चीन र भारतबीच गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको दाबी
भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको जनाइएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल इन्डिया टूडेले उल्लेख गरे अनुसार भारततर्फ २० जना सैनिकको मृत्यु भएको छ भने अझैं थुप्रै क्षति भएको हुन सक्ने अनुमान गरेको छ।
यसअघि भारतीय सञ्चारमाध्यमहरूले नै झडप भएको र तीन भारतीय सैनिकको मृत्यु भएको बताएका थिए।
भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति भिडन्त भएको थियो।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ भने भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेकाले विवाद भएको चीनको भनाइ छ।
चिनियाँ विदेश मन्त्रालयले घटनामा प्रतिक्रिया दिँदै भनेको छ, "चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो।"
विगत लामो समयदेखि भारत र चीनबीच सीमामा तनाव हुँदै आएको भएपनि झडपमा २० जनाको मृत्यु भएको यो पहिलो घटना हो।
भारत र चीनबीच सन् १९६२ मा भएको युद्धमा भारत पराजित भएको थियो। सो समयदेखि भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आरोप लगाउँदै आइरहेको छ।
पटकपटक भारतीय चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा झडपहरू भइरहेको भएपनि वार्ताबाट समाधान निस्कन सकेको छैन ।