‘जब राजा महेन्द्र जन्मिएको हर्षबढाइँलाई चन्द्रशमशेरले कू सम्झिए’
‘बानेश्वरमा विमानस्थल बनाउन २००४/५ सालतिर सर्भे भएको रहेछ। तर, बानेश्वरबाट विमान उड्दा पशुपतिनाथको गजुरमाथि पर्छ भनेर विमानस्थल बनाउने कुरा खारेज भएको हो।’
न्यायालयमा थरीथरीका बिचौलियाको पहुँच छ भन्ने स्थापित मान्यता बनिसकेको छ। यस क्षेत्रमा २९ प्रकारका बिचौलिया रहेको २०६४ मा गठित ‘न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि अध्ययन समिति’ले उल्लेख गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीशद्वय प्रकाश वस्ती र भरतराज उप्रेती सम्मिलित यो समितिका संयोजक थिए, वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल।
ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालको (२०७४) अध्यक्ष रहीसकेका अर्यालले राजनीतिक कारणले लागेका मुद्दाहरू फिर्ता लिने र सजाय माफी मिनाहाका लागि सिफारिश गर्ने कार्यदल (२०५१), उच्चस्तरीय विकेन्द्रकरण समन्वय समिति (२०५३), भ्रष्टाचार नियन्त्रण सुझाव समिति (२०५६), त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोग (२०५६), श्रीपशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकार सम्पन्न समिति (२०६७) लगायतमा रहेर काम गरिसकेका छन्।
जीवनका ७५औं वसन्त पार गरिसकेका काठमाडौंको बानेश्वरका रैथाने अर्यालको पुस्तक बजार आएको छ, बानेश्वरको सेरोफेरो। ६ सय (५८४+६४) पृष्ठको पुस्तक मार्फत उनले काठमाडौंको अति व्यस्तमध्येको एक बानेश्वरलाई समग्र केलाउने प्रयत्न गरेका छन्।
हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुराका लागि लेखक अर्यालसँग सन्त गाहा मगरले गरेको संवादको सम्पादित अंश:
यहाँले पुस्तकको नाम नै बानेश्वरको सेरोफेरो राख्नुभएको छ। कहाँदेखि कहाँसम्म हो बानेश्वर?
शंखमूल, डिल्लीबजारबाट अन्तर्राष्ट्रिय विमानस्थल जानेबाटो, बागमती र धोबीखोलाको बीच भाग नै बानेश्वर हो। प्रशासनिक हिसाबले त्यतिवेला (२०१६ सालतिर) यो पाटन इलाका बानेश्वरटार हो। अहिले काठमाडौं महानगरपालिका वडा नं. १० र ३१ मा पर्छ। अलि व्यापक रुपमा भन्नुपर्दा गौशालाको बत्तीसपुतलीसम्मलाई पनि बानेश्वर भन्ने चलन छ।
अहिले भन्नुभएको चौकिल्ला कुन चाहिं बानेश्वरको हो?
पहिला न नयाँ बानेश्वर थियो, न पुरानो बानेश्वर थियो न त मध्य बानेश्वर। थियो, त केवल बानेश्वर। बानेश्वरभित्र अनेक गाउँहरू थिए। जहाँजहाँ जुनजुन जातिहरूको बस्ती थियो, बस्तीको नाम पनि त्यही जातिको नामबाट राखिएका थिए। थापागाउँ, मगरगाउँ, बोगटीगाउँ आदि। ती विभिन्न गाउँहरूको समस्त गाउँ बानेश्वर थियो।
यहाँको बाल्यकालमा बानेश्वर क्षेत्रको जनसंख्या कति थियो होला?
२००७ सालतिर बानेश्वरको जनसंख्या दुई हजार थियो। २०१६ सालमा पाँच हजार जनसंख्या भएको सरकारी छाप लागेको कागज फेला पारेको छु।
पुस्तकबारे बानेश्वरको सेरोफेरोबाट मात्रै प्रतिक्रिया आएका छन् कि त्यसभन्दा बाहिरबाट पनि?
किताब किनेर लगे पनि खुरुक्क पढिहाल्ने बानी कमैको हुँदो रहेछ। त्यो ममा पनि लागू हुन्छ। यद्यपि यो पुस्तकको विषयमा धेरै ठाउँबाट प्रतिक्रिया आएका छन्। बानेश्वर मात्रै होइन अन्य ठाउँका मान्छेहरूले पनि यस्तो पुस्तक निकाल्ने हो भने त्यति वेलाको काठमाडौंको अवस्था के थियो भन्ने थाहा पाइन्थ्यो भन्ने खालका प्रतिक्रिया दिएका छन्।
यो लेख्नका लागि लेखिएको पुस्तक होइन। समर्पण भावका साथ भित्रैदेखि लेखिएको पुस्तक हो। यो पुस्तक काठमाडौंका मेयर बालेन्द्र साहलाई दिन चाहन्छु। सबै गाउँबस्तीका मान्छेहरूले यस्तो पुस्तक लेख्ने हो भने भावी पुस्ताका लागि ठूलो उपहार हुन्छ। मानिसहरूले आफ्नो उत्पत्ति, सभ्यता, संस्कृति भुल्दै गएकाले पनि यस्तो पुस्तकको महत्त्व बढ्दै गएको छ।
६ सयभन्दा बढी पृष्ठको पुस्तकमा राख्ने सूचनाहरू कसरी संकलन गर्नुभयो?
कोभिड-१९ महामारीका वेला पुस्तक प्रारम्भ गरें। मैले सूचना संकलनका लागि तीन उपाय अपनाएँ। पहिलो, आफैले देखेको बानेश्वर।
दोस्रो, बानेश्वर निवासी मेरा ठूला मामा कृष्णप्रसाद पराजुली (जो सरकारी जागिरे हुनुहुन्थ्यो) २००८ सालदेखि समाज सेवामा लाग्नु भएको थियो। उहाँ विभिन्न संस्थामा सदस्य सचिव हुनुहुन्थ्यो। उहाँ २००८ सालमा खुलेको बानेश्वर-बत्तीस पुतली ग्राम रक्षा संघ, २०१६ सालमा बानेश्वरमा विद्यालय खोल्न बनाएको विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव हुनुहन्थ्यो। उहाँले त्यतिवेला भएका निर्णयहरू घरमा व्यवस्थित गरेर राख्नुहुन्थ्यो। ती सामग्रीहरू मैले यो पुस्तकमा उपयोग गरेको छु।
तेस्रो, २००७ सालभन्दा पहिला बानेश्वरमा बस्न आएका मानिसको घर-घरमा पुगेर सूचना संकलन गरें। शुरूमा १९९० सालभन्दा पहिला आएकाहरूको घरमा जाने सोच बनाएको थिएँ, जुन सम्भव भएन। त्यसपछि २००७ साललाई ‘कटअफ’ मिति मानेर जानकारी संकलन गर्न थालें।
कोभिड-१९ महामारीका वेला भएकाले भौतिक दूरी कायम गरेर कुराकानी गरियो। जस्तो ९२ वर्षीया नानी बज्यै पौडेल, ९६ वर्षीय लीलाप्रसाद गिरी लगायतलाई भेटें। मैले भेटेसम्मका २००७ सालभन्दा पहिला आएका सबैको घरघरमा पुगें।
लीलाप्रसाद गिरीले २००४ सालमा एसएलसी उत्तीर्ण गरेका रहेछन्। त्यसरी पास गर्नेहरूले महाराजकोमा चाँदीको डबल दाम चढाउन जानुपर्ने रहेछ।
त्यसरी घरघर पुग्दा रोचक जानकारी के के पाउनुभयो?
धेरै घतलाग्दा प्रसंगहरू पाएँ। यो किताबमा चन्द्रशमशेर, जुद्धशमशेर, पद्मशमशेर, मोहनशमशेर लगायतका कुरा पनि राखेको छु। लीलाप्रसाद गिरीले २००४ सालमा एसएलसी उत्तीर्ण गरेका रहेछन्। त्यसरी पास गर्नेहरूले महाराजकोमा चाँदीको डबल दाम चढाउन जानुपर्ने रहेछ।
त्यो वेला काठमाडौंका तीन जिल्लामा गरेर पाँच वटा विद्यालय थिए। ती विद्यालयका दुई सय जनाले परीक्षा दिएकोमा ३० प्रतिशत उत्तीर्ण भएछन्। उनीहरूलाई दाम चढाउन बबरशमशेरको दरबारमा लाइन लगाएछन्। त्यसमा दरबार स्कूल पढेर बोर्ड प्रथम भएका भवानी शंकर राजवंशी पनि रहेछन्। राजवंशीले दाम राख्ने वेला मोहनशमशेरले ‘वसन्तपुरमा गएर हाम्रा विरुद्ध नारा लगाउने तँ हैनस्’ भनेर हप्काएछन्।
त्यसपछि त्यहाँ पूरै सन्नाटा छाएको र विद्यार्थी हतार-हतार दाम चढाएर हिंडेको त्यहाँ उपस्थित लीलाप्रसाद गिरीले जानकारी दिए। गिरीले मसँग भने, ‘काल आउँदा कमिलाको प्वाँख पलाउँछ भने जस्तै त्यो राणा शासन अन्त्य हुने हुने वेलाको हप्काई थियो।’
बानेश्वर थापागाउँको एउटा प्रसंग छ। त्यहाँ चन्द्र शमशेरका एकजना हजुरिया कर्णेल पद्मध्वज थापा बस्दा रहेछन्। एक दिन बिदा भएर घर जाने वेला चन्द्र शमशेरले भोलि बिहान छिटो आऊ भनेछन्।
भोलिपल्ट बिहानै पद्मध्व घोडा चढेर सिंहदरबार जान लाग्दा, धोबी खोलामा बाढी आएको रहेछ। बाढीमा घोडाले पद्मध्वजलाई तार्न सकेन। त्यसको एक दिनपछि बाढी घटेपछि मात्रै उनी सिंहदरबार पुगेछन्। चन्द्रशमशेरलाई हिजो आउन नसक्नुको कारण बताएछन्। त्यसपछि उनले तुरुन्तै पुल बनाउन निर्देशन दिएछन् र त्यहाँ काठे पुल बन्यो। यो १९८० को दशकको कुरा हो।
चन्द्र शमशेर एक पटक दलबल सहित गोकर्णमै बस्ने गरी पिकनिक गएछन्। त्यहाँ पद्मध्वज पनि थिए। रातिको समयमा काठमाडौंतिर तोप पड्किएको आवाज आएछ। त्यसपछि चन्द्रशमशेरले भनेछन्- अब मेरो सत्ता सिध्याए, यहाँ बस्नु ठीक छैन, गुन्टा कस, पूर्वतिर लागौं।
उनले धनकुटा जाऔं भनेछन्। पद्मध्वजले एक जना रिसल्ला (घोडचडी)लाई काठमाडौंमा के भएछ बुझेर आइज भनेर पठाएछ। राति १२ बजे हिंडेको रिसल्ला बिहान ४ बजे फर्किए। रिसल्ला फर्किएपछि थाहा भयो- त्यो त राजा महेन्द्र जन्मिएको हर्ष बढाईं पो रहेछ। महेन्द्र जन्मिएको हर्षबढाइँलाई आफूलाई ‘कू’ गरिएको सम्झेका रहेछन्।
त्यो खबर पाएपछि धनकुटा भाग्न लागेका चन्द्रशमशेर हतार-हतार राजदरबारमा दाम राख्न गएछन्। यो जानकारी मैले पद्मध्वजका नाती रामबहादुर थापाबाट प्राप्त गरेको हुँ।
यसरी मान्छेलाई आफ्ना सन्तान, दरसन्तानलाई सुनाउँदै गएका कुरा पनि यो पुस्तकमा समेटेको छु।
बानेश्वर भन्ने ठाउँको नाम कसरी राखिएको रहेछ?
हिमवत् खण्डअनुसार, यो ठाउँमा बाणेश्वरले यज्ञ र शिवजीको आराधना गरेको रहेछ। त्यसैबाट यो ठाउँको नाम बानेश्वर राखिएको भन्ने छ। बानेश्वरको मध्य भागमा बाणगंगा छिन्। त्यहाँ नजिकै बानेश्वर महादेवस्थान छ।
१९८४ सालतिर शंखमूल र पशुपति जाने बाटो बनाउँदा बानेश्वर महादेव र बाणगंगा छुट्टियो। अहिले बाणगंगा वडा नम्बर ३१ मा पर्छ, बानेश्वर १० नम्बर वडामा पर्छ। वाणगंगामा नुहाउने र त्यहाँको जल बानेश्वर महादेवलाई चढाउने गरिँदो रहेछ। जसरी आर्यघाट र पशुपतिनाथको सम्बन्ध छ, त्यसरी नै बानेश्वर र बाणगंगाको सम्बन्ध रहेछ।
शंखमूलमा सात वटा मूलबाट पानी आउँथ्यो। बालसखाहरू हरिबोल भट्टराई (कांग्रेस नेता) इन्जिनियर चन्द्रबहादुर जोशी (हाल अमेरिका), अनन्तराम भट्टराई (पूर्व एआईजी) लगायत हामी सात वटा मूलबाट आउने पानी अञ्जुली थापेर पिउँथ्यौं। सात वटा मूललाई सप्तमूल भन्दाभन्दै शंखमूल भएको हुनुपर्छ। यसमा कतिपयका फरक राय पनि छन्।
मणीचुर्ण पर्वत मुहान भएको मनोहरा नदी शंखमूलमा बागमतीसँग मिल्छ। तर, त्यो दोभान नभई त्रिवेणी हो। त्यहाँ एउटा लुप्त गंगा छ। त्यही गंगाको पानी सात वटा मूल भएर निस्किएको हो। त्यहाँ अहिले बालसन्तले ठूलो शंख बनाइदिनुभएको छ।
त्यो ठूलो शंख भएको ठाउँ त अहिले ललितपुर जिल्लामा पर्छ नि?
शंखमूल पाटनतिर ढल्किएको छ। मेरो किताबको नामै बानेश्वरको सेरोफेरो हो। त्यही भएर बानेश्वर सेरोफेरोको कुरा समेटेको छु। मेरो पहिलो लेख शंखमूलबाटै शुरू हुन्छ।
मेरो व्रतबन्ध २०१२ सालमा भएको हो। म बानेश्वरस्थित मामाको घरमा बस्थें। जनै पूर्णिमाको दिन हामीलाई बिहान ३ बजे उठाएर शंखमूलमा नुहाउन लगिन्थ्यो। त्यहाँ विभिन्न ठाउँबाट मान्छेहरू नुहाउन आउँथे। तीर्थका हिसाबले पशुपतिपछि सबैभन्दा चर्चित नै शंखमूल थियो।
जंगबहादुर राणाका भाइ जगतशमशेर १९१२ देखि १९१७ सालका बीचमा जगत नारायणको भव्य मन्दिर बनाएका रहेछन्। जगत शमशेर त्यतिवेला कमान्डर इन चीफ थिए। काठमाडौंमा बागमतीको किनारमा गोकर्णेश्वर, कोटेश्वर, पशुपतिको मन्दिर छ। त्यस हिसाबले शंखमूलमा पनि शिवजीको मन्दिर हुनुपर्ने।
कोत पर्व र भण्डारखाल पर्वमा धेरै मान्छे मारिए। त्यसको प्रायश्चित गर्न जगत शमशेरले त्यहाँ जगतनारायणको मन्दिर बनाएका रहेछन्। धार्मिक हिसाबले पूर्व फर्किएर नुहाउनुपर्ने भएकाले पाटन तर्फ मन्दिर बनेको रहेछ। पछि पुल पश्चिमतिरको घाट जुद्धशमशेरले बनाए।
त्यस्तै, शंखमूलभन्दा उत्तर र बानेश्वरभन्दा दक्षिणमा एउटा फाँट छ। २०४३ सालतिर त्यहाँ कालीमाटी देखिन थालीसकेको थियो। बालुवा निकाल्ने क्रममा कुल्लीहरूले ठूलो ढुङ्गा देखेछन्। खन्दै जाँदा त्यो बुद्धको मूर्ति रहेछ। मूर्ति कहाँबाट बगेर आएको हो थाहा भएन। त्यो मूर्तिलाई त्यहाँ प्रतिस्थापन गरियो। त्यो ठाउँको नाम बुद्धनगर राखियो।
पुस्तकको पहिलो खण्डको शीर्षक छ ‘बानेश्वरः न नयाँ न पुरानो’। कसले छुट्यायो बानेश्वरलाई नयाँ, पुरानो र मध्ये भनेर?
यो काठमाडौं-भक्तपुर बस चल्न थालेपछिको कुरा हो। बागबजारको विद्युत् कार्यालय पछाडि भक्तपुर जाने ‘बस स्टप’ थियो। बानेश्वर आउनका लागि त्यहीबाट बस चढ्थ्यौं। कन्डक्टरले नयाँ बानेश्वर जाने को? पुरानो बानेश्वर जाने को? भनेर सोध्थे।
नयाँ बाटो बनेको ठाउँमा झर्नेलाई उसले नयाँ बानेश्वर नाम राखी दियो। पहिला नै बस्ती भएको बानेश्वरमा जानेलाई पुरानो बानेश्वर भनिदियो। अनि बस चढ्ने यात्रुले पनि विस्तारै आफू जाने ठाउँलाई नयाँ बानेश्वर-पुरानो बानेश्वर भन्न थाले। यसरी नै बानेश्वरको नाम नयाँ, पुरानो, मध्य भयो। यो २०३० साल तिरको कुरा हो।
त्यति वेला बानेश्वरमा खानेपानीको अवस्था कस्तो थियो?
बानेश्वर टार हो, तर पानीको हिसाबले बानेश्वरमा छोरी दिए हुन्छ, भनिन्थ्यो। त्यतिवेला सैंवु भैसेतिर चाहिं पानीको दुःखले छोरी दिनुहुँदैन भन्ने गरिन्थ्यो।
बानेश्वरमा प्रशस्त ढुंगे धारा थिए। ढुंगे धाराको पछाडिको कारण हो, खरीको बोट। खरीबोटले पानी सोस्दो रहेछ। त्यसरी सोसिएको पानी सिपेज भएर ढुंगे धारामा पानी आउने रहेछ। बानेश्वरमा बाणगंगा बाहेक प्रायः सबैतिर ढुंगेधारा नजिक खरीबोट छ।
पहिलापहिला जुत्ताको काम सार्की, फलामको काम कामी, माटोको काम कुमाल आदीले गर्थे। त्यस वेला उनीहरूका लागि पानी खान छुट्टै धाराको व्यवस्था गरिएको हुन्थ्यो। मीनभवन क्याम्पस नजिकको धाराको नाम पहिला कामीधारा थियो। पछि वीर शमशेरले दरबार बनाएपछि उनीहरूले पनि त्यही धाराको पानी खानुपर्ने भयो। उनैले मर्मत गर्न लगाएर धाराको नाम रानीधारा राखियो।
ठूलो खरीबोटको ढुंगेधारा भएको ठाउँमा पहिला कुवा थियो। १९९० सालमा जानकीदत्त लामिछानेले ढुंगेधारामा परिणत गरे। कृष्णबहादुर गिरीले ठूलो खरीबोटमा चौतारा बनाए। त्यहाँ बसेर खेतालाको रेखदेख गर्न सकियोस् भनेर चौतारा बनाएका हुन्। तिर्खा लाग्यो भने ढुंगेधारामा गएर पानी खायो।
थापागाउँको ढुंगेधारा अहिले छैन। भरोसा अस्पतालभन्दा तल पनि ढुंगेधारा थियो, अहिले छैन। १९१७ सालमा बालाजुबाट ढुंगेधारा बनाएर ल्याइएको बाघमुखे ढुंगेधारामा अहिले पानी आउँदैन। जताततै घर बनेपछि पानीको मुहान सुक्यो।
अहिले पूजा प्रतिष्ठानको भवन भएको क्षेत्रमा एउटा ढुंगेधारा छ। त्यसलाई कुमालेको ढुंगेधारा भनिन्छ। सिंहदरबार बनाउने क्रममा त्यही धाराको पानी लगेर खान्थे रे। त्यहाँ अहिले पार्क जस्तो पनि बनाएर राखिएको छ।
पूजा प्रतिष्ठानको दक्षिणतर्फ ठूलो कम्पाउन्डभित्र दरबार जस्ता दुई वटा घर थिए। पहिले त्यहाँ रानीसाहेब भन्ने ज्येष्ठ नागरिक बस्थिन। देव शमशेरलाई आफ्नी श्रीमतीको चरित्रमाथि शंका भएपछि त्यहाँ थुनेर राखिएको रहेछ।
अन्तर्राष्ट्रिय विमानस्थल बानेश्वरमा किन बनेन?
बानेश्वरलाई पहिले ठूलो गौचरण पनि भनिन्थ्यो। २००४/५ सालतिर विमानस्थल बनाउन सर्भे भएको रहेछ। त्यहाँको सैनिक ब्यारेक हटाई दिएपछि प्रशस्त ठाउँ हुन्छ भन्ने विषयमा छलफल भएछ। तर, बानेश्वरबाट विमान उड्दा पशुपतिनाथको गजुरमाथि पर्छ भनेर विमानस्थल बनाउने कुरा खारेज भएको हो।
त्यसपछि सानो गौचरणमा विमानस्थल बन्यो। त्यो रणबहादुर शाहले नुन छरेको ठाउँ हो। त्यतिवेला नुन छरेको जमिन सार्वजनिक जमिन हुन्थ्यो।
बानेश्वरमा शुरूआतमै बस्ती नबस्नुको एउटा कारण धार्मिक विश्वास पनि रहेछ। पशुपतिनाथको दक्षिण मोहडालाई अघोर मोहडा भनिन्छ। अघोर मोहडातर्फ घर बनाएर बस्दा खति हुन्छ भनेर पछिसम्म वस्ती नबसेको रहेछ। त्यस्तो नहुँदो हो त सिंहदरबारको करेसामा पर्ने बानेश्वरमा वस्ती नबस्ने भन्ने कुरै हुँदैनथ्यो।
२०२१/२२ सालतिरको कुरा हो, आदित्य शमशेर राणाले बानेश्वर हाइटबाट जग्गा प्लटिङ शुरू गरेका हुन्। उनले रोपनीको ११ सय रुपैयाँमा किनेर चार हजारमा बेचेका रहेछन्।
बानेश्वरबासीलाई शिक्षाको व्यवस्था के थियो?
बानेश्वरमा २०१२ सालपछि मात्रै विद्यालय खोल्ने चर्चा शुरू भयो। सुकुलमा बसेर पढाउन थालियो। बीपी कोइराला प्रधानमन्त्री भएका वेला २०१६ सालमा रत्नराज्य विद्यालयको उद्घाटन तत्कालीन ग्राम विकास मन्त्री प्रेमराज आङदेम्बेले गरेका थिए। औपचारिक रुपमा बानेश्वरमा २०१९ सालमा विद्यालय स्थापना भयो। म भने पद्मोदय स्कूलमा गएर पढें।
त्यतिवेला बानेश्वरमा कति जति घर थिएन होलान?
२००० सालतिर बानेश्वरमा दुई सय भन्दा बढी घर थिएनन्। २०१६ सालमा भने जनसंख्या बढेर पाँच हजार जति पुगिसकेको थियो। बुद्धनगर, शान्तिनगर, देवीनगर आदि सबै डोल हुन्। खेतमा बस्ती बसाल्ने चलन थिएन। जहाँ खेतैखेत थियो। पाटनबासीले खेतीपाती गर्न आउँदा बस्न छाप्रोसम्म बनाएका थिए। घर चाहिं बनेका थिएनन्।
चन्द्रबहादुर जोशीका हजुरबुबाका अनुसार भीमसेना गोला (हाल ३१ नम्बर वडा कार्यालय) देखि शंखमूलसम्म चार मात्रै घर झिंगटी छाना भएका थिए। त्यो वेलामा डिठ्ठा भन्दा माथिल्लो दर्जाले मात्रै झिंगटीको छाना भएको घर बनाउन पाउँथे। श्यामबहादुर शाह (भीमसेनगोला बस्दै आएका बहादुर शाहका सन्तान), जानकीदत्त लामिछाने, कृष्णबहादुर गिरी र माधवप्रसाद कोइराला बाहेक अरुको झिंगटीको घर थिएन।
काठमाडौंमा जग्गा प्लटिङ पनि बानेश्वरबाटै शुरू भएको हो?
२०२१-२२ साल तिरको कुरा हो, आदित्य शमशेर राणाले बानेश्वर हाइटबाट जग्गा प्लटिङ शुरु गरेका हुन्। उनले रोपनीको ११ सय रुपैयाँमा किनेर चार हजारमा बेचेका रहेछन्। त्यस ठाउँमा पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्य, कुलशेखर शर्मा, डा. भेषबहादुर थापा, रामचन्द्र मलहोत्रा, विष्णुबहादुरी केसी, टेकबहादुर भट्टचन, पुरुषोत्तम बाँस्कोटा लगायतले घर बनाए।
देशभरिका ६ हजार ७४३ वडामध्ये काठमाडौंको ३१ नम्बर वडा सबैभन्दा ठूलो वडा भनेर लेख्नुभएको छ नि?
हो, कानूनले मानेको त्यही छ। बानेश्वरमा पर्ने दुई वटामध्ये ३१ नम्बर वडा देशको सबैभन्दा ठूलो वडा हो। यहाँ प्रदेश सांसद् र वडाध्यक्षका मतदाता बराबर छन्।
संविधान सभा भवनलाई कसरी सम्झनुहुन्छ?
मैले देख्दा त्यहाँ ब्यारेक थियो। जुन १९८४-८५ सालमा स्थापना भएको हो। २०४४ सालमा चीनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाई दिने भएपछि ब्यारेक हटाइएको हो।
ब्यारेक बन्नुअघि त्यो जग्गा ठकुरीहरूको थियो। ठकुरीभन्दा अगाडि त्यो जग्गा बोगटीको थियो। बोगटीहरू बोगटानबाट आएका हुन्। एक जना बोगटी सरदार कोट पर्वमा काटिए। त्यसपछि उनको सर्वस्वहरण भयो। जग्गा सरकारले लियो। त्यहाँ झाडी थियो। पूर्वतिरबाट खसी बेच्न आउने ठकुरी त्यहाँ बसे। सरकारलाई बक्साएर जग्गा लिए। १९८० सालपछि ब्यारेक बन्ने भएपछि ठकुरीहरूलाई त्यहाँबाट भगाए। त्यो जमाना नै जीउधन सरकारको भन्ने थियो।