वामदेव निवासमा प्रधानमन्त्री ओलीको त्यो ‘सरप्राइज’ भेट
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई पार्टीको झल्को दिनेगरी गतिविधि देखिएको नेकपामा बुधबार लगभग सन्नाटा नै छायो। प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहका नेताहरुबाट खासै त्यस्ता गतिविधि देखिएनन्। उनीहरुबाट कुनै अभिव्यक्ति पनि सार्वजनिक भएनन्। बरू केन्द्रीय कमिटीका १५२ सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाए।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय नेताहरुले पहिलै नै तयार पारेर राखेको हस्ताक्षर बुझाउनुले नेकपाभित्रको शक्ति संघर्ष नयाँ मोडमा प्रवेश गरेको देखाउँछ। किनभने, हस्ताक्षरको अगुवाई गर्नेमध्येका केही नेताहरू नै उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका थिए। कुनै बेला गौतमलाई साथ दिएका ती नेताहरुको लगभग मिल्दो भनाइ थियो, “ओलीलाई नै बोक्नु थियो भने यत्रो जात्रा किन गरेको?”
ओलीको आगमन गौतम परिवारमा ‘सरप्राइज’ थियो। गौतमपत्नी तुलसा थापा भन्छिन्, “थाहै नदिई आउनुभयो, पुल्चोक आइपुग्यौं भनेर उहाँ (वामदेव गौतम) को पीएलाई फोन आएको थियो।”
स्थायी कमिटी सदस्य मणि थापा पनि गौतमको ‘यू–टर्न’ले नेकपाको विवाद नयाँ चरणमा प्रवेश गरेको बताउँछन्। पूर्वनिर्धारित मंगलबारको स्थायी कमिटी बैठक एकलौटी निर्णय गरी प्रधानमन्त्री ओलीले अनिश्चितकालका लागि स्थगित गरेपछि दाहाल–नेपाल समूहको बैठकमा सहभागी नभएका थापा भन्छन्, “केपी ओलीको दुवै पदबाट राजीनामा माग्ने प्रमुख व्यक्ति नै यू–र्टन भएपछि अब धेरै रस्साकस्सी बाँकी रहेन।” उनको बुझाइमा अब नेकपाको विवाद समेत रूपान्तरण हुनेछ।
भैंसेपाटीमा कालो चिया, थोरै खुशी
३ फागुन २०७४ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि भेट्नकै लागि भनेर पहिलो पटक ओली मंगलबार साँझ गौतम निवास भैसेंपाटी पुगेका थिए। २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि अनौपचारिक भेटवार्तामा कतै ननिस्किएका प्रधानमन्त्री ओली नेकपा फुटकै संघारमा पुग्दा भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण मानिएको छ।
“थाहै नदिई आउनुभयो, पुल्चोक आइपुग्यौं भनेर उहाँ (वामदेव गौतम) को पीएलाई फोन आएको थियो”, गौतम पत्नी एवम् सांसद तुलसा थापा भन्छिन्।
प्रधानमन्त्री निर्वाचित भएको १९ महीना पछाडि ओली १३ असोज २०७६ मा गौतम निवास पुगेका थिए, त्यो पनि भैंसेपाटीमा बन्दैगरेको नयाँ मन्त्री निवास उद्घाटन गर्ने क्रममा। तर, यसपटक भने ओली पत्नी राधिका शाक्यसहित अरू आठ/नौ जना लिएर पुगे। “हामी त छक्कै प¥यौं, यस्तो बेला आउनुभयो, खाने बस्नेबारे नै अलमल भयो”, थापा भन्छिन्। कालो चिया पिएर प्रधानमन्त्रीको परिवार फर्किएको उनी बताउँछिन्।
तर, त्यहाँ ओली र गौतमबीच केही राजनीतिक संवाद समेत भयो। परिवारसहित प्रधानमन्त्री ओली भैसैंपाटी आउँदै गरेको खबरले गौतम परिवारमा जस्तो सर्प्राइज भयो, प्रधानमन्त्री ओलीले पनि उस्तै कुरा सुनाए। “मलाई त तपाईँले त्यो कुरा अब ल्याउनु हुन्न भन्ने लागेको थियो। तर, कसरी पार्टी बुझाउने?”, प्रधानमन्त्री ओलीले गौतमलाई भनेका थिए।
“केपी ओलीको दुवै पदबाट राजीनामा माग्ने प्रमुख व्यक्ति नै यू–र्टन भएपछि अब धेरै रस्साकस्सी बाँकी रहेन।”
-मणि थापा, स्थायी कमिटी सदस्य
प्रधानमन्त्री ओलीले कसैसँग परामर्श नगरी स्थायी कमिटी अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने खबर स्थायी कमिटीका नेताहरुलाई पठाएलगत्तै गौतमले ६ बुँदे प्रेस नोट जारी गरेका थिए। उक्त नोटमा एकताको महाधिवेशन नभएसम्म अध्यक्ष र पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री रहने, तर पार्टीको कार्यकारी अधिकारसहितको अध्यक्ष दाहाल हुने उल्लेख छ। सँगै, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको माग सम्बोधन हुनेगरी सरकारले गर्ने महत्वपूर्ण निर्णय पार्टीले गर्ने र त्यस्तो निर्णय हुने बैठक धुम्बाराहीमा बस्ने समेत गौतमको प्रस्तावमा उल्लेख छ।
पार्टीको पूर्ण नेतृत्व दाहाललाई दिने गौतमको प्रस्तावमा ओलीले असहमति जनाएका थिए। तर, गौतमले अहिले पार्टी जोगाउन यो बाहेक अर्को विकल्प नरहेको जवाफ दिए। “धेरै मान्छे भइयो, धेरै कुरा भएन। चिया पिएर उहाँहरु फर्कनु भयो”, थापा भन्छिन्।
प्रेस नोट जारी गरेपनि दाहाल–नेपाल समुहको बैठकमा सहभागी भएका गौतमले पार्टी जोगाउन नै आफूले ६ बुँदे प्रस्ताव ल्याएको बताएका थिए। यतिसम्म कि गौतमले ओलीलाई मुर्खकै संज्ञा दिएका थिए। “मुर्खको अगाडि दैव डरा। ओली ठिक होइनन्, तर अहिले पार्टी जोगाउनु महत्वपूर्ण हो”, गौतमको भनाइ थियो।
गौतमलाई भेट्न भैसेंपाटी पुगेर फर्किएका ओलीसहित अरू शीर्ष नेताहरुले थप गतिविधि बढाएका छैनन्, तर गौतमले भने आफ्ना निकट नेताहरुसँग भेटवार्ता गर्नेदेखि बुधबार साँझ दाहाललाई आफ्नो पोजिसनबारे ब्रिफिङ समेत गरे। गौतमले आफूलाई ओलीतिर लागेको भनेर नबुझ्न दाहाललाई आग्रह गरेका थिए।
स्थायी कमिटी सदस्य बेदूराम भुसाल गौतमको भूमिकालाई अनौठो मान्दैनन्। “त्यसैले हामीले धेरै कुरा अगाडि बढाएका छैनौं, पार्टी र सरकार विधिमा चल्नुपर्छ, पार्टी निर्णय सवैले मान्नुपर्छ”, नेता नेपालनिकट रहेका भुसाल भन्छन्।
“उहाँ चाँडो निर्णय खोज्नुहुन्छ, महाकाली सन्धिबारे पार्टी विभाजन गर्न तयार हुनुभयो। लगत्तै, २०५६ सालको निर्वाचनमा पराजित हुनासाथ पार्टी एकतामा सहमति जनाइहाल्नुभयो।”
ओलीनिकट एक नेता गौतमले परिस्थिति बुझेरै यस्तो कदम चालेको हुनसक्ने बताउँछन्। उनी भन्छन्, “दुवै पदबाट हटाउने निर्णयमा बहुमत नदेखेकैले उहाँले यस्तो निर्णय लिनुभयो होला, अथवा आफैंले अध्यक्ष बनाएको व्यक्तिसँग अन्तिम अवस्थासम्म इमान्दारिता देखाउने प्रयास पनि होला।”
गौतमलाई लामै समय साथ दिएका एक नेता यो तथ्यलाई स्वीकार्छन्। ती नेता भन्छन्, “उहाँ चाँडो निर्णय खोज्नुहुन्छ, महाकाली सन्धिबारे पार्टी विभाजन गर्न तयार हुनुभयो। लगत्तै, २०५६ सालको निर्वाचनमा पराजित हुनासाथ पार्टी एकतामा सहमति जनाइहाल्नुभयो।”
स्थायी कमिटी सदस्य थापा पनि गौतम नै सहमत भएपछि नेकपा गत ४ मंसीर २०७६ को सहमतिकै पेरिफेरिमा फर्कने संभावना देख्छन्। उनी भन्छन्, “तर, यसपटक पार्टी र सरकार प्रणालीमा चल्नुपर्छ भन्ने चाहिं स्थापित हुने सम्भावना बढी छ।”
याे पनि पढ्नुहाेस्:
केन्द्रीय कमिटीको माग गर्दै ओली–दाहाललाई १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर
भैंसेपाटीबाट प्रधानमन्त्री ओली फर्किए, गौतम र पौडेलबीच छुट्टै छलफल
नयाँ मोडमा नेकपाकाे संकट: शुरु भो दुई पार्टीको झल्को दिने अभ्यास
नेकपामा कलह: बालुवाटारमा आज जे हुँदैछ
वामदेव गौतमको प्रस्ताव– ओली एकता महाधिवेशनसम्म अध्यक्ष, पाँच वर्ष प्रधानमन्त्री
बालुवाटारमा नेकपाको बैठक शुरु, ओली अनुपस्थित
नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
स्थायी कमिटी बैठक बस्नेबारे नै मतभिन्नता
दाहाल–नेपाल समूहको निष्कर्ष – 'बैठक नसार्ने, जे निर्णय गर्ने हो स्थायी कमिटीमै गर्ने'
वामदेव र रामबहादुरको ‘संकेत’पछि ओलीले बोलाए सचिवालय बैठक