लद्दाखको गलवान भ्यालीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। भारत र चीनको सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
गलवान क्षेत्रमा तनाव हुने भएपछि भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको भारत सरकारले जनाएको छ।
घटनाका विषयमा चिनियाँ पक्षले भने भारतीय सैनिकहरूले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।
सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ भने भारतीय सेना चिनियाँ क्षेत्रमा प्रवेश गरेकाले विवाद भएको चीनको भनाइ छ।
चिनियाँ विदेश मन्त्रालयले घटनामा प्रतिक्रिया दिँदै भनेको छ, "चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो ।"
विगत लामो समयदेखि भारत र चीनबीच सीमामा तनाव हुँदै आएको भएपनि झडपमा तीन जनाको मृत्यु भएको यो पहिलो घटना हो।
भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको युद्धमा भारत पराजित भएको थियो। सो समयदेखि भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आरोप लगाउँदै आइरहेको छ।
पटकपटक भारतीय चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा झडपहरू भइरहेको भएपनि वार्ताबाट समाधान निस्कन सकेको छैन ।