केन्द्रीय कमिटीको माग गर्दै ओली–दाहाललाई १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर
केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएका छन्। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई तत्काल बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका हुन्।
अहिले पार्टीमा देखिएको समस्या हल गर्न केन्द्रीय कमिटी बैठक बोलाइनुपर्ने माग सहित हस्ताक्षर बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। नेकपाको विधानको धारा–५९ (क) ४ ले हस्ताक्षर बुझाएको एक महीनाभित्र बैठक बोलाइसक्नुपर्नेछ।
“सचिवालयले विवाद हल गर्न नसकेपछि स्थायी कमिटी बोलाइयो। तर, स्थायी कमिटीले पनि विवाद हल गर्न नसकेकाले हाम्रो छलफल हुनुपर्छ”, उनले भने। पार्टी विभाजन तर्फ उन्मुख भएकाले केन्द्रीय कमिटी बैठकको माग गरिएको गैरेले बताए।
निकै समय पहिलेबाटै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भए पनि बन्दाबन्दीका कारण ढिलाइ भएको केन्द्रीय सदस्य निरज आचार्यले बताए। “केन्द्रीय कमिटीको बैठकले पार्टीको विवाद हल गर्छ, बैठक बोलाइनुपर्छ”, आचार्यले भने।