वामदेव गौतमको प्रस्ताव– ओली एकता महाधिवेशनसम्म अध्यक्ष, पाँच वर्ष प्रधानमन्त्री
नेकपाका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री हुनपर्ने प्रस्ताव गरेका छन्। अध्यक्षसँग राखेको प्रस्ताव भन्दै ६ बुँदे प्रेस नोट जारी गर्दै गौतमले प्रतिनिधिसभाको बाँकी अवधिसम्म ओली नै प्रधानमन्त्री हुनुपर्ने बताएका छन्।
एकताको महाधिवेशनसम्म पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल हुनुपर्ने उनले प्रस्ताव गरेका छन्। गौतमले एकताको महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
तर, पार्टीको अबका बैठकहरु भने बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने पनि गौतमले प्रस्ताव गरेका छन्। मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने उनले उल्लेख गरेका छन्।
सरकारको नीति तथा कार्यक्रम र बजेट आउनुपूर्व सचिवालयमा छलफल हुनुपर्ने पनि उनको माग छ। प्रशासन र सुरक्षा निकायको पदोन्नतिको निश्चित मापदण्ड निर्धारण हुनुपर्ने समेत उनको सुझाव छ।
गएको ४ मंसीरमा दुई अध्यक्ष ओली र दाहालबीच यिनै विषयमा सहमति भएको थियो।