महरालाई पक्राउ गर्न अदालतको आदेश
सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
संसद सचिवालयकै एक महिलाले महरालाई बलात्कार प्रयासको आरोप लगाएकी छन् । गत १२ असोजमा बलात्कारको प्रयास गरेको आरोपमा ती महिलाले शुक्रबार बानेश्वर प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
ती महिलाको जाहेरीको आधारमा प्रहरीले अदालतको आदेश लिएको हो । अदालतले आदेश दिएसँगै अब महरालाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ ।
सभामुख पदबाट राजीनामा दिए पछि प्रहरीले ती महिलाको तीनकुनेस्थित कोठाबाट केही सामग्री बरामद गरी अनुसन्धान अगाडि बढाइसकेको छ । तीनकुनेस्थित कोठाबाट रक्सीको बोतल, फुटेको चस्मा लगायत सामग्री बरामद गरेको हो ।
महराले राजीनामा दिए पनि सरकारी निवास छोडेका छैनन् । सुरक्षाकर्मी र एउटा गाडी फिर्ता गरेपनि डेरा नभेटेको भन्दै महरा सरकारी निवासमै छन् ।