चौरजहारी घटनामा ३४ जना विरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दर्ता, आजीवन कारावास सजायको माग
प्रविर ददेल, रुकुम
रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता गरिएका मध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ।
मुद्दा दर्ता गराइएका ३४ जना मध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन्।
गएको १० जेठमा रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ सोतीका स्थानीयहरुको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।
घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो।
घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन्।