महराको सांसद पद रिक्त नहुने
बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।
बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीको टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको हो । प्रहरी भ्यानमा बस्न नमानेपछि नीजि गाडीमा राखेर महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका महरालाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ । अन्य हिरासत भन्दा सुविधा सम्पन्न भएकाले उनलाई सिंहदरबार वृत्तमा राखिएको हो ।
यसअगाडि पनि भीभीआईपी पक्राउ पर्दा सिंहदरबार वृत्तमै राखिदै आएको थियो ।
गत १२ असोज आइतबार राति आफूमाथि बलात्कारको प्रयास गरेको संसद सचिवालयकै एक महिला कर्मचारीले महरालाई आरोप लगाएपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।
ती महिला कर्मचारीले शुरुमा आफूमाथि बलात्कार र कुटपिट नै भएको आरोप लगाए पनि बीचमा भाषा फेरेकी थिइन् । ती महिलाले भाषा बदलेपछि प्रहरीले समेत जाहेरी नपरी केही गर्न नसकिने बताउँदै आएको थियो ।
प्रहरीको यस्तो प्रष्टोक्तिप्रति अन्तर्राष्ट्रिय निकाय र मानव अधिकार आयोगले समेत चासो देखाएका थिए । तर, तिनै महिलाले शुक्रबार बानेश्वर प्रहरी वृत्तमा जाहेरी दिइन् ।
जाहेरीपछि प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी लिएर महरालाई पक्राउ गरेको छ । अब प्रहरीले महरालाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ ।
दशैंपछि निलम्बन
प्रतिनिधिसभा नियमावली–२०७४, अनुसार महराको संसद पद अब स्वतः निलम्बनमा पर्नेछ । फौजदारी अभियोग लागेका महराले सांसद पदको हैसियतमा कुनै अधिकार, सेवा, सुविधा र पारिश्रमिक पाउने छैनन् ।
संसद नचलेकाले सांसदहरुलाई महरा फौजदारी अभियोगमा पक्राउ सूचना संसद सचिवालयको सूचना पाटीमा टाँसेर जानकारी गराइनेछ ।
तर, अहिले दशैंका कारण संसद सचिवालय पनि बन्द छ । २२ असोजसम्म दशैंको सार्वजनिक विदा भएकाले २३ असोज पछि मात्रै महरा निलम्बनमा परेको सूचना टाँसिने उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सचिवालयले जनाएको छ ।
सांसद पद रिक्त नहुने
महराको राजीनामा सँगै सभामुख पद रिक्त भइसकेको छ । तर, सांसद पद भने रिक्त हुने व्यवस्था संविधान र संसद नियमावलीमा छैन ।
प्रतिनिधिसभा नियमावली–२०७४, को नियम २४४ (३) र (४) अनुसार, महरामाथि लागेको आरोप प्रमाणित भएमा पनि उनको सांसद पद रिक्त हुने छैन ।
संविधान विद् बिपिन अधिकारी महरामाथि लागेको आरोप प्रमाणित हुँदा समेत सांसद पद भने रिक्त नहुने बताउँछन् । “निलम्बनको प्राबधान छ । रिक्त हुने व्यवस्था उल्लेख गरिएको छैन”, अधिकारी भन्छन् ।
तर, महराले राजीनामा दिए भने उनको पद रिक्त हुन्छ । १४ असोजमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।
नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापा महराले अब राजीनामा दिनुको बिकल्प नभएको बताउँछन् । थापा भन्छन्, “पार्टीले राजीनामा मागिसकेको छ । अब, उहाँले राजीनामा दिनुु होला ।”
दशैंको सार्वजनिक विदाका बेला पक्राउ परेकाले महरा दशैंभर हिरासतमै रहनेछन् । किनभने, कोजाग्रत पूर्णिमा अगाडि अदालत खुल्दैन । अदालत खुलेपछि मात्रै महरामाथि लागेको आरोपमाथि न्यायिक प्रक्रिया अगाडि बढ्नेछ ।
याे पनिः