प्रदेश–२ यसकारण बन्यो कोरोनाको ‘हटस्पट’
खुला सिमाना र स्वास्थ्यका कमजोर पूर्वाधारका कारण प्रदेश २ मा कोरोना संक्रमण बढिरहँदा विज्ञहरूले परीक्षण दायरा बढाउन र स्वास्थ्य संरचना विस्तार गर्न सुझाव दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २७ साउनसम्ममा प्रदेश–२ मा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या तीन हजार ३४७ पुगेको छ। १६ साउनसम्ममा प्रदेश–२ मा कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ३४ रहेकोमा ११ दिनमै १ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। यसले प्रदेश–२ कोरोना संक्रमण तीव्र रहेको देखाउँछ।
२७ साउनसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पर्सा, महोत्तरी र रौतहटमा मात्र कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ। यसले प्रदेश २ का जिल्लाहरुमध्ये यी तीन जिल्ला कोरोनाको बढी जोखिममा छन्।
खासगरी ६ साउन मध्यरातदेखि सरकारले बन्दाबन्दी खोल्ने निर्णय गरेसँगै भारतसँग सिमाना जोडिएका प्रदेश २ का आठ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। भारतबाट चेकजाँच विना नेपाल प्रवेश गर्न दिन थालेपछि अवस्था गम्भीर बन्दै गएको विज्ञहरु बताउँछन्। साथै, प्रदेश–२ को साक्षरता दर, सरसफाइको अवस्था, स्वास्थ्यको पूर्वाधार तथा जनशक्तिको कमीले पनि त्यहाँ कोरोना संक्रमण फैलिन मद्दत पुग्यो।
जम्मा १.२१ प्रतिशतको पीसीआर परीक्षण
प्रदेश–२ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार २७ साउनसम्ममा कोरोनाबाट यो प्रदेशमा कुल ३१ जनाको मृत्यु भएको छ। जसमध्ये पर्सामा मात्र १९ जनाले ज्यान गुमाएका छन्। भारत आवतजावत गर्ने प्रमुख नाका पर्साको वीरगञ्ज संक्रमणबाट बढी प्रभावित बनेको छ।
मन्त्रालयका अनुसार २७ साउनसम्ममा प्रदेश–२ मा पीसीआर परीक्षणका लागि ७० हजार ९७९ स्वाब संकलन भएकोमा अझै पाँच हजार एक सय जनाको नतिजा आउन बाँकी छ। अर्थात् यो प्रदेशमा हालसम्म ६५ हजार ८७९ जनाको पीसीआर परीक्षण भएको छ। २०६८ सालको जनगणना अनुसार प्रदेश–२ का आठ जिल्लाको जनसंख्या ५४ लाख चार हजार १४५ छ। यो तथ्यांकलाई आधार मान्दा यो प्रदेशमा कुल जनसंख्याको १.२१ प्रतिशतको मात्र पीसीआर परीक्षण भएको छ।
प्रयोगशाला विज्ञ द्रोण पाण्डे प्रदेश–२ मा कोरोना संक्रमण बढिरहेको अवस्थामा परीक्षण तीव्र पार्नुपर्ने बताउँछन्। उनी मुलुकभर नै कोरोनाको परीक्षण दर अन्य मुलुकको तुलनामा कम भएको बताउँछन्।
नेपालको कुल जनसंख्याको १.४ प्रतिशतमा मात्र कोरोना परीक्षण भएको छ। संयुक्त अरब इमिरेट्स (युएई) ले प्रति एक हजारमा ५३७ र भुटानले १ लाख जनसंख्यामध्ये आधामा कोरोना परीक्षण गरेको छ। नेपालको तुलनामा भुटानले पाँच गुणा र माल्दिभ्सले १० गुणा बढी कोरोना परीक्षण गरेको प्रयोगशाला विज्ञ पाण्डे बताउँछन्।
“देशभर कोरोना परीक्षणका ३० भन्दा बढी प्रयोेगशाला हुँदा सरकारले दैनिक आठ हजारभन्दा बढीको कोरोना परीक्षण गर्न नसक्नु विडम्बना हो”, उनी भन्छन्।
खुला सिमाना र स्वास्थ्यका कमजोर संरचना
प्रदेश–२ मा स्वास्थ्यका आधारभूत एवम् अत्यावश्यक पूर्वाधार तथा सेवाको कमीका कारण पनि नयाँ संक्रामक रोगसँग लड्ने क्षमता कमजोर देखिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार, यो प्रदेशमा ७४५ स्वास्थ्य चौकी, १६९ निजी स्वास्थ्य संस्था, ३२ प्राथमिक स्वास्थ्य केन्द्र र १३ सरकारी अस्पताल छन्।
यहाँका १९ प्रतिशत हेल्थपोष्टमा मात्र आफ्नै प्रयोगशाला सेवा छ। यस्तै, यो प्रदेशका जम्मा १४ प्रतिशत स्वास्थ्य संस्थाले मात्र न्यूनतम गुणस्तरीय सेवा दिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यहाँको खोप सेवा लिनुपर्ने जनसंख्यामध्ये ३५ प्रतिशतले अझै पनि सबै खालको खोप सेवा पाउन सकेका छैनन्।
प्रदेश–२ को साक्षरता दर ४९ प्रतिशत छ। केन्द्रीय तथ्यांक विभागका अनुसार यो प्रदेशका १०.५ प्रतिशत जनसंख्याले मात्र पाइपयुक्त धारा प्रयोग गर्छन् भने ८२ प्रतिशतले ट्यूबेल प्रयोग गर्छन्। यस्तै, त्यहाँका ७३ प्रतिशत घरधुरीसँग शौचालय छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी तराईमा अधिकांश साना घरहरुमा झ्याल नहुने भएकाले परिवारका कसैलाई भाइरस संक्रमण भइहाले अन्य सदस्यलाई छिटो सार्ने बताउँछन्। “झ्याल नहुँदा घरभित्रको हावा बाहिर जान पाउँदैन, यस्तो अवस्थामा एक जना संक्रमितले परिवारका अन्य सदस्यलाई भाइरस छिटो सार्न सक्छन्”, डा. मरासिनी भन्छन्।
ठूला घरमा झ्याल–ढोका बन्द गरेर एसी चलाउँदा पनि संक्रमित व्यक्तिबाट अरुमा भाइरस छिटो सर्ने उनी बताउँछन्। डा. मरासिनी कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश–२ मा स्थानीय भाषा अनुसार सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जनचेतना फैलाउनुपर्ने बताउँछन्।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय पर्सा लगायत प्रदेश–२ का जिल्लाहरुमा संक्रमण बढ्नुको मुख्य कारण खुला सिमाना भएको र भारतबाट आउनेहरुमा कोरोनाको संक्रमण बढी देखिएको बताउँछन्। उनी सीमावर्ती जिल्लाहरुमा आवतजावत रोक्न नसक्नु नै विडम्बना बनिरहेको बताउँछन्।
स्वास्थ्यका सीमित पूर्वाधारले पनि समस्या भइरहेको उनको भनाइ छ। डा. उपाध्याय भन्छन्, “प्रदेश २ मा धेरै संख्यामा संक्रमित राख्न सकिने आइसोलेसनको व्यवस्था नहुँदा अधिकांश संक्रमित घरमै बसेका छन्। उनीहरूले मापदण्ड कत्तिको पूरा गरेका होलान् र स्वास्थ्य अवस्था के छ भनेर पनि बुझ्न पाएका छैनौं।” संक्रमितले उपचार सेवा नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनी बताउँछन्।
जनस्वास्थ्य विज्ञ डा. रिता थापा प्रदेश–२ मा बन्दाबन्दी खुले लगत्तै उच्च दरमा संक्रमित देखिनुको कारण भारतबाट भएको निर्बाध आवतजावतलाई औंल्याउँछिन्। उनी भारतबाट आउनेहरुको बारेमा निगरानी गर्न टोली बनाउने र शंकास्पद बिरामी भेटिए सम्बन्धित स्थानीय तहमा खबर गर्ने प्रणाली बनाउनुपर्ने सुझाव दिन्छिन्।
“प्रदेश–२ लगायत अन्य ठाउँमा अझै पनि शंकास्पद बिरामी खोज्न स्थानीय स्तरमा प्रभावकारी काम हुनै सकेको छैन”, उनी भन्छिन्, “वडास्तरीय कन्ट्याक्ट ट्रेसिङको प्रणाली बलियो नभएका कारण नै कोरोनाले प्रकोपको रुप लिएको हो।”
प्रदेश–२ मा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा सिकिस्त बिरामीको उपचारका लागि अस्पतालहरूमा आईसीयू बेडसहित भेन्टिलेटर, अक्सिजन लगायत पूर्वाधार अत्यावश्यक हुन्छ। तर, यी सामग्री खरीदका लागि अगाडि बढेको टेन्डर प्रक्रिया नै रोकिएको छ।
अवरुद्ध खरीद प्रक्रिया
प्रदेश–२ को सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना संक्रमितको उपचार लगायत कामका लागि चाहिने ३६ थरीका स्वास्थ्य सामग्री किन्न गत ५ असारमा टेन्डर आह्वान गरेको थियो। खरीद गर्ने सामग्रीको सूचीमा ३० थान भेन्टिलेटर, १५० थान आईसीयू बेड लगायत छन्। तर, सामाजिक विकास मन्त्रालयले ती सामग्री खरीदका लागि बजेट फुकुवा नगरिदिंदा खरीद प्रक्रिया अवरुद्ध बनेको जनस्वास्थ्य प्रशासक श्रवणकुमार नायकले हिमालखबर बताए।
“अत्यावश्यक स्वास्थ्य सामग्री खरीदका लागि मन्त्रिपरिषद्ले स्रोतको सुनिश्चितता गर्न भने पनि मन्त्रालयले कार्यान्वयन नगरेपछि समस्या निम्तिएको छ”, उनले भने, “यस विषयमा मन्त्रालयलाई एक महीना अघि नै पत्राचार गरेका थियौं, अहिलेसम्म जवाफ आएको छैन।”
खरीदका लागि लागत स्टिमेट तोक्ने काम सामाजिक विकास मन्त्रालयका सचिवको भए पनि अहिलेसम्म प्रक्रिया अगाडि नबढाइएको नायकले बताए।