भैंसेपाटीबाट प्रधानमन्त्री ओली फर्किए, गौतम र पौडेलबीच छुट्टै छलफल
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम बीचको छलफल सकिएको छ।
करिब २ घन्टा गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किएका हुन्।
प्रधानमन्त्री फर्किए पनि अहिले गौतम निवासमा नेकपा महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमबीच छलफल जारी रहेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी गराए।
ओली र गौतमबीच के विषयमा छलफल भयो भन्ने जानकारी गराइएको छैन।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। लगातार स्थगित हुँदै आएको स्थायी कमिटी मंगलबार दिउसो लामो प्रयासका बावजुत पनि बस्न सकेन। बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटन बोलाएका प्रधानमन्त्री ओलीले उनी छलफलमा नगएपछि स्थायी कमिटी बैठकमा बस्न मानेनन्।
दाहाल छलफलमा नआएपछि तय भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले अचानक स्थगित गरिदिएका थिए। त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटीका बहुमत सदस्यहरुको छुट्टै बैठक गरेका थिए।
गौतमले आज मात्रै ६ बुँदे प्रस्ताव अघि सार्दै प्रधानमन्त्री ओली एकताको महाधिवेशनसम्म नेकपाको अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री हुनपर्ने बताएका थिए।
गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए। पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।
ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष दाहालले २९ जना स्थायी कमिटी सदस्यको उपस्थितिमा बैठक चलाएका थिए। दिउसो बैठकमा उपस्थित नभएका ओली साँझ गौतम निवास पुगेका हुन्।
नेकपामा दिनभर के भयो? पढ्नुहाेस्:
: वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा
: नेकपामा कलह: बालुवाटारमा आज जे हुँदैछ
: योगेश भट्टराई भन्छन् - 'दुर्घटना नजिक छ, सबै रोकिऔं'
: वामदेव गौतमको प्रस्ताव– ओली एकता महाधिवेशनसम्म अध्यक्ष, पाँच वर्ष प्रधानमन्त्री
: नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
: बालुवाटारमा नेकपाको बैठक शुरु, ओली अनुपस्थित
: योगेश भट्टराई भन्छन् - 'दुर्घटना नजिक छ, सबै रोकिऔं'