हवाई उडान खुल्ने मिति सरेपछि ४ हजार टिकट फिर्ता गर्दै वायुसेवा कम्पनी
१ भदौदेखि उडान शुरु गर्नेगरी २६ साउनसम्ममा आन्तरिक वायुसेवाले १५ सय र अन्तर्राष्ट्रिय उडानको लागि कतार एयरवेज एक्लैले २५ सय गरेर कुल चार हजार वटा टिकट जारी भएका थिए ।
सरकारको पूर्ववत् निर्णयअनुसार १ भदौदेखि हवाई उडान नहुने भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाले धमाधम टिकट फिर्ता गर्न थालेका छन् । सरकारले ५ साउन २०७७ मा हवाई उडान १ भदौदेखि खुला गर्ने निर्णय गरेपछि करिब ५ महीनादेखि थलिएका वायुसेवा कम्पनी उत्साहित हुँदै टिकट नै जारी गर्न थालिसकेका थिए ।
तर, कोभिड–१९ को जोखिम झन् बढेकाले सरकारले २६ साउनको मन्त्रिपरिषद् बैठकबाट हवाई उडान १६ भदौदेखि मात्र खुला गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयपछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ साउन (विहीबार) सम्बन्धित वायुसेवा कम्पनीलाई जारी गरेको सूचनामा १ भदौका लागि तय भएका सबै उडान रद्ध गर्न र १६ भदौदेखि पुनः सुचारु गर्ने गरी पुर्नतालिकीकरण गर्न आग्रह गरेको छ ।
प्राधिकरणले यसअघि जारी भएको हवाई उडानको मिति परिमार्जन भएर १६ भदौदेखि भएकोले आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवालाई सोही अनुसारको उडान पुर्नतालिकीकरण गर्न आग्रह गरेको छ । यसअघि प्राधिकरणको अनुमति विना नै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाले टिकट जारी गर्न शुरु गरिसकेका थिए ।
१ भदौदेखि उडान शुरु गर्न आन्तरिक वायुसेवाले २६ साउनसम्ममा करिब १५ सय वटा र अन्तर्राष्ट्रिय उडानको लागि कतार एयरलाइन्सले करिब २५ सय वटा टिकट जारी गरिसकेका छन् । सरकारले उडान तालिका परिवर्तन गरेपछि बाध्य भएर यात्रुलाई टिकट फिर्ता गर्नु परेको कतार एयरलाइन्सले जानकारी दिएको छ । यो वायुुसेवाले सरकारले गरेको निर्णय अनुसार १६ भदौपछिलाई उडान समय सार्न वा पूरै टिकटको पैसा फिर्ता लिन पाउने गरी यात्रुलाई दुवै सुविधा दिएको छ ।
टिकट पुर्नतालिकीकरण गर्ने भन्दा फिर्ता लिने बढी
फेरि पनि उडान अनिश्चित भएको भन्दै टिकट पुर्नतालिकीकरण गर्ने भन्दा फिर्ता लिनेको संख्या बढी देखिएको वायुसेवा सञ्चालक संघको भनाइ छ। संघका प्रवक्ता योगराज शर्मा कँडेल प्रतिघण्टा ३५० जना यात्रु उडान गर्न पाइने अनुमानका आधारमा ११ प्रतिशत टिकट जारी भइसकेको बताउँछन्।
कँडेलका अनुसार हरेक वायुसेवाले दैनिक ३५ देखि ४० वटा टिकट जारी गरिसकेका थिए। १ भदौदेखि उडान नहुँदा अब त्यो टिकट फिर्ता गर्ने वा १६ भदौ पछिलाई सार्नुपर्ने भएको छ। यात्रुको चाहना अनुसार पूरै पैसा फिर्ता गर्ने वा समय सार्ने दुबै सुविधा दिइएको, सबै यात्रुको पैसा सम्बन्धित वायुसेवामै सुरक्षित रहेको र यात्रुको पैसा हराउने वा नपाउने भन्ने नभएकोले जहाँबाट टिकट काटेको हो त्यहीँबाट फिर्ता लिन सकिने कँडेल बताउँछन्।
यस्तै आन्तरिक उडानमा बुद्ध, यती, श्री, सिम्रिकसहितका वायुसेवाले करिब १५ सय वटा टिकट जारी गरेका थिए। यसमध्ये बुद्ध एयरले मात्रै ४ सय वटा टिकट जारी गरिसकेको थियो।
बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले उडान नहुने भएपछि पूरै पैसा फिर्ता दिने वा यात्रुको चाहना अनुसार पुर्नतालिकीकरण गरिदिन थालेको बताए। उनले भने ‘‘कोभिडको संक्रमण बढ्दै गएको र जोखिम न्युनीकरणको उपाय खोज्नुपर्ने हुँदा १६ भदौदेखि पनि उडान हुने निश्चित छैन, जसले गर्दा उडान तालिका परिवर्तन गर्ने भन्दा पनि टिकट फिर्ता नै लिनेको संख्या बढेको छ।’’
यात्रुको सुविधा र उडान सुनिश्चित गर्न टिकट जारी भएको भएपनि अब सारिएको नयाँ मितिबाट पनि सेवा शुरु हुन्छ भन्ने आधार नभएको श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धर बताउँछन्। उनले भने ‘‘श्री एयरले दैनिक आठ वटा गन्तव्यमा उडान गर्ने गरी करिब ५०० वटा टिकट जारी गरिसकेको थियो । उक्त टिकट अब फिर्ता गर्ने वा पुर्नतालिकीरण गर्ने बाहेकको विकल्प हामीसँग छैन ।’’
१ भदौदेखि खुल्ने भनेर सरकारले निर्णय गरेपछि त्यसपछिको एक सातालाई काठमाडौंबाट बाहिरिनेको तुलनामा भित्रिने यात्रुको चाप उल्लेख्य आइसकेको सिम्रिक एयरका बजार प्रवन्धक प्रज्वल थापा बताउँछन् । थापा भन्छन्, ‘‘सबै वायुसेवाले आ-आफ्नो क्षमता अनुसार टिकट बुकिङ तथा जारी गरेका थिए । ती सबै टिकट अब १५ दिनपछिलाई सार्नुपरेको छ ।’’
याे पनि पढ्नुहाेस्: स्वीकृति विनै वायुसेवाले बेच्न थाले अन्तर्राष्ट्रिय उडानकाे टिकट, १ भदौदेखि खुल्ने उडानबारे अझै अन्योल
यती एयरलाइन्सका प्रवन्धक तथा प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उडान अनिश्चित हुन थालेकोले यसअघि बुकिङ गरेका र टिकट लिइसकेकाले फिर्ता लिन रुचाउने धेरै छन्। उनले भने ‘‘यतीले जारी गरेको ३२७ वटा टिकटमध्ये ५ प्रतिशतभन्दा कमले मात्रै पुर्नतालिकीकरण गर्न चाहेको र बाँकी सबैले फिर्ता नै मागेका छन्।’’ यात्रुको चाहना अनुसार यतीले टिकट फिर्ता र १६ भदौ पछिलाई सार्ने दुबै सुविधा दिएको बर्तौलाले बताए।
वायुसेवा सञ्चालक संघ नेपालले भने आगामी १६ भदौदेखि हवाई उडान खुला नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार १६ भदौदेखि उडान खुला नभए आन्दोलनमा जाने २८ साउनमा जारी संघको विज्ञप्तिमा उल्लेख छ ।
संघले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा मापदण्डलाई ध्यानमा राखेर उडान शुरु भएकोले नेपालमा पनि खुला गर्नुपर्ने माग गरेको हो। विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको मापदण्डलाई पालना गरेर हवाई उडान सञ्चालन गर्नुपर्ने माग वायुसेवा सञ्चालक संघको छ । वायुसेवा कम्पनी आवश्यक सुरक्षा मापदण्ड पालना गरेर हवाई उडान सञ्चालन गर्न तयारी अवस्थामा पुगिसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
टिकट काट्दा नगद फिर्ता लिन १५ दिन
हवाई यात्रुले नगद तिरेर काटेको टिकट फिर्ता लिन भने निवेदन दिएको १५ दिनसम्म पर्खनुपर्ने हुन्छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानका वायुसेवाको टिकट फिर्ता लिन कम्तिमा ७ दिनदेखि १५ दिनसम्म लाग्ने गर्छ । यात्रुले टिकट फिर्ताको लागि निवेदन दिएपनि आवश्यक प्रक्रिया पुर्याउँदैमा समय लाग्ने वायुसेवा सञ्चालकहरु बताउँछन्।
वायुसेवा कम्पनीबाट सीधै काटेको टिकट फिर्ता लिन सजिलो र छिटो हुने भएपनि ट्राभल एजेन्सी र मोवाइल वालेटबाट काटेको टिकटको लागि भने आवश्यक प्रक्रिया पुर्याउनुपर्छ।
एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबाहादुर खड्काका अनुसार वायुसेवा कम्पनीलाई हरेक एक सातामा टिकटको पैसा बुझाउनुपर्छ। यात्रुले टिकट फिर्ता मागेको अवस्थामा फेरि वायुसेवा कम्पनीमार्फत नै माग्नुपर्ने भएकोले १५ दिन लाग्ने खड्का बताउँछन्।
उनका अनुसार आन्तरिक र बाह्य दुबै उडानको टिकट फिर्ता लिँदा आवश्यक प्रक्रिया पुर्याउनुपर्ने भएकोले नगदमा काटिएको टिकटको पैसा फिर्ता लिन भने सबैजसो यात्रुले १५ दिन पर्खनुपर्ने हुन्छ। सामान्य अवस्थामा सेवा शुल्क लिएर मात्रै फिर्ता र समय सार्ने गरिएको भएपनि अहिले सबै वायुसेवाले पूरै फिर्ता गर्ने र निःशुल्क पुर्नतालिकीकरण गरिदिएका छन्।
वालेटको प्रयोग गरेर लिएको टिकट पनि आवश्यक प्रक्रिया पुर्याएर सम्बन्धित वायुसेवाबाटै पैसा फिर्ता लिनुपर्छ । इसेवाका सीओओ सुवास सापकोटाका अनुसार यात्रुले टिकटको पैसा फिर्ता लिनुपर्दा वा समय सार्नुपरेमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । त्यसपछि आवश्यक प्रक्रिया पुर्याएर फिर्ता लिनुपर्ने सापकोटा बताउँछन् । बन्दाबन्दीपछि खुला हुने हवाइ टिकटको लागि इसेवाले मात्रै करिब ३०० वटा टिकट बिक्री गरेको छ ।
याे पनि पढ्नुहाेस्: १ भदौदेखि खुल्ने आन्तरिक हवाई सेवामा दैनिक ४८ उडान, कुन वायुसेवालाई कति ?