सम्पादकको सिफारिश : सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो। जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
१.‘राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै’

पहाडी थुम्काहरू लोकगीतको खानी मानिँदै आएका छन्। त्यसो त, पहाडी जीवनको चाल नै सङ्गीतमय छ। लोकजीवन सङ्गीतप्रधान छ। उकाली–ओराली र देउराली–भञ्ज्याङहरूसँग लोकलयको युगौं पुरानो मितेरी छ। सांस्कृतिक दृृष्टिले यो प्रतिकूल घडीमा विश्वमाझ नेपालको मौलिक पहिचानको भण्डा फहराइरहने हो भने यी लोकलयहरूको गम्भीर खोज–अनुसन्धान र अभिलेखीकरण गर्नुको विकल्प छैन।- यमबहादुर दुराको अनुसन्धानमूलक लेख।
२. पशुपति विनाश गुरुयोजना !

सरकारले पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना जस्ताको तस्तै कार्यान्वयन गर्ने जोखिम बढेपछि स्थानीय विरोधमा उत्रिए। गुरुयोजनाले प्राचीन वस्ती हटाउने कुत्सित मनसाय राखेको भन्दै स्थानीयको प्रदर्शनपछि सरकार गुरुयोजना अध्ययन समिति बनाउन बाध्य भएको छ। पशुपति क्षेत्र विकास कोषको गुरुयोजना पशुपतिनाथ मन्दिरलाई साध्य नभई साधन ठान्दै यस क्षेत्रमा नाफामुखी व्यवसाय संचालन गर्न तयार पारिएको जस्तो देखिन्छ। - बसन्त महर्जनको टिप्पणी।
३. श्री ५ ले अन्माए, श्री ३ ले भित्र्याए

रुपा जोशीकी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेर १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि कसैले कोट्याउँदा उहाँले अड्की-अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि उहाँले ऊ वेला बच्चा जन्मने र सुत्केरी स्याहार्ने बारेका सम्झना सुनाउनुभएको छ। खासगरी माहिला बुवालाई पुत्रलाभ हुनुअघि र पछिको भव्य माहोलको वर्णन उहाँकै शब्दमा :
- रुपा जोशीको स्तम्भ स्तम्भ ‘उबेलाका कुरा’।
४. मृतक संख्या १०० पुगेसँगै यस्तो छ विज्ञले देखेको अबको जोखिम

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेसँगै महामारीको जोखिम थप गम्भीर बेनेको छ। विज्ञहरूले महामारी नियन्त्रणको लागि सरकारले पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र नागरिकले आफ्नो दैनिक व्यवहारमा गम्भीर भएर परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। मुलुकमा कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ३० साउनमा निजी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन आग्रह गरेको छ। -रामु सापकोटाको रिपोर्ट।
५. दाहाल–नेपाल पछि हटेपछि नेकपाको कलह सुल्झाउन बन्यो कार्यदल

विभाजनको संघारमा पुगेको नेकपामा शीर्ष नेताहरूबीच शक्ति बाँडफाँडमा सहमति जुटेपछि करिब चार महीनादेखि जारी शक्तिसंघर्ष तत्कालका लागि पूर्णविराम नजिक पुगेको छ। अध्यक्षद्वयले सहमति खोज्न कार्यदल गठन गर्ने र कार्यदलले ल्याउने प्रस्तावमाथि छलफल गर्न सहमति गरेका छन्। शुक्रबार बनेको कार्यदल त्यसकै उपलब्धि हो। कार्यदलमा ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई-दुई जना रहेका छन्। - सइन्द्र राईको रिपोर्ट।
६. न्यायमूर्तिहरु, न्यायालयको साख बचाऔं !

न्यायालयको काम-कारबाहीबाट पीडित पक्षले नि:सन्देह न्याय-निसाफको अपेक्षा राख्छ। तर, वेलावेला विभिन्न फैसला र आदेशले न्याय दिने मन्दिरको गरिमाप्रति नै प्रश्न उठाउने गरेको छ। पछिल्लो समयका केही घटनाले त्यसै गरी न्यायको शिर निहुराएको छ। - शेखर खरेलको टिप्पणी।
७. स्तम्भकार भैरव रिसालको ९३ औं जन्मदिनको अवसरमा विशेष ‘जूम भेला’

हिमालखबरका स्तम्भकार भैरव रिसालको ९३ औं जन्मदिन को विशेष अवसरमा २९ साउनमा हिमालमिडियाले एक विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा पत्रकार रिसालबारे पत्रकार मोहन मैनालीले व्यक्तित्व–वाचन र प्रकाशक कनकमणि दीक्षितले सहजीकरण गरेका थिए। सार्वजनिक आमन्त्रणको यो जूम भेलामा प्रबुद्ध नागरिकहरुले रिसालसँग आफ्नो स्मरण, उनले नेपाली पत्रकारिता र समाजमा दिएको योगदानको कदर गर्दै जन्मदिनको शुभकामना दिएका थिए। कार्यक्रम जूमसँगै फेसबूकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो।
८.हवाई उडान खुल्ने मिति सरेपछि ४ हजार टिकट फिर्ता गर्दै वायुसेवा कम्पनी

१ भदौदेखि उडान शुरु गर्न आन्तरिक वायुसेवाले २६ साउनसम्ममा करिब १५ सय वटा र अन्तर्राष्ट्रिय उडानको लागि कतार एयरलाइन्सले करिब २५ सय वटा टिकट जारी गरिसकेका छन्। सरकारले उडान तालिका परिवर्तन गरेपछि बाध्य भएर यात्रुलाई टिकट फिर्ता गर्नु परेको कतार एयरलाइन्सले जानकारी दिएको छ। यो वायुसेवाले सरकारले गरेको निर्णय अनुसार १६ भदौपछिलाई उडान समय सार्न वा पूरै टिकटको पैसा फिर्ता लिन पाउने गरी यात्रुलाई दुवै सुविधा दिएको छ। - राजु बास्कोटाको रिपोर्ट।
९. तिम्रो क्वाँटी कि उसको बिरौंला ?

साउन–भदौमा यसरी मिसाइएको अन्नलाई उमारेर खाने प्रचलन नेपालमा धेरैतिर पाइन्छ। सुदूरपश्चिममा त एउटा पर्व नै मिसाइएका अन्नप्रति समर्पित छ, जसरी काठमाडौंमा र अन्यत्र जनैपूर्णिमामा क्वाँटी खाइन्छ। मिसाइएका अन्न खाने यी सबै तरीका उत्तिकै नेपाली हुन् र उत्तिकै रैथाने पनि। - सेवा भट्टराईको टिप्पणी।
१०.कुलमान घिसिङको चारवर्षे कमाण्डः वर्षौं थलिएको प्राधिकरणले यसरी मार्यो फड्को

विद्युत् उत्पादन, प्रसारण र वितरणको जिम्मेवारी पाएको सरकारी स्वामित्वको संस्था नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ एकै वर्ष रु. ८ अर्ब ८९ करोड घाटा बेहोर्यो। र, भदौ २०७३ मा अनुभवमा वरिष्ठ कर्मचारीलाई उछिनेर प्राधिकरणको व्यवस्थापकीय नेतृत्वमा कुलमान घिसिङ नियुक्त भए। कतिपय असन्तुष्ट अधिकारीहरु त अदालतको ढोका ढक्कक्याउन पुगे। केहीले राजीनामा गरे। तर, घिसिङको नियुक्ती प्राधिकरण र विद्युत् प्रणालीका लागि ‘टर्निङ पोइन्ट’ बन्यो। - रमेश कुमारको विशेष रिपोर्ट।
११.प्रदेश–२ यसकारण बन्यो कोरोनाको ‘हटस्पट’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २७ साउनसम्ममा प्रदेश-२ मा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या तीन हजार ३४७ पुगेको छ। १६ साउनसम्ममा प्रदेश-२ मा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ३४ रहेकोमा ११ दिनमै १ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। यसले प्रदेश-२ कोरोना संक्रमण तीव्र रहेको देखाउँछ। - रामु सापकोटाको रिपोर्ट।
१२.धर्मको राजनीतिले कहाँ पुर्याउँला नेकपालाई?

रामायणमा वर्णित रामको जन्मभूमि भएको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लास्थित ठोरीमा राम मन्दिर र अयोध्याधाम निर्माण गर्न देखाएको अचाक्ली सक्रियतासँगै सिंगो नेकपालाई धर्मको राजनीतितर्फ डोर्याउँदै लगेको छ। अध्यक्षले नै धर्मको राजनीतिमा यस्तो रुझान बढाइरहँदा नेकपा पंक्ति अलमलमा छ। एकाध नेताले यसमा असन्तुष्टि प्रकट गरे पनि त्यो स्वर मधुरो छ। के नेकपाले थेग्न सक्छ त यो ‘धर्म–राजनीति?’ - सइन्द्र राईको रिपोर्ट।
१३.यूएस-बाङ्ला विमान दुर्घटनामा मारिनेका परिवारलाई क्षतिपूर्ति नदिन यतिसम्म गर्दैछ विमान कम्पनी

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ फागुन २०७४ मा यूएस-बाङ्ला एअरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका चार जना सदस्य सहित ५१ जनाको मृत्यु भयो। मृतकहरुमा २३ जना नेपाली थिए। साढे दुई वर्ष पहिले काठमाडौंमा भएको यूएस-बाङ्ला विमान दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका लागि थालेको कानूनी लडाइँमा अदालतहरुबाट प्रारम्भिक सफलता त मिलेको छ, तर न्याय टाढै देखिन्छ। - तुफान न्यौपानेको रिपोर्ट।
१४. आधा करोड सकियो, तर जुर्न सकेन प्रदेश ५ को राजधानी र नाम

२०७४ सालमा प्रदेश सभाको निर्वाचन हुनुभन्दा अघि देखि नै प्रदेश ५ को राजधानी कहाँ तोक्ने भन्ने विषय पेचिलो बनेको हो। प्रमुख दल र नेताहरुको मुख्य चुनावी नारा नै यही थियो। निर्वाचनपछि प्रदेश सभा गठन भएदेखि यो विषय निरन्तर पेचिलो बनिरह्यो।
प्रदेशको राजधानी दाङमा बनाउने कि बुटवल हुने भन्ने विवादले प्रदेश सभा गठन भएको साढे दुई वर्ष नाघिसक्दा पनि राजधानीको विषयले प्रदेश सभामा प्रवेश पाएको छैन। राजधानीबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्पष्ट विभाजन देखिन्छ। - मुकेश पोखरेलको रिपोर्ट।