क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको प्रदेश संसदमा विरोध
उन्नति चौधरी, कैलाली
कैलालीको एउटा क्वारेन्टिनमा महिलामाथि भएको सामूहिक बलात्कारको घटनाको चौतर्फी विरोध भएको छ। सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सांसदहरूले क्वारेन्टिनको व्यवस्थापनप्रति प्रश्न उठाउँदै दोषीलाई कारबाहीको माग गरेका छन्।
सुदूरपश्चिम प्रदेशको छैठौ अधिवेशनको १५ औं बैठक (बजेट वक्तव्य) मा बोल्दै प्रदेश सांसद पूर्ण जोशीले लम्कीचुहा नगरपालिका १ को क्वारेन्टिनमा महिलामाथि भएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको बताइन् । उनले घटनाको सत्यतथ्य छानविन गर्न प्रदेश सरकारसँग आग्रह समेत गरिन्।
लम्कीमा घटना दुखद भएको भन्दै उनले सुदूरपश्चिमका हरेक क्वारेन्टिन अव्यवस्थित भएकाले सुरक्षा व्यवस्थापन गर्न माग गरिन् । महिलाहरूलाई हेर्ने, जिस्क्याउने जस्ता काम क्वारेन्टिनभित्रै भइरहेकाले प्रदेश सरकार तत्काल महिलाहरूको लागि छुट्टै क्वारेन्टिन वा होम क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने माग उनले राखिन्।
यस्तै प्रदेश सांसद कुमारी नन्द बमले न्यूनतम मापदण्ड विनाका क्वारेन्टिनमा महिलाहरू असुरक्षित तरिकाले राख्नु व्यवस्थापन पक्षको ठूलो कमजोरी रहेको बताइन्।
उनले क्वारन्टिनमा बस्दै आएकाहरूको सेवामा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकले महिलामाथि जुन व्यवहार गरे त्यो माफी दिन लायक नरहेको भन्दै कडा सजायको माग गरिन्।
यस्तै प्रदेश सांसद रतन थापाले सुरक्षाको लागि खटाएको व्यक्तिले यस्तो घटना घटाउनु दुखद रहेको भन्दै घटनालाई ढाकछोप गर्नेमाथि पनि अनुसन्धान हुन जरुरी रहेको बताए।
उनले लम्कीचुहा नगरपालिका वडा नं. १ मा एक महिला क्वारेन्टिन भित्रै बलात्कर हुँदा नगरपालिकाका मेयर उपमेयरको मोबाइल अफ हुन र, कर्मचारीहरूले फोन नउठाउनुको पछाडि घटनालाई लुकाउन खोजिएको शंका गरे । अपराध गर्ने र अपराधीलाई लुकाउने दुबैलाई कानूनी कार्वाही हुनुपर्ने उनको माग थियो।
कैलालीको लम्कीचुहा नगरपालिकाको शहीद स्मारक माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी महिलामाथि शनिबार राति सामूहिक बलात्कार भएको थियो।
घटनाको अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको धनगढीस्थित प्रदेश कार्यालयको टोली घटनास्थल गएको छ।
मानवअधिकार आयोगको केन्द्रीय कार्यालय (काठमाडौं) ले आज विज्ञप्ति निकालेर घटना दुःखद भन्दै क्वारेन्टिको सुधारमा पनि जोड दिएको छ।
पीडित महिलाले हिजो नै लम्की प्रहरीमा तीन जनाविरुद्ध किटानी जाहेरी दिइसकेकी छन्।
घटना भएको दिन पीडित महिला र ६ जना पुरुष कोरेन्टिनमा बसेका थिए।
महिला बसेको कोठामा ढोकाको चुक्कुल थिएन । ढोकामा बेन्च राखेर सुतेको र राति तीनजना आएर आफूमाथि जबर्जस्ती गरेको पीडित महिलाको आरोप छ।
भारतबाट त्रिनगर नाका हुँदै २० जेठमा स्वदेश आएकी उनी लम्कीचुहा नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्दै आएकी थिइन्।
आज पनि स्थानीयको प्रदर्शन
क्वारेन्टिन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवक लक्ष्मण परियार र सर्जन विकलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार तीनै जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइने छ।
पीडित महिलाले बलात्कार गरेकोे भिडियोसमेत बनाउँदै कसैलाई भनेमा उक्त भिडियो सार्वजनिक गर्ने धम्की दिएको जाहेरीमा उल्लेख गरेकी छन्।
घटनामा संलग्नलाई कारवाहीको माग गर्दै लम्की वडा कार्यालयमा तोडफोड सहित राजमार्ग अवरुद्ध पारिएको थियो । दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय महिलाहरू विरोध प्रदर्शनमा उत्रिएका थिए।
त्यस्तै लम्की चुहा नगरपालिकाका जनप्रतिनिधिहरूले घटनालाई ढाकछोप गर्न मोबाइल अफ गरेको आरोप लागेको छ । प्रदेश सांसद रतन थापाले घटनालाई मिलापत्र गर्नका लागि नगरपालिकाका जनप्रतिनिधिहरूले आफ्ना मोबाइल अफ गरेको आरोप लगाएका छन्।