कोरोनाभाइरसको संक्रमणबाट सिकिस्त बिरामी भएका व्यक्तिहरूको जीवन बचाउन कोर्टिको स्टोरोइड समूहमा पर्ने डेक्सामेथासोन औषधि उपयोगी हुने विवरणहरू सार्वजनिक भएका छन्।
बीबीसी न्यूजका अनुसार डेक्सामेथासोन कोरोनाभाइरसका सिकिस्त बिरामीको उपचारका लागि जीवन बचाउने पहिलो औषधिको रुपमा प्रमाणित भएको छ।
बेलायतका विज्ञहरूको भनाइलाई उद्धृत गर्दै बीबीसीले उक्त औषधिको कम डोजले पनि कोरोना संक्रमित बिरामीको उपचारका लागि उपयोगी हुने जनाएको छ।
बेलायतमा भएको विश्वकै सबैभन्दा ठूलो ड्रग ट्रायलबाट उक्त कुरा प्रमाणित भएको हो। बेलायतको अक्सफोर्ड विश्वविद्यालयको समूहले उक्त औषधिमाथि ट्रायल गरेको थियो ।
अस्पतालमा भर्ना भएका दुई हजार बिरामीमाथि डेक्सामेथासोन औषधि दिइएको थियो र उनीहरूलाई डेक्सामेथासोन औषधि नदिइएका चार हजार बिरामीसँग तुलना गरेर हेरिएको थियो।
कोरोनाका भेन्टिलेटरमा राखेर उपचार गरिरहेका बिरामीहरूमा डेक्सामेथासोन औषधि दिंदा ज्यान जाने जोखिम ४० प्रतिशतबाट २८ प्रतिशतमा झार्ने बीबीसीले उल्लेख गरेको छ।
यस्तै अक्सिजनको आवश्यकता पर्ने कोरोनाभाइरस संक्रमित बिरामीहरुमा डेक्सामेथासोन औषधि दिंदा मृत्युको जोखिम २५ बाट २० प्रतिशतमा झार्ने बताइएको छ।
अनुसन्धानमा सहभागी प्राध्यापक पिटर हर्वे भन्छन्, “यो हालसम्मकै एक मात्र औषधि हो, जसले कोरोनाभाइरस संक्रमितको मृत्युदर घटाउने देखिएको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो।”
डेक्सामेथासोन विश्वका अधिकांश मुुलुकमा सहज रुपमा सस्तो मूल्यमा उपलब्ध सुई र ट्याब्लेटको रुपमा उपलब्ध औषधि हो।
यो औषधि अहिलेसम्म छालासम्बन्धी रोग, घुँडा सुन्निएको समस्या, रगतमा सुगरको मात्रा बढाउने प्रयोजनमा, श्वासप्रश्वास सम्बन्धी समस्या भएमा र केही क्यान्सर रोगको उपचारमा प्रयोग हुँदै आइरहेको छ।
नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार नेपाली औषधि कम्पनीहरुले विदेशबाट कच्चा पदार्थ ल्याएर डेक्सामेथासोन औषधि उत्पादन गर्दै आइरहेका छन्।
दाहालले नेपाली कम्पनीहरूले चाहिए जतिको परिमाणमा डेक्सामेथासोन औषधि उत्पादन गरिरहेको र आवश्यक परे उत्पादन बढाउन सक्ने बताए।
“बजारमा यो औषधिको अभाव छैन” उनी भन्छन्, “हामीलाई चाहिएको जतिको औषधि कम्पनी र बजारमा उपलब्ध छ।”
उनका अनुसार ट्याब्लेटमा पाँचदेखि १० मिलिग्राम र इन्जेक्सनका लागि ४ मिलिग्रामसम्मको डेक्सामेथासोन औषधि नेपाली बजारमा उपलब्ध छ।