नेकपामा कलह: बालुवाटारमा आज जे हुँदैछ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक महिना अघि शुरु भएको र पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको थियो।
एक सातालाई स्थगित भएर मंगलबार बस्ने तय भएको बैठक फेरि सार्ने र सचिवालयमा छलफल गर्न भनी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पहिले देखि नै प्रयास शुरु गरेका थिए। त्यसका लागि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटार आउन आग्रह गरे। तर, आइतबार र सोमबार ओलीले बोलाउँदा पनि दाहाल स्वास्थ्यको कारण देखाएर बालुवाटार गएनन्।
सोमबार दाहालले टेलिफोनमा घाँटीको दुखेकाले आउन नसक्ने भनेपछि मंगलबार बिहान ९ बजे बोलाएका थिए। तर, सोमबार दाहालले आफ्ना समूहका नेताहरु (झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ) सँग खुमलटारमा छलफल गरे। यो भेलाले आजको बैठक नरोक्ने निष्कर्ष समेत निकाल्यो।
तर, दाहाल मंगलबार बिहान बालुवाटार गएनन्। बैठक बस्नुअघि समेत ओलीले दाहाललाई बोलाएका थिए। तर, दाहाल स्थायी कमिटी बैठकमा बालुवाटार नै आउन लागेको भन्ने जवाफ दिएका थिए।
“कसरी बैठक स्थगित भयो? म त आउँदैछु”, दाहालले ओलीलाई भनेका थिए। तर, ओलीले बैठक स्थगित भइसकेकाले अनौपचारिक छलफल गर्ने हो भने आउनुहोस् भन्ने जवाफ फर्काए।
यसपछि भने प्रम ओलीले बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना स्थायी कमिटीका सदस्यहरुलाई पठाए। अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जानकारी दाहालले समेत बालुवाटार आउँदै गर्दा थाहा पाए।
स्रोतका अनुसार, दाहालले बाटोबाटै टेलिफोन सम्वाद गरेका थिए। “कसरी बैठक स्थगित भयो? म त आउँदैछु”, दाहालले ओलीलाई भनेका थिए। तर, ओलीले बैठक स्थगित भइसकेकाले अनौपचारिक छलफल गर्ने हो भने आउनुहोस् भन्ने जवाफ फर्काएको ती स्रोत बताउँछन्।
त्यसपछि दाहालसँगै नेपाल समूहका स्थायी कमिटी सदस्यहरु ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासको बैठक हलमा पुगे।
बैठक हलबाट नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित नभएको र सदस्यहरु जम्मा भइरहेकाले बैठक बस्ने जानकारी पत्रकारहरुलाई टेलिफोनमार्फत् दिए। उनले भने, “स्थायी कमिटीले तय गरेको बैठक अध्यक्षद्वयको सहमतिमा सूचना जारी भएपछि मात्र स्थगित हुन सक्छ, अध्यक्षद्वयवीच यसबारे सहमति नभएकाले बैठक स्थगित भएको छैन।”
अहिले दाहाल र नेपाल समूह बैठक हलमा जम्मा भएपनि ओली समूहका स्थायी कमिटीका सदस्यहरु भने सहभागी छैनन्। त्यही बीचमा महासचिव बिष्णुप्रसाद पौडेल बैठक हल छिरे।
दाहाल र नेपालले त्यहीबाट स्थायी कमिटीका अरु सदस्यहरुलाई टेलिफोन गरेर बैठक बस्न लागेको भन्दै बोलाएका छन्।
यो समूह स्थायी कमिटीको बहुमत पुर्याएर बैठक राख्ने तयारीमा जुटेको छ। तर, त्यसअगाडि एक पटक ओलीसँग छलफल गर्नेबारे छलफल भइरहेको बैठकस्थल पुगेका एक नेताले बताए।