जुनसुकै बेला पक्राउ पर्न सक्छन् महरा
बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा बिरुद्ध पीडित रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी छन् ।
शाहीले शुक्रबार बानेश्वर प्रहरी वृत्तमा जाहेरी दिएकी हुन् । तर, अहिलेसम्म प्रहरीले महरालाई पक्राउ गरेको छैन । शाहीलाई १२ असोज राति महराले बलात्कार प्रयास गरेको आरोप सार्वजनिक भए पनि प्रहरीमा जाहेरी परेको थिएन।
सभामुख पदबाट राजीनामा दिएपछि भने प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्मा लगायत सामग्री बरामद गरिसकेको छ । जाहेरी नआएकाले अनुसन्धान प्रक्रिया अगाडि नबढाएको प्रहरीले जवाफ दिदै आएको थियो।
तर, शुक्रबार जाहेरी परेपछि पनि महरालाई पक्राउ गरिएको छैन । फौजदारी कानूनका जानकारहरु भने महरालाई पक्राउ गर्न नपर्ने कारण देख्दैनन् ।
बरिष्ठ अधिवक्ता एवम् फौजदारी कानूनका जानकार सतिसकृष्ण खरेल जाहेरी परेपछि पक्राउ गर्न कुनै विदाले समेत नरोक्ने बताउँछन्।
खरेल भन्छन्, “दशैंको बिदामा समेत मूख्य न्यायाधीशले एक जना न्यायाधीश राखेका हुन्छन् । तिनै न्यायाधीशले बन्दी प्रत्यक्षीकरण र पक्राउ पूर्जी जारी गर्छ ।”
अदालतले पालैपालो गरी राखेका न्यायाधीशले घरबाटै वा अदालत आएर समेत प्रहरीलाई पक्राउ आदेश दिने खरेल बताउँछन् ।
“बलात्कार आरोपजस्तो गम्भीर आरोपमा सामान्य मानिस भए पक्राउ परिसकेका हुन्थें”, खरेल भन्छन् ।
महराले आफूमाथि बलात्कार गरेको र कुटपिट समेत गरेको बताएकी शाहीले यस बीचमा भने बोली फेरेकी थिइन् । आफूमाथि महराबाट बलात्कारको प्रयास नभएको अभिव्यक्ति दिएकी शाहीले शुक्रबार जाहेरी दिइन् ।
सभामुख पद गुमाइसकेका महरालाई शाहीको लगाएको आरोप पुष्टि भए पाँच वर्षसम्म कैद सजाय हुन सक्छ । १८ वर्ष माथिका महिलालाई बलात्कार भए सात देखि १० वर्ष कैदाको सजाय हुने मुलुकी अपराध (संहिता) ऐन–२०७४, ले उल्लेख गरेको छ । तर, बलात्कार प्रयास मात्रै हो भने यसको आधा सजाय हुनेछ ।