धर्मको राजनीतिले कहाँ पुर्याउला नेकपालाई?
रामायणमा वर्णित रामको जन्मभूमि भएको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लास्थित ठोरीमा राम मन्दिर र अयोध्याधाम निर्माण गर्न देखाएको अचाक्ली सक्रियतासँगै सिंगो नेकपालाई धर्मको राजनीतितर्फ डोर्याउँदै लगेको छ। के नेकपाले थेग्न सक्छ, ‘धर्म–राजनीति?’
गएको २३ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरे। अचानक आएको प्रधानमन्त्रीको फोनले शुरूमा सुवेदीलाई पनि आश्चर्यमा पार्यो। प्रम ओलीको टेलिफोन आउनुको कारणबारे वडाध्यक्ष सुवेदीले हिमालखबरलाई भने, “प्रधानमन्त्रीले राम जन्मभूमिबारे चासो देखाउनुभयो। नेपालको अयोध्यापुरी नै सक्कली अयोध्या हो, त्यसकारण यसका गतिविधि बढाउनुपर्छ भन्नेमा उहाँले विशेष जोड दिनुभयो।”
प्रधानमन्त्री ओलीले वडाध्यक्ष सुवेदीलाई टेलिफोन गरेको भोलिपल्टै माडी नगरपालिकाका जनप्रतिनिधिहरू काठमाडौं झिकाइए। नगर प्रमुख ठाकुरप्रसाद ढकालसहित विभिन्न राजनीतिक दलका १३ जना प्रतिनिधिको टोलीसँग प्रम ओलीले बालुवाटारमा २४ साउनका दिन लामै छलफल गरे। छलफलकै क्रममा प्रम ओलीले ठोरीमा रामायणमा वर्णन गरिएका प्रमुख पात्रहरू राम, लक्ष्मण र सीताको प्रतिमासहित राम मन्दिर निर्माण कार्य शुरू गरिहाल्न भने।
प्रधानमन्त्री ओलीले ठोरी नै रामको वास्तविक जन्मभूमि भएको उल्लेख गर्दै त्यहाँ अयोध्याधाम निर्माण गर्न समेत निर्देशन दिए। त्यसक्रममा उनले भनेका थिए, “तपाइँहरू ढुक्कले अघि बढ्नुस्, पैसाको चिन्ता नलिनुस्, त्यो संघीय सरकारले व्यवस्था गर्छ।”
छलफलमा सहभागी एक जनप्रतिनिधिका अनुसार प्रधानमन्त्री ओलीले त्यसक्रममा आफूले आउँदो राम नवमीका दिन नै राम मन्दिर बन्न थालेको सन्देश जाओस् भन्ने चाहेको बताएका थिए। “महामारीकै बीचमा काम अगाडि बढाउनुहोस्, कम्तीमा आउँदो राम नवमीमा मन्दिरको शिलान्याससम्म होस्”, प्रधानमन्त्री ओलीको भनाइ थियो।
केही दिन पहिले रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा भएको दाबी गरेर चर्चा र आलोचना दुवै बटुलेका प्रधानमन्त्री ओलीले जुन महत्वसाथ त्यो ठाउँमा राम मन्दिर निर्माण कार्य अगाडि बढाउने तत्परता देखाएका छन्, यसले उनको आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई समेत रनभुल्ल पारेको छ। जीवनभर कम्युनिष्ट राजनीति गरेको बताउने ओली नै अहिले नेकपाका अध्यक्ष (प्रमुख कार्यकारी) छन्।
अनौठो त के छ भने अध्यक्षले नै धर्मको राजनीतिमा यस्तो रुझान बढाइरहँदा नेकपा पंक्ति अलमलमा छ। एकाध नेताले यसमा असन्तुष्टि प्रकट गरे पनि त्यो स्वर मधुरो छ। यद्यपि, नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले सरकारको ध्यान मन्दिर बनाउनेतिर जान नहुने बताउँछन्। उनी भन्छन्, “मन्दिर बनाउने भन्ने पार्टीको कुरा होइन। प्रधानमन्त्रीले के आधारमा यस्तो भन्दै हुनुहुन्छ, उहाँले नै जान्नुहोला। यसबारे छलफल समेत भएको छैन।”
नेकपाको ‘धर्म राजनीति’को भय
पछिल्लो केही समययता दक्षिणी छिमेकी भारतसँगको कूटनीतिक सम्बन्धमै प्रतिकूल असर पर्ने गरी प्रधानमन्त्री ओलीले दिइरहेका अभिव्यक्ति र त्यसमै बल पुर्याउन चालेका कदमबारे नेकपाका धेरैजसो नेता खुलेर बोलेका छैनन्। उनीहरूले न यसलाई समर्थन गरेका छन्, न विरोधमै केही बोलेका छन्। नेकपाका एक स्थायी कमिटी सदस्य कम्युनिष्ट पार्टीमा धर्मबारे बहस हुनुलाई नै गलत ठान्छन्। “धर्म संवेदनशील विषय हो, यसबारे सोचेर मात्रै बोल्नुपर्छ। तर, प्रधानमन्त्रीले जोडतोडका साथ उठाउनुभएकाले यसबारे छलफल होला”, ती नेता भन्छन्।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमिबारे लिएको चासो, त्यसलाई दिएको महत्व र चालेका कदमले भारतमा जनस्तरमै नेपालप्रतिको हेराइ नकारात्मक हुनसक्ने खतरा देख्छन्, उनी।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने धर्मबारे प्रधानमन्त्रीका अभिव्यक्ति र तत्परतालाई टिप्पणीको लागि समेत योग्य ठान्दैनन्। उनी भन्छन्, “प्रधानमन्त्रीले जस्तो कदम चाल्नुभएको छ, त्यसले नेकपाको दक्षिणपन्थी यात्रा थालनी गर्छ। यो अजेण्डाले नेकपा अब कम्युनिष्ट रहँदैन।” छिमेकमा धर्मको राजनीतीकरण गरिरहेको भारतीय जनता पार्टी (भाजपा) को सिको गर्नतिर लागेर प्रधानमन्त्री ओलीले ठूलो गल्ती गरिरहेको उनको विश्लेषण छ।
हुन पनि प्रम ओलीको राजनीतिक पृष्ठभूमि र उनको पार्टीको मार्गदर्शक सिद्धान्त यसको ठीक उल्टो छ। नेकपाले ७० वर्षदेखि धर्मनिरपेक्ष राज्यको वकालत गर्दै आएको छ। धर्मलाई अफिमसँग तुलना गर्ने कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीसमेत कुनै बेला धार्मिक रुझान राख्ने आफ्नै पार्टीका नेताहरूको चर्को विरोधी थिए। “जेलमा हुँदा पनि मोहनचन्द्र अधिकारीले भगवानको पूजा गर्न नछाडेको भन्ने उजुरी राधाकृष्ण मैनाली र केपी ओलीले पार्टीमा दिनुभएको थियो”, नेकपाका एक नेता सम्झन्छन्।
२०४१ सालताका जेलमा छँदा अधिकारीले पूजा गरेको प्रसंग उठाएर उनीमाथि कारबाहीको माग गर्नेमा ओली समेत थिए।
तर, अहिले संविधानमै नेपाल धर्मनिरपेक्ष भइसकेकाले प्रधानमन्त्री ओलीका पछिल्ला धर्म जोडिएको विवादास्पद भनाइ र गराइबाट नेकपामाथि नै प्रश्न उठेको स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन्। उनी भन्छन्, “अहिले जनतालाई कोरोनाभाइरसको महामारीबाट बचाउनुपर्ने प्रमुख जिम्मेवारी हो, तर प्रधानमन्त्री आफैंले देशकै ध्यान धर्मतिर तान्ने प्रयास गरेको जस्तो देखियो।”
गएको २९ असार भानु जयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि भारत नभएर नेपालमा भएको बताएका थिए। धार्मिक ग्रन्थमा वर्णित रामबारे दिएको प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्तिको देशभित्रै तीव्र आलोचना भयो। भोलिपल्ट, ३० असारमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको प्रष्टोक्ति दियो। मन्त्रालयले भनेको थियो, “प्रधानमन्त्रीको भनाइ कुनै राजनीतिक विषयसँग सम्बन्धित छैन र कसैको भावनामा आघात पु¥याउने उद्देश्यले आएको होइन।”
तर, प्रधानमन्त्री ओली आफैंले फेरि यो विषय जबर्जस्ती अगाडि बढाएका छन्। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा दुई देशको आपसी संवेदनशीलतालाई हेक्का नराखेर गरिने यस्तो कदमले दीर्घकालीन असर पार्न सक्ने खतरा देख्छन्। “प्रधानमन्त्रीले धर्म र कूटनीति दुवैलाई एकै पटक चलाउनुभएको छ। यसले मूल विषय मोड्न सक्छ”, उनी भन्छन्।
यतिबेला अस्पताल, नागरिकको स्वास्थ्य र जीविकामा केन्द्रित हुनुपर्ने नेकपा नेतृत्वको सरकारको ध्यान मन्दिर बनाउनेतिर केन्द्रित हुनथाल्दा पार्टीभित्र सैद्धान्तिक रूपमै विचलन आएको सन्देश जाने स्थायी कमिटी सदस्य भुसाल बताउँछन्। राजनीतिक सिद्धान्तका अध्येता भुसाल भन्छन्, “धार्मिक ग्रन्थको पात्रबारे अनुसन्धान गर्नलाई समेत अहिले उपयुक्त समय होइन।”
हिन्दू राष्ट्रको वकालत गर्दै आएको दल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठ प्रधानमन्त्रीको कदम धर्मलाई सम्मान गर्ने हिसाबबाट नआएको बताउँछन्। उनी भन्छन्, “८१ प्रतिशत हिन्दूहरूको बसोबास रहेको देशलाई हिन्दूराष्ट्र घोषणा गर्ने हो भने हामी स्वागत गर्छौं। तर, त्यस्तो हिम्मत नगर्ने अनि आफ्नो कमजोरी लुकाउन राम मन्दिरको कार्ड फाल्नु गलत हो।
हामी यसको विरोधमा उत्रन्छौं।” अहिले देशभर थुप्रै राम मन्दिर रहे पनि तिनको संरक्षण र प्रवद्र्धन गर्नेतर्फ ध्यान नदिई प्रधानमन्त्रीले सस्तो लोकप्रियताका लागि देखाएको अग्रसरता हिन्दू आस्थामाथिको प्रहार भएको उनको बुझाइ छ।
राजनीतिक विश्लेषक आचार्य भने एकपछि अर्को दक्षिणपन्थी गतिविधिकै शृङ्खलाका रूपमा प्रधानमन्त्री ओलीले धार्मिक संवेदनालाई अगाडि बढाएको बताउँछन्। उनी भन्छन्, “उग्रराष्ट्रवाद, धार्मिक अजेण्डा, एकल संस्कृति, भूगोल, सेना चलाउनु दक्षिणपन्थी शक्तिको विशेषता हो। यसबाट नेकपा जोगिनुपर्छ।”
दशक लामो हिंसात्मक विद्रोहमा माओवादीले लगाएको जातीयताको नारा र त्यहींबाट बीजारोपण भएको जातीय राजनीतिले एक दशकभन्दा लामो समय देशलाई पिरोल्यो। त्यसकै कारण पहिलो संविधानसभा संविधान नै नबनाई विघटन भयो। विविधतामा एकतालाई विशेषता बनाएर बसेको समाजमा सद्भाव खल्बलिनेसम्मको अवस्था आयो। यो भारी बोक्न नसकिने भएरै अन्ततः माओवादीले त्यसलाई छाड्यो।
प्रधानमन्त्री ओलीले धर्मको राजनीतिमा रुझान देखाएर त्योभन्दा खतरनाक खेल खेलेको टिप्पणी अहिले नेकपाभित्रै भइरहेको छ। किनभने धर्म यस्तो कार्ड हो जसलाई राजनीतिमा मिसाउँदा अल्पसंख्यक धार्मिक समुदाय नै असुरक्षित बन्न पुग्छ। भारतमा हिन्दूत्वको राजनीति गर्नेहरूले अल्पसंख्यकहरूमाथि बढाएको असुरक्षा जगजाहेर छ। यहीं पनि प्रधानमन्त्री ओलीले अयोध्याको विषय उचालेपछि सामाजिक सञ्जालमा त्यसको आलोचना गर्नेहरूलाई धर्म र राष्ट्रविरोधीका रूपमा चित्रण गर्न थालिएको छ। र, यसले यहाँ धार्मिक अल्पसंख्यकमाथि बढ्न सक्ने असुरक्षाकै संकेत गर्छ।
“धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भन्दै आएका थियौं, अहिले प्रधानमन्त्रीको चासो बढेकाले अब काम अगाडि बढाउँछौं।”
ठाकुरप्रसाद ढकाल, मेयर, माडी नगरपालिकाका
हिजो जातीय राजनीतिमा सामेल भएको माओवादीबाटै नेकपामा आएका नेताहरू पनि जातीय भन्दा धार्मिक संवेदना निकै नै संवेदनशील हुने भएकाले धर्मको राजनीति खतरनाक हुने बताउँछन्। सरकार र नेकपाको नेतृत्व यो कदमबाट पछि हट्नुपर्नेमा उनीहरूको जोड छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, “प्रधानमन्त्रीले अहिले महामारीबाट जनतालाई जोगाउने र पार्टीभित्र देखिएको अन्तरसंघर्ष हल गर्नेतिर ध्यान दिनुपर्छ। अरू विषयमा विस्तारै छलफल गर्न सकिन्छ।”
तर, प्रधानमन्त्री ओलीकै निर्देशनमा चितवनको माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा राम मन्दिर निर्माण सम्बन्धी गतिविधि अगाडि बढेको छ। यसको दबाब भने माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालमाथि परेको छ। नगर प्रमुख निर्वाचित हुँदा आफ्नो प्रतिबद्धतापत्रमा समेत नराखिएको राम मन्दिर निर्माणमा खटेका ढकाल भन्छन्, “धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भन्दै आएका थियौं, अहिले प्रधानमन्त्रीको चासो बढेकाले अब काम अगाडि बढाउँछौं।”
मेयर ढकालले २८ साउनमा राम जन्मभूमि खोज, अनुसन्धान तथा व्यवस्थापन समितिको बैठक बोलाएका छन्। यो समिति प्रधानमन्त्रीले राम जन्मभूमि, अयोध्या नेपालमा रहेको अभिव्यक्ति दिएपछि उनकै पहलमा गत १२ साउनमा गठन भएको हो।
याे पनि हेर्नुहाेस्– अनिष्टतर्फ नेकपाको यात्रा: लोकतन्त्रमा मडारियो खतरा