क्वारेन्टिनमा बलात्कारको घटनापछि लम्किचुहामा 'होम क्वारेन्टिन' को योजना बनाइँदै
उन्नती चौधरी, कैलाली
कैलालीको लम्किचुहा नगरपालिकाले महिलाको सुरक्षालाई ध्यानमा राख्दै भारतबाट फर्कनेहरुलाई अबदेखि घरमै क्वारेन्टिनमा राख्ने योजना बनाएको छ।
लम्किचुहा नगरपालिका-१ को शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी एक महिलाको गएको ३१ जेठमा सामूहिक बलात्कार भएपछि होम क्वारेन्टिनको योजना बनाइरहेको मेयर महादेव बजगाईंले बताए। घटनाबारे बुझ्न मंगलबार स्थलगत अवलोकनमा गएका दलित महिला अधिकार मञ्च नेपालका पदाधिकारीहरुसँग भएको संवादमा मेयर बजगाईंले यस्तो बताएका हुन्।
मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले क्वारेन्टिनमा भएको घटनाप्रति निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको माग समेत गरिन्। उनले पीडित महिलाको पुनर्स्थापनासँगै हाल क्वारेन्टिनमा बस्दै आएका महिलाहरुको सुरक्षा व्यवस्थाबारे चासो राखेकी थिइन्।
मेयर बजगाईंले क्वारेन्टिनमा बसेका नागरिकको सुरक्षाको लागि खटाइएकाहरुबाटै गल्ती भएपछि महिलाहरुको सुरक्षालाई ध्यानमा राख्दै अबदेखि भारतबाट फर्केकाहरुलाई न्यूनतम मापदण्ड तोकेर होम क्वारेन्टिनमा राख्ने योजना बनाइरहेको बताए।
बजगाईंका अनुसार, लम्किचुहा नगरपालिकाका ३६ वटा क्वारेन्टिनमा हाल १ हजार ६१५ पुरुष र ३२९ महिला बसिरहेका छन्।
सामूहिक बलात्कारको घटनाका अभियुक्त किशोर परियार, लक्ष्मण परियार र सर्जन विकलाई कैलाली प्रहरीले पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको छ।