दाहाल–नेपाल समूहको निष्कर्ष – 'बैठक नसार्ने, जे निर्णय गर्ने हो स्थायी कमिटीमै गर्ने'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली इतर समूहले भोलिको स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ। सोमबार बिहान खुमलटारमा भएको छलफलले अब स्थायी कमिटी बैठकलाई अनिर्णयको बन्दी नबनाउने निष्कर्ष निकालेको हो।
खुमलटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका थिए। “बैठक बोलाउने तर, अन्तिम समयमा स्थगित हुने गरेको धेरै भयो। अब बैठक रोकिदैन”, प्रवक्ता श्रेष्ठले भने।
औपचारिक बैठक भन्दा बाहिरका छलफलले निकास नदिएकाले अब बैठकमै छलफल गर्नेमा नेताहरु सहमत भएका छन्। “जे निर्णय लिनुपर्ने हो, बैठकबाटै गरिनुपर्छ भन्नेमा छौं”, प्रवक्ता श्रेष्ठले भने। नेकपाको स्थायी कमिटी बैठक गएको १७ असारदेखि लगातार स्थगित हुँदै आएको छ।
पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको समय पनि आज सकिदैछ। ६ साउनदेखि एक साता स्थायी कमिटी स्थगित गरिएको थियो।
तर, यो अवधिमा दुई पक्षीय वार्ताले समेत गति लिन सकेन। ९ साउनमा ओली–दाहालबीच दुई घण्टा ‘वान अन वान’ भेटवार्ता भएको थियो। तर, उक्त वार्ता सकेर ललितपुरको च्यासलमा आयोजित सार्वजनिक कार्यक्रम सम्बोधन गर्न पुगेका दाहालले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए।
पार्टी गम्भीर अवस्थामा पुगेको उनको भनाइ थियो। बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा नेकपा एमाले गठन भएको र देशभर जुलुस निकाल्ने काम गरेर एकता बिथोल्ने प्रयास भएको समेत दाहालले बताएका थिए। त्यसयता ओली-दाहालबीच सम्वाद हुन सकेकाे छैन। स्राेतका अनुसार, आइतबार बिहान ओलीले दाहाललाई बालुवाटार बाेलाएका थिए। तर, स्वास्थ्यमा समस्या आएकाे भन्दै दाहाल बालुवाटार गएनन्।
नेकपाभित्र तेस्रो खेमाको नेतृत्व गर्ने बरिष्ठ नेता माधवकुमार नेपालको पनि प्रधानमन्त्री ओलीसँग सम्वाद भएको छैन। “सहमति पनि नजुटाउने तर, लगातार बैठक स्थगित गरिरहन सकिदैन”, स्थायी कमिटीका एक नेताले भने। ती नेताका अनुसार, सहमतिकै प्रयास हुँदा पनि त्यो स्थल स्थायी कमिटी बैठकलाई नै बनाउनुपर्छ भन्नेमा ओलीइतर समूह सहमत भएका छन्।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने स्थायी कमिटीका नेताहरुले माग राखेपछि १७ असारयता बोलाइएका स्थायी कमिटी बैठक ओलीले अस्वीकार गर्दै आएका छन्। “आजसम्म कुनै पक्ष टसमस देखिएको छैन, यस्तो अवस्थामा बस्ने स्थायी कमिटीबाट निकास निस्कने संभावना पनि कम छ”, स्थायी कमिटीका अर्का सदस्यले भने।