श्री ५ ले अन्माए, श्री ३ ले भित्र्याए
मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि हामीले कोट्याउँदा मुवाले अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि वहाँले ऊ वेला बच्चा जन्मने र सुत्केरी स्याहार्ने बारेका सम्झना सुनाउनुभएको छ। खासगरी वहाँको माहिला बुवालाई पुत्रलाभ हुनुअघि र पछिको भव्य माहोलको वर्णन वहाँकै शब्दमाः
केशरीराजको ‘शाही’ जन्म
मेरो माइलाबाबु (आफूबुवा, माहिला गुरुज्यू हेमराज पण्डित) को दुइटा स्वास्नी भए पनि छोराछोरी थिएनन्। तर, छोराछोरी त चाहिन्थ्यो। अनि फेरि अर्को बिहे गर्यो । बच्चा पाइहाल्छ कि भनेर अर्को बिहे खग कुमारीसित भएको थियो। उनी डिल्लीरमण रेग्मीकी दिदी थिइन्।
तर, उनलाई बडमुवाले भित्र्याएको होइन। ओहो ! श्री ५ बडामहारानी (राजा त्रिभुवनको आमा) ले दुल्हैको कन्यादान गरेकी, अनि श्री ३ महारानी (चन्द्रशमशेरकी कान्छी रानी) ले भित्र्याएकी। बच्चा हुनको लागि यसो गरेको। बिहे पनि नारायणहिटी दरबारबाटै भएको। अन्माउने, भित्र्याउने, सब दरबारमै गरेको। हामी केटाकेटीहरू सबै जना बिहे हेर्न गएका थियौं। कस्तो रमाइलो भएको थियो। खाना त राजारानीको घरको, मीठो हुने नै भयो नि!
उनले छोरो (बडागुरुज्यू केशरीराज पाण्डे) पाइदिइन्। आफूबुवालाई त हुनुभयो। बाफरेबाफ! छोरालाई छोएर हेर्ने। खुवाएन भनेर पनि हेर्न जाने। बच्चालाई छुने। अनि फेरि नुहाउन जाने।
सुत्केरी हुने बेलामा स्याहार्न मान्छे पनि थुप्रै राखेका थिए। बाहुनी धाई पनि राख्या थियो। पहिलाबाट नै दूध राम्रो छ कि छैन भनेर चेक गरेर छानेको।
यो पनि पढ्नुहाेस्– सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी
तेल–सेल लाउने सब राख्या थियो। बच्चा पाउने बेलामा सुँडिनीहरू पनि दरबारबाटै आएका थिए।
छोरो जन्मिएपछि त दुइटै दरबारबाट यत्ति सामान आयो कि तल चोकमा टन्न भएर, माथि ठूलो कौसीमा पनि टनाटन। अनि सब बुइँगलमा थन्क्याइयो लाइन लगाएर। त्यो सामान काइँली बजैको जिम्मा हुन्थ्यो। हामीलाई मसला जस्तो केही चाहियो भने काइँली बजैसित माग्थ्यौं।
सरकारले नै सुत्करी हुने बेलामा ‘यसरी यसरी पठाउनू’ भन्या रै’छ। अनि त सामान ठूल्ठूला गाडामा आउँथ्यो, ढोकाटोलमा। सुत्केरीलाई पनि सामान त्यत्तिकै, बच्चालाई पनि त्यत्तिकै। खाने चीजदेखि सारा। हामी त सामान देखेरै छक्क पर्यौं। हाम्रो काम त यता हेर्यो, उता हेर्यो, ‘ओहो, कत्ति आएको!’ भन्यो। त्यत्तिमै ठिक्क ।
बच्चालाई चाहिने सामान सबै थियो। छोराछोरी सुत्ने पलङ चाँदीको थियो। झुलना पनि थियो, चाँदीकै। आमालाई पनि पलङ थियो। तीन थरी त झुल थियो फरक फरक आकारका। सानो, अलि ठूलो, झन् ठूलो। सब सिएरै पठाएका।
थाङ्ना त कस्तो किसिमको बाफरेबाफ! एकदम असल अब्रुखको, अनि डम्बरकुमारीको पनि। त्यो पनि दुईतिरबाट चट्ट पारेर सिएको। डसना कोही कलेजी मखमलले मोडेको, कोही तीन तहको खोल भएको।
बच्चालाई त्यो वेला लाउन मिल्ने खालका लुगा पनि थियो। सब छापेको कपडाहरू। फरिया, सुरुवालदेखि जम्मै थियो। आमालाई पनि तीन तहको, चार तहको लुगा। गहना पनि कस्ता कस्ता। गज्जब गज्जबका खेलौना थिए। अनि सुनको कल्ली पनि थियो। कत्रो सोख !
सुत्केरीलाई चाहिने खाने मसलाहरू त प्याक–प्याक पारेर डालोभरि थियो। घिउ, तेल। पकाएको, नपकाएको खानेकुरा। फलफूल त्यत्तिकै।
पास्नीमा पनि धुमधामसित सामान आयो। दुवैपट्टिबाट। झन् बढी सामान। पलङसलङ सबै फेरि आयो। गहनाको त कुरै नगर। आमा र छोरा दुवैलाई त्यत्ति नै पठाए। पास्नी ढोकाटोलमै भाको थियो। दरबारका मान्छेहरू पनि आएका थिए बच्चालाई खुवाउन। महाराजाहरू सबै आएका। भोज धुमधामको थियो। कस्ता कस्ता परिकार।
पछि पछि पनि सामान आइरहन्थ्यो दरबारहरूबाट।
ढोकाटोलमा सुत्केरीको स्याहार धुमधाम
बच्चा जन्मनुअगाडि नै सामान तयारी पाथ्र्यौं। लुगाहरू बनाएर राख्या हुन्थ्यौं। थाङ्नासाङ्ना ठ्याक्क पारेर राख्या हुन्थ्यो। नरम सूती धोतीको थाङ्ना। थुप्रो थाङ्ना चाहिन्थ्यो नि, फेर्न। अनि थाङ्ना सकिएपछि, सुरुवाल लगाइदिने। डसना, दोलाइँ बनाएर राख्थ्यौं। छापेको डम्बरकुमारी कपडा किनेर सिउन दिन्थ्यौं।
बच्चालाई तोरीको तकिया चाहिन्छ। टाउको बिग्रन्छ भनेर तोरीको तकियामा सुताउनुपर्छ। त्यसमा सुतेपछि टाउको ठिक्क मिल्छ। गोलो।
बच्चालाई अलग्गै सुताउँथ्यौं। बच्चालाई सुताउने कोक्रामा नरम गरेर बनाएको डसना हालेको हुन्थ्यो। यसो डोरीले तानेर झुलायो। कोक्रामाथिबाट जालीवाल झुलले छोपिदियो। ‘हो बाबा ! हो बाबा !’ भन्यो, बच्चा एकैछिनमा सुतिहाल्थ्यो ।
पछि सानो खाटमा सुताउने। सुत्केरी कोठामा न्यानो होस्, हावा नछिरोस् भनेर भीत हालेको हुन्थ्यो। तीन तहको छापेको डम्बरकुमारीको भीत सुत्केरी र बच्चा सुत्ने वरिपरि टाँगेको हुन्थ्यो।
बच्चालाई पेटेभोटो लगाउने। अनि पटुका पनि। पटुका त राम्ररी, टप्प पारेर लगाइदिनुपर्छ, नत्र बच्चाको भुँडी फुल्छ।
बच्चालाई तेल लगाउने काम अलि सिपालु आइमाईले गर्थे। उहिलेका बूढीहरू जसले गरिसकेका थिए, जानीसकेका थिए, उनीहरूले अरूलाई तेल लगाउन सिकाउँथे। बच्चालाई सुताएर, रुवाई–रुवाईकन दिनको तीनचोटि तेल लगाउँथे। रुवायो भने बच्चाको फोक्सो ठूलो र बलियो हुन्छ भन्थे।
बिहानको घाममा तेल लगाउने। पछि मकलमा आगो बालेर सेकाउँदै पनि तेल लगाउने। तालुमा झ्याप–झ्याप गरेर तेल हालेर सेक्ने। हात, खुट्टा, पेट, चाक, सबतिर तेल लगाउँदै सेक्ने। पेट सेकाए वायु हुँदैन भन्थे। तेल मालिसपछि त छोराछोरी पनि सरक्क सुत्छ। त्यो बेला कस्तो सफा राम्रो तेल पाइन्थ्यो।
सुत्केरीको लागि तेल पकाउनुपथ्र्यो, मेथी, ज्वानो, के के फुराउँथे। ट्यामट्याममा नुहाइदिन्थे बच्चालाई। अनि पाउडर, गाजल लगाइदिन्थे। गाजल लगाए आँखा राम्रो हुन्छ भन्थे। त्यो गाजल पहिलेबाटै बनाएको हुन्थ्यो। चट्ट दियो माथि बत्ती बाल्ने टक्क छोपेर। अनि त्यहाँ जमेको कालोले गाजल बनाउने।
बच्चालाई दूध खुवाउन पहिले नै धाई राखिहाल्थे। मेरो भाइको लागि बाहुनी धाई राखेको थियो। हाम्रो लागि चाहिं ज्यापूनी वा अरु धाई हुन्थे।
पास्नीपछि नरम जाउलो खुवाउँथे। स्याहार्ने धाई भइहाले। बच्चा स्याहार्ने धाई भए तापनि थाङ्ना धुनको लागि छुट्टै मान्छे राखेको हुन्थ्यो।
बच्चालाई बदाम अनि अरू के के हो घोटेर चटाएर खुवाइदिन्थे। जाइफल चाहिं अलिकति मात्र घोट्नुपर्छ। त्यसले बच्चालाई एकदम फाइदा हुँदोरै’छ।
सुत्केरीलाई पनि तीन चोटि तेल लगाइन्थ्यो। मैले बल्लाम पाउँदा पनि तीन चोटि तेल लगाएँ। बिहान सबेरै, बीचमा, अनि फेरि बेलुका। दुई जना ज्यापूनीहरू भएर तेल लगाइदिन्थे। कोही आङमा, कोही खुट्टामा। कस्ता सिपालु थिए। सञ्चो हुन्थ्यो। मलाई त तीन महीना भन्दा बढीसम्म पनि तेल लाउँथे।
सुत्केरीलाई धुमधाम खुवाउँथे। पहिला नै पहाडबाट झिकाएर कालिज पालेर राखेको हुन्थ्यो। सुत्केरी भएपछि त्यै खुवाउँथे। शुरूशुरूमा कालिजको मासु, अनि अलिपछि खसीको मासु। घिउ हालेको मासुभात तीन चोटि। बीचबीचमा दूध पनि खुवाउँथे। बच्चालाई दूध खुवाउने धाईलाई पनि तीन छाक मासुभात मज्जाले खुवाउँथे। बाहिर राम्रो दूध किन्न पाइन्थ्यो, त्यो पनि। बच्चालाई त दूध चाहियो नि, त्यसैले।
सुत्केरी मसला गौरीले धुमधाम मीठो बनाउँथी। खुवा, मसला, औषधि, हलेदो, मेथी, के के हाल्ने मैले सबै लेखेर राखेको पनि थिएँ। गौरी असाध्यै सिपालु थिई। मसलाको लड्डु, गूँदको लड्डु सब बनाउँथी।
म सुत्केरी हुँदा पनि मासुको रस र भात खुवाए। तीन छाक नै। रस अलि धेरै, भात कम। अलि धेरै दूध आयो भने रस कम गर्ने। दूध कम भयो भने ज्वानोको रस खुवाउँथे। तितौरा पनि हुन्थ्यो। तरकारी अलिकति खुवाउँथे। दाल, रोटी दिन्नथे।
त्यो वेला सबै भिन्दै थियो बा ! सब कुरा रमाइलो लाग्थ्यो। पहिलाको जमाना राम्रो थियो। अहिलेको त भयंकर छ !
(किरणराज जोशी र रूपा जोशीसितको कुरामा आधारित)