बालुवाटारमा नेकपाको बैठक शुरु, ओली अनुपस्थित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुको बैठक बालुवाटारमा शुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्।
प्रधानमन्त्री ओलीले आज बोलाइएको स्थायी कमिटी बैठक एकतर्फी निर्णय लिएर स्थगित गरेका थिए। तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक नरोक्ने निष्कर्ष निकालेको थियो।
ओलीले बैठक स्थगित गर्ने निर्णय गरेपनि दाहाल–समूहका नेताहरु बालुवाटार पुगिसकेका थिए। “अहिले बैठक शुरु भएको छ”, स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले भने।
यो बैठक बस्नुअघि दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न उनको निवासमा पुगेका थिए। उनले प्रधानमन्त्री ओलीसँग भएको कुरा स्थायी कमिटी सदस्यहरुलाई जानकारी गराएका छन्। त्यसक्रममा दाहालले यसलाई जारी स्थायी कमिटी बैठकको निरन्तरता नभई स्थायी कमिटीका बहुमत सदस्यहरुको बैठक मान्न उपस्थित सदस्यहरुलाई आग्रह गरेका छन्।
यसअगाडि बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको थियो। प्रधानमन्त्री ओलीनिकट एक नेताले भने स्थायी कमिटी बैठक स्थगित भइसकेको र दाहाल–नेपाल समूहको मात्र बैठक बसेको बताए।
याे पढ्नुहाेस्: नेकपामा कलह: बालुवाटारमा आज जे हुँदैछ
याे पढ्नुहाेस्: नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
याे पढ्नुहाेस्: योगेश भट्टराई भन्छन् - 'दुर्घटना नजिक छ, सबै रोकिऔं'
याे पढ्नुहाेस्: वामदेव गौतमको प्रस्ताव– ओली एकता महाधिवेशनसम्म अध्यक्ष, पाँच वर्ष प्रधानमन्त्री