महरा विरुद्ध बलात्कार प्रयास गरेको उजुरी दर्ता
बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पीडित महिलाले जबरजस्ती करणी उद्योगको जाहेरी दिएकी छन् ।
स्रोतका अनुसार, पीडित महिलाले शुक्रबार राती महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा परेको जाहेरी दिएकी हुन् ।
जाहेरीलगत्तै प्रहरीले अनुसन्धान थालेको छ ।
आरोपी महरा आजै पक्राउ पर्ने सम्भावना रहेको पनि बताइएको छ ।
१२ असोजमा काठमाडौं, तिनकुनेस्थित आफ्नो डेरामा महराले बलात्कार गरेको महिलाको आरोप छ ।
सञ्चारमाध्यममा बलात्कारका खबर फैलिएपछि १४ असोजमा महराले सभामुखबाट राजीनामा दिएका थिए । तर, ती महिलाले श्रीमानसँग छलफल गरेर निर्णय लिने बताएकी थिइन् । यो बीचमा उनले वयान समेत फेरेकी थिइन् ।
आफू डिप्रेसनको बिरामी भएको बताएकी ती महिलाले अन्ततः जाहेरी दर्ता गरेकी छन् । जाहेरी नपरे पनि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेको चस्मा लगायतका सामग्री बरामद गरिसकेको छ ।
महरालाई प्रहरी अनुसन्धानमार्फत कारबाही अघि बढाउन देशी, विदेशी अधिकारकर्मीहरुले चर्को दबाब दिँदै आएका थिए ।