सभामुख महरा विरुद्ध गम्भीर आरोप, सचिवालयले भन्यो– कठपुतली तयार पारियो
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार गरेको जस्ताे गम्भीर आरोप लागेको छ ।
एक महिला कर्मचारीले सभामुख महराले आफूलाई बलात्कार गरेको भनी सञ्चार माध्यमहरुलाई बताएकी छन् । पटक–पटक मन्त्री भइसकेका सभामुख महरालाई ती महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुखको सचिवालयले खण्डन गरेको छ ।
सोमबार राति खण्डनपत्र सार्वजनिक गर्दै सभामुख महरामाथि लागेको आरोपप्रति ध्यानाकर्षण भएको जनाइएको छ । सभामुख महरामाथि लगाइएको आरोप निराधार, कपोलकल्पित र निकै गम्भीर भएकाले यसको खण्डन गरिएको व्यहोरा उल्लेख गरिएको छ ।
उक्त पत्रमा सभामुख महरा आइतबार दिउँसो १२ बजे सिंहदरबार गएको र त्यस लगत्तै निवास फर्किएको बाहेक अन्यत्र नगएको पनि उल्लेख गरिएको छ ।
महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सार्वजनिक गरेको वक्तव्यमा लेखिएको छ, “चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।”
संसद सचिवालयका ती महिला कर्मचारीले सरुवा नमिलेको असन्तुष्टिमा यस्तो आरोप लगाएको व्यहोरा खण्डनपत्रमा उल्लेख गरिएको छ ।
लेखिएको छ, “राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ ।”
सभामुख महरा विरुद्ध एक महिलाले आफ्नो तीनकुनेस्थित डेरामा आएर बलात्कार गरेको आरोप लगाएकी छन् ।