स्थायी कमिटी बैठक बस्नेबारे नै मतभिन्नता
अहिले ११ बजे बोलाइएको स्थायी कमिटी बैठक बस्ने वा नबस्ने भन्नेमै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा मतभिन्नता देखिएको छ। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली समूह बैठक सार्नुपर्ने र इतर समूह बैठक बस्नुपर्ने पक्षमा छन्।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अब बैठक रोक्न नहुने निष्कर्ष निकालेका छन्। लगातार बैठक स्थगित हुनु मात्रै निकास नभएकाले थप छलफलका लागि बैठक बस्नुपर्ने प्रवक्ता श्रेष्ठ बताउँछन्।
अर्का स्थायी कमिटी सदस्य वेदूराम भुसाल पनि बैठक बस्दैन भन्ने अब सोच्न नहुने बताउँछन्। दाहाल–नेपाल समूह बैठक बस्नुपर्ने पक्षमै देखिएका छन्। तर, ओली पक्ष सहमति जुट्नै बाँकी रहेकाले स्थायी कमिटी बैठक राख्नु नै समाधान नहुने बताउँछन्।
स्थायी कमिटी सदस्य किरण गुरुङ शीर्ष नेताहरु बीच कुरा मिलेर अगाडि बढ्दा निकास आउने बताउँछन्। “कसैले पेल्ने र सिध्याउने गरी बैठक लैजान हुँदैन” उनी भन्छन्, “स्वार्थ समूहको उक्साहटमा बैठक राखेर एकताबद्ध नेकपा संभव हुन्न।” एकता बचाउन ‘वीन वीन’को अवस्था सिर्जना गर्न पनि सम्वादलाई जोड दिनुपर्ने उनको तर्क छ।
ओली पक्ष स्थायी कमिटीभन्दा पहिला सचिवालय बैठकमा छलफल गर्नुपर्ने अडानमा छन्। उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा आफ्नो पक्षमा आएको संकेत पाएपछि ओलीले सचिवालय बैठकमा जोड दिएका हुन्।
सचिवालय बैठक बोलाउनेबारे छलफल गर्न ओलीले अर्का अध्यक्ष दाहाललाई ११ र १२ साउनमा टेलिफोनमार्फत आग्रह गरेका थिए। तर, दाहालले अस्वीकार गरेका थिए।
एक साता स्थगित भएर आजका लागि तय भएको बैठक अगाडि दुई अध्यक्षबीच समेत जम्मा एक पटक सम्वाद भएको छ। ९ साउन दिउँसो सम्वाद भए यता दुई अध्यक्ष बीच भेटवार्ता भने भएको छैन। खुमलटारमा आफ्ना पक्षको छलफल गरेका अध्यक्ष दाहालले अहिलेको समस्या प्रधानमन्त्रीकै कारण आएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन्।
गएको १० असार देखि शुरु भएको नेकपा बैठक पार्टी विभाजनकै अवस्था सिर्जना भएपछि लगातार स्थगित हुँदै आएको छ। १६ असार यता बैठक बस्न सकेको छैन भने ३ साउनमा एक पटक सचिवालय बैठक बसेको छ।