ओली–दाहाल वार्ता सकियो, सहमतिको प्रस्ताव ल्याउन कार्यदल गठन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। सवा एघार बजेदेखि शुरु भएको ‘वान अन वान’ भेटवार्ता भर्खरै सकिएको छ।
पार्टीभित्र देखिएको विवादको सहमति खोज्न कार्यदल गर्ने र कार्यदलले ल्याउने प्रस्तावमाथि छलफल गर्न दुई अध्यक्ष सहमत भएका छन्। कार्यदलमा ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई–दुई जना रहनेछन्।
कार्यदलमा ओलीका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेल र शंकर पोखरेल, दाहालका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल र नेता नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे रहनेछन्।
आठ दिनपछि ओली र दाहालबीच बिहीबार सम्वाद शुरु भएको थियो। हिजो चार घण्टा लामो सम्वाद गरेका दाहालले बालुवाटारबाट फर्किएपछि आफ्ना समूहका नेताहरुसँग सम्वाद गरेका थिए।
प्रदेश–५ का आफू निकट नेताहरुसँग छलफल गरेपछि दाहालले वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ओलीसँग भएको सम्वादबारे ब्रिफिङ गरेका थिए। गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढेपछि अनिश्चित बनेको छ।
दुई अध्यक्ष ओली र दाहालले १३ साउनमा स्थायी कमिटी बैठकबारे छुट्टा–छुट्टै निर्णय लिएपछि भने केही दिन सम्वादहीनताको अवस्था बन्यो। तर, १८ साउनदेखि फेरि शुरु भएको वार्ता तीन दिन पछाडि रोकिएको थियो। दाहाल समूहले २१ साउनमा पत्रकार भेटवार्ता गरेपछि अवरुद्ध भएको भेटवार्ता बिहीबारदेखि शुरु भएको छ।