सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोपमा राज्य विरुद्धको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ५ खेलाडी र एकजना अफिसियल चिकित्सकलाई सफाइ दिएको छ।
न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले पूर्वकप्तान सागर थापा र खेलाडीहरू सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र चिकित्सक डेजिव थापालाई विशेष अदालतको फैसला सदर गर्दै सफाइ दिएको हो।
विशेष अदालतले २४ जेठ २०७५ मा उनीहरुलाई निर्दोष ठहरगर्दै फैसला गरेको थियो । जसका विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौं सर्वोच्च अदालत गएको थियो।
सर्वोच्चले मंगलबार गरेको फैसलामा अन्जन केसीले समेत सफाइ पाएका छन् । केही समयपछि पनि १५ जेठ २०७५ मा सट्टा खेलाएको आरोपमा पक्राउ परेका थिए। उनीसहित गौरव तिवारी लगायतलाई अन्तर्राष्ट्रिय खेलमा सट्टा खेलाएको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो।
महानगरीय अपराध महाशाखाले असोज २०७२ मा उनीहरुलाई अन्तर्राष्ट्रिय खेलहरुमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ गरेर कारबाही थालेको थियो । त्यतिबेला प्रहरीले विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा प्रति खेल जनही ५ हजार अमेरिकी डलर लिई हार्ने गरेको अनुसन्धानबाट खुलेको सार्वजनिक गरेको थियो।
यो पनि:
तत्कालीन महाशाखा प्रमुख सर्वेन्द्र खनाल (महानिरीक्षकबाट अवकाश) ले पत्रकार सम्मेलनमा अन्जन केसी, बिकाससिंह क्षेत्री, सागर थापा, रितेश थापा, सन्दिप राईलाई सोधपुछ गर्दा समेत विभिन्न देशहरुमा भएका अन्तर्राष्ट्रिय स्तरको फुटबल खेलमा म्याच फिक्सिङ् गरी नेपाली फुटबल टीमलाई हराई रकम लिने गरेको बताएका थिए।
प्रहरी अनुसन्धानमा राष्ट्रिय फुटबल टीमका खेलाडी रितेश थापा र पूर्व राष्ट्रिय खेलाडी अन्जन केसीले नेपाली राष्ट्रिय फुटवल टीमको अन्तर्राष्ट्रिय खेलहरु भएको समयमा विभिन्न देशहरुबाट वेष्टर्न युनियन र साइबर मनीबाट नेपाली रकम प्राप्त गरेको भेटिएको थियो।
सन् २००८ अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने शर्तमा प्रति खेलाडीहरुले अमेरकी डलर ५ हजार लिएको, सन् २००९ को साफ च्याम्पियनशिपमा जम्मा ३०६१ अमेरिकी डलर लिई दामासाहीमा बाँडेको, सन् २०११ मा मलेशियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने शर्तमा निजहरुले प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको देखिएको पनि विज्ञप्तिमा उल्लेख छ।
यो पनि
त्यस्तै सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपूर्ण खेलमा ४–० ले हार्ने शर्तमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको, सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिने गरी शर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको अनुसन्धानमा खुलेको थियो।
सन् २०१४ मा कोरियामा भएको यू २३ एशिया च्याम्पियनशिप हार्ने शर्तमा उनीहरुले प्रति खेलाडीले ५ हजार अमेरिकी डलर लिएको पनि अनुसन्धानबाट खुलेको प्रहरीको दाबी थियो।