महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको सुझाव
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको छ ।
भर्खरैमात्र प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा सचिवालयको आकस्मिक वैठकले महरालाई यस्तो सुझाव दिएको हो ।
सुझाव बमोजिम महराले आजै राजीनामा दिनसक्ने पनि स्रोतले जनाएको छ ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितको वैठकमा यति गम्भीर आरोप लागिसकेपछि राजनीनामा दिएर अनुसन्धानमा सघाउन महरालाई सुझाव दिएका थिए।
महरामाथि १२ असोजमा संसद सचिवालयमै स्वास्थ्यकर्मीका रुपमा कार्यरत् एक महिलाले तिनकुनेस्थित घरमै आएर बलात्कार गरेको सञ्चारमाध्यममार्फत आरोप लगाएकी थिइन् ।
सोमबार महराको सचिवालयले विज्ञप्ति जारी गर्दै आरोप कपोलकल्पित भएको दाबी गरेको थियो ।
दाङ ३ बाट प्रनिनिधिसभामा निर्वाचित ६१ वर्षीय महराले यसअघि गृह र सञ्चार मन्त्रालय सम्हालिसकेका छन् ।