नयाँ मोडमा नेकपाकाे संकट: शुरु भो दुई पार्टीको झल्को दिने अभ्यास
झट्ट हेर्दा पुरानै विवादको निरन्तरता जस्तो देखिए पनि मंगलबारका घटनाक्रमले सत्तारुढ नेकपाभित्र दुई भिन्न पार्टीको अभ्यास शुरु भएको देखाउँछन्।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली मंगलबार साँझ पत्नी राधिका शाक्यसहित उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित गौतम निवासमा पुग्नु धेरैका लागि अनपेक्षित घटना थियो। किनभने, दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली अस्पताल, राष्ट्रपति भवन र एकाध पटक सिंहदरबारबाहेक अन्यत्र कतै गएकै थिएनन्। व्यक्तिगत भेटघाटका लागि कुनै नेताको घरमा त उनले टेकेका पनि थिएनन्।
चिकित्सकहरुले संक्रमणको उच्च जोखिम हुने भएकाले भेटघाटमा समेत पर्याप्त बन्देज लगाएका थिए। त्यहीबीचमा शुरु भएको कोरोनाभाइरस संक्रमणको महामारीले त्यसलाई अझ कडा बनायो। ओलीको स्वास्थ्यकै कारण नेकपाका बैठकसमेत बालुवाटारमै चल्न थाले। तर, काठमाडौंमा महामारी थप भयावह बन्न सक्ने खतरा बढिरहेकै बेला भैसेपाटी पुगेका ओलीले करिब दुई घण्टा त्यहाँ बिताए। महासचिव विष्णुप्रसाद पौडेललाई समेत लिएर गौतम निवास छिरेका ओली राति नौ बजे मात्र त्यहाँबाट बालुवाटार फर्किए।
प्रधानमन्त्री बनेपछि अरुको दैलो टेक्नै छाडेका ओली आखिर मंगलबार साँझ अचानक पारिवारिक भेटघाटका निम्ति भन्दै गौतम निवास किन पुगे? यसका पछाडि शक्ति संघर्ष चुलिएको नेकपामा मंगलबार विकसित केही गम्भीर घटनाक्रमको भूमिका छ, जसले ओलीलाई गौतम निवास पस्न बाध्य तुल्याए। एकैछिन मंगलबारका ती घटनाक्रमको चर्चा गरौं।
नेकपामा गएको वैशाख दोस्रो सातादेखि चर्किएको संघर्ष हल गर्न भन्दै १० असारदेखि शुरु भएको स्थायी कमिटीको बैठक १७ असारयता लगातार दश पटक स्थगित भइसकेको छ। पटक पटक स्थगित बैठक एक साताअघि पुनः स्थगन गरिँदा मंगलबार बिहान ११ बजे बस्ने तय भएको थियो।
तर, मंगलबार बिहान बैठकका लागि निर्धारित समयभन्दा केहीअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना जारी गरे। तर, ओलीइतर (अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको को) समूहले आपसी सरसल्लाहबेगर एकपक्षीय रुपमा बैठक स्थगन गर्न खोजिएको भन्दै बैठक शुरु गर्ने निर्णय गर्यो। त्यसपछि बालुवाटारमा जे जस्ता घटनाक्रम देखापरे, तिनले नेकपामा मडारिएको संकट मोचन हुनुको साटो झन् बढेको र नेकपाभित्र दुई पार्टीकै झल्को दिने गरीको अभ्यास औपचारिक रुपमै शुरु भएको देखाएका छन्।
बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीको समूहमा रहेका कुनै पनि नेताको अनुपस्थितिमै अर्को समूहको बैठक बस्यो। स्थायी कमिटीका ४४ मध्ये २७ जना सदस्य र दुई जना आमन्त्रित (अमृतकुमार बोहरा र बिष्णुपुकार श्रेष्ठ) सहभागी बैठकले गरेको निर्णय पनि अर्थपूर्ण छ। बैठकले एकलौटी निर्णयका आधारमा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गर्नु बिधि बिपरित भएको र त्यो अनुचित रहेको ठहर गरेको छ। त्यसैगरी स्थायी कमिटी बैठक जारी राख्न ओलीसँग वार्ताका लागि अर्का अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।
यो बैठकलाई दाहाल र नेपाल समूहले नेकपाको स्थायी कमिटी बैठक भनेको छ। तर, ओली समूहले भने यसलाई बैठक नभई भेलाको संज्ञा दिएको छ। ओलीनिकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा भन्छन्, “बैठक पहिले नै स्थगित भइसकेको थियो। त्यहाँ, हामी छैनौं। त्यो एक समूहको भेला मात्र हो।”
दाहाल–नेपाल समूहले भने स्थायी कमिटी बैठकले नै मंगलबारको बैठकको मिति निर्धारण गरेको र बहुमत सदस्य सहभागी भएकाले यो स्थायी कमिटीकै बैठक भएको बताएको छ। “गणपुरक संख्या पुगेर बैठक बस्यो र पार्टीभित्र देखिएको समस्या हल गर्नेगरी निर्णय पनि गर्यो”, स्थायी कमिटी सदस्य वेदूराम भुसाल भन्छन्।
यो बैठकमा ओलीनिकट रहेका महासचिव बिष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य रघुबीर महासेठ केहीबेर सहभागी भएर बाहिरिए। तर, ओली समूहका नेताहरुसहित दाहालनिकट स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा भने अनुपस्थित रहे।
तिक्ततापूर्ण साता
लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बाढी र पहिरोमा परेकालाई उद्दार गर्नुपर्ने भन्दै ६ साउनमा एक सातालाई स्थगित गरिएको थियो। भन्नलाई बाढी र पहिरोमा परेकाको उद्दार भनिए पनि नेकपामा बढेको शक्ति संघर्ष मत्थर पार्ने र त्यसबाटै सहमति खोज्ने उद्देश्यले बैठक स्थगित गरिएको थियो।
तर, यो साता यसअघि जस्तो नेकपाका दुई अध्यक्षबीच समेत संवाद हुन सकेन। एक साताको अवधिमा एक पटक मात्र ओली–दाहालबीच संवाद भयो। ९ साउनमा झण्डै दुई घण्टा प्रधानमन्त्री ओलीसँग वार्ता गरेर सिधै पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न पुगेका दाहालले ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिए। त्यसक्रममा दाहालले प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा नेकपा एमाले नामको पार्टी दर्ता गरिएको तथा देशभर ओलीको पक्षमा जुलुस निकालिएको बताए।
१० साउनमा दुवै पक्षका नेताहरुबीच कुनै संवाद हुन सकेन। ११ साउनमा प्रधानमन्त्री ओलीले दाहाललाई स्थायी कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाउनेबारे छलफल गर्न भन्दै बालुवाटार बोलाए। तर, दाहाल स्वास्थ्य समस्या भएको भन्दै बालुवाटार गएनन्। ओलीले भालिपल्ट, १२ साउनमा पनि बोलाए, तर दाहाल फेरि पनि गएनन्।
प्रधानमन्त्री ओलीलाई घाँटी दुखेकाले आउन नसक्ने जवाफ दिएका दाहालले त्यसै दिन आफ्ना समूहका नेताहरु (वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ) सँग छलफल गरेर मंगलबारको स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकाले। “प्रधानमन्त्रीले पार्टीको विषयमा छलफल गर्न बालुवाटार बोलाउँदा बिरामी छु भनेर आउनु भएन, उता आफ्नो गुटको भेला भने राख्नुभयो”, ओलीनिकट नेता कर्ण थापा भन्छन्।
मंगलबार पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बस्नु अगाडि दाहाललाई बालुवाटार बोलाएको थापा बताउँछन्।
तर, दाहालले ओलीसँग छुट्टै भेट्न नभएर पूर्व निर्धारित स्थायी कमिटी बैठकमै आउने जवाफ फर्काएका थिए। मंगलबारको स्थायी कमिटी बैठक रोक्न ओलीको तर्फबाट महासचिव बिष्णुप्रसाद पौडेलले पनि आग्रह गरेको थापा बताउँछन्। तर, दाहाल छुट्टै संवादका लागि नआएपछि ओलीले मंगलबार बिहान बैठक बस्नु आधा घण्टा अगाडि स्थायी कमिटीका नेताहरुलाई बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी पठाए।
दाहालले बालुवाटार आउँदै गर्दा यो सूचना पाएका थिए। “कसरी बैठक स्थगित भयो, म त आउँदैछु”, दाहालले ओलीलाई टेलिफोनमा भनेका थिए। तर, ओलीले बैठक स्थगित भइसकेकाले अनौपचारिक छलफल गर्ने हो भने आउनुहोस् भन्ने जवाफ फर्काएको दाहालनिकट स्रोत बताउँछ।
बैठक स्थगित गरिएको जानकारी पाएपछि दाहालसहित नेपाल समूहका नेताहरु समेत बालुवाटार पुगे। बैठक नरोक्ने भन्दै अध्यक्ष दाहाल र वरिष्ठ नेता खनाल प्रधानमन्त्री ओलीसँग वार्ता गर्न उनको निवासतर्फ लागे भने वरिष्ठ नेता नेपालले स्थायी कमिटीका नेताहरुलाई बालुवाटार बोलाए।
दाहाल र खनाल फर्केलगत्तै बसेको बैठकलाई यो समूहले स्थायी कमिटी बैठक भनेको छ। तर, यसलाई पूर्ण वहिष्कार गरेको ओली समूहले यो गुट भेला भएको दाबी गरेको छ। र, नेकपामा पहिलो पटक दुई पार्टीको जस्तो यस्तो दृष्य सार्वजनिक रुपमै छताछुल्ल भएको छ, त्यो पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीकै निवासबाट।
‘स्थायी कमिटी होइन, सचिवालय’
मंगलबारका घटनाक्रमपछि के नेकपामा अब दुई पार्टीको अभ्यास औपचारिक रुपमै शुरु भएको हो? धेरैको प्रश्न छ, के नेकपा अब फूटको बाटोमा लागेको हो?
“अहिलेसम्म पनि केही बिग्रिसकेको छैन, एकले अर्कोलाई निषेध गर्ने नभएर सहमतिको विन्दु खोज्नुपर्छ”, स्थायी कमिटी सदस्य किरण गुरुङ भन्छन्।
तर, बैठक राख्नुपूर्व दुई अध्यक्षबीच सहमति हुनुपर्ने उनको तर्क छ। पार्टी एकताको भावना भनेकै दुई अध्यक्ष बीचको सहमति भएको उनको भनाइ छ।
तर, यसबीचमा प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक नै अघि नबढाउने निचोडमा पुगेको देखिन्छ। उनका कदमहरुले पनि त्यही संकेत गर्छन्। बरु उनी पार्टीका अजेण्डालाई केन्द्रीय सचिवालय बैठकमा लैजान जोड गर्न थालेका छन्। अर्का अध्यक्ष दाहालसँग उनले अब सचिवालयकै बैठक राखौं भनेर आग्रह नै गरिसकेका छन्।
ओलीले सचिवालयमा जोड दिनुको पछाडि भने उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापाले आफूलाई साथ दिने संकेत पाउनु हो। आगामी मंसीरमा नेकपाको विशेष महाधिवेशन गर्नेगरी ओलीले प्रस्ताव गरेको ३ साउनको सचिवालय बैठकको भोलिपल्ट, ४ साउनमा भएको खुमलटार भेलामै गौतम र थापाले यस्तो संकेत दिएका थिए। यी दुई नेताले साथ दिए बहुमत आफ्नो पक्षमा हुने भएकाले सचिवालयबाट निर्णय गराउने रणनीतिमा प्रधानमन्त्री ओली रहेको स्थायी कमिटीकै एक सदस्य बताउँछन्।
गौतमले मंगलबार नै ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै ओलीलाई साथ दिने संकेत गरेका थिए। लगत्तै, दाहाल–नेपाल समूहले बहुमतको आधारमा राखेको बैठकमा समेत गौतम सहभागी भए। रोचक त के छ भने त्यो बैठकमा उनले प्रधानमन्त्री ओलीको विरोधमा खुलेर बोले। बैठकमा सहभागी एक नेताका अनुसार, गौतमले पार्टी जोगाउनकै लागि ६ बुँदे प्रस्ताव ल्याएको बताएका थिए। “मुर्खसामु दैव डरा । ओली ठिक होइनन्, तर अहिले पार्टी जोगाउनु महत्वपूर्ण हो”, गौतमको भनाइ उदृत गर्दै ती नेताले भने।
ओली नै एकता महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव गरेपछि पनि गौतमले यस्तो अभिव्यक्ति दिएपछि मंगलबार साँझ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए। गएको २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि केही औपचारिक कार्यक्रमबाहेक कतै नगएका ओली गौतमलाई भेट्न उनकै निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ।
१४ असारमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय शक्ति सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको अभिव्यक्ति दिएपछि उनलाई दुवै पदबाट राजीनामा दिन इतर समूहका नेताहरुले दबाव दिँदै आएका छन्। पछिल्लो समय ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने माग नेकपामा फेरि चर्को हुन थालेको छ। र, त्यसैलाई पन्छाउन लगातार स्थायी कमिटी बैठक स्थगन गर्दै आएका प्रधानमन्त्री ओलीका लागि मंगलबारका घटनाक्रमले दबाब थपेका छन्। “उहाँ कुनै अप्रिय कदमको तयारीमा हुनुहुन्छ भने यसले सजिलो पनि पारिदिएको छ”, स्थायी कमिटीका एक सदस्यले भने।