मृतक संख्या १०० पुगेसँगै यस्तो छ विज्ञले देखेको अबको जोखिम
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेसँगै महामारीको जोखिम थप गम्भीर बेनेको छ। विज्ञहरूले महामारी नियन्त्रणको लागि सरकारले पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र नागरिकले आफ्नो दैनिक व्यवहारमा गम्भीर भएर परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।
शुक्रवार अपरान्ह ४ बजेपछि धनुषामा थप १ जनाको मृत्यु भएसँगै मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ। धनुषामा भएको उक्त मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सार्वजनिक गरिने दिउँसो २ बजेको तथ्यांकमा अद्यावधिक गरिएको छैन।
मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमामार्फत आज ४ जनाको मृत्यु भएको भने पनि उक्त तथ्यांक दिउँसो २ बजेसम्मको मात्रै हो। मन्त्रालयको अद्यावधिक तथ्यांकमा शुक्रबारसम्म कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको उल्लेख छ।
शुक्रबारसम्म मुलुकभर कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ छ भने यीमध्ये ७ हजार ३७५ जना सक्रिय संक्रमित छन्।
मुलुकमा कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ३० साउनमा निजी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन आग्रह गरेको छ। मन्त्रालयले कोरोना विशेष अस्पताल भरिएको भन्दै निजी अस्पताललाई संक्रमितको उपचार गर्न वेड छुट्याउन आग्रह गरेको हो।
यो पनि:
टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्नुले जोखिम बढेको विश्लेषण गर्छन्।
खासगरी काठमाडौं उपत्यकामा कोरोना प्रभावित जिल्लाबाट आएकाहरूबाट अन्य व्यक्तिमा पनि संक्रमण फैलिन मद्दत् पुगेको र यसले जोखिम बढाएको डा. बास्तोला बताउँछन्।
कोरोना संक्रमितहरू बढ्न थालेपछि कोरोना विशेष अस्पतालहरू भरिएको र अब सरकारले संक्रमितको उपचारका लागि विशेष ध्यान दिन जरुरी भएको डा. बास्तोलाको भनाइ छ।
"लक्षण भएका बिरामीहरू बढी देखिन थाले, अबको चुनौती भनेको अस्पतालमा बिरामीको उपचार गर्ने व्यवस्थापन गर्नु हो," उनले भने।
डा. बास्तोला सरकारले संक्रमितको उपचार गर्न स्वास्थ्य पूर्वाधारसँगै जनशक्तिको समेत व्यवस्थापनमा ध्यान दिनपर्ने औल्याउँछन्।
शुरुका दिनमा क्वारेन्टिनमा लक्षण देखिएका बिरामीहरू उपचार गर्न आउँथे भने अहिले स्वासप्रस्वास लगायतको समस्या भएका लक्षणसहितका बिरामी आइसोलेसनमा उपचारका लागि आउने गरेको उनको अनुभव छ।
जनस्वास्थ्यविद् प्रा.डा. सुजन बाबु मरहठ्ठा शुक्रबार मृत्यु हुनेको संख्या १०० पुग्नु अब मृत्युदर झनै बढ्न सक्ने र त्यसका लागि सरकारले तयारी थाल्नुपर्ने संकेतका रुपमा अर्थ्याउँछन्।
"सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालले नपुग्ने अवस्था देखियो, अब कोरोना संक्रमितको उपचारका लागि छुट्टै कोरोना विशेष अस्पताल बनाउन आवश्यक भएको देखिएको छ," मरहठ्ठा भन्छन्।
उनी एकै अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामी राखेर उपचार गरेका कारण पनि संक्रमण बढेको भन्दै तत्काल छुट्टै अस्पताल बनाएर कोरोना संक्रमितको उपचार गर्नुपर्नेमा जोड दिन्छन्।
डा. मरहठ्ठा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न २० प्रतिशत बेड छुट्याएर मात्र समस्याको समाधान नहुने बताउँछन्।
"चार हप्ताअघि स्वास्थ्यमन्त्रीसँग भएको छलफलमा सरकारले संक्रमितको उपचार गर्न आवश्यक पूर्वाधारको विकास गर्न भनेका थियौँ, तर अहिलेको अवस्था हेर्दा सुझाव अनुसार काम भएको देखिएन," डा. मरहठ्ठा भन्छन्।
कोरोना संक्रमित जटिल बिरामीको उपचारका लागि अक्सिजन नभई नहुने र त्यसका लागि सरकारले सातै वटा प्रदेशमा अक्सिजन प्लान्ट बनाउनुपर्ने आवश्यकता मरहठ्ठा औल्याउँछन्।
यो पनि:
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनिले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुग्नुले स्वास्थ्य मन्त्रालयले बनाएको रणनीति तथा योजना फेल भएको बताए।
डा. मरासिनी खुला भारतीय सिमानाका नै कोरोनाको जोखिम बढाउने कारक तत्व भएको भन्दै सरकारले सिमामा कडाई गर्न नसकेको बताउँछन्।
"सरकारले सिमाबाट आउनेलाई वास्ता गरेन, कोरोना हवाईजहाज चढेर मात्र आउँछ भन्ने मानसिकताले अहिलेको अवस्था निम्तिएको हो," मरासिनिले भने।
उनी अब सरकारले आइसोलेसनसहितको पूर्वाधारको व्यवस्था गर्नुपर्ने र नागरिक स्तरमा व्यवहार परिवर्तनको विषयलाई कडाईका साथ लागू गर्नुको विकल्प नरहेको बताउँछन्।
सरकारले परीक्षणसँगै कोरोनासँग जुध्ने रणनीति पनि परिवर्तन गर्न आवश्यक भएको र अहिलेको रणनीति काम लाग्ने खालको नभएको उनको बुझाइ छ।
स्थानीय स्तरमा भएका हेल्थपोष्टमा समेत कोरोना संक्रमितको उपचार गर्ने पूर्वाधार बनाउन सकिने उनको सुझाव छ।
उनी यी सबै विषयमा आफूले स्वास्थ्यमन्त्रीलाई बैठकमार्फत सुझाव दिएको तर कार्यान्वयन नभएको गुनासो गर्छन्।