सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. नक्शा प्रकरण : यस कारण वार्ताबाट भाग्न सक्दैन भारत
नेपालले वार्ताका लागि लिखित रूपमा गरेको आग्रहलाई भारतले कहिले ‘कोभिड–१९ को संकटपछि’ त कहिले ‘नेपाली राजनीतिक नेतृत्वले वातावरण बनाएपछि’ भन्ने शर्त राखेपछि नेपालले जे गर्नुपर्थ्यो, त्यही गरेको छ। अर्थात् आफ्नो सेना बस्दाबस्दै पनि भारत स्वयमले विवादित भनेर स्वीकार गरिसकेको नेपाली भूमिलाई समेटेर नेपालले आफ्नो नक्शा जारी गरेको छ। नक्शा प्रकरण सुल्झाउन वार्ताको आग्रह टार्दै नेपाललाई आफ्नो भूमि समेटेर नक्शा जारी गर्ने अवस्थामा पुर्याएको भारतले यो समस्याको समाधानका लागि वार्ताको टेबुलमा बस्नुको विकल्प छैन।
– विष्णु रिजालको विचार।
२. जब थिम्पुमा गुञ्जियो– मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ !
भूटानबारे नेपालीको एउटा धारणा समान छ, ‘नेपालीभाषीलाई खेदाउने देश ।’ सन् १९९० मा केही नेपालीभाषीहरूको आन्तरिक विद्रोहपछि लखेटिएका भूटानी भारत हुँदै नेपाल आए । ती पूर्वी नेपालमा शरणार्थी भएर बसे । तिनै शरणार्थी पछिल्लो समय अमेरिका, क्यानाडा लगायत तेस्रो मुलुक पुगेका छन् । तर, भूटान पुगेपछिको फरक अनुभव बारे रामचन्द्र अधिकारीको यात्रा संस्मरण।
३. खोज: सरकार नै मान्दैन सर्वोच्चको आदेश, २४ वर्षसम्म भएन कार्यान्वयन
‘न्याय पाउन अदालत जान्छु’ भन्ने सोचमा हुनुहुन्छ ? सार्वजनिक सरोकारका मामिलामा सर्वोच्च अदालतले दिएका आदेशहरू सरकारका मन्त्रालय, विभाग र कार्यालयले कार्यान्वयन नै गर्दैनन् । २५ वर्ष यताका यस्ता आदेशहरूको लेखाजोखा ।
–एकल सिलवालले खोज पत्रकारिता केन्द्रका लागि तयार पारेको सामग्री ।
४. कैलालीको क्वारेन्टिनमा भएको सामूहिक बलात्कार
कैलालीको लम्कीचुहा नगरपालिकाको शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी महिलामाथि शनिबार राति सामूहिक बलात्कार भयो। क्वारेन्टिनमा खटाइएका स्वयंसेवक र स्वास्थ्यकर्मीले नै बलात्कार गरेको आरोप पीडितले लगाएकी छन्। क्वारेन्टिनमा बलात्कारको घटनापछि लम्कीचुहामा 'होम क्वारेन्टिन' को योजना बनाएको बारे उन्नती चौधरीले तयार पारेको सामग्री। साथमा पीडितको आवाज 'क्वारेन्टिनमा ममाथि जबर्जस्ती गर्नेहरुले उन्मुक्ति नपाऊन्'
५. मुद्दा चलिरहँदा पक्राउ परेका अन्जन केसीसहित ६ पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई सर्वोच्चको सफाइ
सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोपमा राज्य विरुद्धको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ५ खेलाडी र एकजना अफिसियल चिकित्सकलाई सफाइ दिएको छ। न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले पूर्वकप्तान सागर थापा र खेलाडीहरू सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र चिकित्सक डेजिव थापालाई विशेष अदालतको फैसला सदर गर्दै सफाइ दिएको हो। –दीपक खरेलको रिपोर्ट।
६. चीन र भारतबीच गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । भारततर्फ २० जना सैनिकको मृत्यु भएको छ भने अझै थुप्रै क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । झडपमा ४३ चिनियाँ सैनिक हताहत भएको भारतीय पक्षको दाबी छ । यसअघि यस घटनामा लद्दाखको गलवान भ्यालीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको खबर सार्वजनिक भएको थियो।
७. 'डेक्सामेथासोन' कोरोना संक्रमितको जीवन बचाउने औषधि प्रमाणित
कोरोनाभाइरसको संक्रमणबाट सिकिस्त बिरामी भएका व्यक्तिहरूको जीवन बचाउन कोर्टिको स्टोरोइड समूहमा पर्ने डेक्सामेथासोन औषधि उपयोगी हुने विवरणहरू सार्वजनिक भएका छन् । बीबीसीका अनुसार डेक्सामेथासोन कोरोनाभाइरसका सिकिस्त बिरामीको उपचारका लागि जीवन बचाउने पहिलो औषधिको रुपमा प्रमाणित भएको छ। थप, कोभिड–१९ विरुद्धको खोप: अझै कति समय पर्खनु पर्ला ? – डा. राजीवमणि नेपालको विचार ।
८. ‘सेतो हात्ती’ बन्ने जोखिममा फास्ट ट्र्याक
फास्ट ट्र्याक आयोजना निर्माणले गति नलिए पनि प्रस्तावित लागत एक दशकमा झण्डै तीन गुणा बढेर करीब रु. १ खर्ब ७५ अर्ब पुगिसकेको छ । डलरको मूल्यवृद्धि, निर्माण सामग्रीको बढेको भाउ लगायतका कारण हरेक वर्ष आयोजनाको लागत बढ्दै जानु स्वाभाविक भए पनि प्रतिस्पर्धाविना निर्माण व्यवस्थापनको जिम्मा दिइएकाले आयोजनाको प्रस्तावित लागत अस्वाभाविक रुपमा बढेको जानकारहरु बताउँछन् । काठमाडौंलाई तराईसँग जोड्न प्रस्तावित फास्ट ट्र्याकको लागत र समय दुवै बढेर यो आयोजना सेतो हात्ती अर्थात् धान्नै नसक्ने महँगो बन्ने जोखिम देखिएको छ। –रमेश कुमारको रिपोर्ट।
९. निस्फिक्री सास फेर्ने हाम्रो चाहना
सास फेर्न गाह्रो भई स्वाँ-स्वाँ गरिरहेका जर्ज फ्लोइडको भिडियोले नेपाल, अमेरिकासहित विश्वभरका थुप्रै जनालाई जस्तै मलाई पनि स्तब्ध बनायो। जुन घटनामा चार प्रहरीले फ्लोइडको अधिकारको हनन् गर्दै थिए र एक जनाको घुँडाले उनको घाँटीमा कसिलो गरी थिचेको थियो । फ्लोइडको मृत्युबाट उत्पन्न विरोध तथा हिंसाका दृश्यहरूबाट उक्त स्तब्धताको मात्रा बढेको छ । तिनले विगत वर्षमा अश्वेत अमेरिकी नागरिकका हत्या शृङ्खलाप्रति अमेरिकाको आक्रोश प्रतिविम्बित पनि गरेका छन् । यी घटना अमेरिकी नागरिकका निम्ति अत्यन्त झस्काउने किसिमका छन्। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको विचार ।
साथमा जर्ज फ्लोइड र नवराज विक हत्यापछि उठाइएका जातीय प्रश्न बारे कृष्ण वाग्लेको विचार।
१०. तपस्वी बमजनलाई समाउने प्रहरीको अर्को ‘मिस फायर’
हत्या, व्यक्ति बेपत्ता र जबर्जस्ती करणी मुद्दामा प्रहरीको सर्वाधिक खोजीमा रहेका आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बमजन बिहीबार समेत उम्किन सफल भएका छन् । चार महीनापछि प्रहरीले गरेको दोस्रो निशाना समेत ‘मिस फायर’ भएको हो । –दीपक खरेलको रिपोर्ट।
११. शुरु भयो मनसुन, विपत्बाट यसरी बचौं
प्राकृतिक विपतका हिसाबले हामी संसारकै उच्च जोखिमको सूचीमा छौं । सानो मुलुक भए पनि समुद्री आँधीबाहेक अन्य सबै प्रकारका प्राकृतिक विपतको हामीले सामना गर्नुपर्छ । हरेक मनसुनमा बाढीबाट औसत १००, पहिरोबाट १०० र पानीजन्य झाडापखालाबाट हजारौंको मृत्यु हुन्छ । यस वर्षको मनसुन ३० जेठबाट शुरू भएको छ । मनसुन भन्ने वित्तिकै वर्षा र बाढी मात्र बुझ्नुहुँदैन । यसबाट हुने विपत्लाई तीन समूहमा विभाजन गर्नुपर्छ । पहिलो बाढी, दोस्रो पहिरो र तेस्रो पानीजन्य रोगहरू। – राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलका सुझाव।
१२. डाइपर लगाएर काम गर्छन् काेराेना प्रयाेगशालाका प्राविधिक
कोरोनाभाइरस परीक्षणमा खट्ने स्वास्थ्यकर्मीले पीपीई लगाएर ड्यूटी गरुन्जेल शौचालय जान नमिल्ने भएकाले कोही पानी कम खान्छन् भने कोही भने डाइपर लगाउँछन्। महीनावारीका वेला महिलाहरुले लामो समय प्याड नफेरी काम गर्नुपर्ने बाध्यता छ। तर, स्वास्थ्यकर्मीको यो समस्या सहज बनाउन सरकारी निकाय पनि गम्भीर देखिन्न । - लक्ष्मी बस्नेतको बिशेष रिपोर्ट ।
१३. महामारीको ‘महासंकट’ भोग्दै सञ्चार क्षेत्र
कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश सञ्चारगृह अहिले मात्र ‘टिक्ने’ संघर्षमा छन् । यसका लागि सञ्चारमाध्यमहरु प्रकाशन प्रशारण स्थगन गर्नेदेखि आकार र अवधि घटाउने तथा मानवस्रोत र पहुँच सीमित गर्न बाध्य छन् । जुन, मुलुकको लोकतान्त्रिक यात्रामा रोकावट बन्नसक्छ। –राजु बास्कोटाको रिपोर्ट।
१४. 'मान्छे त मारिसके, न्याय पनि मार्छन् कि?'
जवान छोरो गुमाएको पीडामा रहेका मुनलाल र उर्मिला बिकसँगै जाजरकोटको सिंगो रानागाउँ यतिवेला न्यायको पर्खाइमा छ। गएको १० जेठमा रुकुम पश्चिमको सोतीगाउँमा प्रेमिका लिन गएका नवराज बिक आफ्ना पाँचजना साथीसँगै जातीय विभेदको शिकार बनाइए । अहिले भेरीमा विलीन गराइएका तिनै नवराजसहित ६ जनाको न्यायको लागि लडिरहेको छ, सिंगो रानागाउँ। –शुष्मा बरालीको रिपोर्ट।
प्रहरीले प्रारम्भिक अनुसन्धान सकेर ३४ जना विरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दर्ता गरेर आजीवन कारावास सजायको माग गरेको छ । गृहमन्त्रालयले रुकुम घटनाको छानबिनका लागि गठन गरेको सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा वडाध्यक्षले नै फोन गरेर गाउँले भेला पारेको उल्लेख गरिएको छ। अधिकारकर्मीहरूले पनि पश्चिम रुकुमको चौरजहारी पुगेर गरेको अध्ययनबाट हत्याकाण्डको मूलकारण जातीय विभेद नै रहेको निष्कर्ष निकालेका छन् ।