रुकुम घटनाः वडाध्यक्षले नै फोन गरेर गाउँले भेला पारेको खुलासा
गृहमन्त्रालयले रुकुम घटनाको छानबिनका लागि गठन गरेको सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको समितिले घटनाका मुख्य योजनाकार वडाध्यक्ष रहेको प्रतिवेदन मन्त्रालयमा बुझाएको छ।
छानबिन समितिको अनुसन्धानमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले गलत सूचना दिएर युवाहरुलाई भेला पारेको खुलेको हो।
गृहको प्रतिवेदनमा वडाध्यक्ष मल्लले बन्दाबन्दीको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे, तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा मुख्य आरोपीहरुलाई फोन गरेर बोलाएको उल्लेख छ।
मल्लले प्रयोग गर्ने मोबाइल नम्बर ९८४८९६९७३३ बाट आरोपीहरु टोपबहादुर मल्लको ९८४२३५३०२५, मानबहादुर मल्लको ९८६६८६८९६८ र नेत्रबहादुर मल्लको ९८४१५३७६७३ नम्बरमा सम्पर्क गरी गाउँलेहरुलाई भेला गराएका थिए।
प्रतिवेदनमा वडाध्यक्ष मल्लले गाउँलेहरुलाई एकीकृत गराई मृतक नवराज बिकसहितलाई नियन्त्रणमा लिन गाउँलेहरुलाई उत्प्रेरित गरेको, गोइरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना दिएर बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारेको आरोप लगाइएको छ।
मल्लले गाउँका मानिसहरुको भेला जम्मा गरी झण्डै ४ किलोमिटर टाढा गइसकेका पीडितहरुलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी नवराज बिक, समेतका ६ जना व्यक्तिहरुको ज्यानै लिनेसम्मको परिस्थिति सिर्जना गरेको आरोप लगाइएको छ ।
प्रतिवेदनमा मल्ललाई जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन, २०६८ को दफा ७ को उपदफा २९१० बमोजिम थप सजाय माग गरिएको छ।
रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको थियो।
मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछूत कसुरमा मुद्दा दर्ता गरेको छ।