महरा प्रकरणमा मानव अधिकार आयोगद्वारा प्रहरीलाई पत्राचार
निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । आयोगले घटनाको अनुसन्धानबारे जानकारी माग्दै प्रहरीलाई पत्राचार गरेको छ ।
आयोगले विज्ञप्ति निकालेर घटना सार्वजनिक भएदेखि यो प्रकरणबारे अनुगमन गरिरहेको जनाएको छ । थप अनुगमन गर्न आयोगले उच्चस्तरीय टोली गठन गरेको जनाएको छ ।
आयोगका निर्देशक यज्ञ अधिकारीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको हो ।
घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोलीलाई जिम्मेवारी दिइएको आयोगका सचिव वेद भट्टराईले जानकारी दिए ।
घटनाको अनुसन्धान सम्बन्धमा नेपाल प्रहरीले हालसम्म गरेका काम कारवाही तथा रोशनी शाही र पत्रकार अजयबाबु सिवाकोटीको सुरक्षा बारे जानकारी माग गरिएको छ ।