औपचारिक रुपमै सभामुख पद रिक्त, राजीनामाबारे सूचना टाँसेर जानकारी
यौन दुव्र्यहारको आरोप लागेपछि कृष्णबहादुर महराले संघीय संसदको प्रतिनिधिसभाका सभामुख पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
संसद सचिवालयले बुधबार सूचना टाँस गरी महराले बुझाएको राजीनामा पत्रबारे सांसदहरुलाई जानकारी गराए सँगै राजीनामा स्वीकृत भएको हो ।
सभामुख पदबाट दिइएको राजीनामा पत्रबारे सांसदहरुलाई जानकारी दिइनुलाई नै उक्त पद औपचारिक रुपमा रिक्त भएको मानिन्छ ।
पूर्व सभामुख सुवास नेम्वाङका अनुसार, संसद सचिवालयले टाँसेको सूचनाबाटै राजीनामा स्वीकृत भएको छ ।
प्रतिनिधिसभा नियमावली–२०७५, को नियम २११ (२) अनुसार प्रतिनिधिसभा बैठक नबसेको अवस्थामा सूचना टाँस गरी राजीनामाबारे जानकारी गराउनुपर्ने व्यवस्था छ ।
“संविधानमा राजीनामा बारे केही नलेखिएकाले मैले र ओनसरी घर्तिमगरले एक–अर्कालाई राजीनामा बुझाऔं र संसदमा जानकारी गराएपछि औपचारिक स्वीकृत भएको मानियो”, नेम्वाङले हिमालखबरसँग भने ।
प्रतिनिधिसभा नियमावलीमा पनि सभामुख र उपसभामुखले दिएको राजीनामा बारे सांसदहरुलाई दिइने जानकारीबाटै स्वीकृत हुने व्यवस्था छ । नेम्बाङका अनुसार, सभामुखले उपसभामुखलाई लिखित राजीनामा दिएको हो, होइन भन्ने हेरेर संसदमा जानकारी गराइन्छ ।
अर्थात्, कृष्णबहादुर महराको राजीनामा औपचारिक रुपमा स्वीकृत भएको छ भने सभामुख पद रिक्त भएको छ । सभामुख पद रिक्त रहेसम्म उपसभामुखले अब व्यवस्थापिका संसदको अध्यक्षता गर्नेछ ।