वामदेव र रामबहादुरको ‘संकेत’पछि ओलीले बोलाए सचिवालय बैठक
नेकपाभित्र चुलिँदो शक्ति संघर्षकै बीच उपाध्यक्ष गौतम र गृहमन्त्री थापाले मुख खोल्नु, लगत्तै प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउनुलाई अर्थपूर्ण ठानिएको छ।
१७ असारदेखि लगातार स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बिहान बस्ने तय भएको थियो। तर, बिहानको बैठक दिउँसो तीन बजेका लागि सारियो। अन्ततः तीन बजे पनि बैठक बसेन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सल्लाहअनुसार बैठक आउँदो ४ साउनसम्मका लागि स्थगित गरिएको छ।
स्थायी कमिटी बैठक लगातार स्थगित हुनथालेको तीन साता पुग्नै लाग्दा आज दिउँसो अचानक केन्द्रीय सचिवालय बैठक डाकिएको छ। अध्यक्षद्वय ओली र दाहालबीच आज दिउँसो भएको छलफलपछि भोलि, ३ साउन दिउँसो तीन बजे सचिवालय बैठक बोलाइएको हो।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको समस्या हल गर्ने उपाय खोजीका लागि सचिवालय बैठक बोलाउनु परेको बताए। “स्थायी कमिटी बस्नुभन्दा अगाडि सचिवालयका नेताहरुबीच छलफल गर्न बैठक बोलाइएको हो। बैठकको अजेण्डाबारे भने दुई अध्यक्ष छलफलमा हुनुहुन्छ”, प्रवक्ता श्रेष्ठले भने।
नेकपाको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक सर्न शुरु भएको हो। त्योसँगै चुलिएको शक्तिसंघर्षले नेकपा विभाजन हुनलागेको चर्चासमेत चल्यो। नेकपाकै नेताहरुले पार्टी फुटको संघारमा पुगेको चर्चा गरे। पार्टी विभाजन रोक्न भन्दै केन्द्रदेखि जिल्ला तहसम्म नेता–कार्यकर्ताको सक्रियता बढ्यो।
यही पृष्ठभूमिमा लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक थप पछाडि धकेलेर सचिवालय बैठक बोलाइनुलाई अर्थपूर्ण ठानिएको छ। नेकपा स्थायी कमिटीका सदस्य मणि थापा भने यसलाई पार्टीभित्रको विवाद साँघुरिने दिशातर्फ अघि बढेकोे रूपमा बुझ्नुपर्ने बताउँछन्। थापा भन्छन्, “पार्टी एकता जोगाउन छलफलका लागि नेताहरुले समय लिँदा आपत्ति मान्नु हुन्न। हामीले नै यस्तो सुझाव दिएका हौं।”
ओलीलाई बल दिएको गौतम–थापाको बोली
१६ असारको बैठकमा १७ जना स्थायी कमिटी सदस्यले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाव दिएपछि ओलीले स्थायी कमिटी बैठकसमेत अस्वीकार गर्दै आएका छन्। १७ असारमा आफ्नै निवास, बालुवाटारमा बोलाइएको बैठकमा भागै नलिई प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेर संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए। आफ्नै आँगनमा राखिएको स्थायी कमिटी बैठकलाई ‘हुलहुज्जत गर्ने स्थल’को संज्ञा दिदै प्रधानमन्त्री ओली सहभागी नभएपछि त्यसयता बैठक बस्न सकेको छैन।
१९ असारमा मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद ‘कित्ता प्रष्ट पार्ने’ अवस्थामा पुगेको बताएपछि नेकपा विभाजन नजिक पुगेको देखिएको थियो। दुवै पद नछोड्ने बरु, पार्टी विभाजनका लागि तयार हुने सन्देश दिएका प्रधानमन्त्री ओली एकाएक सचिवालय बैठक बोलाउन तयार देखिएका छन्।
पटक–पटक बैठक छल्दै आएका प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउने निधोमा किन पुगे ?
“आफू अनुकल परिस्थिति निर्माण भएको आकलन गरेरै उहाँ सचिवालय बैठक बोलाउने निर्णयमा पुग्नु भएको हुनुपर्छ”, नेकपा स्थायी कमिटीका एक सदस्य भन्छन्।
प्रधानमन्त्री ओलीलाई अहिले एकाएक केन्द्रीय सचिवालय अनुकुल लाग्नुका पछाडि भने उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले दिएको संकेत महत्वपूर्ण कारण हुनसक्ने ती नेता बताउँछन्।
१ साउन बिहान नेकपा अध्यक्ष दाहालको निवास खुमलटारमा भएको गुट भेला (दाहाल, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य थापा) मा गौतम र थापाले अहिले सरकार बदल्ने उचित समय नभएको र पार्टी विभाजन हुनबाट रोक्नुपर्ने तर्क गरेका थिए।
सधैं तटस्थ देखिदै आएका थापा प्रधानमन्त्री इतरको समूहमा (दोस्रो पटक) सामेल भए पनि मध्यमार्गी प्रस्तावमार्फत् अन्य नेताहरुलाई समेत प्रभावित बनाउनुले नेकपाभित्र प्रधानमन्त्रीको अनुकुल समीकरण बन्न पुगेको आकलन गर्न थालिएको छ।
हुन पनि पछिल्लो समय पार्टीभित्र स्पष्ट अल्मपतमा देखिएका प्रधानमन्त्री ओलीले स्थायी कमिटीलाई अहिले जस्तो आरोप लगाएका छन्, गएको १५ वैशाखमा सचिवालय बैठकलाई पनि यसैगरी ‘पार्टी विवाद निकास दिने स्थल नभएको’ टिप्पणी गरेका थिए।
खासमा ओली त्यसबेला स्थायी कमिटी बैठकको माग भए पनि बैठक बोलाउने पक्षमा थिएनन्। तर, अध्यक्ष दाहालसँग धेरै पटक भएको ‘वान अन वान’ वार्ता र आफ्नै टीमका कतिपय नेताहरुको जोडबलमा मात्र उनी स्थायी कमिटी बैठक बोलाउन तयार भएका थिए।
“दुवै पद छाड्नुपर्छ भन्ने माग राजनीतिक होइन, बैठक अब नियमित अजेण्डामा आउनुको विकल्प छैन।”
– सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य, नेकपा
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भने एकता प्रक्रिया नटुंगिएको नेकपाभित्र संख्याको महत्व नहुने भएकाले प्रधानमन्त्री ओली अल्पमतमा परेकाले बैठक बस्न नसकेको भन्ने तर्कको प्रतिवाद गर्छन्। प्रधानमन्त्री ओलीनिकट रहेका नेता मण्डल भन्छन्, “दुवै पद छाड्नुपर्छ भन्ने माग राजनीतिक होइन, बैठक अब नियमित अजेण्डामा आउनुको विकल्प छैन।”
‘फरक परिदृष्य छ, फरक परिदृष्य छैन’
तर, ८ वैशाखमा सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि शक्तिसंघर्ष देखिँदै, मत्थर हुँदै आएको नेकपामा नेता मण्डलले भनेको भन्दा फरक परिस्थिति विकसित भएको छ, अहिले। पछिल्लो पटक केन्द्रीय सचिवालय र स्थायी कमिटी दुवैका बहुमत सदस्यले दुवै पद (प्रधानमन्त्री र पार्टी अध्यक्ष)बाट ओलीको राजीनामा मागेका छन्।
गएको १८ फागुनको सचिवालय बैठकको सर्वसम्मत निर्णय गरेअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सदस्यमा मनोनयनका लागि सिफारिश गर्न इन्कार गरेका ओलीले उल्टै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएकाले यसपटक उनलाई कम्तिमा एक पदबाट मुक्त गराउने रणनीतिमा बहुमत सदस्य देखिन्छन्। तर, गौतम र थापा १ साउनमा संकेत गरे झैं यी अजेण्डा र अडानबाट ‘यू–टर्न’ भएमा ओलीइतर समूहको रणनीति सफल हुन गाह्रो पर्नेेछ।
संभवतः प्रधानमन्त्री ओली त्यही संकेत देखेकै कारण स्थायी कमिटी मात्र नभएर केन्द्रीय सचिवालय बैठक बोलाउनसमेत राजी भएका छन्।
आज दिउँसो सचिवालय बैठक बोलाउने निक्र्योलमा पुगेका ओली एक दिन अघि, १ साउनमा करिब साढे दुई महीनापछि पहिलो पटक वरिष्ठ नेता माधवकुमार नेपालसँग संवादमा बसेका थिए। ओली र नेपालबीच १८ वैशाखयता संवाद भएको थिएन। १ साउनमा ओली–दाहाल–नेपालबीच संयुक्त छलफल भएपछि स्थायी कमिटी सामना गर्ने ‘मूड’मा प्रधानमन्त्री ओली देखिएका हुन्। “दुवै पदबाट राजीनामा मागेसम्म पार्टीभित्रको विवाद हल हुन्न। यसले कम्युनिष्ट आन्दोलन नै कमजोर जान्छ”, नेता मण्डल भन्छन्।
नेकपा उच्च स्रोतका अनुसार, १ साउन दिनभरको छलफलले नेकपाभित्रको संकट कम गर्ने केही सम्भावना देखाएको छ। “सहमतिको ठोस् प्रस्ताव तयार भइ नसकेपनि शीर्ष नेताहरुबीच कार्यविभाजनमा छलफल शुरु भएको छ”, स्रोत भन्छ।
अध्यक्ष दाहालनिकट केही नेताहरुले त ओलीलाई दुवै पदबाट हटाउनु उपयुक्त नहुने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्। दाहालनिकट नेता थापा पनि छलफल सकारात्मक बन्दै गएको स्वीकार्छन्। “सहमति नजुटेसम्म ढुक्क हुन त सकिदैन, तर अवस्थामा धेरै सुधार भएको देखिन्छ”, उनी भन्छन्।
नेकपामा चुलिँदो शक्ति संघर्षको निकासका लागि केन्द्रीय कमिटी बैठक बोलाउने तयारीसमेत भइरहेको छ। तर, यो संघर्ष थान्को लाग्छ या लाग्दैन भन्ने संकेत चाहिँ सम्भवतः भोलि, ३ साउनमा बस्ने सचिवालय बैठकपछि मिल्नेछ।
१४ असारमा मदन जयन्तीको अवसरमा बालुवाटारमै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीयहरु सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको अभिव्यक्ति दिएपछि नेकपाको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको हो। तर, दोस्रो तहका नेताहरुको सक्रियता र तल्लो तहका संगठन कमिटीहरुको दबावले शीर्ष नेताहरू सहमतिका लागि छलफलमा बस्न तयार देखिन्छन्।
नेकपामा चुलिँदो शक्ति संघर्षको निकासका लागि केन्द्रीय कमिटी बैठक बोलाउने तयारीसमेत भइरहेको छ। तर, यो संघर्ष थान्को लाग्छ या लाग्दैन भन्ने संकेत चाहिँ सम्भवतः भोलि, ३ साउनमा बस्ने सचिवालय बैठकपछि मिल्नेछ। बैठकले गर्ने संकेत चाहिँ प्रधानमन्त्री ओली किन यो बैठक बोलाउन अग्रसर भए भन्ने कुराले निर्धारण गर्नेछ।