नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बाढी, पहिरोको प्रकोपमा परेकाहरुलाई उद्धारमा खटिनुपर्ने भन्दै एक साता स्थगित बैठक आज बोलाइएको थियो।
बिहान एघार बजे बोलाइएको बैठक फेरि स्थगित भएको छ। एक स्थायी कमिटी सदस्यका अनुसार, अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ।
गएको १७ असार देखि बस्न नसकेको बैठक ६ साउनदेखि एक साताका लागि स्थगित गरिएको थियो। तर, थप छलफलको आवश्यकता रहेको भन्दै अन्ततः बैठक नै अनिश्चित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली समूह बैठक स्थगित गर्ने पक्षमा थिए। शीर्ष नेताहरु बीच छलफलको आवश्यकता भएको भन्दै बैठक स्थगित गराउने पक्षमा थिए।
तर, सोमबार मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक नरोक्ने निष्कर्षमा पुगेका थिए।