमाल, पहाड र तराईका सबै ठाउँको कथा हो। सबैतिरको समस्या हो।
लेख्नुअघि जनकपुर जानुभयो कि उतै लेखेर ल्याउनुभयो?
जनकपुरको पृष्ठभूमि समेटेर इजोरिया लेखेको हुँ। यो लेखनको चार वर्षमा पटक पटक जनकपुर गएँ। मसँग कथाको सानो फुर्को मात्र थियो। धेरै ठूलो क्यानभास थिएन। एक पटक केही समय बसेर आएँ, फेरि लेखें।
केही नपुगे जस्तो महसूस हुन्थ्यो। अनि फेरि जान्थें। कति उपकथाहरू जनकपुर गएर आएपछि पनि बन्थे। विशेष गरी छठ पर्वको वेला गएको छु। त्यहाँ पटक पटक जाँदाको फाइदा काठमाडौंमा आएर लेखिसकेपछि जुन कुरा पुग्दैनथ्यो, फेरि लिएर आउँथें। छुटेका विषय सूक्ष्म रूपले टिप्न सहज भयो।
शिरीष, सिम्रिक, ठाकुर, रमिला लगायतका पात्र मिथिलामै पाउनुभयो कि लेख्दै गर्दा जन्मिए?
यी पात्रहरू स्थलगत रूपमा भेटिएका हैनन्। मधेशका पात्र लागे पनि समग्र नेपालकै पात्र हुन्। विश्वको जुनसुकै स्थानमा पुगे पनि महिलाका कथा र समस्या केही न केही मिल्ने नै हुन्छन्। मैले पढेका साहित्य, हेरेका सिनेमा, अनुभव, भ्रमण लगायतबाट मेरो दिमागमा बसेका थिए। लेखनका क्रममा आएका हुन्।
समाजमा हामीले जस्तो विषय देखेका र भोगेका हुन्छौं, त्यही नै हाम्रो लेखनीमा पात्र र कथा भएर आउँछ। मेरो हकमा पनि त्यही भयो। इजोरियाले उठाएको मुख्य मुद्दा पहिलाबाटै आफैंले बोकेर हिंडेको थिएँ। पछि पात्र र परिवेश मार्फत बोलाएको हुँ।
इजोरियालाई मित्रता, मधेश, महिला विद्रोह, मुक्ति लगायतको कथा भनिंदै छ। यति धेरै विषयवस्तुमा छरियो। किन यसरी छर्नुभयो?
खासमा इजोरिया महिलाको कथा हो। अन्य मित्रता, मधेश, माया र ममता इत्यादि जे भने पनि तिनै महिलाको कथा हो। फरक फरक भावना भएका महिलाको कथा हो। फरक फरक पुस्ता र मनोदशाबाट गुज्रिएका महिलाको कथा हो, इजोरिया।
कोही संघर्षमा होमिएका छन् भने कोही हार खाएर मैदान छाडेका छन्। वास्तविक जीवनमा पनि कोही जति ठक्कर खाए पनि अझै बलियो भएर उभिन्छन्, कोही भने एउटै घटनाले पनि प्रतिक्रिया दिन नसकेर समर्पणवादी भावनाका हुन्छन।
अनि म सक्दिनँ, म हारें भन्ने कतिले जीवनलाई पनि नास्छन्। यहाँ हार्नु हुँदैन भनेर अर्को पात्रले बोल्छ। त्यही हार्न नदिने, मैदानमा टिकिरहने, लडिरहने भावनाको कथा हो, इजोरिया। अन्य मित्रता, माया, ममता, मुक्ति लगायत भने उपकथा हुन्।
पुस्तकमा हजुरआमा, आमा र छोरी गरी मधेशका तीन पुस्ताको कथा छ। यी तीन पुस्ताका कथा लेख्दा मधेशमा हजुरआमादेखि छोरी पुस्तासम्म आइपुग्दा के परिवर्तन देख्नुभयो?
नयाँ पुस्ता आउँदैमा परिर्वतन हुन्छ भन्ने पनि नहुँदो रहेछ। अनि पुरानो पुस्ताको मान्छेले चाहिं विद्रोही नै गर्दैनन्, परिवर्तनको संवाहक बन्दैनन् भन्ने पनि नहुँदो रहेछ। जस्तो- हजुरआमा पुस्ता पनि आफ्नो ठाउँको विद्रोही पात्र नै हो। मैले किताबमा पनि लेखेको छु, बाहिर कहाँ बाहुबलीहरूसँग भिड्न सक्ने, आफ्नो घरको झेस्का झेस्कीमा अल्झिएर लड्छ। त्यो भनेको बाहिरी संसारसँग भिड्ने, कति मानिससँग जुध्ने, आफूले लगेको दाइजो समेत फिर्ता ल्याउन लड्ने पुस्ता पनि हो, हजुरआमा पुस्ता।
बीचको पुस्तामा भने अलिक लाचारपन जस्तो पनि देखिन्छ। फेरि सबैको हकमा भनेको हैन। तर, त्यो समस्या छ। त्यसैले पुस्तान्तरण भएसँगै पात्रमा पनि परिवर्तन त आउँछ नै। समय र समाजअघि बढ्दै जाने क्रममा महिलाको सोच पनि उही समाजको हावापानी बदलिए जस्तै बदलिंदो रहेछ।
छोरी पुस्तासम्म आइपुग्दा परिवर्तन आएको छ। तैपनि, पुराना समस्या उस्तै छन्। जस्तो- दाइजो प्रथा। अहिलेको पुस्ताले पनि कति लिने कति दिने भन्ने कुरा सजिलै स्वीका/ गरेको पनि पाएँ। कतिले विद्रोह पनि गरेका छन्।
काठमाडौंको आँखाले जसरी मधेशलाई पिछडिएको देख्ने गरेको छ। सबै त्यो मात्र पनि हैन। काठमाडौंभन्दा धेरै विकसित र परिवर्तन भएको जनकपुर पनि हो। त्यहाँ बस्दा धेरै प्रगतिशील सोच भएका महिलासँग पनि भेटघाट गरें। मैले त मधेशको यो सानो संसारमा मात्र देखेको हुन सक्छु, एउटा सानो झ्यालबाट चियाएर हेरेको हुँ। सबै मधेशको क्षितिज नै उतारेको छैन। बुझ्न बाँकी अन्य धेरै कुरा छन्।
म सानो हुँदा मधेशलाई अरूको आँखाबाट महिलाको अवस्थाबारे जसरी बुझ्थें, आफैं गएर हेर्दा कथा सुनेभन्दा फरकपन पाएँ। त्यहाँका समाज र महिला अरूले सुनाए जस्तो मात्र छैनन्, प्रगतिशील पनि छन्।
अनि सिम्रिक मार्फत महिला अस्मिता, एक्लिएको यौवन संघर्ष, घरेलु हिंसा, विद्रोही र हार नखाने छोरीको कथा देखाइएको छ। खासमा मधेशका महिलाको मनोदशा कस्तो पाउनुभयो?
मधेश आन्दोलनको समयकी केटी हो, सिम्रिक। तर, सिम्रिक मधेशमा बस्ने मधेशी केटी मात्र नभएर पहाडे पनि हुन्। उपन्यास लेख्ने क्रममा मधेशका महिलासँग कुरा गर्दा परम्परागत चोटबाट ग्रसित पनि पाएँ। त्यहाँ केटा मान्छेसँग हिंडे मात्र पनि लाञ्छना लगाइँदो रहेछ। अलि बढी बोल्दा पनि महिलालाई गलत मानिंदो रहेछ।
एक जना मेरा पाठकले गाउँ डुलाउँछु भनेर लग्नुभयो। आमालाई चिनाउनुभयो, तर आमा घुम्टोबाट बाहिर आउनुभएन। मैले उहाँ कस्तो हुनुहुन्थ्यो भन्ने पत्तो पाइनँ।
सबैको अवस्था उस्तै पनि छैन। कैयौं महिला अघि बढेका छन्, केही अघि बढ्न बाँकी नै छ। यही बीचको अवस्थामा कतै अन्धविश्वास त कतै साहस बोकेर महिला संघर्ष गरिरहेका छन्।
तराई-मधेश भन्ने बितिक्कै दाइजो लगायतका समस्या देखाउनै पर्ने जस्तो पूर्वग्रह राख्ने गरेको लेखकलाई आरोप लाग्ने गर्छ। तपाईंले पनि त्यही विषयवस्तु समेट्नुभएछ?
मैले दाइजोको सानो विषय मात्र उठाएको छु। मधेशका लेखिसकेका तामा विषय लेख्दिनँ भन्ने पनि सोचेको थिएँ। फेरि साहित्यमा युद्ध, शान्ति, आन्दोलन, दाइजो, सामाजिक विभेदका कुरा बढी आउँछन्। मधेशमा पसिसकेपछि त्यहाँ भएकै समस्या नउठाउँदा पनि मान्छेले प्रश्न त गरिहाल्छन्। प्रश्नै आउँछ भनेर पनि लेखेको हैन। एउटा पात्रको चरित्रमा दाइजो आउनुपर्छ भनेरै उठाएको हुँ।
यी सारा समस्या बाहेक मधेशको छुट्टै सुन्दरता छ। तपाईंलाई मधेशको के कुरा राम्रो लाग्यो?
मैले मधेशलाई गर्मी, घमौरा, फोहोर, भीडभाड, मच्छर भएको ठाउँ भन्ने बुझेको थिएँ। तर, जनकपुरमा बस्दै गएपछि त मोहनी लगायो। त्यहाँको सबैभन्दा ठूलो सुन्दरता आतिथ्यता हो। दिनको शुरूआत मैथिली लवजको गीत र भजनबाट हुँदा आनन्द लाग्यो। यसले म कुन दुनियाँमा छु जस्तो पनि बनाउँदो रहेछ।
अर्को, पानको मिठास। खानाका परिकार उस्तै स्वादिष्ट। पाहुना सम्मानले झनै नतमस्तक बनायो। सहयोग गर्ने कुरामा, संस्कारको कुरामा मिथिला नगरी धनी रहेछ। त्यसपछि त मलाई त्यो गर्मी, घमौरा लगायत भन्ने त समस्या नै भएन। त्यसैले मैले प्रण गरेको छु, हरेक छठमा जनकपुर जान्छु।
साहित्यले समाजका विविधि समस्या उजागर त गर्छ नै, समाधानका बहस पनि छेड्छ। इजोरियाले उठाएको कुन चाहिं समस्या सम्बोधन होस् भन्ने लाग्छ?
अहिले बलात्कारको मुद्दा र हदम्यादको विषयमा कानूनमै अन्योल जस्तो पनि देखिन्छ। मैले पनि हदम्यादको विषय उठाएको छु। केही कथा बनाएर लेखेको पनि छु। यस्तो मुद्दामा प्रमाण पनि नजुट्ने, तर पीडित झनै पीडामा हुने गरेका छन्। यस्तो वेलामा हाम्रो कानून कमजोर हो वा अन्य के कुराले असर गरेको छ? यो विषय सम्बोधन होस् भन्ने लागेको छ।
मुख्य कुरा पीडित महिलाले न्याय पाऊन्। निर्मला लगायतका घटनामा अहिलेसम्म न्याय पाएका छैनन्। यस्ता कैयौं मुद्दा होलान्। उनीहरूको परिवारले कति पीडा भोगेको होलान्। खै न्याय, खै कानून भन्ने लाग्छ। मधेशमा पनि यस्ता धेरै घटना छन्। ती मुद्दा अझै हल भएका छैनन्। पीडित महिलाले न्याय पाऊन्।
निर्मला लगायतका बलात्कारका घटनामा न्याय नपाएपछि नै इजोरियाको बीजारोपण भएको हो। त्यसपछि पनि यो विषयमा लेख्नैपर्छ भन्ने लाग्यो।
प्रायः किशोरावस्थाको प्रेम र यौन मनोविज्ञानमा कलम चलाउँदै आउनुभएको थियो। यस पटक किन फरक विषय रोज्नुभयो?
युवा पुस्तालाई पाठक नै नमान्ने र युवा पुस्ताबारे लेख्ने लेखकलाई लेखक नै नमान्ने ठूलो जमात छ। पहिले मेरो लेखाइलाई लिएर धेरै विरोध र गाली गरिन्थ्यो। पछि त मेरा पाठकलाई पनि पाठक नै नमान्ने गर्न थाले। मेरा पाठकलाई नै गाली गरे। प्रेमको कुरा भनेको युवाको मात्र हो त? के बालापन भनेको बालबालिकाको मात्र हो त? वृद्ध पनि त हिजो बालक नै थियो। त्यस्तै प्रेम पनि त हामीले कतिलाई गर्यौं होला, कतिले हामीलाई गरे होलान्। यो पनि त जीवनको अङ्ग हो।
प्रेम भनेपछि युवाले मात्र पढ्ने भन्ने सोच त्याग्नुपर्छ। अहिलेको चर्चित फिल्म ऐना झ्यालको पुतलीकै उदाहरण लिऔं। त्यसमा बालापनका कथा छन्। अब के त्यो बालबालिकाको मात्र फिल्म भन्न मिल्छ? त्यसले त सबै पुस्तालाई उत्तिकै स्वाद दिएको छ। त्यस्तै हो, प्रेम दर्शन र युवा मनोविज्ञानमा आधारित पुस्तक पनि।
मेरा किताब पनि बालबालिका, किशोरकिशोरी, युवा, वयस्क सबैले पढेर मीठा प्रतिक्रिया दिनुभएको छ। त्यसैले पाठकले आफूलाई कसरी ‘रिलेट’ गर्छ भन्ने कुरा पनि रहेछ। कुनै पनि मान्छेले रुचि अनुसारको साहित्य खोज्छ। त्यसलाई सम्मान गर्छु। हरेक विधामा लेख्ने लेखकलाई पनि सम्मान गर्नुपर्छ।
साहित्य भनेको एउटा मात्र विधामा अटाउने क्षेत्र हैन। भोलि अझै फरक गर्न सक्छु। कहिलेकाहीं लेखकले फरक विधामा लेखेर जोखिम पनि उठाउनुपर्छ। समर लभ, साया, मनसुन लेख्दा प्रेमकथा भनेर लेखें। प्रिय सुफीमा आइपुग्दा उत्प्रेरक कथा भयो। अब यसमा मैले ‘यू-टर्न’ लिएँ। अझै पनि मलाई योभन्दा अर्को विधामा लेखेर जोखिम उठाउन मन छ।
कोभिड-१९ महामारी यता पुस्तकको बजार खस्कियो भन्ने सुनिंदै आएको थियो। तपाईंको पुस्तकले उलटपुलट नै गरिदियो। खासमा पुस्तक बिक्री हुने कुरा केले निर्धारण गर्दो रहेछ?
एउटा नामले पनि हुन सक्छ। पहिल्यैदेखि लेखेको लेखकको कुराले पाठकलाई तानिरहेको हुन सक्छ। धेरै पुस्तक बिक्री भएको चाहिं पाठकले प्रतीक्षा गरेको भएर हुन सक्छ। मलाई चार वर्षमा हरेक दिन जस्तो पाठकले पुस्तक कहिले आउँछ भनेर सामाजिक सञ्जालबाट सन्देश पठाउनुहुन्थ्यो। फलानोले फिल्म बनायो भने हलमा हेर्न गइहाल्ने भए जस्तै पाठकलाई मन परेको लेखकको पुस्तक आए किनिहाल्ने हुन्छ जस्तो पनि लाग्छ।
त्यसपछि पुस्तक मन पर्यो भने तत्कालै प्रतिक्रिया दिइहाल्ने प्रचलन बढ्न थालेको छ। सामाजिक सञ्जालले गर्दा आज पढिसकेर भरे नै प्रतिक्रिया पोस्ट गरिहाल्छन्। त्यसले अन्य पाठक पनि लोभिनुहुन्छ र पढ्न थाल्नुहुन्छ। त्यसैले मुख्य कुरा पाठकको विश्वासले नै पुस्तकको बिक्री बढाउने हो।
तपाईंका पुस्तकका कतिपय पंक्तिले खुबै तान्छन्। जस्तो ‘त्यो सपनीमै किन नहोस्, आफूले सबैभन्दा धेरै माया गरेको मान्छेको हात छुट्नु भनेको त सास छुट्नु जस्तै हुने रहेछ।’ यस्ता वाक्य कथा लेख्दै गर्दा आफैं आउँछन् कि पछि बनाइन्छन्?
यस्ता वाक्य लेख्दै जाँदा आफैं बन्छन्। कथाभित्र यति डुबिन्छ कि आफैं फुर्छ। अनि भाषालाई चाहिं सजग हुँदै, विम्ब मिल्यो कि मिलेन भनेर दोहोर्याएर हेर्छु। तर, त्यो जबरजस्ती चाहिं राखिंदैन। म पनि अन्य पुस्तक पढ्दा यस्ता हरफहरू खोज्छु। पाइनँ भने कस्तो नीरस पुस्तक जस्तो पनि लाग्छ। मलाई के मन पर्छ भन्ने कुराले पनि त्यही कुरा लेखिंदो रहेछ।
पछि लेखेर हालेको हो वा कथाले नै बोलेको हरफ हो भन्ने कुरा राम्रो पाठकले पत्ता लगाइहाल्छन्। मलाई आजसम्म त्यस्तो कृत्रिम भयो भनिएको छैन। मैले मेरो मनको मसीले नै लेखेको हुन्छु। यसरी लेख्दा खै कुन गहिराइमा पुगिन्छ, त्यहाँबाटै आफैं फुर्छ। जति लेख्यो त्यति अरू पनि वाक्य आउँछन्। धेरै भयो भने नराम्रो होला भनेर झिकेको पनि छु।
अन्त्यमा, जनकपुर बसाइबाट तपाईंले इजोरिया बाहेक आफ्ना लागि के ल्याउनुभयो?
जनकपुर बसाइबाट इजोरिया त ल्याए नै, त्यो अन्जान शहरबाट केही विशेष साथी पनि कमाएर आएको छु। उनीहरू अहिले मलाई फोन गर्छन्, हालखबर सोध्छन्, जनकपुरमा आउन निम्तो दिन्छन्। त्यो चाहेर पनि कमाउन सकिंदैन। त्यो सौभाग्य पाएँ।
जनकपुर बस्दा दाजुभाइ, दिदीबहिनी, आमाबुबा र अर्को परिवार नै मैले पाएको छु। त्यो कसरी भुलुँला र! एक किसिमले विभिन्न भावनात्मक सम्बन्धहरू बने। ती सम्बन्ध मनको एक पाटोमा सधैं स्मरणीय भएर बस्नेछन्।
त्यस्तो कोभिड-१९ को समयमा पनि म त्यहाँ बस्दा कुनै समस्या भएन। एउटा लेखकको परिस्थिति, बसाइ र कुराकानीलाई कति स्वाभाविक मानेर झेलिदिनुभयो। अझ, केही परे हामी छौं, यहाँ घर छ भनेर भनिरहनुभयो। मैले त आफूलाई पुग्ने खुशी र सम्बन्धहरू कमाएर आएको छु।