तिम्रो क्वाँटी कि उसको बिरौंला?
कसको क्वाँटी ? कुन हो सही पाकविधि ? को हुन् त आधिकारिक विज्ञ ? भन्ने जस्ता विषयमा तर्कवितर्क गरिरहँदा हामीले हाम्रा रैथाने खानेकुरामाथि भइरहेका र हुनसक्ने पूँजीवादी अतिक्रमणप्रति पनि चिन्ता लिनुपर्ने देखिन्छ।
ल्यान ल्यान छोरी रे बेटी त चोखो गोबरु ल्यान
ल्यान ल्यान छोरी रे बेटी त चोखो जलभरी ल्यान
खोजि दिय मयासर गुसाई पन्चबिरुडी खोजि दिय
खोजि दिय मयासर गुसाई तामा रे कुँडेली खोजि दिय
ध्यौना त्यौना मयासुर गुसाई त कनया नगरी पुगी ग्यान
कनया नगरीका बुढा रे बाला त पञ्चबिरुडी हमलाई दिय
निका निका बिरुडा हमले रुझाई हाल्या टुणा मुणा लै चलाइ गर
ध्यौना त्यौना मयासर गुसाई त घरै लौटी पो अया
गौरा पर्वको पहिलो दिन बिरुडा संकलन गर्दै सुदूरपश्चिमका महिलाहरूले गाउने यो गीत बैतडीका सरस्वती भट्ट र लक्ष्मी भट्टले सुनाएका हुन् । बिरुडा अर्थात् पाँच प्रकारका अन्नः गहुँ, केराउ, गहत, मास र गुरौंस भिजाएर सुदूरपश्चिमको सबभन्दा महत्वपूर्ण पर्व गौरा शुरू हुन्छ । देश–विदेश गएका मानिस घर फर्किएर, सबैले अनिवार्य नयाँ लुगा लगाएर पाँच दिन लामो यो पर्व मनाएर बिरुडा खाने प्रचलन छ।
यो गीतमा महिलाहरू चोखो गोबर र जलले घर लिप्न छोरीबेटीलाई आग्रह गर्छन्, गौराले महेश्वरलाई बिरुडा र बिरुडा भिजाउने तामाको भाँडा खोजिदिने आग्रह गर्छिन्, महेश्वर अर्कै नगरमा गएर बाल, बूढा सबैलाई बिरुडा दिन आग्रह गर्छन्, आफूले राम्रा राम्रा बिरुडा भिजाएको बताउँदै तिनीहरूका मुना उमारिदिन आग्रह गर्छन्, र महेश्वर घर फर्किन्छन्।
“गौरा पर्वको पहिलो दिनमा महिलाहरूले सामूहिक रूपमा बिरुडा खोज्छन् र भिजाउँछन्, दोस्रो दिनमा पखाल्छन् र तेस्रो दिनमा पूजा गर्छन् । मुख्य अठेवलीको दिन सबै बिरुडालाई एकै ठाउँमा एउटा ठूलो चादरमा राखेर आकाशतिर हेरेर पाँच पटक फट्काइन्छ (उफारिन्छ), जसको हातमा बिरुडा पर्यो उसले सगुन मानेर लिन्छन् । पछि सबैले प्रसादका रूपमा पानीसँग ती बिरुडा खान्छौं”, बैतडीकी लक्ष्मी भट्ट भन्छिन्।
यी हरेक प्रक्रियाका फरक फरक गीत छन् । अठेवलीको दिनमा त महिलाहरू तीन–चार घण्टासम्म पनि यी गीतहरू गाउँछन्।
खानेकुराका शक्तिसंरचना
साउन–भदौमा यसरी मिसाइएको अन्नलाई उमारेर खाने प्रचलन नेपालमा धेरैतिर पाइन्छ । सुदूरपश्चिममा त एउटा पर्व नै मिसाइएका अन्नप्रति समर्पित छ, जसरी काठमाडाैंमा र अन्यत्र जनैपूर्णिमामा क्वाँटी खाइन्छ । मिसाइएका अन्न खाने यी सबै तरीका उत्तिकै नेपाली हुन् र उत्तिकै रैथाने पनि।
भर्खरै मात्रै सामाजिक सञ्जालमा क्वाँटीको बारेमा वादविवाद भयो । क्वाँटी नेवा समुदायको हो र रैथाने पाकविधि पनि नेवा समुदायकै हुनुपर्छ भन्ने तर्क केहीको छ । सँगसँगै खस समुदायको पाकविधि रैथाने होइन भन्ने पनि तर्क यसमा अन्तर्निहित छ।
हो, नेपालका धेरै पक्षमा खस समुदायको वर्चस्व रहिआएको छ । तर शक्ति संरचनालाई जातको आधारमा मात्र हेरेर नेपालको जटिलता बुझिंदैन।
‘इन्टरसेक्सनालिटी’को अवधारणा अनुसार भने मानिसको शक्ति र शक्तिहीनता जात, लिंग, वर्ग, सम्पत्ति आदि विभिन्न कारकले बनेको हुन्छ । कुनै मानिस लिंगका आधारमा कम शक्तिशाली भए पनि जातका आधारमा बढी शक्तिशाली हुनसक्छ । वा कुनै मानिस जातको आधारमा कम शक्तिशाली भएता पनि सम्पत्तिका आधारमा बढी शक्तिशाली हुनसक्छ । शक्तिका यी विभिन्न आयाम समाजका विभिन्न परिस्थितिमा प्रकट हुन्छन्।
नेपालको सन्दर्भमा भूगोल पनि महत्वपूर्ण छ । भौगोलिक अवस्थितिका कारण सुदूरपश्चिमको खस समुदाय भन्दा काठमाडौंको नेवा समुदाय शक्ति केन्द्रहरूसँग नजिक छ । यसका विभिन्न आयाम छन्, तर सामान्यतया त्यही प्रवृत्ति देखिन्छ जुन सञ्चारमाध्यमहरूमा स्पष्ट हुन्छ।
वर्षेनि क्वाँटी बारे विभिन्न सञ्चारमाध्यममा थुप्रै लेख र तस्वीरहरु सार्वजनिक हुन्छन् । यो काठमाडौंको रैथाने संस्कृतिको अभिलेखीकरण पनि हो । तर विभिन्न क्षेत्रमा खस समुदायको वर्चस्वका कारण अन्य समुदायलाई हानि पुगे जस्तै काठमाडौंकेन्द्रित सञ्चारमाध्यमका कारण मोफसल ओझेलमा परिरहेको छ । जनैपूर्णिमा र क्वाँटी बारे दर्जनौं लेख आउँदा गौरा र बिरुडा बारे विरलै चर्चा सुनिन्छ।
हुन त क्वाँटी र बिरुडा एउटै होइनन् भन्ने तर्क पनि गरिन सक्छ किनकि क्वाँटीमा ९ वटा अनाज हुन्छन् र बिरुडामा ५ वटा । तर यहाँ कुरा गरौं मिसाइएका अन्न भिजाएर टुसा उमारेर खाने समग्र संस्कृतिको । यो समयमा खस वा नेवार समुदायले मात्रै होइन नेपालका धेरै समुदायले आफ्नै आफ्नै तरीकाले मिसाइएका अन्न भिजाएर टुसा उमारेर खाने गर्दछन् । कतिले सादा, कतिले गरम मसाला हालेर, कतिले खसीको मासुसँग, कतिले हड्डीको रससँग, त कतिले बोसोसँग । कतिले अरू कुनै खानेकुरासँग।
काठमाडौंमा यस्तो खान्कीलाई क्वाँटी भनिए तापनि कतिपय समुदायले यसलाई बिरौंला पनि भन्ने गर्दछन् । बिरौंलाको अर्थ ठाउँ अनुसार फरक देखिन्छ । बिरौंला र बिरुडा एकै शब्दका दुई रूप हुन् भनेर सजिलै अनुमान गर्न सकिन्छ । अर्थात् क्वाँटी– बिरौंला, र बिरौंला– बिरुडा । खस र नेवा भाषामा बाहेक यसका अरू पनि नाम हुन सक्छन्।
क्वाँटी नै किन लोकप्रिय ?
अनाजका विभिन्न मिसावटहरू र बोलाउने विभिन्न नामहरू बीच क्वाँटी नै किन लोकप्रिय भयो ? यसमा सञ्चारमाध्यमको पहुँच महत्वपूर्ण देखिन्छ । तर, यसो भन्दैमा भिजाएका अन्न खान सबै नेपालीले काठमाडौंबाटै सिके, काठमाडौंको पाकविधि मात्र रैथाने हो भन्न मिल्दैन। किनकि भिन्नाभिन्नै समुदायले अहिले पनि फरक फरक तरिकाले यस्तो परिकार खाने गर्छन् । क्वाँटी खाने समुदाय भन्दा बिरुडा खाने समुदाय नेपालमा पछि भित्रिएका हुन् र उनीहरूको खानेकुरा कम रैथाने हो भन्ने पनि कुनै आधार छैन।
भर्खरै क्वाँटीका बारेमा भएको विवादले खाना सम्बन्धी हाम्रा अरू धारणा पनि उजागर गरेको छ । ट्वीटरमा क्यान बी शरलोक भन्छन्, ‘मकै, आलु, गोलभेंडा सबै अमेरिकाबाट आएका हुन् । पोलेको मकै, गोलभेंडाको अचार र आलुको तरकारीलाई नेपाली भनेकोमा हामी सबै उपनिवेशवादी भएका छौं।’
हुन पनि, अमेरिकी आयात भनेर हामीले आलु, मकै र गोलभेंडा त्याग्ने वा आदिवासी अमेरिकीहरूको सम्पदाबाट फाइदा उठाएकोमा आफूलाई दण्डित गर्ने कुरा आउँदैन । यो फलानो जातको खाना हो भनेर नखाई बस्न सक्तैनौं । नेवा समुदायको मोःमो हाम्रो अनौपचारिक साझा खानेकुरा भइसकेको छ । नयाँ पुस्ताले चटामरी सँगसँगै पिज्जा खाइरहेका छन् । तर खाना शरीरको पोषण र जिब्रोको स्वाद मात्रै चाहिं होइन । खानाको उद्गम, प्रयोग, विस्तार, इतिहास लगायतलाई बेवास्ता गर्न मिल्दैन।
ट्वीटरमा सञ्जय खेतारेले भने जस्तै, ‘तपाईंको अगाडि कुनै पनि खानेकुरा छ भने त्यो फगत खानेकुरा मात्र हुँदैन । त्यसमा अनेकौं समाजशास्त्रीय मुद्दाहरू लुकेका हुन्छन् । जस्तैः तपाईंको अगाडि कुन र कस्तो खाना छ त्यसले नै तपाईंको विशेष प्रकारको खाना किन्न/रोज्न सक्ने हैसियत देखाउँछ । तपाईंको थालमा रहेको खानेकुरा विश्वव्यापी अभियानहरूसँग पनि सम्बन्धित हुनसक्छ । जस्तै कोही जलवायु परिवर्तनको विरोधमा भेगन भएका होलान् । कोही जीएमओ खानेकुराको विरुद्ध होलान्।’
खानेकुराको राजनीति त हामीले प्रत्यक्ष देखिरहेका छौं, चामलको प्रचारले रैथाने अनाजहरू छायाँमा परेर खाद्य सुरक्षा खतरामा परेको कुरा होस् वा नेपालका रैथाने समुदायले परम्परागत खाना गोरुको मासु खाएकोमा गिरफ्तार गरिएकोमा, भारतमा गोबधमा कडाइ गरिएपछि नेपालका सडकमा छाडा चौपायाको संख्या अचानक बढेको होस् वा मदिरा खाएको वा नखाएको आधारमा कानूनले जात तोक्ने कुरा होस् । त्यस अर्थमा, खाना खाना मात्रै चाहिं होइन।
खाना अर्थतन्त्रसँग कसरी जोडिएको छ भन्ने कुरा यहाँ गरिरहन नपर्ला । खानाको समाजशास्त्र पनि सर्वविदितै छ, तैपनि यहाँ उदाहरण दिइहालौं।
याे पनि पढ्नुहाेस्– हाम्रा लोक–मिथकः जहाँ देउता पनि दण्डित हुन्छन्
खाना पकाउने र सबैलाई खुवाइसकेर मात्रै खान पाउने बुहारीको पालो आउँदासम्म अक्सर मीठो तरकारी सकिइसकेको हुन्छ । तरकारी, फलफूलमा पाइने तत्वहरूको कमीले गर्दा दक्षिणएशियाका अधिकांश महिलामा रक्तअल्पताको समस्या देखिन्छ । शिशु ६ महीनाको हुञ्जेल उसलाई आमाको दूध मात्रै खुवाउने सल्लाह विज्ञहरू दिन्छन्, तर छोरी भएमा पाँच महीनामै उसको पास्नी गरेर सामान्य खाना खुवाउन थालिन्छ, छोरा जन्माए जत्तिको पोषण दिइराख्नु पर्दैन भनेर।
रैथाने खानामा अतिक्रमण
कुनै समयमा खाना हाम्रो जीवनकै अन्योन्याश्रित अंग थियो । जुनसुकै बेला जे पनि पाइने अवस्था नहुँदा हामी ऋतु अनुसारकै खाना खान्थ्यौं । माघेसंक्रान्तिमा तरुल खाने कुरा होस् वा दशैंमा चामलको टीका लगाउने र तिहारमा बिमिरो पूजा गर्ने, हाम्रा चाडपर्व र समग्र जीवनशैली नै खाद्य चक्रको वरिपरि घुमेका छन्।
पूँजीवादले हामीलाई यी सबै परिवेश बिर्सिन सजिलो बनाइदिएको छ । तर नदेखिने किसिमले धेरै समस्या थपिरहेको छ । हिजोको समयसम्म पनि सामान्य सामाजिक आदानप्रदानले खानेकुरा र पाकविधिहरू फैलिन्थे भने आज पूँजीवादका कारण प्रक्रिया अत्यन्त छिटो बनेको छ, र जसले जे पनि बनाउन, बेच्न र फैलाउन सक्ने भएको छ । रैथाने खानेकुराको नाम, पहिचान, स्रोत, र पाकविधि नेपालमा मात्रै होइन संसारभरि नै संवेदनशील विषय बनेको छ।
विभिन्न ठाउँका खानालाई प्रभावशाली वर्गका मानिसले पकाउने, बेच्ने, ग्राहकको स्वाद अनुसार रूपान्तरण गर्ने र अझ त्यसको विज्ञ पनि बन्ने तर खानाको खास स्रोतलाई भने हेयका दृष्टिले हेर्ने र देखाउने प्रचलन विश्वभर समस्या बनिरहेको छ । जस्तो कि सामाजिक सञ्जालमा लोकप्रिय शेफ एलिसन रोमन काबुली चनाको ‘स्टिउ’ बनाएपछि यतिबेला विवादमा तानिएकी छिन् । इन्स्टाग्रामबाट लोकप्रिय उनको पाकविधिलाई न्यू योर्क टाइम्सले पनि प्रकाशित गर्यो । त्यस्तै स्टिउ पकाउने चक्करमा थुप्रै पसलमा काबुली चनाको स्टक नै सकियो।
एलिसनले तेलमा प्याज, अदुवा, लसुन फुराएर, बेसार हालेर चनाको तरकारी पकाए पनि उनले त्यो पाकविधिको स्रोत खुलाइनन् । धेरै विरोधपछि न्यू योर्क टाइम्सले पाकविधिमा संशोधन गर्यो – ‘यो खाना दक्षिण भारतमा र क्यारिबियन देशहरूमा पाइने खानासँग मिल्दो जुल्दो छ’ भन्ने वाक्य थपेर । तर एलिसनले भने यो पाकविधि कतैबाट सिकेको वा प्रभावित भएको भन्ने स्वीकार गरिनन् । “अहँ, मलाई यस्ता करीको बारेमा केही थाहा छैन, म त युरोपियन हुँ”, उनको जवाफ थियो।
अर्काको संस्कृतिलाई असान्दर्भिक रूपमा प्रयोग गर्नु, उपयोग गर्नु, फाइदा उठाउनु, त्यसको स्रोतलाई अभिलेखबाट हटाउनु, त्यसको श्रेय लिनु, आफ्नो रुचि अनुसार परिमार्जन गर्नु, र त्यो क्रममा स्रोत व्यक्ति वा समुदायलाई हानि पुर्याउनु जस्ता क्रियाकलापलाई सांस्कृतिक स्वायत्तीकरण (कल्चरल एप्रोप्रिएसन) पनि भनिन्छ ।
व्यक्तिले मात्रै होइन व्यापारिक, व्यावसायिक संस्थाहरुले समेत रैथाने खानेकुरा बेचेर व्यापारिक फाइदा उठाइरहेका छन् । एकातर्फ प्रभावशाली व्यक्तिहरूको अपव्याख्याबाट रैथाने खानाको पहिचान मेटिंदैछ भने अर्कोतर्फ कर्पोरेशनहरूले ग्राहकको स्वादको अनुसन्धानमा करोडौं खर्च गरेर बनाएका ‘कस्टमाइज्ड’ खानेकुराका अगाडि पोषणयुक्त रैथाने खानेकुरा हराउँदैछ।
हाम्रो क्वाँटी विवादको जडमा पनि त्यस्तै सांस्कृतिक अतिक्रमणको चिन्ता देखिन्छ । के जसको खाना हो, सोही समुदाय भन्दा बाहिरकाले त्यसको विज्ञ बन्न पाउँछन् कि पाउँदैनन् ? पैसा कमाउन पाउँछन् कि पाउँदैनन् ? विदेशी फुड चेनहरूले क्वाँटीको सुप भन्दै विदेशी अनाज बेचे के होला ? वा जिरा मेथी र ज्वानोको सट्टामा ओरेगानो र रोजमेरी हाले के होला ? त्यही पाकविधि आधिकारिक बनेर फैलियो भने के होला ? एलिसनले जस्तै कसैले क्वाँटीलाई पनि ‘म त कहिले नेपाल गएको छैन, यो त मेरो आफ्नै आविष्कार हो’, भनेमा के होला?
हाम्रा खानेकुरा देशभित्रै पनि ग्राहकको स्वाद अनुसार परिष्कृत भइरहेका छन्, समय सँगसँगै बदलिरहेका छन् । खुवाको मोःमो र चीज हालेको चटामरी बनिरहेका छन् । विदेशमा नेपाली रेष्टुरेन्टहरूबाटै हाम्रा खानेकुरा विदेशी ग्राहकका स्वादअनुसार परिमार्जित भइरहेका छन् । त्यस्ता परिमार्जित पाकविधि आधिकारिक बनेर फैलिए के होला?
ग्राहकको रोजाइ अनुसार खानेकुरा फैलिने र बदलिने क्रमलाई हामी रोक्न सक्दैनौं । हामीले पनि तिब्बतको मोःमो र चीनको चाउमिनलाई आफ्नो बनाइसक्यौं । जीरा, मेथी पड्काएर मस्त तेलमा फ्राई गरेको हाम्रो ‘पास्ता’ देखेर ‘म्याक एण्ड चीज’ खाने मानिसहरू त छक्कै पर्छन् होला।
ग्राहकका लागि त यो राम्रै कुरा होः आफूले भनेजस्तो खानेकुरा खान पाउनु र आफ्नो अघि छनोट उपलब्ध हुनु । त्यसोभए रैथाने खानेकुरा वा पाकविधि जोगाउनु नै किन पर्यो त ? भन्ने प्रश्न पनि आउन सक्छ।
किन जोगाउने रैथाने स्वाद?
ग्राहकका लागि छनोटको सुविधा जतिसुकै लोभलाग्दो भए तापनि रैथाने खानेकुराका विविधता हराउनु ठूलो क्षति हो । पहिलो कुरा, ठूला कर्पोरेशनले जति अनुसन्धान गरेर ग्राहकको स्वादअनुसार खानालाई रूपान्तरण गर्ने स्रोतसाधन र विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता हामीसँग कम छ । क्षमता भइहाले भने त्यसको फाइदा नेपालकै ठूला कर्पोरेशनले मात्रै लिन सक्नेछन्।
दोस्रो कुरा, औसत नेपाली ग्राहकले पाउनुपर्ने पोषण र स्वादको हो । पूँजीवादले मूल्य बाहेक अर्थोकसँग सरोकार नै राख्दैन, र ग्राहकको पोषण उसको प्राथमिकतामा पर्दैन।
क्वाँटी र ब्राण्डेड सूपहरूलाई एकै ठाउँमा राख्नु भनेको क्वाँटी उत्पादन गर्ने मानिसको आयआर्जन घट्नु, क्वाँटीबाट पाउनुपर्ने पोषण र स्वाद नपाउनु, खाद्य सुरक्षा धरापमा पर्नु, हाम्रो पैसा विदेशी कर्पोरेशनहरूको खल्तीमा जानु, र हाम्रो मौलिकता विस्तारै मेटिंदै जानु हो । क्वाँटीको हकमा मात्रै होइन, प्रायः रैथाने खानेकुरामा यो लागू हुन्छ।
तेस्रो कुरा हो– सन्दर्भ, जीवनशैली र मौलिकताको । रैथाने खानेकुराका आफ्नै सन्दर्भ हुन्छन्, जसलाई पूँजीवादले जोगाउँदैन । कुनै पनि समयमा पेट भर्न लागि खान सकिने ‘मिक्स भेजिटेबल सूप’ जस्तो क्वाँटी होइन । यो त मनसुनको पानीमा भिजी भिजी धान रोप्दा गलेको जीउलाई तंग्राउनका लागि साउन–भदौमा खाइने रस हो।
गुन्द्रुकको पनि आफ्नै कथा छः हरियो तरकारी नपाइने हिउँदे मौसममा समेत पोषण पाइयोस् भन्ने सोचेर भएका बेला नै खाँदेर राखिने तरकारी हो गुन्द्रुक । भात वा रैथाने रोटीसँग खाइने हाम्रा यी ‘सूप’ पश्चिमा शैलीमा ब्रेडसँग खाने वा छाकै बनाउने ग्राहकको रोजाइमा पनि त पर्दैनन्।
याे पनि पढ्नुहाेस्– फेरिंदो गौरा र तीज
जसरी/जुन बेला पनि यी दुई ‘सूप’ खाँदा त हुन्छ, तर यी कथाले हाम्रो जीवनशैली बोकेका छन् । विश्व बजारमा प्रतिस्पर्धा गर्न पुगेमा यी दुई ‘सूप’ को लेबलमा यी कथाहरू लेखिंदैनन्, लेखिए पनि ग्राहकले वास्ता गर्दैनन् । ती सूप युरोप वा अफ्रिकाका मूलधारमा पुगे भने ग्राहकले दुई चीज मात्र हेर्छन्ः स्वाद र मूल्य।
अर्थात्, क्वाँटी र ब्राण्डेड सूपहरूलाई एकै ठाउँमा राख्नु भनेको क्वाँटी उत्पादन गर्ने मानिसको आयआर्जन घट्नु, क्वाँटीबाट पाउनुपर्ने पोषण र स्वाद नपाउनु, खाद्य सुरक्षा धरापमा पर्नु, हाम्रो पैसा विदेशी कर्पोरेशनहरूको खल्तीमा जानु, र हाम्रो मौलिकता विस्तारै मेटिंदै जानु हो । क्वाँटीको हकमा मात्रै होइन, प्रायः रैथाने खानेकुरामा यो लागू हुन्छ।
हाम्रा खानाका कथाव्यथा
रैथाने खानेकुरा र पाकविधिले स्थानीय परिवेश, मौसम, र भूगोल झल्काउँछन्, र जसमा विशेष पौष्टिक तत्व पनि हुन सक्छन् । स्वाद वा आयआर्जनका लागि रूपान्तरित पाकविधिमा त्यस्तो विशेषता र पौष्टिकता हराउन पनि सक्छ । स्वाद र नाफाका लागि अनुकूलित गरिएका खानेकुरा लोकप्रिय बन्दै जाँदा विस्तारै खाद्य बजार नै नाफामुखी कर्पोरेशनहरूको खेल मैदान बन्न सक्छ र रैथाने खानेकुरा खाने विकल्प नै बाँकी नहुन सक्छ।
त्यसैले रैथाने खानेकुराको जस्तोसुकै विस्तार वा प्रचार भए तापनि हामीले खानेकुरा र पाकविधिको अभिलेखीकरण र प्रवर्द्धन भने गरिरहनु पर्छ । त्यसो गर्यौं भने हामीले प्याकेटमा किन्ने खाना भन्दा स्वस्थकर र स्वादिलो विकल्प बचाइराख्न सक्छौं, रैथाने उत्पादकलाई सहयोग गर्न सक्छौं र आफ्नो पहिचान जोगाउन सक्छौं । नेपाली पाकविधिमाथि अरूले सर्वाधिकार दर्ता गर्न खोजेमा वा एकाधिकार कायम गर्न खोजे त्यसको प्रतिकारमा यस्ता अभिलेख काम लाग्न सक्छन् । अपव्याख्याबाट जोगाउन सक्छौं।
गैर नेपालीबाट नेपाली खानाको ‘कल्चरल एप्रोप्रिएसन’ त भइरहेको छैन भनेर सजग भइरहँदा नेपालभित्रकै विभिन्न समुदायका मौलिकताहरू ओझेलमा परिरहेका त छैनन् भन्ने पनि विचार गर्नुपर्छ । देशभित्रकै विविध रैथाने खाना र पाकविधिलाई उत्तिकै सम्मान गर्नु, दुर्गम र सीमान्तकृत स्थान वा समुदायका सम्पदाको अभिलेख राख्ने कोशिश गर्नु, अरूबाट सिकेका पाकविधि छन् भने ती स्रोतको सम्मान गर्नु, अभिलेख राख्नु र सार्वजनिक रूपमा मान्यता दिनु आजको आवश्यकता हो।
कतै आधिकारिकता वा स्वामित्वको विवाद भए हामीले त्यसलाई अझ व्याख्या गर्न सक्छौं – यो खानेकुराको यो पाकविधि यस्तो ठाउँ वा समुदायको रैथाने हो भने अर्को पाकविधि अर्को कुनै ठाउँ वा समुदायको रैथाने हो।
र, पुनः क्वाँटीकै प्रसंग कोट्याउँदा मिसाइएका अन्न भिजाएर टुसा उमारेर खाने नेपाली संस्कृति कृषि प्रणालीसँग सम्बन्धित छ । र अधिकांश समुदायले यसलाई कदर गरेको देखिन्छ । जस्तो कि, कृषि प्रणाली र विशेषगरी बीउ उमार्ने प्रक्रियाको प्रशंसा र पूजा गर्दै गौरा मनाउने क्रममा सुदूरपश्चिममा महिलाहरू यस्तो गीत गाइरहेका भेटिन्छन्–
क्याउ लाइ, क्याउ खाइ, बिरुडी पखाल–
कपुर खाइ, सपुर लाइ, बिरुडी पखाल,
देउरानी जेठानी मिली, बिरुडी पखाल,
माथा टिकुली लगाइ, बिरुडी पखाल,
हात चुडियाँ लगाइ, बिरुडी पखाल,
गाथ घाँघरो पैरी, बिरुडी पखाल,
भोकापेट तिना केश, बिरुडी पखाल
याे पनि पढ्नुहाेस्–
सात प्रदेश साझा परिकार
लोक परिकारको स्वाद
चुलाको सेरोफेरो
जोगाऔं स्वाद सम्पदा